एकजना लेवी र उसकी उपपत्‍नी
19
अनि इस्राएलमा कुनै राजा नभएका दिनहरूमा यस्तो भयो: एप्रैमको पहाड़ी देशको दुर्गम क्षेत्रमा कुनै एकजना लेवी परदेशी भएर बसेको थियो, जसले यहूदाको बेतलेहेमबाट आफ्ना निम्ति एउटी उपपत्‍नी ल्याएको थियो। 2 अनि उसकी उपपत्‍नीले उसको विरोधमा वेश्याकर्म गरी, र उसलाई छोड़ेर यहूदाको बेतलेहेममा आफ्ना बुबाको घरमा गई, र त्यहीं पूरै चार महिना बसी। 3 अनि त्यसको पति उठ्यो, र त्यसलाई मित्रभावले सम्झाएर त्यसलाई फर्काई ल्याउनलाई साथमा आफ्नो नोकर र एक जोड़ा गधा लिएर त्यसको पछि गयो। त्यसले उसलाई आफ्ना बुबाको घरभित्र ल्याई; अनि त्यस केटीका बुबाले उसलाई देख्यो, र उसलाई भेट्न पाउँदा आनन्दित भयो। 4 अनि उसको ससुरा अर्थात् त्यस केटीका बुबाले उसलाई रोकेर राख्यो, र ऊ त्यससित तीन दिन बस्यो; यसरी उनीहरू खान-पिन गर्दै त्यहाँ बसे।
5 अनि चौथो दिनमा यस्तो भयो: जब उनीहरू बिहानै उठे, तब ऊ बिदा लिनलाई खड़ा भयो; तब त्यस केटीको बुबाले आफ्नो जुवाइँलाई भन्यो: “एक गाँस रोटी खाएर आफ्नो हृदय बलियो पार, र त्यसपछि आफ्नो बाटो लाग!” 6 तब उनीहरू दुवै सँगै बसेर खान-पिन गरे; किनकि त्यस केटीको बुबाले यस मानिसलाई भनेको थियो: “म तिमीलाई विन्‍ती गर्छु, राजी होऊ, र रात बिताऊ, अनि तिम्रो हृदय आनन्दित होस्!” 7 अनि जब यो मानिस बिदा लिन उठ्यो, तब उसको ससुराले उसलाई आग्रह गर्‍यो; यसैले ऊ फेरि पनि त्यहीं बस्यो।
8 अनि पाँचौ दिनमा ऊ बिदा लिन बिहानै उठ्यो, र त्यस केटीको बुबाले भन्यो: “म तिमीलाई विन्‍ती गर्छु, आफ्नो हृदय बलियो पार!” अनि उनीहरू मध्यदिन नाघुन्जेल बसे, र दुवैजनाले खाए। 9 र जब यो मानिस – ऊ, उसकी उपपत्‍नी र उसको नोकर बिदा लिन उठे, तब उसको ससुरा, अर्थात् त्यस केटीको बुबाले उसलाई भन्यो: “हेर न, दिन ढल्केर साँझ पर्न लाग्यो; विन्‍ती छ, एक रात बसिदेऊ! हेर, दिन त बितिहाल्यो; यहीं वास बस, र तिम्रो हृदय आनन्दित होस्! अनि भोलि सबेरै उठेर आफ्नो बाटो लागिहाल, र आफ्नो घर जाऊ!” 10 तर यो मानिस त्यो रात बस्‍न मानेन, तर ऊ उठेर हिँड़िहाल्यो, र यबूस अर्थात् यरूशलेमको सामु आइपुग्यो, अनि उसको साथमा काठी कसिएको एक जोड़ा गधा थियो; उसकी उपपत्‍नी पनि साथमा थिई।
11 उनीहरू यबूसको छेउमा पुग्दा दिन धेरै ढल्किसकेको थियो, र नोकरले आफ्नो मालिकलाई भन्यो: “म तपाईंलाई विन्‍ती गर्छु, आउनुहोस्, हामी यबूसीहरूको यस शहरतिर लागौं, र त्यहीं वास बसौं!” 12 तर त्यसको मालिकले त्यसलाई भन्यो: “यहाँ यस पराई शहरतिर, जो इस्राएलीहरूको होइन, हामी लाग्‍नेछैनौं; तर हामी पारि गिबामा जानेछौं।” 13 अनि उसले आफ्नो नोकारलाई भन्यो: “आऊ, हामी यी गाउँहरूमध्ये कुनै एउटाको नजिक गएर गिबा वा रामामा वास बसौं!” 14 अनि उनीहरू अघि बढ़े र आफ्नो बाटो लागे; अनि उनीहरू बिन्यामिनको गिबाको छेउमा पुग्दा उनीहरूमाथि घाम अस्तायो। 15 तब उनीहरू गिबामा गएर त्यहाँ वास बसौं भनी त्यतातिर लागे; अनि ऊ गएर त्यस शहरको एउटा सड़कमा बस्यो; किनकि वास दिनलाई कसैले उनीहरूलाई आफ्नो घरमा लगेन।
16 अनि हेर, एकजना बूढ़ो मानिस खेतबारीबाट, आफ्नो कामबाट साँझमा फर्किरहेको थियो। त्यो पनि एप्रैमको पहाड़ी देशको थियो, र गिबामा परदेशी भएर बसेको थियो; तर त्यस ठाउँका मानिसहरूचाहिँ बिन्यामिनीहरू थिए। 17 अनि आफ्ना आँखा उठाएर हेर्दा त्यसले शहरको सड़कमा यस यात्रीलाई देख्यो; अनि त्यस बूढ़ो मानिसले भन्यो: “तपाईं कहाँ जाँदै हुनुहुन्छ? र कताबाट आउनुभएको हो?” 18 अनि उसले त्यसलाई भन्यो: “हामी त यहूदाको बेतलेहेमबाट एप्रैमको पहाड़ी देशको दुर्गम क्षेत्रतिर जाँदैछौं; म त्यहाँबाटकै हुँ। अनि म यहूदाको बेतलेहेम गएको थिएँ, तर म अहिले परमप्रभुको भवनमा जाँदैछु; तर मलाई घरमा स्वागत गर्ने कोही पनि भएन। 19 हुन त हाम्रा गधाहरूका निम्ति पराल र दाना छँदैछ; अनि मेरा निम्ति, तपाईंकी दासी र तपाईंका दासहरूसित भएको यो जवान मानिसका निम्ति पनि रोटी र दाखमद्य छँदैछ; कुनै कुराको आवश्यकता छैन।” 20 अनि त्यस बूढ़ो मानिसले भन्यो: “तपाईंलाई शान्ति होस्! तपाईंका सबै आवश्यकताहरू ममाथि नै परून्, तर यस सड़कमा चाहिँ रात नबिताउनुहोस्!” 21 तब त्यसले उसलाई आफ्नो घरमा ल्यायो, र गधाहरूलाई दाना दियो; अनि उनीहरूले आफ्ना खुट्टाहरू धोए, र खान-पिन गरे।
गिबाका मानिसहरूको घोर अधर्म
22 जब उनीहरूले आफ्नो हृदय आनन्दित तुल्याइरहेका थिए, तब हेर, त्यस शहरका मानिसहरू, अर्थात् कोही अधम मानिसहरूले त्यो घर घेरे, र ढोकामा हिर्काउँदै त्यस घरको मालिकलाई अर्थात् त्यस बूढ़ो मानिसलाई यसो भने: “तेरो घरमा आएको मान्छेलाई बाहिर निकाल्, र हामी त्यसलाई जानौं!” 23 अनि तिनीहरूकहाँ निस्केर त्यस घरको मालिक अर्थात् त्यस मानिसले तिनीहरूलाई भन्यो: “होइन, हे भाइहरूहो! म विन्‍ती गर्छु, यस्तो दुष्‍ट काम नगर! किनभने यी मानिस मेरो घरभित्र आएका हुन्; यस्तो मूर्खता नगर! 24 हेर, यहाँ मेरी कन्या छोरी छे र उनकी रखौटी पनि छे। म विन्‍ती गर्छु, यिनीहरूलाई नै म बाहिर ल्याउन पाऊँ, र यिनीहरूलाई नै बलात्कार गर, र तिमीहरूलाई जे उचित लाग्छ, त्यही यिनीहरूसित गर; तर यी मानिससँग त्यस्तो मूर्खता नगर!” 25 तर ती मानिसहरूले त्यसको कुरा सुन्‍नै चाहेनन्। तब त्यस मानिसले उसकी उपपत्‍नीलाई समातेर त्यसलाई बाहिर तिनीहरूकहाँ पुर्‍याइदिए। अनि तिनीहरूले त्यससित कुकर्म गरे, र रातभरि बिहानसम्मै त्यससँग नीच व्यवहार गरे; अनि मिरमिरे उज्यालो खस्दा तिनीहरूले त्यसलाई छोड़िदिए।
26 त्यसपछि त्यो स्त्री मिरमिरे उज्यालो हुँदा आई र त्यस मानिसको घरको ढोकामा ढली, जहाँ त्यसको स्वामी थियो, र उज्यालो नहोउन्जेल त्यहीं रही। 27 अनि त्यसको स्वामी बिहान उठ्यो, घरका दैलाहरू खोल्यो र आफ्नो बाटो लाग्‍न बाहिर निस्क्यो; अनि हेर, त्यो स्त्री, उसकी उपपत्‍नी त त्यस घरको ढोकामा लड़िरहेकी रहिछे, र त्यसका हातहरू सँघारमा पड़िरहेका थिए। 28 अनि उसले त्यसलाई भन्यो: “उठ, हामी जाऔं!” तर कुनै उत्तर आएन। तब यस मानिसले त्यसलाई उठाएर गधामाथि राख्यो; र यो मानिस उठेर आफ्नो ठाउँमा गयो। 29 अनि जब ऊ आफ्नो घरमा पुग्यो, तब उसले एउटा छुरी लिएर आफ्नी उपपत्‍नीलाई पक्रेर त्यसका हड्डीहरूसमेत त्यसलाई बाह्र टुक्रा पार्‍यो, र त्यसलाई इस्राएलका सबै इलाकाहरूमा पठाइदियो। 30 अनि यस्तो भयो: त्यो देख्‍नेहरू सबैले यसो भने: “इस्राएलीहरू मिस्र देशबाट निस्केर आएको दिनदेखि आजको दिनसम्म यस्तो काम कहिल्यै भएको थिएन र देखिएको पनि थिएन। यो कुरा विचार गर, सरसल्‍लाह लेओ र आफ्ना मनका विचारहरू व्यक्त गर!”