मीकाको घरबाट भएर गएका दानीहरूलाई लैश शहरको कब्जा
18
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि ती दिनहरूमा दानीहरूको कुलले बसोबास गर्नलाई आफ्ना निम्ति एउटा अधिकारको भाग खोजिरहेको थियो; किनकि त्यस दिनसम्म इस्राएलका कुलहरूको बीचमा तिनीहरूका निम्ति कुनै अधिकारको भाग परेको थिएन। 2 अनि सोरा र एश्ताओलबाट दानीहरूले आफ्ना इलाकाहरूबाट आफ्नो घरानाका पाँचजना शूरवीर मानिसहरूलाई देशको जासुसी गर्न र त्यसको खोजतलाश गर्न पठाए; अनि तिनीहरूले उनीहरूलाई भने: “जाओ, र देशको खोजतलाश गर!” अनि उनीहरू एप्रैमको पहाड़ी देशमा मीकाको घरमा आए, र त्यहीं वास बसे। 3 जब उनीहरू मीकाको घरनिर आइपुगे, तब उनीहरूले यस जवान लेवीको सोर चिने, र त्यतैतिर लागेर उसलाई भने: “कसले तिमीलाई यहाँ ल्यायो? अनि यस ठाउँमा तिमीले के गर्दैछौ? र यहाँ तिमीसित के छ?” 4 अनि उसले उनीहरूलाई भन्यो: “मीकाले मसित यस्तो-यस्तो व्यवहार गरे, अनि मलाई ज्यालामा राखेका छन्, र म तिनको पूजाहारी हुँ।” 5 अनि उनीहरूले उसलाई भने: “हामी तिमीलाई विन्ती गर्छौं, परमेश्वरबाट सल्लाह माग, र हामी हिँड़ेको हाम्रो यो यात्राक सफल हुन्छ कि हुँदैन, सो जान्न सकौं!” 6 तब यस पूजाहारीले उनीहरूलाई भन्यो: “शान्तिसित जाओ! तिमीहरू हिँड़ेको तिमीहरूको यो बाटो परमप्रभुको सामु छ।”7 तब ती पाँचजना मानिसहरू आफ्नो बाटो लागे, र लैशमा आइपुगे, अनि उनीहरूले के देखे भने, त्यहाँका मानिसहरू निष्फिक्री, सिडोनीहरूको रीतिअनुसार, शान्त र ढुक्कै भएर बसेका थिए; अनि त्यस देशमा तिनीहरूलाई कुनै कुरामा शर्ममा पार्ने कोही शासक थिएन; अनि तिनीहरू सिडोनीहरूदेखि टाढ़ामा थिए, र कसैसित तिनीहरूको कारोबार थिएन। 8 अनि उनीहरू सोरा र एश्ताओलमा भएका आफ्ना दाजुभाइहरूकहाँ आए, र ती दाजुभाइहरूले उनीहरूलाई भने: “तिमीहरूको खबर के छ?” 9 अनि उनीहरूले भने: “उठ, र हामी तिनीहरूमाथि चढ़ाइ गरौं; किनकि हामीले त्यो देश देख्यौं; अनि हेर, त्यो खूबै राम्रो रहेछ। अनि तिमीहरू किन चुपचाप बस्छौ? गएर त्यस देश कब्जा गर्नलाई त्यसमा पस्न बियाँलो नगर! 10 जब तिमीहरू जान्छौ, तब तिमीहरू ढुक्कैसँग बसेको एउटा जातिकहाँ र एउटा फराकिलो देशमा पुग्नेछौ; किनकि परमेश्वरले त्यो तिमीहरूको हातमा दिनुभएको छ – एउटा ठाउँ, जहाँ पृथ्वीमा हुने कुनै थोकको अभाव हुँदैन।”
11 अनि सोरा र एश्ताओलबाट दानीहरूको घरानाबाट लड़ाइँका हतियारहरू भिरेका छ सय मानिसहरू त्यहाँबाट हिँड़े। 12 अनि उनीहरू उकालो लागेर यहूदाको किर्यत-यारीममा छाउनी हाले; यसैकारण तिनीहरूले त्यस ठाउँलाई आजको दिनसम्मै महने-दानक भन्दछन्। हेर, त्यो किर्यत-यारीमको पश्चिमपट्टि पर्छ। 13 अनि त्यहाँबाट उनीहरू एप्रैमको पहाड़ी देशतिर अघि बढ़ेर मीकाको घरमा आइपुगे। 14 तब लैशको देशको जासुसी गर्न गएका ती पाँचजना मानिसहरूले जवाफ दिएर आफ्ना दाजुभाइहरूलाई भने: “के तिमीहरूलाई थाहा छ? यी घरहरूमा एउटा एपोद र घर-देवताहरू, साथै एउटा खोपिएको मूर्ति र एउटा ढालिएको मूर्ति छन्। यसकारण अब के-कसो गर्नुपर्ने हो, सो विचार गर!” 15 अनि उनीहरू त्यतैतिर लागेर यस जवान लेवीको घरमा अर्थात् मीकाको घरमा आइपुगे, र उनीहरूले उसलाई अभिवादन गरे। 16 अनि आफ्ना लड़ाइँका हतियारहरू भिरेका छ सय दानी मानिसहरू मूलढोकाभित्र पस्ने ठाउँमा खड़ा भए। 17 अनि त्यस देशको जासुसी गर्न गएका ती पाँचजना मानिसहरू माथि गए, र त्यहाँ भित्र पसे, अनि त्यो खोपिएको मूर्ति, त्यो एपोद, ती घर-देवताहरू र त्यो ढालिएको मूर्ति उठाएख; अनि त्यो पूजाहारीचाहिँ ती लड़ाइँका हतियारहरू भिरेका छ सय मानिसहरूसँग मूलढोकाभित्र पस्ने ठाउँमा उभिरहेको थियो। 18 अनि यिनीहरूले मीकाको घरमा पसेर त्यो खोपिएको मूर्ति, त्यो एपोद, ती घर-देवताहरू र त्यो ढालिएको मूर्ति लिएर आए। तब यस पूजाहारीले यिनीहरूलाई भन्यो: “तिमीहरूले के गर्दैछौ?” 19 अनि यिनीहरूले उसलाई भने: “चुप लाग! आफ्नो हात आफ्नो मुखमाथि राख, र हामीसँग हिँड़! अनि हाम्रा निम्ति एउटा बुबा र एउटा पूजाहारी होऊ! तिमीलाई एकै मानिसको घरका निम्ति पूजाहारी हुनु असल हो कि इस्राएलको एउटा कुल र घरानाका निम्ति पूजाहारी हुनु असल हो?” 20 तब यस पूजाहारीको हृदय खुशी भयो, र उसले त्यो एपोद, ती घर-देवताहरू र त्यो खोपिएको मूर्ति लिएर ती मानिसहरूको बीचमा पस्यो।
21 यसरी उनीहरू फर्के र आफ्ना बालबच्चा, गाईबस्तु र जायजेथाहरूलाई आफ्नो अघिल्तिर राखेर आफ्नो बाटो लागे। 22 अनि उनीहरू मीकाको घरदेखि निक्कै टाढ़ा पुगेपछि मीकाको घरका नजिकका घरहरूमा भएका मानिसहरू भेला भए, र ती दानीहरूलाई पिछा गरेर भेटे। 23 अनि तिनीहरूले दानीहरूलाई कराएर बोलाए। तब उनीहरूले आफ्ना अनुहार फर्काए, र मीकालाई भने: “तिमीलाई के भयो, र तिमी यसरी भेला भयौ?” 24 अनि त्यसले भन्यो: “तिमीहरूले मैले बनाएका मेरा देवताहरू र त्यस पूजाहारीलाई पनि लगेर गयौ। अब मसित अरू के रह्यो र? तब चाहिँ ‘तिमीलाई के भयो’ भनी तिमीहरूले मलाई भनेको यो के हो?” 25 अनि दानीहरूले त्यसलाई भने: “तेरो सोर हाम्रो बीचमा नसुनियोस्, नत्र रिसाएका मानिसहरू तिमीहरूमाथि आइलाग्लान्, र तेरो घरानाका ज्यानहरू समेत तैंले आफ्नो ज्यान पनि गुमाउलास्!” 26 अनि दानीहरू आफ्नो बाटो लागे; अनि जब मीकाले उनीहरू आफूभन्दा धेरै शक्तिशाली भएका देख्यो, तब त्यो फर्केर आफ्नो घरतिर गयो।
27 अनि उनीहरू मीकाले बनाएका थोकहरू र त्यससित भएको पूजाहारीलाई लिएर लैशमा, शान्त र ढुक्कै भएर बसेको एउटा जातिकहाँ पुगे; अनि उनीहरूले तिनीहरूलाई तरवारको धारले प्रहार गरे, र त्यो शहर आगोले जलाइदिए। 28 अनि छुटकारा दिने कोही थिएन; किनभने त्यो शहर सिडोनदेखि टाढ़ामा थियो, र कसैसित तिनीहरूको कारोबार थिएन; अनि त्यो ठाउँ बेत-रहोबको छेउको बेंसीमा पर्थ्यो। अनि उनीहरूले त्यो शहर फेरि निर्माण गरे, र त्यसमा बस्न लागे। 29 अनि उनीहरूले त्यस शहरको नाम इस्राएलका निम्ति जन्मिएका उनीहरूका पुर्खा दानको नामअनुसार दान नै राखे, यद्यपि त्यस शहरको नाम पहिले लैश थियो। 30 अनि दानीहरूले त्यो खोपिएको मूर्ति खड़ा गरे; अनि मनस्सेको छोरा गेर्शोमको छोरा योनातान – ऊ र उसका छोराहरू त्यो देश कैदमा लगिएको दिनसम्म दान कुलका पूजाहारी थिए। 31 अनि उनीहरूले मीकाले बनाएको त्यसको खोपिएको मूर्ति आफ्ना निम्ति खड़ा गरे; यी सबै दिनहरूमा परमेश्वरको भवन शीलोमा थियो।