योनातानको वीरता र विजय
14
अनि एक दिन यस्तो भयो: शाऊलका छोरा योनातानले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने: “आऊ, हामी पर पलिस्तीहरूको सैनिक पहरे-चौकीमा जाऔं, जो पारिपट्टि छ।” तर उनले यो कुरा आफ्ना बुबालाई भनेनन्। 2 अनि शाऊल गिबाको छेउमा, मिग्रोनमा भएको अनारको रूखमुनि बसेका थिए; अनि तिनको साथमा भएका मानिसहरू लगभग छ सय पुरुष थिए। 3 अनि एलीको छोरा पीनहासको छोरा इकाबोदको दाजु अहितूबका छोरा अर्थात् परमप्रभुका पूजाहारी अहियाहले शीलोमा एपोद पहिरेका थिए। अनि योनातान गएको कुरा ती मानिसहरूलाई थाहा थिएन। 4 अनि जुन भन्ज्याङ्गहरूको बीचबाट भएर योनातानले पर पलिस्तीहरूको सैनिक पहरे-चौकीमा पुग्‍न खोजेका थिए, तिनको एकपट्टि एउटा भिरालो चट्टान र अर्कोपट्टि एउटा भिरालो चट्टान थियो; अनि एउटाको नाम बोसेस थियो र अर्काको नाम सेने थियो। 5 एउटाको अघिल्लो भाग मिक्मासको सामु उत्तरपट्टि फर्केको थियो, र अर्कोचाहिँ गिबाको सामु दक्षिणपट्टि फर्केको थियो। 6 अनि योनातानले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने: “आऊ, हामी पर यी खतना नभएकाहरूको सैनिक पहरे-चौकीमा जाऔं! हुन सक्छ, परमप्रभुले हाम्रा निम्ति काम गर्नुहुनेछ; किनभने धेरैद्वारा होस् वा थोरैद्वारा, बचाउने कुरामा परमप्रभुलाई कुनै रोकावट छैन।” 7 अनि उनको हतियार बोक्नेले उनलाई भन्यो: “तपाईंको हृदयमा जे छ, ती सबै कुरा गर्नुहोस्; त्यतातिर लाग्‍नुहोस्! हेर्नुहोस्, तपाईंको हृदयअनुसार म तपाईंको साथमा छु।” 8 तब योनातानले भने: “हेर, हामी पर यी मानिसहरूकहाँ जानेछौं, र हामी आफूलाई तिनीहरूकहाँ प्रकट गर्नेछौं। 9 तिनीहरूले हामीलाई ‘हामी तिमीहरूकहाँ आउन्जेल चुपचाप बस!’ भने भने हामी आफ्नो ठाउँमा खड़ा रहनेछौं, र माथि तिनीहरूकहाँ जानेछैनौं। 10 तर तिनीहरूले ‘माथि हामीकहाँ आओ!’ भने भने हामी माथि जानेछौं; किनकि परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा सुम्पिदिनुभएको छ; अनि यही हाम्रा निम्ति चिन्ह हुनेछ।”
11 तब ती दुईजनाले आफैलाई पलिस्तीहरूको सैनिक पहरे-चौकीमा प्रकट गरे; अनि पलिस्तीहरूले भने: “हेर, ती हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट निस्केर आएछन्।” 12 अनि त्यस सैनिक पहरे-चौकीका मानिसहरूले योनातान र उनको हतियार बोक्नेलाई जवाफ दिएर भने: “माथि हामीकहाँ आओ, र हामी तिमीहरूलाई एउटा पाठ सिकाउनेछौं!” अनि योनातानले आफ्नो हतियार बोक्नेलाई भने: “मेरो पछि-पछि उक्लेर आऊ; किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभएको छ।” 13 अनि योनातान आफ्ना हातखुट्टाले टेक्दै माथि चढ़े, र उनको हतियार बोक्ने उनको पछि-पछि आयो; अनि तिनीहरू योनातानको सामु ढले, र उनको हतियार बोक्नेले उनको पछि-पछि तिनीहरूलाई मार्‍यो। 14 अनि योनातान र उनको हतियार बोक्नेले गरेको यो पहिलो काटमारमा, मानौं एक हल गोरुले जोत्‍ने लगभग आधा एकड़ जमिनभित्र प्राय: बीसजना मानिस थिए। 15 अनि छाउनीभित्र, मैदानमा र सबै मानिसहरूको बीचमा कम्प भयो; त्यो सैनिक पहरे-चौकी, र ती लुट्नेहरू पनि थरथर कामे, र पृथ्वी हल्‍लियो; अनि यो अति ठूलो कम्पन भयो।
16 अनि बिन्यामिनको गिबामा शाऊलका पहरेदारहरूले हेरे; अनि हेर, त्यो भीड़ घट्दै गयो, र तिनीहरू एक-अर्कालाई मार्दै अघि बढ़े। 17 अनि शाऊलले आफूसित भएका मानिसहरूलाई भने: “अब गन्ती गर, र हेर! हामीबाट को गएको छ?” अनि जब तिनीहरूले गन्ती गरे, तब हेर, योनातान र उनको हतियार बोक्ने त्यहाँ थिएनन्। 18 अनि शाऊलले अहियाहलाई भने: “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ!” किनभने त्यस समय परमप्रभुको सन्दुक इस्राएलीहरूसँग थियो। 19 अनि यस्तो भयो: शाऊल पूजाहारीसँग बोल्दै गर्दा पलिस्तीहरूको सेनामा खैलाबैला झन्-झन् बढ़्दै गयो; तब शाऊलले पूजाहारीलाई भने: “छोड़िदेऊ!” 20 तब शाऊल र तिनीसँग भएका सबै मानिसहरू भेला भए, र तिनीहरू लड़ाइँभित्र पसे; अनि हेर, हरेक मानिसको तरवार एक-अर्काको विरोधमा चल्दैथियो; अनि त्यहाँ एउटा साह्रै ठूलो खैलाबैला मच्‍चियो 21 साथै ती हिब्रूहरू जो पहिले पलिस्तीहरूसित थिए, जुन देशको चारैपट्टिबाट तिनीहरूको साथमा माथि छाउनीमा गएका थिए, उनीहरू पनि शाऊल र योनातानसँग भएका इस्राएलीहरूको साथमा लाग्‍न फर्के। 22 त्यस्तै इस्राएलका सबै मानिसहरू जो एप्रैम पहाड़मा लुकेका थिए, जब उनीहरूले पलिस्तीहरू भाग्दैछन् भन्‍ने कुरा सुने, तब उनीहरूले पनि लड़ाइँमा खूबै यत्‍न गरी तिनीहरूलाई खेदे। 23 यसरी त्यस दिन परमप्रभुले इस्राएललाई बचाउनुभयो; अनि लड़ाइँ उता बेत-आवेनतिर सर्दै गयो।
24 अनि त्यस दिन इस्राएलका मानिसहरू कष्‍टमा परे; किनकि शाऊलले मानिसहरूलाई यसो भन्दै शपथ खान लाएका थिए: “जसले साँझसम्म, र मैले मेरा शत्रुहरूबाट बदला नलिएसम्म कुनै खानेकुरा खान्छ, त्यो मानिस श्रापित होस्!” यसैले कुनै मानिसले पनि केही खानेकुरा चाखेन। 25 अनि त्यस देशका सबै मानिसहरू बनमा आइपुगे; अनि भुइँमाथि मह थियो। 26 अनि जब मानिसहरू बनमा आइपुगे, तब हेर, मह चुहिरहेको थियो; तर कसैले पनि आफ्नो हात मुखमा पुर्‍याएन; किनभने मानिसहरू त्यस शपथदेखि डराउँथे। 27 तर योनातानले आफ्ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्; यसैकारणले उनले आफ्नो हातमा भएको लौराको टुप्पा अघि बढ़ाएर त्यसलाई महको चाकामा डुबाए र आफ्नो हात आफ्नो मुखमा पुर्‍याए; र उनका आँखा चहकिला भए। 28 तब मानिसहरूमा एकजनाले जवाफ दिएर भन्यो: “तपाईंका पिताले यसो भन्दै मानिसहरूलाई कठोर शपथ खान लाएका छन्, ‘श्रापित होस् त्यो मानिस, जसले आज केही खानेकुरा खान्छ।’” अनि मानिसहरू क्लान्त भए। 29 तब योनातानले भने: “मेरा बुबाले यस देशलाई कष्‍ट दिनुभएको छ; हेर न, म विन्‍ती गर्छु! मेरा आँखाहरू चहकिला भएका छन्; किनकि मैले यस महबाट अलिकति मात्र चाखें; 30 यी मानिसहरूले आफ्ना शत्रुहरूको लुटको मालबाट, जो तिनीहरूले फेला पारेका छन्, आज मनमानी खाएका भए झन् कति बढ़्‍ता हुनेथियो! के पलिस्तीहरूको बीचमा अहिले झन् बढ़्‍ता काटमार हुनेथिएन र?” 31 अनि उनीहरूले त्यस दिन पलिस्तीहरूलाई मिक्मासदेखि अय्यालोनसम्म प्रहार गरे; अनि मानिसहरू अति नै क्लान्त भए।
32 तब मानिसहरू लुटको मालमाथि झम्टे, र भेड़ाबाख्राहरू, गोरुहरू र बाछाहरू लिएर तिनलाई भुइँमा मारे; अनि मानिसहरूले तिनको मासु रगतसँगै खाए। 33 तब उनीहरूले शाऊललाई यसो भने: “हेर्नुहोस्, मानिसहरूले मासु रगतसँगै खाएर परमप्रभुको विरोधमा पाप गर्दैछन्।” अनि तिनले भने: “तिमीहरूले अपराध गरेका छौ; अहिले नै एउटा ठूलो ढुङ्गा मकहाँ गुड़ाएर ल्याओ!” 34 अनि शाऊलले भने: “मानिसहरूको बीचमा छरिएर जाओ, र तिनीहरूलाई भन, ‘तिमीहरूमध्ये हरेक मानिसले आ-आफ्नो गोरु, हरेक मानिसले आ-आफ्नो भेड़ाबाख्रा यहाँ मकहाँ ल्याओ, र तिनलाई यहाँ मारेर खाओ; अनि मासु रगतसँग खाएर परमप्रभुको विरोधमा पाप नगर!’ ” अनि त्यस रात सबै मानिसहरू – हरेकले आ-आफ्नो गोरु आफ्नो साथमा ल्याएर तिनलाई त्यहाँ मारे। 35 अनि शाऊलले परमप्रभुका निम्ति एउटा वेदी बनाए; त्योचाहिँ तिनले परमप्रभुको निम्ति बनाएको पहिलो वेदी थियो।
36 तब शाऊलले भने: “हामी राति पलिस्तीहरूको पछि-पछि तल झरौं, र बिहान, उज्यालो नभएसम्म तिनीहरूलाई लुटौं, अनि तिनीहरूमध्ये एकजनालाई पनि नछोड़ौं!” अनि तिनीहरूले भने: “तपाईंलाई जे पनि असल लाग्छ, त्यही गर्नुहोस्!” तब पूजाहारीले भने: “हामी यता परमेश्‍वरको नजिक आऔं!” 37 अनि शाऊलले परमेश्‍वरबाट सल्‍लाह मागे: “के म पलिस्तीहरूको पछि-पछि तल झरूँ? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सम्पिदिनुहुन्छ?” तर त्यस दिन उहाँले तिनलाई जवाफ दिनुभएन। 38 तब शाऊलले भने: “मानिसहरूका सबै प्रधानहरूहो, यता नजिक आओ; र आज यो पाप केमा भएको छ, सो जान र हेर! 39 किनभने इस्राएललाई बचाउनुहुने परमप्रभुको जीवनको शपथ! त्यो मेरै छोरा योनातान भए पनि त्यो निश्‍चय मर्नेछ।” तर सबै मानिसहरूमध्ये तिनलाई जवाफ दिने कोही थिएन। 40 तब तिनले सारा इस्राएललाई भने: “तिमीहरू यतापट्टि होओ, अनि म र मेरो छोरा योनातान – हामी अर्कापट्टि हुनेछौं।” अनि मानिसहरूले शाऊललाई भने: “तपाईंलाई जे असल लाग्छ, त्यो गर्नुहोस्!” 41 यसैले शाऊलले परमप्रभु इस्राएलका परमेश्‍वरलाई भने: “सिद्ध निर्णय दिनुहोस्!” अनि शाऊल र योनातान पक्राउ परे; तर मानिसहरूचाहिँ उम्के। 42 अनि शाऊलले भने: “म र मेरो छोरा योनातानको बीचमा चाहिँ गोला हाल!” अनि योनातान पक्राउ परे। 43 तब शाऊलले योनातानलाई भने: “तिमीले के गरेका छौ, मलाई भन!” अनि योनातानले तिनलाई बताएर भने: “मेरो हातमा भएको लौराको टुप्पाले मैले अलिकति मह मात्र चाखें; अनि हेर्नुहोस्, म मर्नैपर्छ।” 44 अनि शाऊलले जवाफ दिए: “परमेश्‍वरले त्यस्तै र त्यसभन्दा ज्यादा गरून्! किनकि योनातान, तिमी निश्‍चय मर्नेछौ।” 45 तर मानिसहरूले शाऊललाई भने: “के योनातान मर्नुपर्छ, जसले इस्राएलमा यो महान् उद्धारको काम गर्नुभएको छ? यो कदापि हुनेछैन! परमप्रभुको जीवनको शपथ! उहाँको शिरको एउटा केशधरि भुइँमा खस्‍नेछैन; किनभने आजको दिन उहाँले परमप्रभुसँग काम गर्नुभएको छ।” यसरी मानिसहरूले योनातानलाई छुटाए, र उनी मरेनन्। 46 तब शाऊल पलिस्तीहरूको पिछा गर्न छोड़ेर उकालो लागे; अनि पलिस्तीहरू आफ्नो ठाउँमा गए।
47 यसरी शाऊलले इस्राएलमाथिको राज्य लिए, र चारैतिर आफ्ना सबै शत्रुहरूको विरोधमा लड़ाइँ गरे – मोआबको विरोधमा, अम्मोनीहरूको विरोधमा, एदोमको विरोधमा, जोबाहका राजाहरूको विरोधमा र पलिस्तीहरूको विरोधमा; अनि तिनी जता जान्थे, त्यतै तिनले तिनीहरूलाई हैरान पारिदिन्थे। 48 अनि तिनले वीरता देखाए, अमालेकीहरूलाई प्रहार गरे, र इस्राएलीहरूलाई तिनीहरूका लुटपाट गर्नेहरूको हातबाट छुटकारा दिए।
49 अनि शाऊलका छोराहरू योनातान, इश्‍वी, मल्किशूअ थिए; अनि तिनका दुईजना छोरीहरूका नाम यिनै थिए – जेठीको नाम मेराब, र कान्छीको नाम मिकल। 50 अनि शाऊलकी पत्‍नीको नाम अहिनोअम थियो, जो अहिमासकी छोरी थिइन्; अनि तिनका सेनापतिको नाम अब्‍नेर थियो, जो शाऊलका काका नेरका छोरा थिए। 51 अनि कीशचाहिँ शाऊलका बुबा थिए; अनि अब्‍नेरका बुबा नेरचाहिँ अबिएलका छोरा थिए।
52 अनि शाऊलको सारा जीवनभरि नै पलिस्तीहरूसँग घमासान लड़ाइँ भइरह्‍यो; अनि जब शाऊलले कुनै बलियो मानिस वा कुनै शूरवीर मानिसलाई देख्थे, तब तिनले उसलाई आफूसँग राख्थे।