पलिस्तीहरूसित शाऊलको लड़ाइँ
13
शाऊलले एक वर्ष राज्य गरे; अनि जब उनले इस्राएलमाथि दुई वर्ष राज्य गरेका थिए, 2 तब शाऊलले आफ्ना निम्ति इस्राएलका तीन हजार मानिसहरू चुने; दुई हजारचाहिँ शाऊलसँग मिक्मासमा र बेतएल डाँड़ामा थिए, र एक हजारचाहिँ योनातानसित बिन्यामिनको गिबामा थिए; अनि बाँकी मानिसहरूलाई उनले हरेकलाई आ-आफ्नो पालमा पठाए। 3 अनि योनातानले गिबामा भएको पलिस्तीहरूको सैनिक पहरे-चौकीलाई प्रहार गरे, र पलिस्तीहरूले यो सुने। अनि शाऊलले सारा देशभरि यसो भन्दै तुरही फुके: “हिब्रूहरूले सुनून्!” 4 अनि शाऊलले पलिस्तीहरूको सैनिक पहरे-चौकीमाथि प्रहार गरेका छन्, अनि पलिस्तीहरूका निम्ति इस्राएल डुङडुङ्ती गनाउने बनेको छ भन्‍ने कुरा सारा इस्राएलले सुन्यो। अनि ती मानिसहरू गिल्गालमा शाऊलको पछि लाग्‍न भेला भए। 5 तब पलिस्तीहरू इस्राएलसँग लड़ाइँ गर्न भेला भए – तीस हजार रथहरू, छ हजार घोड़चढ़ीहरू र समुद्रका किनारमा भएको बालुवाझैं असंख्य मानिसहरू; अनि तिनीहरू माथि आए, र बेत-आवेनको पूर्वपट्टि मिक्मासमा छाउनी हाले। 6 जब इस्राएलका मानिसहरूले आफूलाई आपदमा परेका देखे, (किनभने मानिसहरू सङ्कष्‍टमा परेका थिए), तब ती मानिसहरू गुफाहरूमा, झाड़ीहरूमा, चट्टानहरूमा, ध्वान्द्राहरूमा र खाल्डाहरूमा लुके। 7 अनि कोही हिब्रूहरू यर्दनपारि गाद र गिलादको देशमा गए। अनि शाऊलचाहिँ – तिनी अझ गिल्गालमै थिए, र सबै मानिसहरूले थरथराउँदै उनलाई पछ्याए।
8 अनि शमूएलले ठहऱ्याएको निश्‍चित समयअनुसार शाऊलले सात दिनसम्म पर्खे; तर शमूएल गिल्गालमा आएनन्; अनि मानिसहरू तिनीकहाँबाट छरपस्ट भए। 9 तब शाऊलले भने: “यहाँ मकहाँ एउटा होमबलि र मेलबलिहरू ल्याओे!” अनि तिनले त्यो होमबलि चढ़ाए। 10 अनि यस्तो भयो: तिनले त्यो होमबलि चढ़ाइसक्नेबित्तिकै हेर, शमूएल आइपुगे; अनि शाऊल उनलाई अभिवादन चढ़ाउनलाई उनलाई भेट गर्न बाहिर गए। 11 अनि शमूएलले भने: “तिमीले के गरेको?” अनि शाऊलले भने: “किनभने मैले मानिसहरू मकहाँबाट छरपस्ट भएका, अनि तपाईंचाहिँ तोकिएका दिनहरूभित्र नआउनुभएको, र पलिस्तीहरू मिक्मासमा भेला भएका देखें; 12 यसकारण मैले भनें, ‘पलिस्तीहरू अब तल गिल्गालमा आएर ममाथि आइलाग्‍नेछन्, र मैले चाहिँ निगाह पाउनका निम्ति परमप्रभुलाई विन्‍ती चढ़ाएको छैनँ;’ यसैले मैले आफूलाई करैमा पारेर त्यो होमबलि चढ़ाएँ।” 13 तब शमूएलले शाऊललाई भने: “तिमीले मूर्ख काम गर्‍यौ; परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको उहाँको आज्ञा तिमीले पालन गरेनौ; किनकि परमप्रभुले तिम्रो अहिले राज्य सदाका निम्ति इस्राएलमाथि स्थापित गर्नुहुनेथियो। 14 तर अब तिम्रो राज्य टिक्नेछैन; परमप्रभुले आफ्ना निम्ति आफ्नो हृदयअनुसारको मानिस खोज्‍नुभएको छ; अनि आफ्नो प्रजामाथि अगुवा हुनका निम्ति परमप्रभुले उसलाई आज्ञा गर्नुभएको छ; किनभने जुन आज्ञा परमप्रभुले तिमीलाई दिनुभएको थियो, त्यो आज्ञा तिमीले पालन गरेका छैनौ।” 15 अनि शमूएल उठे, र गिल्गालबाट बिन्यामिनको गिबातिर उकालो लागे। अनि शाऊलले आफूसित भएका मानिसहरूको गन्ती गरे – प्राय: छ सय पुरुष थिए।
16 अनि शाऊल र तिनका छोरा जोनातान, अनि तिनीहरूसित भएका मानिसहरू बिन्यामिनको गिबामा बसे; तर पलिस्तीहरूले मिक्माशमा छाउनी हाले। 17 अनि पलिस्तीहरूका छाउनीबाट लुट्नेहरू तीन दलमा भई निस्केर आए; एक दल शूआलको देशमा ओप्रातिर जाने बाटोमा लाग्यो; 18 अनि अर्को दल बेतहोरोनको बाटोमा लाग्यो; अनि अर्को दल उजाड़स्थानतिर त्यस सिमानाको बाटोमा लाग्यो, जहाँबाट जेबोइमको बेंसी देखिन्छ।
19 अनि इस्राएलको सारा देशभरि नै कुनै लोहार पाइँदैनथियो; किनकि पलिस्तीहरूले भन्थे: ‘नत्र हिब्रूहरूले तरवारहरू वा भालाहरू बनाउनेछन्’; 20 तर सबै इस्राएलीहरू, हरेक मानिस आ-आफ्नो फाली, आ-आफ्नो कोदालो, आ-आफ्नो बन्चरो र आ-आफ्नो फरुवा उध्याउन पलिस्तीहरूकहाँ जान्थे। 21 अनि फरुवा, कोदाला, काँटा र बन्चराहरू, साथै दण्डीहरू उध्याउने दाम शेकेलको दुई तिहाइ हुन्थ्यो।
22 अनि लड़ाइँको दिनमा यस्तो भयो: शाऊल र योनातानसित भएको कुनै पनि मानिसको हातमा न तरवार थियो, न ता भाला नै; तर शाऊल र तिनका छोरा योनातानसित चाहिँ पाइयो। 23 अनि पलिस्तीहरूको सैनिक पहरे-चौकी निस्केर मिक्माशको भन्ज्याङ्गसम्म आयो।