शमूएलको बिदाइ
12
अनि शमूएलले सारा इस्राएललाई भने: “हेर, तिमीहरूले मलाई भनेका सबै कुराहरूको विषयमा मैले तिमीहरूको कुरा मानेकोक छु, र तिमीहरूमाथि एउटा राजा बनाइदिएको छु। 2 अनि अब हेर, यी राजा तिमीहरूको अघि-अघि हिँड़्छन्; तर मचाहिँ वृद्ध र केश फुलिसकेको मानिस हुँ; अनि हेर, मेरा छोराहरू तिमीहरूसँगै छन्; अनि मचाहिँ मेरो बालककालदेखि आजको दिनसम्म तिमीहरूको अघि-अघि हिँड़ेको थिएँ। 3 हेर, म यहाँ छु; परमप्रभुको सामु र उहाँको अभिषिक्त जनको सामु मेरो विरोधमा साक्षी देओ! कसको गोरु मैले लिएको छु? वा कसको गधा मैले लिएको छु? वा कसलाई मैले धुतेको छु? कसलाई मैले थिचोमिचो गरेको छु? वा घूसलेख आफ्ना आँखाहरू अन्धा पार्नलाई मैले कसको हातबाट घूस लिएको छु? अनि म तिमीहरूलाई यो फर्काइदिनेछु।” 4 अनि तिनीहरूले भने: “तपाईंले हामीहरूलाई धुत्नुभएको छैन, न हामीहरूलाई थिचोमिचो नै गर्नुभएको छ, न ता कसैको हातबाट केही लिनुभएकै छ।” 5 अनि उनले तिनीहरूलाई भने: “तिमीहरूले मेरो हातमा केही भेट्टाएका छैनौ भनी परमप्रभु तिमीहरूको विरोधमा साक्षी हुनुहुन्छ, र उहाँको अभिषिक्त जन पनि आजको दिनमा साक्षी छन्।” अनि तिनीहरूले जवाफ दिए: “उहाँ साक्षी हुनुहुन्छ।” 6 अनि शमूएलले ती मानिसहरूलाई भने: “मोशा र हारूनलाई उठाउनुहुने र तिमीहरूका पितापुर्खाहरूलाई मिस्र देशबाट निकालेर ल्यानुहुने परमप्रभु नै हुनुहुन्छ। 7 यसकारण अब उभिरहो, र परमप्रभुले तिमीहरूसित र तिमीहरूका पितापुर्खाहरूसित गर्नुभएका उहाँका सबै धार्मिक कार्यहरूको विषयमा म तिमीहरूसित परमप्रभुको सामु तर्क गर्नेछु।8 जब याकूब मिस्रमा आए, र तिमीहरूका पितापुर्खाहरूले परमप्रभुलाई पुकारे, तब परमप्रभुले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई निकालेर ल्याए, र तिनीहरूलाई यस ठाउँमा बसाए। 9 तर जब तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई भुले, तब उहाँले तिनीहरूलाई हासोरको सेनापति सीसेराको हातमा, पलिस्तीहरूको हातमा र मोआबका राजाको हातमा बेचिदिनुभयो, र उनीहरूले तिनीहरूसित लड़ाइँ गरे। 10 अनि तिनीहरूले परमप्रभुलाई पुकारेर भने: ‘हामीले पाप गरेका छौं; किनभने हामीले परमप्रभुलाई त्यागेका छौं, र बाल देवताहरू र अश्तारोत देवीहरूको पूजा गरेका छौं; तर अब हामीलाई हाम्रा शत्रुहरूको हातबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।’ 11 अनि परमप्रभुले यरूब्बाल, बेदान, यिप्तह र शमूएललाई पठाउनुभयो, र तिमीहरूलाई चारैतिर तिमीहरूका शत्रुहरूको हातबाट छुटकारा दिनुभयो, अनि तिमीहरू सुरक्षित भई बस्यौ।
12 अनि जब तिमीहरूले अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूको विरोधमा आइरहेका देख्यौ, तब परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका राजा हुँदा-हुँदै तिमीहरूले मलाई भन्यौ: ‘होइन, तर एकजना राजाले हामीमाथि राज्य गरून्!’ 13 यसकारण अब तिमीहरूले चुनेका, तिमीहरूले मागेका तिमीहरूका राजालाई हेर! अनि हेर, परमप्रभुले तिमीहरूमाथि एकजना राजा नियुक्त गर्नुभएको छ। 14 अनि तिमीहरूले परमप्रभुको डर मान्यौ, उहाँको सेवा गर्यौ, उहाँको वाणी पालन गर्यौ र परमप्रभुको आज्ञाकोग विरुद्ध विद्रोह गरेनौ भने दुवै तिमीहरू र तिमीहरूमाथि राज्य गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरलाई पछ्याइरहनेछौ; 15 तर तिमीहरूले परमप्रभुको वाणी पालन गरेनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध विद्रोह गर्यौ भने परमप्रभुको हात तिमीहरूका पितापुर्खाहरूको विरोधमा भएझैं तिमीहरूको विरोधमा हुनेछ। 16 यसकारण अब उभिरहो, र यो महान् कुरा हेर, जुन कुरा परमप्रभुले तिमीहरूका आँखाको सामु गर्नुहुनेछ। 17 के आज गहुँको कटनीको समय होइन र? म परमप्रभुलाई पुकार्नेछु, र उहाँले गर्जनहरू र वर्षा पठाउनुहुनेछ, यस हेतुले कि तिमीहरूले आफ्नो दुष्टता कति ठूलो रहेछ, सो जान्न र देख्न सक, जुन दुष्टता तिमीहरूले आफ्ना निम्ति एकजना राजा मागेर परमप्रभुको दृष्टिमा गरेका छौ।”
18 तब शमूएलले परमप्रभुलाई पुकारे; अनि परमप्रभुले त्यस दिन गर्जनहरू र वर्षा पठाउनुभयो; अनि सबै मानिसहरू परमप्रभु र शमूएलसँग साह्रै डराए। 19 अनि सबै मानिसहरूले शमूएललाई भने: “तपाईंका दासहरूका निम्ति परमप्रभु तपाईंका परमेश्वरलाई प्रार्थना गरिदिनुहोस्, र हामी नमरौं; किनभने आफ्ना निम्ति एक जना राजा मागेर हामीले आफ्ना सबै पापहरूमाथि यो दुष्टता थपेका छौं।” 20 अनि शमूएलले मानिसहरूलाई भने: “नडराओे, तिमीहरूले यो सबै दुष्टता गरेका छौ, तरै पनि परमप्रभुको पछि लाग्नदेखि नहट, तर तिमीहरूको सारा हृदयले परमप्रभुको सेवा गर! 21 र कतैतिर नलाग; किनभने तिमीहरू व्यर्थका कुराहरूको पछि लाग्नेछौ, जसले न फाइदा दिन्छन्, न छुटाउन सक्छन्; किनकि ती व्यर्थैका हुन्। 22 किनकि आफ्नो महान् नामको खातिर परमप्रभुले आफ्ना जनहरूलाई त्याग्नुहुनेछैन; किनभने तिमीहरूलाई आफ्नो प्रजा बनाउने कुरामा परमप्रभु प्रसन्न हुनुभयो; 23 यसबाहेक मचाहिँ – तिमीहरूका निम्ति प्रार्थना गर्न छोड़ेर म परमप्रभुको विरोधमा पाप गरूँ? यो मदेखि टाढ़ा रहोस्घ! तर म तिमीहरूलाई असल र सठीक बाटो सिकाउनेछु। 24 केवल परमप्रभुको डर मान, र तिमीहरूको सारा हृदयले सत्यतामा उहाँको सेवा गर; किनकि विचार गर, उहाँले तिमीहरूका निम्ति कति ठूला-ठूला काम गर्नुभएको छ! 25 तर तिमीहरूले अझ पनि दुष्टता गर्यौ भने दुवै तिमीहरू र तिमीहरूका राजा पनि नष्ट हुनेछौ।”