अम्मोनीहरूमाथि शाऊलको विजय
11
त्यसपछि अम्मोनी नाहाशले चढ़ाइ गरे, र याबेश-गिलादको विरुद्ध छाउनी हाले; अनि याबेश-गिलादका सबै मानिसहरूले नाहाशलाई भने: “हामीसँग एउटा वाचा बाँध्‍नुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं!” 2 अनि अम्मोनी नाहाशले तिनीहरूलाई जवाफ दिए: “म तिमीहरूसँग यस सर्तमा वाचा बाँध्‍नेछु: म तिमीहरू सबैको दाहिने आँखा उधिनेर निकाल्नेछु, र सारा इस्राएलका निम्ति यो निन्दाको कारण तुल्याउनेछु।” 3 अनि याबेशका बूढ़ा प्रधानहरूले उनलाई भने: “सात दिनसम्म हामीलाई म्याद दिनुहोस्, र हामी इस्राएलका सबै इलाकाहरूभरि दूतहरू पठाउन सकौं; अनि हामीलाई बचाउने कोही पनि भएन भने हामी तपाईंकहाँ निस्केर आउनेछौं।” 4 तब दूतहरू शाऊलको गिबामा आए, र मानिसहरूले सुन्‍ने गरी यी समाचारहरू सुनाए; अनि सबै मानिसहरू आफ्ना आवाज उठाएर रोए। 5 अनि हेर, शाऊल बारीबाट गाईबस्तुको बगालको पछि-पछि आइरहेका थिए; अनि शाऊलले भने: “यी मानिसहरूलाई के भयो, र तिनीहरू रोइरहेका छन्?” अनि तिनीहरूले तिनलाई याबेशका मानिसहरूका समाचारहरू सुनाए। 6 अनि जब उनले ती समाचार सुने, तब परमेश्‍वरको आत्मा सामर्थ्यसित शाऊलमाथि आउनुभयो, र तिनको रिस साह्रै दन्कियो। 7 अनि तिनले एक हल गोरु लिए, र तिनलाई काटेर टुक्रा-टुक्रा पारे, र यसो भन्दै तिनलाई इस्राएलका सबै इलाकाहरूभरि दूतहरूको हातद्वारा पठाए: “हरेक जो शाऊल र शमूएलको पछि लाग्दैन, उसका गोरुहरूलाई यस्तै गरिनेछ।” अनि परमप्रभुको भयले मानिसहरूलाई छोप्यो, र तिनीहरू एउटा मानिसझैं गरी निस्केर आए। 8 अनि जब तिनले बेजेकमा तिनीहरूको गन्ती गरे, तब इस्राएलीहरू तीन लाख थिए, र यहूदाका मानिसहरू तीस हजार थिए।
9 अनि तिनीहरूले आएका दूतहरूलाई भने: “याबेश-गिलादका मानिसहरूलाई तिमीहरूले यसो भन्‍नू, ‘भोलि, घाम चर्किएको बेलामा तिमीहरूले छुटकारा पाउनेछौ।’ ” अनि ती दूतहरू गए, र याबेशका मानिसहरूलाई यो बताइदिए; अनि उनीहरू खुशी भए। 10 यसकारण याबेशका मानिसहरूले भने: “भोलि हामी तपाईंहरूकहाँ निस्केर आउनेछौं, र जस्तो तपाईंहरूलाई असल लाग्छ, त्यस्तै तपाईंहरूले हामीसित सब गर्नुहोस्!” 11 अनि भोलिपल्ट यस्तो भयो: शाऊलले मानिसहरूलाई तीन दलमा बाँटे; अनि बिहानको घड़ी तिनीहरू छाउनीको बीचमा पसे, र अम्मोनीहरूलाई दिन चर्को नहोउन्जेल मारे; अनि यस्तो भयो: बाँकी रहेकाहरू छरपस्ट भए, यहाँसम्म कि तिनीहरूमध्ये दुईजना एकसाथ रहेनन्।
12 अनि मानिसहरूले शमूएललाई भने: “ ‘के शाऊलले हामीमाथि राज्य गर्छ र?’ भन्‍ने त्यो को हो? ती मानिसहरूलाई ल्याओ, र हामी तिनीहरूलाई मार्नेछौं!” 13 अनि शाऊलले भने: “आजको दिन कुनै मानिस पनि मारिनेछैन; किनभने आज परमप्रभुले इस्राएलमा उद्धारको काम गर्नुभएको छ।” 14 तब शमूएलले मानिसहरूलाई भने: “आओ, हामी गिल्गालमा जाऔं, र त्यहाँ राज्य नयाँ तुल्याऔं!” 15 अनि सबै मानिसहरू गिल्गालमा गए; अनि त्यहाँ, गिल्गालमा तिनीहरूले परमप्रभुको सामु शाऊललाई राजा बनाए; अनि त्यहाँ तिनीहरूले परमप्रभुको सामु मेलबलिहरू चढ़ाए, अनि त्यहाँ शाऊल र इस्राएलका सबै मानिसहरूले खूबै हर्ष मनाए।