शमूएलले शाऊलको राजा-अभिषेक गरे
10
त्यसपछि शमूएलले तेलको एउटा भुँड़ुल्को लिए, र तिनको शिरमाथि खन्याइदिए, र तिनलाई चुम्बन गरेर भने: “के उहाँको पैतृक सम्पत्तिमाथि शासक तुल्याउनका निम्ति परमप्रभुले तिमीलाई अभिषेक गर्नुभएको होइन र? 2 जब तिमी आज मबाट बिदा लिएर जान्छौ, तब बिन्यामिनको सिमानामा जेल्जहमा, राहेलको चिहाननिर तिमीले दुईजना मानिसलाई भेट्टाउनेछौ; अनि तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘जुन गधाहरू खोज्‍न तपाईं जानुभएको थियो, ती गधाहरू फेला परेका छन्; अनि हेर्नुहोस्, तपाईंका बुबाले गधाको फिक्री गर्न छोड़ेर ‘मेरा छोराका निम्ति म के गरूँ?’ भन्दै तपाईंहरूको विषयमा सुर्ता गर्नुहुन्छ।’ 3 त्यसपछि तिमी त्यहाँबाट अघि बढ़ेर ताबोरको फलाँटको रूखमा पुग्‍नेछौ, र त्यहाँ तिमीले तीनजना मानिसलाई – एकजनाले बाख्राका तीनवटा पाठा बोकेर, अर्कोले तीनवटा रोटी बोकेर र अर्कोले एक मशक दाखमद्य बोकेर माथि बेतएलमा परमेश्‍वरकहाँ जाँदै गरेका भेट्टाउनेछौ। 4 अनि तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र तिमीलाई दुईवटा रोटी दिनेछन्, जुन रोटीहरू तिमीले तिनीहरूको हातबाट लिनेछौ। 5 त्यसपछि तिमी परमेश्‍वरको डाँड़ामा आइपुग्‍नेछौ, जहाँ पलिस्तीहरूको सैनिक पहरे-चौकी छ; अनि यस्तो हुनेछ: तिमी त्यहाँ, त्यस शहरमा पुगेपछि तिमीले भविष्यवक्ताहरूको एक दललाई आफ्नो अघिल्तिर सितार, खैजड़ी, बाँसुरी र वीणा लिएर उच्‍च स्थानबाट तल आइरहेको भेट्टाउनेछौ; अनि तिनीहरूले भविष्यवाणी गर्नेछन्; 6 अनि परमप्रभुको आत्मा सामर्थ्यसित तिमीमाथि आउनुहुनेछ, र तिमी तिनीहरूसित भविष्यवाणी गर्नेछौ, र तिमी बदली भएर अर्कै मानिस हुनेछौ। 7 अनि यस्तो होस्: जब यी चिन्हहरू तिमीमा पूरा हुन्छन्, तब जस्तो परिस्थिति परिआउँछ, त्यस्तै काम गर; किनभने परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ। 8 अनि तिमी मभन्दा अघि तल गिल्गाल जानू; अनि हेर, म तिमीकहाँ होमबलिहरू चढ़ाउन र मेलबलिहरू चढ़ाउन तल आउनेछु; तिमीले सात दिनसम्म, म तिमीकहाँ आएर तिमीले के गर्नुपर्ने हो, सो नदेखाउन्जेल पर्ख!”
9 अनि यस्तो भयो: शमूएलकहाँबाट जानलाई जब तिनले आफ्नो पिठ्यूँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो; अनि त्यही दिन ती सबै चिन्हहरू पूरा भए। 10 अनि जब तिनीहरू त्यहाँ, त्यस डाँड़ामा पुगे, तब हेर, भविष्यवक्ताहरूको एक दलले तिनलाई भेटे; अनि परमेश्‍वरको आत्मा सामर्थ्यसित तिनीमाथि आउनुभयो, र तिनीहरूको बीचमा तिनले भविष्यवाणी गरे। 11 अनि यस्तो भयो: जब पहिलेदेखि नै तिनलाई चिन्‍ने सबैले ‘हेर, भविष्यवक्ताहरूको बीचमा तिनी भविष्यवाणी गरिरहेछन्’ भनी देखे, तब ती मानिसहरूले एक-अर्कालाई भने: “कीशको छोरालाई भएको यो के हो? के शाऊल पनि भविष्यवक्ताहरूमध्येका हुन्?” 12 अनि एकजना त्यहाँकै मानिसले जवाफ दिएर भन्यो: “तर तिनीहरूका बुबा को हुन्?” यसकारण ‘के शाऊल पनि भविष्यवक्ताहरूमध्येका हुन्?’ भन्‍ने लोकोक्ति चल्यो। 13 अनि तिनले भविष्यवाणी गरिसिद्ध्याएपछि तिनी त्यस उच्‍च स्थानमा आए। 14 अनि शाऊलका काकाले तिनलाई र तिनको नोकरलाई भने: “तिमीहरू कहाँ गयौ?” अनि शाऊलले भने: “गधाहरू खोज्‍न; अनि जब ती कहीं पनि छैनन् भनी हामीले थाहा गर्यौं, तब हामी शमूएलकहाँ गयौं।” 15 अनि शाऊलका काकाले भने: “म तिमीलाई विन्‍ती गर्छु, शमूएलले तिमीहरूलाई के भने, सो मलाई भन!” 16 अनि शाऊलले आफ्ना काकालाई भने: “उहाँले हामीलाई ‘ती गधाहरू फेला परेका छन्’ भनी सफासँग भन्‍नुभयो।” तर राज्यको विषयमा शमूएलले जे बताएका थिए, त्यो तिनले उनलाई भनेनन्।
17 तब शमूएलले मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला गरे; 18 अनि उनले इस्राएलीहरूलाई भने: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, मैले इस्राएललाई मिस्रबाट निकालें र तिमीहरूलाई मिस्रीहरूको हातबाट र तिमीहरूलाई थिचोमिचो गर्ने सबै राज्यहरूको हातबाट छुटकारा दिएँ; 19 तर तिमीहरूले आज आफ्ना परमेश्‍वरलाई रद्द गरेका छौ, जसले आफैले तिमीहरूलाई तिमीहरूका सबै दुर्दशाहरूबाट र तिमीहरूका विपत्तिहरूबाट बचाउनुभएको छ; अनि तिमीहरूले उहाँलाई ‘अहँ, हामीमाथि एक जना राजा नै नियुक्त गरिदिनुहोस्!’ भनेका छौ; यसकारण अब परमप्रभुको सामु तिमीहरूका कुल-कुल र तिमीहरूका हजार-हजार गरी आफूलाई हाजिर गराओ!” 20 अनि जब शमूएलले इस्राएलका सबै कुलहरूलाई नजिक आउन लगाए, तब बिन्यामिन कुल पक्राउ पर्‍यो। 21 जब उनले बिन्यामिन कुललाई आ-आफ्ना घरानाअनुसार नजिक ल्याए, तब मत्रीको घराना पक्रा पर्‍यो, अनि कीशको छोरा शाऊल पक्रा परे; अनि जब तिनीहरूले तिनलाई खोजे, तब तिनी भेट्टाउन सकिएनन्। 22 तब तिनीहरूले फेरि ‘यी मानिस यहाँ आइसके कि’ भनी परमप्रभुलाई सोधे। अनि परमप्रभुले जवाफ दिनुभयो: “हेर, ऊ मालसामानहरूको बीचमा लुकिरहेको छ।” 23 तब तिनीहरू दगुरेर गए, र तिनलाई त्यहाँबाट ल्याए; अनि जब तिनी मानिसहरूको बीचमा उभिए, तब तिनी सबै मानिसहरूभन्दा आफ्नो कुमदेखि उँभै अग्ला थिए। 24 अनि शमूएलले सबै मानिसहरूलाई भने: “तिनलाई हेर, जसलाई परमप्रभुले चुन्‍नुभएको छ; किनकि सबै मानिसहरूको बीचमा तिनीजस्तो अरू कोही छैन!” अनि सबै मानिसहरूले कराएर भने: “राजा अमर रहून्!”
25 अनि शमूएलले मानिसहरूलाई राज्यको नियम बताइदिए, र यसलाई एउटा पुस्तकमा लेखेर परमप्रभुको सामु राखिदिए। अनि शमूएलले सबै मानिसहरूलाई हरेकलाई आ-आफ्नो घरमा पठाइदिए। 26 अनि शाऊल पनि गिबामा, आफ्नो घरमा गए; अनि शूरवीर मानिसहरू तिनको साथमा गए, जसका हृदय परमेश्‍वरले छुनुभएको थियो। 27 तर अधम मानिसहरूले भने: “त्यस मानिसले हामीलाई कसरी बचाउँला?” अनि तिनीहरूले तिनलाई तुच्छ ठाने र तिनीकहाँ कुनै उपहार ल्याएनन्। तर तिनी चुप रहे।