यहूदामाथि दाऊदको राजा – अभिषेक
2
अनि त्यसपछि यस्तो भयो: दाऊदले यसो भन्दै परमप्रभुलाई सोधे: “के म माथि यहूदाको कुनै शहरमा जाऊँ?” अनि परमप्रभुले उनलाई भन्नुभयो: “माथि जाऊ!” अनि दाऊदले भने: “म माथि कहाँ जाऊँ?” अनि उहाँले भन्नुभयो: “हेब्रोनमा।” 2 तब दाऊद र उनका दुई पत्नीहरू यिज्रेएली अहिनोअम र कर्मेली नाबालकी पत्नी अबिगेल पनि त्यहाँ माथि गए। 3 अनि दाऊदले आफ्नो साथमा भएका आफ्ना मानिसहरूलाई – हरेक मानिसलाई उसको परिवारसहित माथि लगे; अनि उनीहरू हेब्रोनका शहरहरूमा बसे। 4 अनि यहूदाका मानिसहरू आए, र त्यहाँ तिनीहरूले दाऊदलाई यहूदाको घरानामाथि राजा अभिषेक गरे। अनि तिनीहरूले दाऊदलाई यसो भने: “याबेश-गिलादका मानिसहरू नै शाऊललाई गाड़्नेहरू हुन्!” 5 तब दाऊदले याबेश-गिलादका मानिसहरूकहाँ दूतहरू पठाए, र तिनीहरूलाई भने: “परमप्रभुका निम्ति तिमीहरू धन्यका हौ, किनकि तिमीहरूले आफ्ना मालिक शाऊललाई यो दया देखाएका छौ, र तिनलाई गाड़ेका छौ। 6 यसकारण अब परमप्रभुले तिमीहरूलाई दया र सत्यता देखाऊन्! अनि म पनि तिमीहरूलाई यस भलाइको प्रतिफल दिनेछु; किनभने तिमीहरूले यो काम गरेका छौ। 7 यसकारण अब तिमीहरूका हातहरू बलिया होऊन्, र तिमीहरू साहसीक होओ; किनकि तिमीहरूका मालिक शाऊल मरे, अनि यहूदाको घरानाले पनि मलाई उनीहरूमाथि राजा अभिषेक गरेका छन्।”सेनापति अब्नेरको सहायताद्वारा इश्बोशेतले इस्राएलमाथि राज्य गरे
8 तर शाऊलका सेनापति नेरका छोरा अब्नेरले शाऊलका छोरा इश्बोशेतलाई लिएर तिनलाई पारि महनैममा लगे, 9 अनि तिनलाई गिलाद, अशूरीहरू, यिज्रेएल, एप्रैम, बिन्यामिनमाथि र सारा इस्राएलमाथि राजा तुल्याए। 10 जब शाऊलका छोरा इश्बोशेतले इस्राएलमाथि राज्य गर्न थाले, तब तिनी चालीस वर्षका थिए; अनि तिनले दुई वर्ष राज्य गरे। तर यहूदाको घरानाले दाऊदलाई पछ्याए। 11 अनि हेब्रोनमा यहूदाको घरानामाथि दाऊद राजा भएको समय साढ़े सात वर्ष थियो।
12 अनि नेरका छोरा अब्नेर र शाऊलका छोरा इश्बोशेतका नोकरहरू महनैमबाट निस्केर गिबोनमा गए। 13 अनि सरूयाका छोरा योआब र दाऊदका नोकरहरू निस्के; अनि उनीहरूले गिबोनको तलाउनिर एक-अर्कालाई भेटे; अनि यिनीहरू तलाउको यतापट्टि, र तिनीहरू तलाउको उतापट्टि बसे। 14 तब अब्नेरले योआबलाई भने: “अब यी जवान मानिसहरू उठून्, र हाम्रो सामु खेलमा भिड़िऊन्!” अनि योआबले भने: “अँ, तिनीहरू उठून्!” 15 अनि उनीहरू उठे, र संख्याअनुसार पारि गए: बिन्यामिनका बाह्रजना, जो शाऊलका छोरा इश्बोशेतका थिए, र दाऊदका नोकरहरूबाट बाह्रजना। 16 अनि तिनीहरू एउटाले अर्काको टाउको समातेर आफ्नो तरवार अर्काको कोखामा रोपिदिए; यसरी यिनीहरू एकैसाथ ढले; यसैकारण त्यो ठाउँ हेल्खत-हज्जुरिमख भनियो, जुन ठाउँ गिबोनमा छ। 17 अनि त्यस दिन साह्रै घमासान लड़ाइँ भयो; अनि अब्नेर र इस्राएलका मानिसहरू दाऊदका नोकरहरूको सामु हारे।
18 अनि त्यहाँ सरूयाका तीनजना छोराहरू थिए: योआब, अबिशै र असाहेल; अनि असाहेलचाहिँ बनको मृगजस्तै छिटो कुद्थे। 19 अनि असाहेलले अब्नेरलाई पिछा गरे; अनि पिछा गर्दा तिनी दाहिने-देब्रे कतै नलागी अब्नेरको पछि लागे। 20 तब अब्नेरले पछि फर्केर हेरे, र भने: “के तिमी असाहेल हौ?” अनि तिनले भने: “म नै हुँ।” 21 अनि अब्नेरले तिनलाई भने: “तिमी आफ्नो दाहिनेतिर वा आफ्नो देब्रेतिर लाग, अनि आफ्ना निम्ति यी जवानहरूमध्ये एउटालाई पक्र, र त्यसको हतियारग आफ्ना निम्ति लेऊ!” तर असाहेलले उनको पछि लाग्नदेखि हट्न चाहेनन्। 22 तब अब्नेरले असाहेललाई फेरि भने: “मेरो पछि लाग्न छोड़िदेऊ! किन म तिमीलाई हिर्काएर भुइँमा मिलाइदिऊँ? तब म कसरी तिम्रा दाजु योआबलाई आफ्नो मुख देखाऊँ?” 23 तरै पनि तिनले हट्न इन्कार गरे; यसैले अब्नेरले भालाको पछिल्लो टुप्पाले तिनलाई पाँचौं करङमुनि हिर्काए, र त्यो भाला तिनको पिठ्यूँबाट बाहिर निस्क्यो; अनि तिनी त्यहीं लोटे, र त्यही ठाउँमा मरे; अनि यस्तो भयो: असाहेल लोटेर मरेको ठाउँमा जतिजना आइपुगे, ती सबैजना उभिएका-उभिएकै भए।
योआब र अब्नेर
24 योआब र अबिशैले पनि अब्नेरको पिछा गरे; अनि घाम अस्ताउँदा उनीहरू अम्माको डाँड़ामा आइपुगे, जो गिबोनको उजाड़स्थानको बाटोमा गीहको सामु छ। 25 अनि बिन्यामिनीहरू अब्नेरको पछि भेला भएर एउटै दल बने, र कुनै एउटा डाँड़ाको टाकुरामा खड़ा भए। 26 तब अब्नेरले योआबलाई बोलाएर भने: “के तरवारले सदा निलिरहनेछ र? अन्तमा यो तीतो बन्नेछ भनी के तिमी जान्दैनौ? तब कहिलेसम्म तिमीले मानिसहरूलाई आफ्ना दाजुभाइहरूको पछि लाग्नदेखि फर्केर जाने आज्ञा दिँदैनौ?” 27 अनि योआबले भने: “परमेश्वरको जीवनको शपथ! तिमीले ‘यिनीहरू उठून्, भिड़िऊन्’ नभनेका भए निश्चय बिहानै मानिसहरू हरेक आ-आफ्नो भाइको पछि लाग्न छोड़ेर गइसकेका हुनेथिए।” 28 तब योआबले तुरही फुके, र सबै मानिसहरू अड़िए, अनि उनीहरूले फेरि इस्राएलको पिछा गरेनन्, न ता फेरि लड़ाइँ नै गरे।
29 अनि अब्नेर र उनका मानिसहरू त्यो रातभरि अराबाबाट भएर गए, र यर्दन पार गरे, अनि पूरै बित्रोन हुँदै महनैममा आइपुगे। 30 अनि योआब अब्नेरको पछि लाग्न छोड़ेर फर्के; अनि जब तिनले सबै मानिसहरूलाई भेला गरे, तब दाऊदका नोकरहरूमध्ये उन्नाइसजना र असाहेल पाइएनन्। 31 तर दाऊदका नोकरहरूले बिन्यामिन र अब्नेरका मानिसहरूलाई प्रहार गरे, र तीन सय साठीजना मानिसहरू मरे। 32 अनि उनीहरूले असाहेललाई लिएर तिनलाई तिनका बुबाको चिहानमा गाड़े, जुन चिहान बेतलेहेममा थियो। अनि योआब र तिनका मानिसहरू रातभर हिँड़ेर उज्यालो हुँदा हेब्रोनमा आइपुगे।