हेब्रोनमा दाऊदका पत्‍नीहरू र उनका निम्ति जन्मेका छोराहरू
3
अनि शाऊलको घराना र दाऊदको घरानाको बीचमा लामो लड़ाइँ चल्यो; तर दाऊद झन्-झन् बलिया हुँदै गए, अनि शाऊलको घरानाचाहिँ झन्-झन् कमजोर हुँदै गयो। 2 अनि हेब्रोनमा दाऊदका निम्ति छोराहरू जन्मे; अनि यिज्रेएली अहिनोअमबाट उनका जेठा छोरा अम्‍नोन थिए; 3 अनि कर्मेली नाबालकी पत्‍नी अबिगेलबाट उनका माहिला छोरा किलाब थिए; अनि साहिँला अब्शालोमचाहिँ गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए; 4 अनि काहिँला अदोनियाह हग्गीतका छोरा, अनि ठाहिँला शपत्याह अबितलका छोरा थिए; 5 अनि ठाहिँला यित्रामचाहिँ दाऊदकी पत्‍नी एग्लाबाट थिए। यिनीहरू हेब्रोनमा दाऊदका निम्ति जन्मे।
दाऊदसित अब्‍नेरको भेट
6 अनि यस्तो भयो: शाऊलको घराना र दाऊदको घरानाको बीचमा लड़ाइँ भइरहेको बेलामा अब्‍नेरले शाऊलको घरानामा आफूलाई बलिया तुल्याइरहेका थिए। 7 अनि शाऊलकी रखौटी थिई, जसको नाम रिश्पा थियो; ऊ अइयाकी छोरी थिई; अनि इश्बोशेतले अब्‍नेरलाई भने: “तिमी किन मेरा पिताकी रखौटीकहाँ गयौ?” 8 तब इश्बोशेतका यी शब्दहरूको कारणले अब्‍नेर साह्रै रिसाए, र उनले भने: “के म यहूदाको कुकुरको टाउको हुँ? आजको दिनसम्म मैले तपाईंका बुबा शाऊलको घरानाप्रति, तिनका दाजुभाइहरूप्रति र तिनका साथीहरूप्रति दया देखाएको छु, अनि तपाईंलाई दाऊदको हातमा सुम्पेको छैनँ? र तपाईंले आज यस स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ? 9 परमप्रभुले दाऊदसँग शपथ खानुभएअनुसार मैले उनका निम्ति गरिनँ भने, 10 अर्थात् मैले शाऊलको घरानाबाट राज्य सारेर इस्राएल र यहूदामाथि दानदेखि बेरशेबासम्म दाऊदको सिंहासन स्थापित गरिनँ भने परमेश्‍वरले अब्‍नेरसित यही र यसभन्दा ज्यादा गरून्!” 11 अनि तिनले जवाफमा अब्‍नेरलाई एउटै वचन पनि फर्काउन सकेनन्; किनकि तिनी उनीसँग डराए।
12 तब अब्‍नेरले यसो भन्दै आफ्नो पक्षबाट दाऊदकहाँ दूतहरू पठाए: “देश कसको हो?” उनले थपेर भने: “मसँग आफ्नो वाचा बाँध्‍नुहोस्! अनि हेर्नुहोस्, सारा इस्राएललाई तपाईंकहाँ फर्काएर ल्याउन मेरो हात तपाईंसँग हुनेछ।” 13 अनि दाऊदले भने: “ठीक छ; म तिमीसित वाचा बाँध्‍नेछु; तर म तिमीबाट एउटा कुरा माग्छु: मेरो अनुहार हेर्न आउँदा पहिले तिमीले शाऊलकी छोरी मिकललाई ल्याएनौ भने तिमीले मेरो अनुहार हेर्न पाउनेछैनौ।” 14 अनि दाऊदले यसो भन्दै शाऊलका छोरा इश्बोशेतकहाँ दूतहरू पठाए: “मेरी पत्‍नी मिकल मलाई देऊ, जसलाई मैले पलिस्तीहरूका एक सय खलड़ी दिएर मसँग मगनी गरें।” 15 अनि इश्बोशेतले मानिस पठाएर मिकललाई तिनका पति, लैशका छोरा पलतिएलकहाँबाट लगे। 16 अनि तिनका पति तिनको पछि-पछि रुँदै तिनको साथमा बहुरिमसम्म गए। तब अब्‍नेरले उनलाई भने: “जाऊ, फर्क!” तब उनी फर्के।
17 अनि अब्‍नेरले यसो भन्दै इस्राएलका बूढ़ा प्रधानहरूसँग बातचित गरे: “बितेका समयहरूमा तपाईंहरूले दाऊदलाई आफूमाथि राजा बनाउन खोज्‍नुभएको थियो; 18 यसकारण अब यसो गर्नुहोस्! किनकि परमप्रभुले दाऊदको विषयमा यसो भन्‍नुभएको छ: ‘मेरो दास दाऊदको हातद्वारा म मेरो प्रजा इस्राएललाई पलिस्तीहरूको हातबाट र तिनीहरूका सबै शत्रुहरूको हातबाट बचाउनेछु।’ ” 19 अनि अब्‍नेरले बिन्यामिनका कानमा पनि भने; अनि अब्‍नेर इस्राएललाई र बिन्यामिनको सारा घरानालाई असल लागेको सबै कुरा हेब्रोनमा पनि दाऊदलाई बताउन गए।
20 तब अब्‍नेर र उनको साथमा बीसजना मानिसहरू हेब्रोनमा दाऊदकहाँ आए। अनि दाऊदले अब्‍नेर र उनीसँग भएका मानिसहरूका निम्ति एउटा भोज लाए। 21 अनि अब्‍नेरले दाऊदलाई भने: “म उठेर जानेछु, र सारा इस्राएललाई मेरा प्रभु राजाकहाँ भेला गराउनेछु, र तिनीहरूले तपाईंसँग वाचा बाँधून्, र तपाईंको हृदयले चाहेको सबैमाथि तपाईंले राज्य गर्नुहोस्!” अनि दाऊदले अब्‍नेरलाई बिदा गरिदिए; अनि उनी शान्तिसित बाटो लागे।
अब्‍नेरको हत्या
22 अनि हेर, दाऊदका नोकरहरू र योआब कुनै फौजको पिछा गरेर फर्के, र उनीहरूले आफ्नो साथमा धेरै लुटको माल ल्याए; तर अब्‍नेर दाऊदसँग हेब्रोनमा थिएनन्; किनभने तिनले उनलाई बिदा दिसकेका थिए, र उनी शान्तिसित बाटो लागेका थिए। 23 जब योआब र तिनीसँग भएको सारा सेना आए, तब तिनीहरूले यसो भन्दै योआबलाई भने: “नेरका छोरा अब्‍नेर राजाकहाँ आए, र उहाँले उनलाई बिदा दिनुभयो, र उनी शान्तिसित बाटो लागेका छन्।” 24 तब योआब राजाकहाँ आए, र भने: “तपाईंले के गर्नुभएको हो? हेर्नुहोस्, अब्‍नेर तपाईंकहाँ आएछ; किन हो, तपाईंले त्यसलाई बिदा गर्नुभएको हो, र त्यो बाटो लागिसक्यो? 25 तपाईंले नेरका छोरा अब्‍नेरलाई चिन्‍नुहुन्छ। निश्‍चय त्यो तपाईंलाई छल्न, तपाईंको जावत-आवत जान्‍न र तपाईंले गर्नुभएका सबै कामकुराहरू बुझ्न आएको हो।”
26 अनि योआब दाऊदकहाँबाट निस्केर आएपछि तिनले अब्‍नेरको पछि दूतहरू पठाए; तिनीहरूले उनलाई सिराको इनारबाट फर्काएर ल्याए; तर दाऊदलाई यो कुरा थाहा भएन। 27 अनि जब अब्‍नेर हेब्रोनमा फर्केर आए, तब योआबले मूलढोकामा उनीसँग एकान्तमा बातचित गर्न भनी उनलाई एकातिर लगे, र त्यहाँ उनलाई पाँचौं करङमुनि हिर्काए, र तिनका भाइ असाहेलको रक्तपातको खातिर उनी मरे। 28 अनि पछि जब दाऊदले यो कुरा सुने, तब उनले भने: “म र मेरो राज्य परमप्रभुको सामु नेरका छोरा अब्‍नेरको रगतबाट सदा निर्दोष हुन्‍छौं। 29 यो रगतको दोष योआबकै शिरमाथि र उसकै बुबाको सारा घरानामाथि परोस्! अनि योआबको घरानाबाट प्रमेही, कोरी, बैसाखीमा सहारा लिने, तरवारद्वारा मारिने वा रोटीको अभावमा पर्ने कहिल्यै नटुटोस्!” 30 यसरी योआब र तिनका भाइ अबिशैले अब्‍नेरलाई मारे; किनभने उनले गिबोनमा तिनीहरूका भाइ असाहेललाई लड़ाइँमा मारेका थिए।
31 तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई भने: “आफ्ना लुगाहरू च्यात, भाङ्ग्राको लुगा कस र अब्‍नेरको सामु विलाप गर!” अनि राजा दाऊद अर्थीको पछि-पछि हिँड़े। 32 अनि तिनीहरूले अब्‍नेरलाई हेब्रोनमा गाड़े; अनि अब्‍नेरको चिहानमा राजा आफ्नो सोर उचालेर रोए; अनि सबै मानिसहरू रोए। 33 अनि राजाले अब्‍नेरका निम्ति विलाप गरेर भने: “के अब्‍नेर एउटा मूर्ख मरेझैं मर्नु हुन्छ र? 34 तिम्रा हातहरू बाँधिएका थिएनन्, न ता तिम्रा खुट्टाहरू साङ्‌लाहरूमा नै हालिएका थिए; जसरी दुष्‍ट मानिसहरूको सामु मानिस ढल्दछ, त्यसरी नै तिमी ढल्यौ।” अनि सबै मानिसहरू फेरि उनका निम्ति रोए। 35 अनि जब सबै मानिसहरू दाऊदलाई दिन हुँदै रोटी खान कर लाउन आए, तब दाऊदले यसो भन्दै शपथ खाए: “घाम अस्ताउन अघि मैले रोटी वा अरू कुनै कुरा चाखें भने परमेश्‍वरले मलाई यही र यसभन्दा ज्यादा गरून्!” 36 अनि सबै मानिसहरूले यस कुरामा ध्यान दिए, र यो कुरा तिनीहरूलाई असल लाग्यो, जसरी राजाले गरेका सबै कुराहरू सबै मानिसहरूलाई असल लाग्थ्यो। 37 किनकि नेरका छोरा अब्‍नेरलाई मार्ने कुरा राजाबाटको होइन रहेछ भनी त्यस दिन सबै मानिसहरूले र सारा इस्राएलले बुझे। 38 अनि राजाले आफ्ना नोकरहरूलाई भने: “आजको दिन इस्राएलमा एक शासक र महान् व्यक्ति ढले भन्‍ने कुरा के तिमीहरू जान्दैनौ? 39 अनि राजाको रूपमा अभिषेक भए तापनि म आजको दिन कमजोर छु; अनि यी मानिसहरू अर्थात् सरूयाका यी छोराहरू मेरा निम्ति साह्रै कठिन छन्; परमप्रभुले खराब गर्नेलाई त्यसको दुष्‍टताअनुसार प्रतिफल दिनुहुनेछ।”