इश्बोशतको हत्या
4
अनि जब शाऊलका छोराले अब्‍नेर हेब्रोनमा मरे भनी सुने, तब तिनका हातहरू कमजोर भए, र सबै इस्राएलीहरू व्याकुल भए। 2 अनि शाऊलका छोरासित दुईजना मानिसहरू थिए, जो फौजका कप्‍तानहरू थिए; एकजनाको नाम बाना थियो, र अर्काको नामचाहिँ रेकाब थियो; तिनीहरू बिन्यामिनका बेरोती रिम्मोनका छोराहरू थिए; (किनभने बेरोत पनि बिन्यामिनमा परेको मानिन्थ्यो। 3 अनि बेरोतीहरू गित्तैममा भागेर आजको दिनसम्म त्यहीं प्रवासी छन्।)
4 अनि शाऊलका छोरा योनातानका एकजना छोरा थिए, जो दुवै खुट्टामा लङ्गड़ा थिए। यिज्रेएलबाट शाऊल र योनातानको खबर आउँदा तिनी पाँच वर्षका थिए, र तिनकी धाइआमाले तिनलाई उठाएर भागी; अनि यस्तो भयो: जब ऊ भाग्‍नलाई हतार गरी, तब तिनी लड़े, र लङ्गड़ा भए। अनि तिनको नाम मेपिबोशेत थियो।
5 अनि बेरोती रिम्मोनका छोराहरू रेकाब र बाना गए, र दिन चर्किएको बेलामा इश्बोशेतको भवनमा पसे; तिनीचाहिँ मध्यदिनमा पलङमा ढल्किरहेका थिए। 6 अनि तिनीहरू गहुँ लैजाने निहुँ गरी त्यस भवनभित्र आए, र तिनीहरूले तिनलाई पाँचौं करङमुनि हिर्काए; अनि रेकाब र उनका भाइ बाना भागे। 7 किनकि तिनीहरू त्यस घरभित्र पस्दा तिनी आफ्नो सुत्‍ने कोठाभित्र पलङमा ढल्किरहेका थिए; अनि तिनीहरूले तिनलाई प्रहार गरे, तिनलाई मारे र तिनको टाउको काटे, अनि तिनको टाउको लिएर रातभरि अराबाको बाटो भएर गए। 8 अनि तिनीहरूले इश्बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए, र राजालाई भने: “हेर्नुहोस्, तपाईंको प्राण लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा इश्बोशेतको टाउको! अनि परमप्रभुले आजको दिन मेरा प्रभु राजाका निम्ति शाऊल र तिनको सन्तानसँग बदला लिनुभएको हो।”
9 तब दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र उनका भाइ बानालाई जवाफ दिएर तिनीहरूलाई भने: “परमप्रभुको जीवनको शपथ, जसले मेरो प्राणलाई सबै विपत्तिदेखि छुटाउनुभएको छ! 10 जब कसैले असल खबर ल्याएको छु भन्‍ने ठानेर ‘हेर्नुहोस्, शाऊल मरे!’ भन्दै मलाई बतायो, तब मैले त्यसलाई पक्रें, र त्यसलाई सिक्लगमा मारें भने – त्यस खबरका निम्ति मैले त्यसलाई दिएको प्रतिफल यही थियो – 11 जब दुष्‍ट मानिसहरूले एकजना धर्मी व्यक्तिलाई उसकै घरभित्र, उसकै पलङमाथि हत्या गरेका छन् भने झन् कति बढ़्‍ता दिनुपर्छ त! तब के म अब तिमीहरूको हातबाट तिनको रगतको बदला नलिऊँ, र तिमीहरूलाई यस पृथ्वीदेखि नहटाऊँ?” 12 अनि दाऊदले आफ्ना जवानहरूलाई आज्ञा गरे, र उनीहरूले तिनीहरूलाई मारे, तिनीहरूका हातहरू र तिनीहरूका खुट्टाहरू काटिदिए र तिनीहरूलाई हेब्रोनमा तलाउमाथि झुन्ड्याइदिए। तर उनीहरूले इश्बोशेतको टाउको लिएर त्यसलाई हेब्रोनमा अब्‍नेरको चिहानमा गाड़े।