सारा इस्राएलमाथि दाऊद राजा भए
5
तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दाऊदकहाँ आएर यसो भने: “हेर्नुहोस्, हामी त तपाईंकै हड्डी र तपाईंकै मासु हौं। 2 अनि बितेको समयमा पनि, जब शाऊल हामीमाथि राजा थिए, तब इस्राएललाई बाहिर डोर्याएर लैजाने र भित्र ल्याउने तपाईं नै हुनुहुन्थ्यो; अनि परमप्रभुले तपाईंलाई भन्नुभयो: ‘तिमीले मेरो प्रजा इस्राएललाई गोठाला गर्नेछौ, र तिमी नै इस्राएलमाथि शासक हुनेछौ।’ ” 3 तब इस्राएलका सबै बूढ़ा प्रधानहरू हेब्रोनमा राजाकहाँ आए; अनि राजा दाऊदले हेब्रोनमा परमप्रभुको सामु उनीहरूसँग एउटा वाचा बाँधे; अनि उनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।4 राज्य गर्न शुरु गर्दा दाऊद तीस वर्षका थिए; अनि उनले चालीस वर्ष राज्य गरे। 5 हेब्रोनमा उनले यहूदामाथि सात वर्ष छ महिना राज्य गरे; अनि यरूशलेममा उनले सारा इस्राएल र यहूदामाथि तेत्तीस वर्ष राज्य गरे।
दाऊदले सियोन कब्जा गरे
6 अनि राजा र उनका मानिसहरू यरूशलेममा त्यस देशका बासिन्दा यबूसीहरूकहाँ गए; अनि दाऊद त्यसभित्र पस्न सक्दैनन् भन्ने ठानेर तिनीहरूले उनलाई यसो भने: “जबसम्म तिमीले अन्धा र लङ्गड़ाहरूलाई हटाउँदैनौ, तबसम्म तिमी यहाँभित्र आउन सक्दैनौ।” 7 तैपनि दाऊदले सियोनको गढ़ी कब्जा गरे – त्यही दाऊदको शहर हो। 8 अनि दाऊदले त्यस दिन भने: “जस-कसैले यी यबूसीहरूलाई प्रहार गर्न चाहन्छ, ऊ पानीको नाला भएर यी लङ्गड़ा र अन्धाहरूकहाँ पुगोस्, जसलाई दाऊदको मनले घृणा गर्दछ!” यसैले तिनीहरूले भने: ‘अन्धा र लङ्गड़ा त्यस घरभित्र पस्न पाउनेछैनन्!’ 9 तब दाऊद गढ़ीमा बसे, र त्यसलाई ‘दाऊदको शहर’क भन्ने नाम राखे। अनि दाऊदले मिल्लोदेखि चारैतिर र भित्रपट्टि निर्माण गरे। 10 अनि दाऊद बढ़्दै गए र महान् बने; अनि परमप्रभु सेनाहरूका परमेश्वर उनको साथमा हुनुहुन्थ्यो।
11 अनि टायरका राजा हिरामले दाऊदकहाँ दूतहरू, साथै देवदारका रूखहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए; अनि तिनीहरूले दाऊदका निम्ति एउटा भवन निर्माण गरे। 12 अनि परमप्रभुले उनलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको रहेछ, अनि आफ्नो प्रजा इस्राएलको खातिर उनको राज्य उच्च पार्नुभएको रहेछ भनी दाऊदले थाहा गरे।
13 अनि हेब्रोनबाट आएपछि दाऊदले यरूशलेमबाट अझै अरू उपपत्नीहरू र पत्नीहरू लिए; अनि दाऊदका निम्ति अझ पनि छोराछोरीहरू जन्मे। 14 अनि यरूशलेममा उनका निम्ति जन्मेकाहरूका नाम यी हुन्: शम्मूअ; शोबाब, नातान र सुलेमान, 15 अनि इब्हार, एलिशूअ, नेपेग र यापिअ; 16 र एलिशामा, एलियादा र एलिपेलेत।
दाऊद पलिस्तीहरूमाथि विजय भए
17 तर जब पलिस्तीहरूले उनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरेका छन् भन्ने कुरा सुने, तब सबै पलिस्तीहरू दाऊदलाई खोज्न माथि आए; अनि यो कुरा सुनेर दाऊद गढ़ीतिर झरे। 18 अनि पलिस्तीहरू पनि आएर रपाईहरूको बेंसीमा फैलिए। 19 अनि दाऊदले यसो भन्दै परमप्रभुबाट सोधखोज गरे: “के म पलिस्तीहरूमाथि चढ़ाइ गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” अनि परमप्रभुले दाऊदलाई भन्नुभयो: “चढ़ाइ गर; किनभने निश्चय म पलिस्तीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।” 20 अनि दाऊद बाल-पेराजिममा गए; अनि दाऊदले तिनीहरूलाई त्यहाँ प्रहार गरे, र भने: “फुत्त छोड़िएको पानीझैं परमप्रभु मेरो सामु मेरा शत्रुहरूमाथि जाइलाग्नुभयो।” यसकारण उनले त्यस ठाउँको नाम ‘बाल-पेराजिम’ख राखे। 21 अनि त्यहाँ तिनीहरूले आफ्ना मूर्तिहरू छोड़े; अनि दाऊद र उनका मानिसहरूले तिनलाई जलाइदिएग।
22 अनि पलिस्तीहरू फेरि पनि आएर रपाईहरूको बेंसीमा फैलिए। 23 अनि दाऊदले परमप्रभुबाट सोधखोज गरे; अनि उहाँले भन्नुभयो: “चढ़ाइ नगर; तर तिनीहरूको पछिल्तिरबाट फेरो मारेर आऊ, र किम्बूका रूखहरूको सामुबाट तिनीहरूमाथि जाइलाग! 24 अनि यस्तो हुनेछ: जब तिमीले ती किम्बूका रूखहरूका टुप्पामा सेना जाँदै गरेको आवाज सुन्छौ, तब अघि बढ़घ; किनकि त्यस बेला परमप्रभु पलिस्तीहरूको सेनालाई प्रहार गर्न तिम्रो अघि निस्केर जानुहुनेछ।” 25 तब दाऊदले त्यसरी नै गरे, जसरी परमप्रभुले उनलाई आज्ञा गर्नुभएको थियो; अनि उनले पलिस्तीहरूलाई गिबादेखि गेजेरसम्मै प्रहार गरे।