परमप्रभुको सन्दुक यरूशलेममा ल्याइयो
6
अनि दाऊदले फेरि इस्राएलका सबै चुनिएका तीस हजार मानिसहरूलाई भेला गरे। 2 अनि दाऊद उनीसँग भएका सबै मानिसहरूसित उठेर यहूदाको बालेबाट परमेश्वरको सन्दुक ल्याउनलाई त्यहाँ गए, जुन सन्दुकको नाम सेनाहरूको परमप्रभुको नामले कहलाइन्छ, जो करूबहरूको बीचमा बस्नुहुन्छ। 3 अनि तिनीहरूले परमेश्वरको सन्दुक एउटा नयाँ गाड़ामा चढ़ाए, र त्यसलाई गिबामाक भएको अविनादाबको घरबाट निकालेर ल्याए; अनि अविनादाबका छोराहरू उज्जा र अहियोले चाहिँ त्यो नयाँ गाड़ा हाँकिरहेका थिए। 4 अनि परमेश्वरको सन्दुकलाई साथ दिएर तिनीहरूले त्यसलाई गिबामाख भएको अविनादाबको घरबाट निकालेर ल्याए; अनि अहियोचाहिँ सन्दुकको अघि-अघि हिँड़े। 5 अनि दाऊद र इस्राएलको सारा घरानाले परमप्रभुको सामु सल्लाको काठले बनाइएका सबै प्रकारका बाजाहरू अर्थात् वीणा, सितार, खैंजड़ी, करताल र झ्यालीहरू बजाए।6 अनि जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब उज्जाले परमेश्वरको सन्दुकतर्फ आफ्नो हात बढ़ाएर त्यसलाई समाते; किनकि गोरुहरूले ठेस खाए। 7 तब परमप्रभुको रिस उज्जामाथि दन्कियो; अनि परमेश्वरले तिनलाई तिनको अपराधका निम्ति त्यहीं प्रहार गर्नुभयो; र तिनी त्यहीं, परमेश्वरको सन्दुककै छेउमा मरे। 8 अनि परमप्रभु तोड़फोड़को साथ उज्जामाथि जाइलाग्नुभएको कारणले दाऊद अप्रसन्न भएग; अनि उनले त्यस ठाउँको नाम ‘पेरेज-उज्जा’घ राखे, जसको नाम आजको दिनसम्म त्यही हो। 9 अनि दाऊद त्यस दिन परमप्रभुदेखि भयभीत भए, र उनले भने: “परमप्रभुको सन्दुक कसरी मकहाँ आउला?” 10 तब दाऊदले परमप्रभुको सन्दुक शहरमा आफूकहाँ ल्याउन चाहेनन्; तर दाऊदले त्यसलाई यता गित्तीङ ओबेद-एदोमको घरमा लगे। 11 अनि परमप्रभुको सन्दुक गित्तीच ओबेद-एदोमको घरमा तीन महिना रह्यो; अनि परमप्रभुले ओबेद-एदोम र तिनको सारा परिवारलाई आशिष् दिनुभयो।
12 अनि राजा दाऊदलाई यस्तो कुरा सुनाइयो: “परमप्रभुको सन्दुकको कारणले परमप्रभुले ओबेद-एदोमको घरानालाई र तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभएको छ।” तब दाऊद गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दुक आनन्दसाथ माथि दाऊदको शहरमा ल्याए। 13 अनि यस्तो भयो: जब परमप्रभुको सन्दुक बोक्नेहरू छ पाइला हिँड़े, तब उनले बहरहरू र मोटा-मोटा पशुहरू बलि चढ़ाए। 14 अनि दाऊद आफ्नो सारा बलले परमप्रभुको सामु नाचिरहे; अनि दाऊदले कम्मरमा मलमलको एपोद कसेका थिए। 15 यसरी दाऊद र इस्राएलको सारा घरानाले हर्षोल्लास र तुरहीको ध्वनिको साथ परमप्रभुको सन्दुक माथि ल्याए। 16 अनि जब परमप्रभुको सन्दुक दाऊदको शहरमा आइपुग्यो, तब शाऊलकी छोरी मिकलले झ्यालबाट हेरिन्, र राजा दाऊदलाई परमप्रभुको सामु उफ्रँदै र नाच्दै गरेका देखिन्; अनि तिनले आफ्नो हृदयभित्र उनलाई तुच्छ ठानिन्।
17 अनि तिनीहरूले परमप्रभुको सन्दुक भित्र ल्याए, र त्यसलाई आफ्नो ठाउँमा, दाऊदले त्यसैका निम्ति खड़ा गरेको पालको बीचमा राखे; अनि दाऊदले परमप्रभुको सामु होमबलिहरू र मेलबलिहरू चढ़ाए। 18 अनि दाऊदले होमबलिहरू र मेलबलिहरू चढ़ाइसक्नसाथ उनले मानिसहरूलाई सेनाहरूका परमप्रभुको नाममा आशीर्वाद दिए। 19 अनि सबै मानिसहरूलाई, अँ, इस्राएलको सारा भीड़लाई – हरेक स्त्री र पुरुषलाई एक-एक रोटी, एक-एक टुक्रा मासु र एक-एक सुराही दाखमद्य बाँड़िदिए। तब सबै मानिसहरू – हरेक आ-आफ्नो घर फर्केछ।
20 तब दाऊद आफ्नो घर-परिवारलाई आशीर्वाद दिन फर्के। अनि शाऊलकी छोरी मिकल दाऊदलाई भेट्न निस्केर आइन्, र भनिन्: “आज इस्राएलका राजा कति महिमित देखिन्थे, जसले आज आफ्ना नोकरहरूका दासीहरूका आँखाको सामु आफूलाई त्यसरी नाङ्गो पारे, जसरी निकम्मा व्यक्तिहरूमध्ये एउटाले लाजैविना आफूलाई नाङ्गो पार्छ।” 21 तब दाऊदले मिकललाई भने: “यो त मैले परमप्रभुको सामु गरें, जसले मलाई इस्राएलमाथि, अर्थात् परमप्रभुका जनहरूमाथि शासक नियुक्त गर्नलाई तिम्रा बुबा र उनको सारा घरानालाई छोड़ेर मलाई चुन्नुभयो; यसैकारण म परमप्रभुको सामु रमाउँछु। 22 अनि म यसभन्दा पनि बढ़ी तुच्छ बन्नेछु, र आफ्नो दृष्टिमा क्षुद्र हुनेछु; अनि जुन दासीहरूको विषयमा तिमीले भन्यौ, तिनीहरूबाट म आदर पाउनेछु।” 23 यसकारण शाऊलकी छोरी मिकलको मृत्युको दिनसम्मै तिनको कुनै सन्तान भएन।