दाऊद र उनको घरानालाई दिइएको परमेश्वरको प्रतिज्ञा
7
अनि यस्तो भयो: जब राजा आफ्नो भवनमा बस्दथे, अनि परमप्रभुले उनलाई चारैतिर उनका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो; 2 तब राजाले भविष्यवक्ता नातानलाई भने: “अब हेर, मचाहिँ देवदारको भवनमा बस्दैछु, तर परमेश्वरको सन्दुकचाहिँ पर्दाहरूभित्र बसिरहेको छ।” 3 अनि नातानले राजालाई भने: “जानुहोस्, र तपाईंको हृदयमा जे कुरा छन्, ती सबै गर्नुहोस्; किनकि परमप्रभु तपाईंको साथमा हुनुहुन्छ।”4 अनि त्यस रात यस्तो भयो: परमप्रभुको यसो भन्ने वचन नातानकहाँ आयो: 5 “जाऊ, र मेरो दास दाऊदलाई भन: परमप्रभु यसो भन्नुहुन्छ, के तिमी मेरा निम्ति, म त्यसमा बसूँ भनेर एउटा भवन निर्माण गर्छौ? 6 किनकि मैले इस्राएलीहरूलाई मिस्रबाट निकालेर ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ, तर म त एउटा पालमा र निवासस्थानमा बसेर घुमेको हुँ। 7 जुन-जुन ठाउँहरूमा म सबै इस्राएलीहरूसित घुमें, ती सबै ठाउँहरूमा के मैले इस्राएलका कुलहरूमध्ये कुनैलाई, जसलाई मैले मेरो प्रजा इस्राएललाई गोठाला गर्न आज्ञा गरें, ‘किन तिमीहरूले मेरा निम्ति देवदारको भवन बनाएनौ?’ भनी एकै वचन भनें र? 8 यसकारण अब मेरो दास दाऊदलाई यसो भन: सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, मैले तिमीलाई भेड़ाको गोठबाट, भेड़ाबाख्राहरूको पछि-पछि लाग्नदेखि इस्राएल मेरो प्रजामाथि शासक हुनलाई लिएँ; 9 अनि तिमी जहाँ-जहाँ गयौ, ती सबै ठाउँमा म तिम्रो साथमा रहें; अनि तिम्रो सामुबाट मैले तिम्रा सबै शत्रुहरूलाई नाश गरिदिएँ, अनि यस पृथ्वीका ठूला-ठूला मानिसहरूको नामझैं तिम्रो नाम महान् तुल्याइदिएँ। 10 यसबाहेक मेरो प्रजा इस्राएलका निम्ति म एउटा ठाउँ ठहऱ्याउनेछु, अनि तिनीहरू आफ्नै ठाउँमा बसून्, र फेरि कहिल्यै हटेर नजाऊन्क भनेर तिनीहरूलाई बसाल्नेछु; अनि दुष्टताका सन्तानहरूले तिनीहरूलाई पहिलेझैं फेरि कष्ट दिनेछैनन्, 11 जसरी तिनीहरूले मेरो प्रजा इस्राएलमाथि मैले न्यायकर्ताहरूलाई नियुक्त गरेकोख दिनदेखि यसो दिने गर्थें; अनि मैले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट विश्राम दिलाएको छु। अनि परमप्रभुले तिमीलाई भन्नुहुन्छ: परमप्रभुले तिम्रा निम्ति एउटा घर निर्माण गर्नुहुनेछ। 12 अनि जब तिम्रा दिनहरू पूरा हुनेछन्, र तिमी तिम्रा पितापुर्खाहरूसित सुत्नेछौ, तब तिमीपछि म तिम्रो वंशलाई खड़ा गर्नेछु, जो तिम्रो शरीरबाट निस्कनेछ, र म उसको राज्य स्थापित गर्नेछु। 13 उसले चाहिँ मेरो नामका निम्ति एउटा भवन निर्माण गर्नेछ; अनि म उसको राज्यको सिंहासन सदा-सर्वदाका निम्ति स्थापित गर्नेछु। 14 म उसको पिता हुनेछु, र ऊचाहिँ मेरो पुत्र हुनेछ। उसले अधर्म गर्यो भने म उसलाई मानिसहरूको छड़ीले र मानिसका सन्तानहरूको कोर्राले ताड़ना दिनेछु। 15 तर मेरो करुणा उसदेखि हट्नेछैन, जसरी मैले त्यो शाऊलदेखि हटाएँ, जसलाई मैले तिम्रो सामुबाट हटाइदिएँ। 16 अनि तिम्रो घराना र तिम्रो राज्य तिम्रो सामु सधैंका निम्ति दृढ़ रहनेछ; तिम्रो सिंहासन सधैंका निम्ति स्थापित हुनेछ।”
दाऊदको धन्यवादको प्रार्थना
17 यी सबै वचनअनुसार र यस सारा दर्शनअनुसार नातानले दाऊदलाई यसो भने। 18 तब राजा दाऊद भित्र गएर परमप्रभुको सामु बसे; अनि उनले भने:
“हे प्रभु यहोवा, म को हुँ र, अनि मेरो घराना के हो र, कि तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
19 अनि हे प्रभु यहोवा, तपाईंको दृष्टिमा मानौं यो त एउटा अति सानो कुरा थियो; तपाईंले त आफ्नो दासको घरानाको विषयमा झन् धेरै पछि हुने कुरा बताउनुभएको छ। अनि हे प्रभु यहोवा, के यो मानिसको रीति हो र?
20 तब दाऊदले तपाईंलाई अरू बढ़ी के भन्न सक्छ र? किनभने हे प्रभु यहोवा, तपाईं आफ्नो दासलाई चिन्नुहुन्छ।
21 तपाईंको वचनको खातिर र तपाईंको हृदयअनुसार तपाईंले आफ्नो दासलाई यो कुरा जान्न दिन यी सबै महान् कार्यहरूग गर्नुभएको हो।
22 यसैकारण हे परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ; किनकि हामीले आफ्ना कानले सुनेका सबै कुराअनुसार तपाईंजस्तो अरू कोही छैन, न ता तपाईंबाहेक अरू कुनै ईश्वर छ।
23 अनि पृथ्वीमा तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र, जसलाई आफ्नै निम्ति एक निज जाति तुल्याउन भनी दाम तिरेर छुटाउन, आफ्नै निम्ति एउटा नाम राख्न र तिनीहरूकाघ निम्ति अर्थात् आफ्नै देशका निम्ति ठूला र डरलाग्दा कामहरू गर्नलाई परमेश्वर जानुभयो – आफ्नै निज जातिको सामु, जसलाई तपाईंले आफ्नै निम्ति मिस्रबाट, ती जातिहरू र तिनीहरूका देवताहरूबाट दाम तिरेर छुटाउनुभयो?
24 किनकि आफ्नो प्रजा इस्राएललाई तपाईंले सदा-सर्वदाका निम्ति आफ्नै निज जातिको रूपमा स्थापित गर्नुभएको छ; अनि तपाईं, हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ।
25 अनि अब, हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो दास र उसको घरानाको विषयमा भन्नुभएको वचन सदा-सर्वदाका निम्ति स्थिर गर्नुहोस्, र तपाईंले भन्नुभएझैं गर्नुहोस्!
26 र सेनाहरूका परमप्रभु इस्राएलमाथि परमेश्वर हुनुहुन्छ भन्दै सदा-सर्वदा तपाईंको नामको बढ़ाइ महान् होस्; अनि तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्थापित गरियोस्!
27 किनभने तपाईं, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले ‘म तिमीलाई एउटा घर बनाइदिनेछु’ भन्दै आफ्नो दासकहाँ प्रकट गर्नुभएको छ; यसैकारण तपाईंको दासले आफ्नो हृदयमा तपाईंलाई यो प्रार्थना चढ़ाउन हिम्मत पाएको छ।
28 अनि अब, हे प्रभु यहोवा, तपाईं त्यही परमेश्वर हुनुहुन्छ, र तपाईंका वचनहरू सत्य छन्; अनि तपाईंले आफ्नो दासप्रति यस भलाइको प्रतिज्ञा गर्नुभएको छ;
29 यसकारण अब प्रसन्न भएर तपाईंको दासको घरानालाई आशिष् दिनुहोस्, र यो तपाईंको सामु सदा-सर्वदा रहिरहोस्; किनकि हे प्रभु यहोवा, तपाईंले नै यो भन्नुभएको हो; अनि तपाईंको आशिष्ले तपाईंको दासको घराना सधैं आशिषित रहोस्!”