परमप्रभुको भवन निर्माण गर्ने योजना
5
अनि टायरका राजा हिरामले सुलेमानकहाँ आफ्ना कर्मचारीहरू पठाए; किनभने उनका बुबाको सट्टामा तिनीहरूले उनलाई राजाको रूपमा अभिषेक गरे भन्‍ने कुरा तिनले सुनेका थिए; किनकि हिरामचाहिँ सधैंभरि दाऊदका प्रेमी थिए। 2 अनि सुलेमानले हिरामकहाँ यसो भन्दै पठाए: 3 “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले परमप्रभु आफ्ना परमेश्‍वरको नामका निम्ति एउटा भवन ती लड़ाइँहरूको कारणले बनाउन सक्नुभएन, जुन लड़ाइँहरू परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँका पैतालामुनि नपार्नुभएसम्म उहाँको चारैतिर थिए। 4 तर अब परमप्रभु मेरा परमेश्‍वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ; यसैले कुनै विरोधी छैन, न ता कुनै खराब घटना नै भइरहेको छ। 5 अनि हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्‍वरको नामका निम्ति एउटा भवन बनाउने निश्‍चय गरेको छु, जसको विषयमा परमप्रभुले मेरा पिता दाऊदलाई भन्‍नुभएको थियो: ‘तिम्रै छोराले, जसलाई म तिम्रो सट्टामा तिम्रो सिंहासनमाथि बसाउनेछु, उसैले मेरो नामका निम्ति एउटा भवन बनाउनेछ।’ 6 यसकारण अब आज्ञा गर्नुहोस्, र तिनीहरूले मेरा निम्ति लबानोनबाट देवदारका रूखहरू काटून्! अनि मेरा दासहरू तपाईंका दासहरूको साथमा हुनेछन्; अनि तपाईंले खटाउनुभएको सबै कुराअनुसार म तपाईंका दासहरूका निम्ति तपाईंलाई ज्याला दिनेछु; किनकि तपाईंलाई थाहै छ, काठ काट्ने काममा सिडोनीहरूजस्तो सीप भएको मानिस हाम्रो बीचमा कोही पनि छैन।”
7 अनि यस्तो भयो: जब हिरामले सुलेमानका यी शब्द सुने, तब तिनी अति आनन्दित भए, र तिनले भने: “आज परमप्रभु धन्यका होऊन्, जसले यस ठूलो जातिमाथि दाऊदलाई एउटा बुद्धिमान् छोरा दिनुभयो!” 8 अनि हिरामले सुलेमानकहाँ यसो भन्दै पठाए: “तपाईंले भनिपठाउनुभएको कुरा मैले विचार गरेको छु; अनि म देवदारको काठ र सल्‍लाको काठको सम्बन्धमा तपाईंको सारा चाहना पूरा गरिदिनेछु। 9 मेरा दासहरूले ती रूखहरू लबानोनबाट समुद्रमा झार्नेछन्। अनि म समुद्रमा तिनलाई बेड़ाहरूको रूपमा पानीमा तैराएर तपाईंले मलाई ठहराउनुभएको ठाउँमा पुर्‍याइदिनेछु, र त्यहाँ तिनलाई उतार्न लगाउनेछु; तब तपाईंले तिनको जिम्मा लिनुहोस्! अनि तपाईंले चाहिँ मेरो घरानाका निम्ति भोजनवस्तु दिएर मेरो चाहना पूरा गरिदिनुहोस्!” 10 तब हिरामले सुलेमानलाई उनको सारा इच्छाअनुसार देवदारका रूखहरू र सल्‍लाका रूखहरू दिए। 11 अनि सुलेमानले हिरामलाई तिनको घरानाका निम्ति भोजनवस्तुको रूपमा बीस हजार कोर गहुँ र बीस कोर शुद्ध जैतुनको तेल दिए। यसरी नै सुलेमानले हिरामलाई वर्षैपिच्छे दिने गर्थे। 12 अनि परमप्रभुले आफूले उनलाई प्रतिज्ञा गर्नुभएअनुसार सुलेमानलाई बुद्धि दिनुभयो; अनि हिराम र सुलेमानको बीचमा मेलमिलाप थियो; अनि उनीहरू दुईजनाले आपसमा एउटा वाचा बाँधे।
13 अनि राजा सुलेमानले सारा इस्राएलबाट बेगार लिए; अनि ती बेगारीहरू तीस हजार थिए। 14 अनि उनले तिनीहरूलाई हरेक महिना दस-दस हजार पालैसित लबानोनमा पठाउँथे; तिनीहरू एक महिना लबानोनमा र दुई महिना घरमा बस्थे। अनि अदोनिराम ती बेगारीहरूमाथि अधिकारी थिए। 15 सुलेमानका सत्तरी हजार भारी बोक्नेहरू र अस्सी हजार पहाड़मा ढुङ्गा काट्नेहरू थिए; 16 तिनीहरूबाहेक त्यस काममाथि सुलेमानका अफिसरहरूका तीन हजार तीन सय शासकहरू खटिएका थिए, जसले यस काममा काम गर्ने मानिसहरूमाथि शासन गर्थे। 17 अनि राजाले आज्ञा गरे, तब तिनीहरूले काटेका ढुङ्गाहरूले भवनको जग बसाल्नलाई ठूला-ठूला ढुङ्गाहरू र बहुमूल्य पत्थरहरू खानीबाट निकालेर ल्याए। 18 अनि गिबालीहरूसित सुलेमानका कारिगरहरू र हिरामका कारिगरहरूले ती ढुङ्गाहरू काटे; यसरी तिनीहरूले भवन निर्माण गर्नलाई काठ र ढुङ्गाहरू तयार पारे।