परमप्रभुको भवनको निर्माण
6
अनि यस्तो भयो: इस्राएलीहरू मिस्र देशबाट निस्केर आएका चार सय अस्सी वर्षमा, सुलेमानले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको दोस्रो महिना अर्थात् जिव महिनामा उनले परमप्रभुको भवन निर्माण गर्न शुरु गरे। 2 अनि परमप्रभुका निम्ति राजा सुलेमानले बनाएका भवन – त्यसको लमाइ साठी हात, त्यसको चौड़ाइ बीस हात र त्यसको उचाइ तीस हात थियो। 3 अनि त्यस भवनको पवित्रस्थानकोक अघिल्तिरको दलानको लमाइ भवनको चौड़ाइअनुसार बीस हात थियो, र त्यसको चौड़ाइ भवनको अगाड़िपट्टि दस हात थियो। 4 अनि भवनका निम्ति उनले आँखीझ्यालहरूख बनाए। 5 अनि उनले त्यस भवनको भित्तामा वरिपरि अर्थात् भवनका पवित्रस्थानग र महापवित्रस्थानकाघ भित्ताहरूमा वरिपरि कोठाहरू बनाए। यसरी उनले वरिपरि कोठाहरू बनाए। 6 सबभन्दा तल्लो कोठाको चौड़ाइ पाँच हात थियो, बीचको कोठाको चौड़ाइ छ हात थियो र तेस्रो कोठाको चौड़ाइ सात हात थियो; किनकि उनले भवनका भित्ताहरूमा निदालहरू नलगाउने गरी बाहिरपट्टि भवनको भित्तामा वरिपरि ससाना टाँड़हरू बनाइदिए। 7 अनि त्यो भवन बनाउँदा त्यहाँ ल्याइनुभन्दा पहिल्यै तयार पारिएको ढुङ्गाले त्यो बनाइयो; यसैले त्यो भवन बनिरहेको समयमा त्यसमा मार्तोल, बन्चरो वा कुनै फलामको औजारको आवाज सुनिएन। 8 बीच-कोठामा पुग्ने ढोकाचाहिँ त्यस भवनको दाहिनेपट्टि थियो; अनि घुमाउरो सिँढ़ी चढ़ेर मानिसहरूङ बीच-कोठामा, र बीच-कोठादेखि तेस्रो तलाको कोठामा उक्लिन्थे। 9 यसरी उनले त्यो भवन निर्माण गरे, र त्यसलाई सिद्ध्याए, अनि त्यस भवनलाई देवदारका निदालहरू र तख्ताहरूले छाए। 10 त्यसपछि उनले सारा भवनमा पाँच-पाँच हात उचाइ भएका कोठाहरू बनाए; अनि ती देवदारका काठहरूले त्यस भवनमा अड़िएका थिए।11 तब सुलेमानकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 12 “तिमीले बनाउँदै गरेको यस भवनको सम्बन्धमा – तिमी मेरा नियमहरूमा हिँड्यौ, मेरा न्याय-वचनहरू कायम राख्यौ र मेरा सबै आज्ञाहरू पालन गरेर तिनमा हिँड्यौ भने तिम्रा बुबा दाऊदलाई मैले भनेको वचन म तिमीसित पूरा गर्नेछु, 13 अनि म इस्राएलीहरूको बीचमा वास गर्नेछु, र मेरो प्रजा इस्राएललाई त्याग्नेछैनँ।”
14 यसरी सुलेमानले त्यो भवन निर्माण गरे, र त्यसलाई सिद्ध्याए। 15 अनि उनले त्यस भवनको भित्रपट्टिका भित्ताहरू, भवनको भुइँ र छानासम्मका भित्ताहरू देवदारका तख्ताहरूले बनाए; ती भित्ताहरूमा भित्रपट्टि उनले काठ छापे, र भवनको भुइँमा सल्लाका पटाइ छापे। 16 त्यसपछि उनले भवनको पछिल्लो भाग, बीस हात, भुइँ र भित्ताहरू देवदारका तख्ताहरूले बनाए; अँ, ती तख्ताहरूले उनले त्यसको भित्रपट्टि भित्री पवित्रस्थान अर्थात् महापवित्रस्थान बनाए। 17 अनि यसको अघिल्तिरको भवन अर्थात् पवित्रस्थानकोच लमाइ चालीस हात थियो। 18 अनि त्यस भवनको भित्रपट्टि देवदारको काठमा कोपिलाहरू र फक्रेका फूलहरूका बेलबुट्टा खोपिएका थिए; सबै देवदारका थिए; कुनै ढुङ्गा देखिँदैनथियो। 19 अनि परमप्रभुको वाचाको सन्दुक त्यसमा राख्नलाई भवनको भित्रपट्टि उनले भित्री पवित्रस्थान तयार गरे। 20 अनि अघिल्तिर भित्री पवित्रस्थानको लमाइ बीस हात, चौड़ाइ बीस हात र त्यसको उचाइ पनि बीस हात थियो; अनि उनले त्यसलाई निखुर सुनले मोहोरे, र त्यस्तै गरी देवदारको काठले बनेको वेदीलाई पनि मोहोरे। 21 यसरी सुलेमानले त्यस भवनको भित्रपट्टि निखुर सुनले मोहोरे; अनि भित्री पवित्रस्थानको अघिल्तिर उनले सुनका साङ्लाहरूले एउटा छेकाबार बनाए, र त्यसलाई पनि सुनैले मोहोरे। 22 अनि सम्पूर्ण भवन बनाएर नसिद्ध्याउन्जेल उनले सारा भवनलाई सुनले मोहोरे, साथै भित्री पवित्रस्थाननिर भएको सम्पूर्ण वेदीलाई पनि सुनले मोहोरे।
23 अनि भित्री पवित्रस्थानमा उनले जैतुनको काठका दस-दस हात अग्ला दुईवटा करूब बनाए। 24 अनि करूबको एउटा पखेटा पाँच हातको थियो, र करूबको अर्को पखेटा पनि पाँच हातको थियो; एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्म दस हात थियो। 25 अनि अर्को करूब पनि दस हातको थियो; दुवै करूबहरू एकै नाप र एउटै आकारका थिए। 26 एउटा करूबको उचाइ दस हात थियो; अर्को करूबको पनि त्यति नै थियो। 27 अनि उनले ती करूबहरू भित्री भवनको भित्रपट्टि राखे, र तिनीहरूले करूबहरूका पखेटाहरू यस प्रकारले फिँजाइदिए कि एउटाको पखेटाले एउटा भित्ता छुन्थ्यो भने अर्को करूबको पखेटाले अर्को भित्ता छुन्थ्यो; अनि तिनीहरूका अर्का पखेटाहरूले भवनको बीचमा एक-अर्कालाई छोए। 28 अनि उनले ती करूबहरूलाई सुनले मोहोरे।
29 अनि उनले भवनको वरिपरि सबै भित्ताहरूमा भित्रपट्टि र बाहिरपट्टि करूबहरू, खजुरका रूखहरू र फक्रेका फूलहरूका बेलबुट्टा खोपे। 30 अनि उनले भित्र र बाहिर भवनको भुइँलाई सुनले मोहोरे। 31 अनि भित्री पवित्रस्थानको प्रवेशद्वारका निम्ति उनले जैतुनको काठका ढोकाहरू बनाए; चौकोसको सिरान र ढोकाका खाँबाहरूले चौड़ाइको पाँचौं भाग ओगटेका थिए। 32 अनि दुईवटा ढोकाहरू जैतुनको काठका थिए, र तिनमा उनले करूबहरू, खजुरका रूखहरू र फक्रेका फूलहरूका बेलबुट्टा खोपे, तिनलाई सुनले मोहोरे र ती करूबहरू र खजुरका रूखहरूमाथि सुन फैलाइदिए। 33 अनि यसरी उनले पवित्रस्थानकोच ढोकाका निम्ति जैतुनको काठका चौकोस बनाए, जसले चौड़ाइको चौथो भाग ओगटेका थिए। 34 अनि दुईवटा ढोकाहरू सल्लाको काठका थिए: एउटा ढोकाका दुई पल्ला मोड़िने थिए भने अर्को ढोकाका दुई पल्ला पनि मोड़िने थिए। 35 अनि उनले तिनमा करूबहरू, खजुरका रूखहरू र फक्रेका फूलहरूका बेलबुट्टा खोपे, र ती खोपिएका बेलबुट्टामाथि चिटिक्क मिलाएर सुनले मोहोरिदिए।
36 अनि उनले भित्री चोक तीन लहर काटिएका ढुङ्गाहरू र एक लहर देवदारको काठका निदालहरूलेछ बनाए।