सुलेमानको राजभवनको निर्माण
7
तर सुलेमानले तेह्र वर्षमा आफ्नो घर बनाए; अनि उनले आफ्नो सम्पूर्ण घर बनाइसिद्ध्याए।
2 अनि उनले लबानोनको वनको भवन बनाए, जसको लमाइ एक सय हात, जसको चौड़ाइ पचास हात र जसको उचाइ तीस हात थियो – चार लहर देवदारको काठका खाँबाहरूमाथि, अनि ती खाँबाहरूमाथि देवदारको काठका निदालहरू थिए। 3 माथिबाट त्यो भवन देवदारको काठले निदालहरूमाथि छाइएको थियो, जुन निदालहरू एक लहरमा पन्ध्रवटा गरेर पैंतालीसवटा खाँबाहरूमाथि राखिएका थिए। 4 अनि तीन लहर झ्यालहरू हालिएका थिए, र तीनै पल्ट झ्यालहरू आमुन्‍ने-सामुन्‍ने थिए। 5 अनि सबै ढोकाहरू र ढोकाका चौकोसहरू वर्गाकार थिए; अनि तीनै पल्ट झ्यालहरू आमुन्‍ने-सामुन्‍ने थिए। 6 अनि उनले खाँबाहरूको एउटा दलान बनाए, जसको लमाइ पचास हात र चौड़ाइ तीस हात थियो; अनि ती खाँबाहरूको अघिल्तिर अर्को दलान थियो; अनि तिनीहरूको अघिल्तिर खाँबाहरू र एउटा ठूलो पेटी थिए। 7 त्यसपछि उनले सिंहासनका निम्ति एउटा दलान अर्थात् न्यायको दलान बनाए, जहाँ उनले न्याय गर्थे; अनि त्यसको भुइँमा एक छेउदेखि अर्को छेउसम्म देवदारका पटाइहरू छापिए। 8 त्यस दलानभित्र उनी बस्‍ने उनको घरको अर्को चोक थियो; त्यो पनि योजस्तै बनावटको थियो। अनि सुलेमानले फाराओकी छोरीका निम्ति पनि, जसलाई उनले पत्‍नीको रूपमा ल्याएका थिए, त्यही दलानजस्तै एउटा घर बनाइदिए।
9 ती सबै घरहरू जगदेखि लिएर शिरसम्मै र बाहिर ठूलो चोकसम्‍मै भित्रपट्टि र बाहिरपट्टि नापअनुसार काटिएका, आराले छाँटकाट गरिएका बहुमूल्य ढुङ्गाहरूका थिए। 10 अनि जगचाहिँ ठूला-ठूला ढुङ्गा अर्थात् दस-दस हात र आठ-आठ हातका ढुङ्गाहरूको, अँ, बहुमूल्य ढुङ्गाहरूको थियो। 11 अनि त्यस जगमाथि नाप-नापअनुसार काटिएका बहुमूल्य ढुङ्गाहरू र देवदारको काठ लगाइएका थिए। 12 अनि ठूलो चोकको वरिपरि, साथै परमप्रभुको भवनको भित्री चोक र त्यस भवनको दलानका निम्ति पनि तीन लहर काटिएका ढुङ्गाहरू र एक लहर देवदारको काठका निदालहरू थिए।
परमप्रभुको भवनका सजावटहरू
13 अनि राजा सुलेमानले मानिसहरू पठाए, र टायरबाट हिरामलाई ल्याए। 14 तिनीचाहिँ नप्‍ताली कुलका, एउटी विधवाका छोरा थिए; अनि तिनका बुबा पित्तलको काम गर्ने टायरका निवासी थिए। अनि तिनी पित्तलका सबै काम गर्नुमा बुद्धि, समझ र दक्षताले भरिएका थिए। अनि तिनी राजा सुलेमानकहाँ आए, र उनको सबै काम गरे।
15 किनकि तिनले दुईवटा अठार-अठार हात अग्ला पित्तलका खाँबाहरू ढालेर बनाए; अनि तिनमा हरेकको वरिपरि बाह्र हातको डोरीले एक फन्को लाउन सकिन्थ्यो। 16 अनि ती खाँबाहरूका थाप्ला-थाप्लामा राख्‍नलाई तिनले ढालिएको पित्तलका दुईवटा टुप्पाहरू बनाए। एउटा टुप्पाको उचाइ पाँच हात थियो भने अर्को टुप्पाको उचाइ पनि पाँच हात थियो; 17 अनि ती खाँबाहरूका थाप्लामा राखिएका टुप्पाहरूका निम्ति तिनले जाली बुन्‍ने कामअनुसार जालीहरू र साङ्लो बनाउने कामअनुसार झालरहरू बनाए – एउटा टुप्पाका निम्ति सातवटा र अर्को टुप्पाका निम्ति सातवटा। 18 अनि तिनले ती खाँबाहरू बनाए, साथै थाप्लामा राखिएका ती टुप्पाहरू ढाक्नलाई एउटा जालीमाथि वरिपरि दुई लहर दारीमहरू बनाए। अनि यसरी तिनले अर्को टुप्पाका निम्ति पनि बनाए। 19 अनि दलानमा ती खाँबाहरूका थाप्लामा राखिएका टुप्पाहरू चार-चार हात अग्ला लिली फूलका आकारका थिए। 20 अनि ती दुईवटा खाँबाहरूमाथि भएका टुप्पाहरूमा पनि दारीमहरू थिए, जुन दारीमहरू जालीको छेउमा, त्‍यस पेटनिर थिए; अनि दोस्रो टुप्पामाथि वरिपरि लहर-लहर हुने गरी दुई सय दारीम थिए। 21 अनि तिनले ती खाँबाहरू मन्दिरको दलानमा खड़ा गरे; अनि दाहिनेपट्टिको खाँबा खड़ा गरेर तिनले त्यसको नाम याकीन राखे; अनि देब्रेपट्टिको खाँबा खड़ा गरेर तिनले त्यसको नाम बोअज राखे। 22 अनि ती खाँबाहरूका टुप्पामा लिली फूलको काम थियो। यसरी ती खाँबाहरूको काम सिद्धियो।
23 अनि तिनले एउटा ढालिएको विशाल टङ्की बनाए, जुन टङ्की एक बिटदेखि अर्को बिटसम्म दस हात थियो। त्यो चारैतिर गोलाकार थियो; त्यसको उचाइ पाँच हात थियो, र त्यसको वरिपरि तीस हातको डोरीले एक फेरा लाउन सकिन्थ्यो। 24 अनि त्यसको बिटमुनि वरिपरि त्यसलाई घेरिरहेका एक हातमा दसवटा गरेर कोपिलाहरू थिए, जसले त्यस टङ्कीलाई चारैतिर घेरेका थिए। टङ्कीलाई ढाल्दाखेरि नै ती कोपिलाहरू दुई लहर हुने गरी ढालिएका थिए। 25 त्यो टङ्की तीनवटा उत्तरपट्टि फर्केका, तीनवटा पश्‍चिमपट्टि फर्केका, तीनवटा दक्षिणपट्टि फर्केका र तीनवटा पूर्वपट्टि फर्केका बाह्रवटा गोरुहरूमाथि खड़ा थियो। अनि त्यो टङ्की तिनैमाथि बसालिएको थियो, र तिनका पछाड़िका भागहरू सबै भित्रपट्टि फर्केका थिए। 26 अनि त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको बिटचाहिँ कचौराको बिटको बनावटजस्तै, लिली फूलजस्तो बनाइएको थियो। त्यसमा दुई हजार बत पानी अटाउँथ्यो।
27 अनि तिनले पित्तलका दसवटा आधार बनाए; हरेक आधारको लमाइ चार हात, त्यसको चौड़ाइ चार हात र त्यसको उचाइ तीन हात थियो। 28 अनि ती आधारहरूको बनावट यस प्रकारको थियो: तिनमा भित्ताहरू थिए, अनि ती भित्ताहरू फ्रेमहरूको बीचमा थिए। 29 अनि फ्रेमहरूको बीचमा भएका ती भित्ताहरूमा सिंहहरू, गोरुहरू र करूबहरू थिए; अनि ती फ्रेमहरूमाथि एउटा पिरा थियो। अनि सिंहहरू र गोरुहरूको मुन्तिरचाहिँ बाटेर बनाइएका मालाहरू थिए। 30 अनि हरेक आधारका चार-चारवटा पित्तलका चक्‍काहरू र चार-चारवटा पित्तलका धुराहरू थिए; अनि त्यसका चार कुनामा टेकाहरू लगाइएका थिए; बाटाको पींधमा हरेक मालाको दुवैपट्टि ढालेर बनाइएका टेकाहरू थिए। 31 अनि भित्रपट्टि त्यसको मुख बाटा राख्‍ने गोलो टेकोबाट माथि घेरासम्म एक हात थियो, तर त्यसको मुख बिँड़ोको ढङ्गमा बनाइएको गोलो थियो, त्यसको व्यास डेढ़ हात थियो। अनि त्यसको मुखमा पनि खोपिएका बेलबुट्टाहरू थिए; त्यसका भित्ताहरूचाहिँ गोला नभएर वर्गाकार थिए। 32 अनि ती भित्ताहरूमुनि चारवटा चक्‍काहरू थिए, र ती चक्‍काका धुराहरू समाउने हात आधारसित गाँसिएका थिए। अनि चक्‍काको उचाइ डेढ़ हात थियो। 33 अनि ती चक्‍काहरूको बनावट रथको चक्‍काको बनावटजस्तो थियो। तिनका धुरा समाउने हातहरू, तिनका घेराहरू, तिनका सुइराहरू र तिनका नाभीहरू सबै ढालेर बनाइएका थिए। 34 अनि हरेक आधारका चार कुनामा चारैवटा टेका थिए; अनि त्यसका टेकाहरू आधारको एउटै टुक्राबाट बनिएका थिए। 35 अनि त्यस आधारको टुप्पामा आधा हात अग्लो गोलो पट्टी थियो; अनि त्यस आधारको टुप्पामा त्यसका भित्ताहरू र त्यसका फ्रेमहरू त्यसकै एउटै टुक्राबाट बनिएका थिए। 36 अनि तिनले त्यसका फ्रेमका पाटाहरूमा र त्यसका भित्ताहरूमा हरेक खाली ठाउँमा करूबहरू, सिंहहरू र खजुरका रूखहरू, साथै वरिपरि बाटिएका मालाहरू खोपेर बनाए। 37 यस प्रकारले तिनले दसवटा आधारहरू बनाए; ती सबैको एउटै साँचो, एउटै नाप र एउटै आकार थियो।
38 त्यसपछि तिनले दसवटा पित्तलका बाटाहरू बनाए। एउटा बाटामा चालीस बत पानी अटाउँथ्यो; अनि हरेक बाटा चार-चार हातको थियो। दसवटा आधारहरूमध्ये हरेक आधारमाथि एक-एक बाटा थियो। 39 अनि तिनले पाँचवटा आधारहरू भवनको दाहिनेपट्टि र पाँचवटा भवनको देब्रेपट्टि राखे; अनि त्यो विशाल टङ्की तिनले भवनको दाहिनेपट्टि अर्थात् दक्षिणतिर पूर्वपट्टि राखे।
40 अनि हिरामले भाँड़ाहरू, बेल्चाहरू र बाटाहरू बनाए। यसरी हिरामले राजा सुलेमानका लागि परमप्रभुको भवनका निम्ति बनाइदिनुपर्ने सबै कामहरू गरेर सिद्ध्याए – 41 दुईवटा खाँबाहरू र ती दुई खाँबाका थाप्लामाथि राखिएका गोला टुप्पाहरू, अनि ती खाँबाहरूका थाप्लामाथि राखिएका दुईवटा गोला टुप्पाहरूलाई ढाक्ने दुईवटा जालीहरू, 42 साथै ती खाँबाहरूका थाप्लामाथि राखिएका गोला टुप्पाहरू ढाक्नलाई ती दुई जालीहरूका निम्ति चार सय दारीमहरू अर्थात् हरेक जालीका निम्ति दुई लहर दारीमहरू; 43 अनि ती दसवटा आधारहरू र ती आधारहरूमाथि भएका दसवटा बाटाहरू, 44 अनि एउटा विशाल टङ्की र त्यस टङ्कीमुनि भएका बाह्रवटा गोरुहरू, 45 अनि भाँड़ाहरू, बेल्चाहरू र बाटाहरू। अनि हिरामले राजा सुलेमानका लागि परमप्रभुको भवनका निम्ति बनाइदिएका ती सबै सामानहरू टल्किरहेको पित्तलका थिए। 46 यर्दनको मैदानमा सुक्‍कोत र सार्तानको बीचमा भएको चिम्‍ट्याहा माटोमा राजाले तिनलाई ढाले। 47 अनि सुलेमानले ती सबै सामानहरू नतौलीकन राखे; किनभने ती असाध्यै बढ़ी थिए; पित्तलको वजनको हिसाब पत्ता लगाई नसकिने थियो।
48 अनि सुलेमानले परमप्रभुको भवनका यी सबै चीजहरू बनाए: जस्तै सुनको वेदी र भेटीका रोटीहरू राखिने सुनको टेबल, 49 अनि भित्री पवित्रस्थानको सामु दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा निखुर सुनका सामदानहरू, साथै सुनका फूलहरू, दियाहरू र चिम्टाहरू, 50 अनि निखुर सुनका कचौराहरू, सलेतो काट्ने कैंचीहरू, बाटाहरू, चम्चाहरू र आगोदानीहरू, साथै भित्री भवन अर्थात् महापवित्रस्थानका ढोकाहरूका निम्ति र भवन अर्थात् पवित्रस्थानका ढोकाहरूका निम्ति सुनका कब्जाहरू।
51 यसरी परमप्रभुको भवनका निम्ति राजा सुलेमानले गरेको सबै काम सिद्धियो। अनि सुलेमानले आफ्ना पिता दाऊदले अर्पण गरेका थोकहरू, अर्थात् चाँदी, सुन र भाँड़ाकुँड़ाहरू भित्र ल्याए, र परमप्रभुको भवनका भण्डारहरूमा राखे।