वाचाको सन्दुक त्यस भवनभित्र ल्याइयो
8
तब सुलेमानले इस्राएलका बूढ़ा प्रधानहरू र सबै कुल-नायकहरू अर्थात् इस्राएलीहरूका बुबाहरूका अगुवाहरूलाई उनीहरूले दाऊदको शहरबाट, जो सियोन हो, परमप्रभुको वाचाको सन्दुक माथि ल्याऊन् भनेर यरूशलेममा राजा सुलेमानकहाँ भेला गरे। 2 अनि एतानिम महिना अर्थात् सातौं महिनामा चाड़को समयमा इस्राएलका सबै मानिसहरू राजा सुलेमानकहाँ भेला भए। 3 अनि इस्राएलका सबै बूढ़ा प्रधानहरू आए, र पूजाहारीहरूले त्‍यो सन्दुक उठाए। 4 अनि उनीहरूले परमप्रभुको सन्दुक माथि ल्याए, र भेट हुने पाल र त्यस पालमा भएका सबै पवित्र पात्रहरू पनि पूजाहारीहरू र लेवीहरूले माथि ल्याए। 5 अनि राजा सुलेमानले र उनको सामु उनीसित सन्दुकको सामु भेला भएको इस्राएलको सारा समुदायले भेड़ाहरू र बहरहरू बलि चढ़ाइरहेका थिए, जो अति धेरै भएका हुनाले गन्ती गर्न सकिँदैनथियो, न ता संख्या लिन सकिन्थ्यो। 6 अनि पूजाहारीहरूले परमप्रभुको वाचाको सन्दुक भित्र त्यसको आफ्नो ठाउँमा अर्थात् भवनको भित्री पवित्रस्थानमा, अँ, महापवित्रस्थानमा करूबहरूका पखेटामुनि ल्याए। 7 किनकि ती करूबहरूले त्यो सन्दुक भएको ठाउँमाथि आफ्ना दुई पखेटाहरू फैलाइरहेका थिए; अनि ती करूबहरूले त्यो सन्दुक र त्यसका डण्डाहरू माथिबाट ढाकेका थिए। 8 अनि ती डण्डाहरू यति लामा थिए, कि ती डण्डाहरूका टुप्पाहरू भित्री पवित्रस्थानको अघिल्तिर भएको पवित्रस्थानबाट देखिन्थे, तर बाहिरचाहिँ ती देखिँदैनथिए; अनि आजको दिनसम्म ती त्यहाँ छन्। 9 त्यस सन्दुकभित्र ढुङ्गाका दुईवटा पाटीबाहेक अरू केही पनि थिएन, जुन पाटीहरू इस्राएलीहरू मिस्र देशबाट निस्केर आउँदा परमप्रभुले उनीहरूसित वाचा बाँध्‍नुभएको बेलामा होरेबमा मोशाले त्यहाँ राखेका थिए।
10 अनि यस्तो भयो: जब पूजाहारीहरू पवित्रस्थानबाट निस्केर आए, तब परमप्रभुको भवन यतिसम्म बादलले भरियो, 11 कि त्यस बादलले गर्दा पूजाहारीहरू सेवा गर्नलाई खड़ा रहन सकेनन्; किनकि परमप्रभुको महिमाले परमप्रभुको भवन भरिएको थियो।
12 तब सुलेमान बोले: “परमप्रभुले भन्‍नुभएको छ, ‘म घोर अन्धकारमा वास गर्नेछु।’ 13 साँच्‍चै मैले तपाईंका निम्ति एउटा निवासस्थानरूपी भवन, तपाईंका निम्ति सदा-सर्वदा बस्‍ने एउटा स्थान बनाइदिएको छु।” 14 अनि राजाले आफ्नो अनुहार फर्काएर इस्राएलको सारा समुदायलाई आशीर्वाद दिए; अनि इस्राएलको सारा समुदाय उभिरहेको थियो। 15 अनि उनले भने: “परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्, जसले यसो भन्दै आफ्नो मुखले मेरा पिता दाऊदसँग बोल्नुभएको कुरा आफ्नो हातले पूरा गर्नुभयो: 16 ‘मैले मेरो प्रजा इस्राएललाई मिस्रबाट निकालेर ल्याएको दिनदेखि यता त्यहाँ मेरो नाम रहोस् भनेर एउटा भवन बनाउनलाई मैले इस्राएलका सबै कुलहरूबाट कुनै शहर चुनिनँ; तर मैले मेरो प्रजा इस्राएलमाथि शासन गर्न दाऊदलाई चुनें।’ 17 अनि मेरा पिता दाऊदको हृदयमा परमप्रभु इस्राएलका परमेश्‍वरको नामका निम्ति एउटा भवन बनाउने चाहना थियो। 18 अनि परमप्रभुले मेरा पिता दाऊदलाई भन्‍नुभयो: ‘तिम्रो हृदयमा मेरो नामका निम्ति एउटा भवन बनाउने चाहना थियो; त्यो चाहना तिम्रो हृदयमा भएकोमा तिमीले असल गर्‍यौ; 19 तरै पनि तिमीले चाहिँ त्यो भवन बनाउनेछैनौ, तर तिम्रो छोराले, जो तिम्रो शरीरबाट उत्‍पन्‍न हुनेछ, उसैले मेरो नामका निम्ति त्यो भवन बनाउनेछ।’ 20 अनि परमप्रभुले आफूले बोल्नुभएको आफ्नो वचन पूरा गर्नुभयो, र परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार म मेरा बुबा दाऊदको सट्टामा उठेको छु, र इस्राएलको सिंहासनमाथि बस्दैछु, अनि परमप्रभु इस्राएलका परमेश्‍वरको नामका निम्ति त्यो भवन बनाएको छु। 21 अनि त्यहाँ मैले सन्दुकका निम्ति एउटा ठाउँ स्थापित गरेको छु, जुन सन्दुकभित्र परमप्रभुको वाचा छ, जुन वाचा उहाँले हाम्रा पितापुर्खाहरूलाई मिस्र देशबाट निकालेर ल्याउँदा उनीहरूसँग बाँध्‍नुभएको थियो।”
परमप्रभुको भवनको समर्पण हुँदा सुलेमानको प्रार्थना
22 तब सुलेमानले इस्राएलको सम्पूर्ण समुदायको सामु परमप्रभुको वेदीको अघिल्तिर उभिएर स्वर्गतिर आफ्ना हातहरू फैलाए; 23 अनि उनले भने: “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाईंजस्तै अरू कुनै ईश्‍वर छैन, न ता माथि स्वर्गमा, न ता तल पृथ्वीमा नै, जसले आफ्नो सम्पूर्ण हृदयले तपाईंको सामु हिँड़्‍ने तपाईंका दासहरूसित वाचा र करुणा कायम राख्‍नुहुन्छ; 24 तपाईंले आफ्ना दास, मेरा पिता दाऊदलाई जे प्रतिज्ञा गर्नुभएको थियो, सो उहाँसित पूरा गर्नुभयो; अँ, तपाईंले आफ्नो मुखले बोल्नुभयो, र आफ्नो हातले त्यो पूरा गर्नुभयो, जसरी आजको दिन भइरहेको छ। 25 यसकारण अब हे परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्ना दास, मेरा पिता दाऊदसित यसो भन्दै उहाँलाई जे प्रतिज्ञा गर्नुभएको थियो, सो पूरा गर्नुहोस्! ‘तर जसरी तिमी मेरो सामु हिँड्यौ, त्यसरी नै तिम्रा सन्तान मेरो सामु हिँड़्नलाई आफ्नो चालको विषयमा होशियार भए भने मेरो सामु इस्राएलको सिंहासनमाथि बस्‍नलाई तिमीलाई कुनै मानिसको अभाव हुनेछैन।’ 26 अनि अब हे इस्राएलका परमेश्‍वर, म तपाईंलाई विन्‍ती गर्छु, तपाईंले आफ्नो दास, मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन सत्य ठहरियोस्! 27 तर के परमेश्‍वर साँच्‍चै पृथ्वीमाथि वास गर्नुहुन्छ र? हेर्नुहोस्, स्वर्ग र सर्वोच्‍च स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न; झन् कति बढ़्‍ता गरी तपाईं मैले बनाएको यस भवनमा अटाउनुहुन्‍न! 28 तापनि हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले आज तपाईंको दासले तपाईंको सामु चढ़ाएको पुकार र प्रार्थना सुनिदिनलाई आफ्नो दासको प्रार्थना र उसको विन्‍तीप्रति ध्यान दिनुहोस्! 29 र तपाईंका आँखाहरू रातोदिन यही भवनपट्टि, अँ, यस ठाउँपट्टि खुला रहिरहून्, जसको विषयमा ‘मेरो नाम त्यहाँ रहनेछ’ भनी तपाईंले भन्‍नुभएको छ, कि तपाईंको दासले यस ठाउँपट्टि चढ़ाएको प्रार्थना तपाईंले सुन्‍नुहोस्! 30 अनि तपाईंको दासको विन्‍ती, र तपाईंको प्रजा इस्राएलले यस ठाउँपट्टि चढ़ाएको विन्‍ती सुनिदिनुहोस्; अनि स्वर्ग आफ्नो वासस्थानबाट सुनिदिनुहोस्, र सुनेर क्षमा गर्नुहोस्!
31 यदि कसैले आफ्नो छिमेकीको विरोधमा पाप गर्‍यो, र त्यसमाथि एउटा शपथ हालेर त्यसलाई शपथ खान लगाइयो, र त्यो शपथ यस भवनमा तपाईंको वेदीको सामु आयो भने, 32 तपाईंले स्वर्गबाट सुनेर कारवाही गर्नुहोस्, र दुष्‍टको चाल त्यसको थाप्लोमाथि ल्याउनलाई त्यसलाई दोषी ठहऱ्याउँदै र धर्मी जनलाई उसको धार्मिकताअनुसारको प्रतिफल दिनलाई उसलाई निर्दोष ठहऱ्याउँदै आफ्ना दासहरूको न्याय गरिदिनुहोस्!
33 जब तपाईंको प्रजा इस्राएलले तपाईंको विरोधमा पाप गरेको कारणले उनीहरू आफ्ना शत्रुहरूको सामु हार्लान्, अनि फेरि तपाईंकहाँ फर्केर तपाईंको नाम स्वीकार गर्लान् र प्रार्थना गरेर यस भवनमा तपाईंलाई विन्‍ती चढ़ाउलान्, 34 तब स्वर्गबाट सुनेर आफ्नो प्रजा इस्राएलको पाप क्षमा गरिदिनुहोस्, र उनीहरूलाई उनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्!
35 उनीहरूले तपाईंको विरोधमा पाप गरेको कारणले जब आकाश बन्द हुन्छ र पानी पर्दैन, अनि तपाईंले उनीहरूलाई कष्‍ट दिनुभएको हुनाले उनीहरूले यस ठाउँपट्टि फर्केर प्रार्थना गरे भने, र तपाईंको नाम स्वीकार गरेर आफ्नो पापदेखि फर्के भने, 36 तपाईंले स्वर्गबाट सुन्‍नुहोस्, आफ्ना दासहरूको र आफ्नो प्रजा इस्राएलको पाप क्षमा गरिदिनुहोस् र उनीहरूलाई उनीहरू हिँड़्नुपर्ने असल मार्ग सिकाउनुहोस्, अनि तपाईंले आफ्नो प्रजालाई अधिकारको भागको रूपमा दिनुभएको तपाईंको देशमाथि पानी बर्साइदिनुहोस्!
37 यदि देशमा अनिकाल पर्‍यो भने; यदि महामारी, सेप्य्राइ र ढुसी, सलह वा झुसिल्कीरा लाग्यो भने; यदि उनीहरूको शत्रुले उनीहरूलाई उनीहरूका शहरहरूको देशमा घेरा हाल्यो भने – जुनसुकै विपत्ति, जुनसुकै रोग किन न होस् – 38 कुनै मानिसबाट वा तपाईंको सारा प्रजा इस्राएलबाट चढ़ाइएको जुनसुकै प्रार्थना र विन्‍ती होस् – किनकि तिनीहरू हरेकले आफ्नै हृदयको पीड़ा जान्दछन् – अनि उसले यस भवनपट्टि आफ्ना हातहरू फैलायो भने, 39 स्वर्ग आफ्नो वासस्थानबाट सुनेर क्षमा गर्नुहोस्! र कारवाही गरेर हरेकलाई, जसको हृदय तपाईं जान्‍नुहुन्‍छ, उसका सबै चालहरूअनुसार प्रतिफल दिनुहोस्! किनकि तपाईंले, केवल तपाईंले नै मानिसका सबै सन्तानहरूको हृदय जान्‍नुहुन्‍छ; 40 यसैले कि तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा उनीहरूले बाँचुन्जेल सारा जीवनभरि नै तपाईंको भय मानून्!
41 यसबाहेक कोही परदेशीको विषयमा पनि, जो तपाईंको प्रजा इस्राएलको होइन, तर तपाईंको नामको खातिर टाढ़ा देशबाट आउँछ, 42 (किनकि तिनीहरूले तपाईंको महान् नाम, तपाईंको शक्तिशाली हात र तपाईंको पसारिएको पाखुराको विषयमा सुन्‍नेछन्), जब आएर उसले यस भवनपट्टि फर्केर प्रार्थना गर्छ भने, 43 तब स्वर्ग आफ्नो वासस्थानबाट सुन्‍नुहोस् र त्यस परदेशीले तपाईंलाई पुकारेअनुसार सबै कुरा गरिदिनुहोस्, यस हेतुले कि पृथ्वीका सबै मानिसहरूले तपाईंको नाम जानून्, तपाईंको प्रजा इस्राएलले झैं तपाईंको भय मानून् र मैले बनाएको यो भवन तपाईंको नामले कहलाइएको छ भनी जानून्!
44 जब तपाईंको प्रजा तपाईंले उनीहरूलाई पठाउनुभएको बाटोमा आफ्नो शत्रुसित लड़ाइँ गर्न निस्कलान्, अनि तपाईंले चुन्‍नुभएको यस शहर र मैले तपाईंको नामका निम्ति बनाएको यस भवनपट्टि फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाउलान्, 45 तब स्वर्गबाट उनीहरूको प्रार्थना र उनीहरूको विन्‍ती सुनिदिनुहोस्, र उनीहरूको मुद्दा लड़्नुहोस्!
46 यदि उनीहरूले तपाईंको विरोधमा पाप गरे भने, (किनकि पाप नगर्ने कुनै मानिस हुँदैन), अनि उनीहरूसित क्रोधित भएर तपाईंले उनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई कैद गरेर, टाढ़ा वा नजिक, शत्रुको देशमा लगे भने, 47 अनि उनीहरू कैदी भएर लगिएको देशमा उनीहरूको होश खुल्यो, र उनीहरूले पश्‍चात्ताप गरे र उनीहरूलाई कैद गरेर लैजानेहरूको देशमा ‘हामीले पाप गरेका छौं, टेढ़ा व्यवहार गरेका छौं, हामीले दुष्‍ट काम गरेका छौं’ भन्दै तपाईंलाई विन्‍ती गरे भने, 48 अनि उनीहरूलाई कैद गरेर लगेका उनीहरूका शत्रुहरूको देशमा उनीहरू आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले तपाईंकहाँ फर्के, र तपाईंले उनीहरूका पितापुर्खाहरूलाई दिनुभएको उनीहरूको यस देशपट्टि, तपाईंले चुन्‍नुभएको यस शहरपट्टि र मैले तपाईंको नामका निम्ति बनाएको यस भवनपट्टि फर्केर तपाईंलाई प्रार्थना गरे भने, 49 स्वर्ग आफ्नो वासस्थानबाट उनीहरूको प्रार्थना र उनीहरूको विन्‍ती सुनिदिनुहोस्, र उनीहरूको मुद्दा लड़्नुहोस्! 50 अनि तपाईंको विरोधमा पाप गर्ने तपाईंको प्रजालाई, र तपाईंको विरोधमा गरेका उनीहरूका सबै अपराधहरू क्षमा गरिदिनुहोस्, अनि उनीहरूलाई कैद गरेर लैजानेहरूको सामु उनीहरूलाई दया देखाउनुहोस्, र तिनीहरूले उनीहरूमाथि दया देखाऊन्! 51 किनकि उनीहरू तपाईंको प्रजा र तपाईंको अधिकारको भाग हुन्, जसलाई तपाईंले मिस्रबाट, अर्थात् फलामको भट्टीको बीचबाट निकालेर ल्याउनुभएको छ, 52 यस उद्देश्यले कि तपाईंका आँखाहरू आफ्नो दासको विन्‍तीप्रति र तपाईंको प्रजा इस्राएलको विन्‍तीप्रति, उनीहरूले तपाईंलाई पुकार्ने सबै कुराहरूको सम्बन्धमा उनीहरूको पुकार सुन्‍नलाई खुला रहिरहून्। 53 किनकि हे प्रभु यहोवा, उनीहरू तपाईंको अधिकारको भाग होऊन् भनेर तपाईंले नै उनीहरूलाई पृथ्वीका सबै जातिहरूबाट अलग पार्नुभयो, जसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई मिस्रबाट निकालेर ल्याउनुहुँदा आफ्ना दास मोशाद्वारा भन्‍नुभएको थियो।”
54 अनि यस्तो भयो: जब सुलेमानले परमप्रभुलाई यो सम्पूर्ण प्रार्थना र विन्‍ती चढ़ाइसके, तब उनी परमप्रभुको वेदीको सामुबाट, आफ्ना हात स्वर्गतिर फैलाएर घुँड़ा टेकिरहेको ठाउँबाट उठे। 55 अनि उभिएर उनले ठूलो सोरले यसो भन्दै इस्राएलको सारा समुदायलाई आशीर्वाद दिए: 56 “परमप्रभु धन्यका होऊन्, जसले आफूले प्रतिज्ञा गर्नुभएका सबै कुराअनुसार आफ्नो प्रजा इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्ना दास मोशाद्वारा प्रतिज्ञा गर्नुभएका उत्तम-उत्तम कुराहरूमध्ये एउटै कुरा पनि विफल भएको छैन। 57 परमप्रभु हाम्रा परमेश्‍वर हाम्रो साथमा होऊन्, जसरी उहाँ हाम्रा पितापुर्खाहरूको साथमा रहनुभयो! उहाँले हामीलाई नछोडून्, र हामीलाई नत्यागून्! 58 र उहाँका सबै मार्गहरूमा हिँड़्नलाई र उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा गर्नुभएका उहाँका आज्ञाहरू, उहाँका नियमहरू र उहाँका न्याय-वचनहरू पालन गर्नलाई उहाँले हाम्रा हृदयलाई आफूतर्फ झुकाऊन्। 59 अनि मैले परमप्रभुको सामु विन्‍ती गरेका यी मेरा शब्दहरू दिनरात परमप्रभु हाम्रा परमेश्‍वरको नजिक रहिरहून्, फलस्वरूप हरेक दिनको आवश्यकताअनुसार उहाँले आफ्नो दासको मुद्दा र आफ्नो प्रजा इस्राएलको मुद्दा लडून्, 60 जसले गर्दा पृथ्वीका सबै मानिसहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुँदो रहेछ, र अरू कोही छैन रहेछ भनी जानून्। 61 यसकारण आजको दिनमा भएझैं उहाँका नियमहरूमा हिँड़्न र उहाँका आज्ञाहरू पालन गर्नलाई तिमीहरूको हृदय परमप्रभु हाम्रा परमेश्‍वरको साथमा सिद्ध भइरहोस्!”
62 अनि राजा र उनीसित सारा इस्राएलले परमप्रभुको सामु बलि चढ़ाए। 63 अनि सुलेमानले परमप्रभुका निम्ति बाइस हजार बहरहरू र एक लाख बीस हजार भेड़ाहरू मेलबलिहरूको रूपमा चढ़ाए, जो उनले बलि गरे। यसरी नै राजा र सबै इस्राएलीहरूले परमप्रभुको भवन समर्पण गरे। 64 त्यही दिन राजाले परमप्रभुको भवनको अगाड़ि भएको चोकको बीच-भाग पवित्र गरे; किनकि त्यहीं उनले होमबलि, अन्‍नबलि र मेलबलिहरूको बोसो चढ़ाए; किनभने परमप्रभुको सामु भएको पित्तलको वेदीचाहिँ होमबलि, अन्‍नबलि र मेलबलिहरूको बोसो अटाउनलाई सानो भयो।
65 अनि त्यस बेला सुलेमान र उनको साथमा हमातको पस्‍ने ठाउँदेखि लिएर मिस्रको नदीसम्मको सारा इस्राएल – एक अत्यन्तै ठूलो समुदायले परमप्रभु हाम्रा परमेश्‍वरको सामु सात दिन र फेरि सात दिन, अँ चौध दिनसम्म चाड़ मनाए। 66 अनि आठौं दिनमा उनले मानिसहरूलाई बिदा गरे; अनि तिनीहरूले राजालाई धन्यको भने, र परमप्रभुले आफ्ना दास दाऊद र आफ्नो प्रजा इस्राएलप्रति गर्नुभएको सबै भलाइका निम्ति रमाउँदै र आनन्दित हृदय लिएर आ-आफ्ना वासस्थानतिर लागे।