परमप्रभुले सुलेमानलाई यस प्रार्थनाको उत्तर दिनुभएको
9
अनि यस्तो भयो: जब सुलेमानले परमप्रभुको भवन, राजभवन र सुलेमानले बनाउन आफूले चाहना गरेका सबै कुरा गरिसिद्ध्याए, 2 तब गिबोनमा सुलेमानकहाँ देखा परेझैं परमप्रभु उनीकहाँ दोस्रोपल्ट देखा पर्नुभयो। 3 अनि परमप्रभुले उनलाई भन्‍नुभयो: “तिमीले मेरो सामु गरेको तिम्रो प्रार्थना र तिम्रो विन्‍ती मैले सुनें। तिमीले बनाएको यो भवन मेरो नाम सधैंभरि त्यहाँ राख्‍नलाई मैले पवित्र गरेको छु; अनि मेरा आँखाहरू र मेरो हृदय नित्य त्यहीं रहिरहनेछन्। 4 अनि मैले तिमीलाई आज्ञा गरेका सबै कुराहरूअनुसार गर्नलाई जसरी तिम्रा बुबा दाऊद हृदयको सच्‍चाइ र सीधापनामा हिँड़्थे, त्यसरी नै तिमी मेरो सामु हिँड्यौ, अनि मेरा नियमहरू र मेरा न्याय-वचनहरू पालन गर्‍यौ भने, 5 म तिम्रो राज्यको सिंहासन सधैंभरि इस्राएलमाथि स्थापित गर्नेछु, जसरी मैले तिम्रा बुबा दाऊदसित ‘इस्राएलको सिंहासनमाथि बस्‍नलाई तिमीलाई कुनै मानिसको अभाव हुनेछैन’ भन्दै प्रतिज्ञा गरेको थिएँ। 6 तर तिमीहरूले वा तिमीहरूका सन्तानले साँच्‍चै मेरो पछि लाग्‍नदेखि हटेर मैले तिमीहरूको अघि राखिदिएका मेरा आज्ञाहरू र मेरा नियमहरू पालन गरेनौ, तर गएर अन्य देवताहरूको पूजा गर्‍यौ र तिनीहरूलाई दण्‍डवत्‌ गर्‍यौ भने, 7 म इस्राएललाई मैले उनीहरूलाई दिएको देशबाट मेटाइदिनेछु; अनि मैले आफ्नो नामका निम्ति पवित्र गरेको यो भवन म आफ्नो सामुबाट हटाइदिनेछु; अनि इस्राएलचाहिँ सबै जातिहरूको बीचमा एउटा उपमा र हाँसोको पात्र बन्‍नेछ। 8 अनि यो भवन देखेर, जुन भवन उच्‍च छ, यहाँबाट भएर जाने हरेक अवाक हुनेछ, र खिसी गर्नेछ; अनि तिनीहरूले भन्‍नेछन्: ‘परमप्रभुले यस देश र यस भवनसित किन यसो गर्नुभएको होला?’ 9 अनि तिनीहरूले जवाफ दिनेछन्: ‘किनभने उनीहरूले आफ्ना पितापुर्खाहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्‍वरलाई त्यागेर अन्य देवताहरूलाई अपनाए, तिनीहरूलाई दण्‍डवत्‌ गरे र तिनीहरूलाई पूजा गरे; यसैकारण परमप्रभुले उनीहरूमाथि यो सब खराबी ल्याउनुभएको हो।’ ”
सुलेमानका अन्य कामहरू
10 अनि सुलेमानले दुईवटा भवनहरू अर्थात् परमप्रभुको भवन र राजभवन निर्माण गरिसकेको बीस वर्षको अन्तमा यस्तो भयो: 11 (टायरका राजा हिरामले सुलेमानका निम्ति उनको सारा चाहनाअनुसार देवदारका रूखहरू र सल्‍लाका रूखहरू र सुनको प्रबन्ध गरिदिएका थिए); तब राजा सुलेमानले हिरामलाई गालील देशका बीसवटा शहर दिए। 12 अनि सुलेमानले हिरामलाई दिएका ती शहरहरू हेर्नलाई तिनी टायरबाट निस्केर आए, तर तिनले ती शहरहरू मन पराएनन्। 13 अनि तिनले भने: “मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी शहरहरू के हुन्?” अनि तिनले ती शहरहरूको नाम ‘काबुल-भूमि’ राखे, जुन नाम आजको दिनसम्म रहेको छ। 14 अनि हिरामले राजालाई एक सय बीस किक्‍कर सुन पठाइदिए।
15 अनि परमप्रभुको भवन, साथै आफ्नो भवन, मिल्लो, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेसेर निर्माण गर्नु नै राजा सुलेमानले बेगार लिनुको कारण थियो। 16 किनकि मिस्रका राजा फाराओ माथि आए, र गेसेरमाथि चढ़ाइ गरेर त्यसलाई कब्जा गरे, त्यसलाई आगोले जलाइदिए र त्यस शहरमा बस्‍ने कनानीहरूलाई मारेर त्यो आफ्नी छोरी अर्थात् सुलेमानकी पत्‍नीलाई दाइजोको रूपमा दिएका थिए। 17 अनि सुलेमानले त्यस देशमा गेसेर र तल्‍लो बेतहोरोन, 18 अनि बालात र उजाड़स्थानको तमोर, 19 साथै सुलेमानका सबै भण्डारका शहरहरू, रथहरूका शहरहरू, घोड़चढ़ीहरूका शहरहरू अनि यरूशलेममा, लबानोनमा र आफ्नो अधिकारको सारा देशमा सुलेमानलाई जे-जे निर्माण गर्न इच्छा लाग्यो, सो निर्माण गरे। 20 अनि एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूबाट बाँकी रहेका सबै मानिसहरू, जो इस्राएलीहरूबाटका थिएनन्, 21 तिनीहरूका सन्तानहरू, जो तिनीहरूपछि देशमा बाँकी रहे, जसलाई इस्राएलीहरूले पूर्ण रूपले नष्‍ट गर्न सकेका थिएनन्, तिनीहरूलाई नै सुलेमानले बेगारीमा लगाउँथे, जस्तो आजको दिनसम्म भइरहेको छ। 22 तर इस्राएलीहरूको बीचबाट सुलेमानले कसैलाई पनि कमारा बनाएनन्; तर उनीहरू त योद्धाहरू, उनका सेवकहरू, उनका शासकहरू, उनका कप्‍तानहरू अनि उनका रथहरूका कप्‍तानहरू र उनका घोड़चढ़ीहरू भए।
23 सुलेमानको काममाथि खटिएका अफिसरहरूका प्रधानहरू पाँच सय पचासजना थिए, जसले यस काममा काम गर्ने मानिसहरूमाथि शासन गर्दथे।
24 तर फाराओकी छोरी दाऊदको शहरबाट माथि, सुलेमानले तिनका निम्ति बनाइदिएको भवनमा आइन्। त्यसपछि उनले मिल्ला बनाए।
25 अनि सुलेमानले आफूले परमप्रभुका निम्ति बनाएको वेदीमाथि वर्षमा तीनपल्‍ट होमबलिहरू र मेलबलिहरू चढ़ाउँथे; अनि परमप्रभुको सामु भएको वेदीमाथि उनले धूप बाल्थे। यसरी उनले त्यो भवन बनाइसिद्ध्याए।
26 अनि एदोम देशको लाल समुद्रको किनारमा, एलोतको छेउमा भएको एस्योन-गेबेरमा राजा सुलेमानले जहाजहरूको बेड़ा बनाए। 27 अनि हिरामले सुलेमानका सेवकहरूसित त्यस बेड़ामा समुद्रको ज्ञान भएका आफ्ना नाविक सेवकहरू पठाइदिए। 28 अनि तिनीहरू ओपीरमा पुगे, अनि त्यहाँबाट तिनीहरूले चार सय बीस किक्‍कर सुन उठाए, र राजा सुलेमानकहाँ ल्याइदिए।