राजा सुलेमानसित शबाकी रानीको भेटघाट
10
अनि जब शबाकी रानीले परमप्रभुको नामको विषयमा सुलेमानको कीर्ति सुनिन्, तब तिनी जटिल-जटिल प्रश्‍नहरूले उनलाई जाँच्‍न आइन्। 2 अनि मसलाहरू, अति धेरै सुन र बहुमूल्य पत्थरहरू बोकेका ऊँटहरू लिएर तिनी अति ठूलो लावालस्करको साथमा यरूशलेममा आइपुगिन्; अनि सुलेमानकहाँ आएपछि तिनले आफ्नो मनमा भएका सबै कुराहरू बताउँदै उनीसित कुरा गरिन्। 3 अनि सुलेमानले तिनका सबै प्रश्‍नहरूको उत्तर दिए; राजाबाट लुकेर बसेको एउटै कुरा पनि थिएन, जुनचाहिँ उनले तिनलाई बताएनन्। 4 अनि जब शबाकी रानीले सुलेमानको सारा बुद्धि र उनले बनाएको त्यो भवन, 5 उनको टेबलको भोजन, उनका सेवकहरूको बसाइ, उनका नोकरचाकरहरूको उठाइ र उनीहरूको पहिरन, अनि उनका मद्य टक्राउनेहरूलाई, साथै उनी परमप्रभुको भवनतिर उक्लेर जाने उनको आरोहण देखे, तब तिनमा सासै रहेन। 6 अनि तिनले राजालाई भनिन्: “तपाईंका कामकुराहरू र तपाईंको बुद्धिको विषयमा मैले आफ्नो देशमा जो चर्चा सुनेकी थिएँ, त्यो सत्य रहेछ। 7 तरै पनि म आएर आफ्ना आँखाहरूले नदेखुन्जेल मैले ती कुराहरूमा विश्‍वास गरिनँ; अनि हेर्नुहोस्, मलाई यसको आधा पनि बताइएको रहेनछ। तपाईंको बुद्धि र समृद्धि मैले सुनेको त्यस कीर्तिभन्दा बढ़ी रहेछ। 8 तपाईंका जनहरू सुखी हुन्! तपाईंको सामु निरन्‍तर खड़ा रहने र यी तपाईंको बुद्धिका कुरा सुन्‍ने तपाईंका सेवकहरू सुखी हुन्! 9 परमप्रभु तपाईंका परमेश्‍वर धन्यका होऊन्, जो तपाईंलाई इस्राएलको सिंहासनमाथि बसाल्नलाई तपाईंसित प्रसन्‍न हुनुभयो; किनभने परमप्रभुले इस्राएललाई सधैं प्रेम गर्नुभयो; यसैकारण न्याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई राजा तुल्याउनुभयो।”
10 अनि तिनले राजालाई एक सय बीस किक्‍कर सुन, अनि अति धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्; शबाकी रानीले राजा सुलेमानलाई जति मसला दिइन्, त्यति प्रशस्त फेरि कहिल्यै आएन। 11 अनि ओपीरबाट सुन ल्याउने हिरामका जहाजहरूको बेड़ाले पनि ओपीरबाटै प्रचुर-प्रचुर मात्रामा चन्दनका काठ र बहुमूल्य पत्थरहरू ल्यायो। 12 अनि राजाले ती चन्दनको काठबाट परमप्रभुको भवन र राजभवनका निम्ति खाँबाहरू, साथै गायकहरूका निम्ति वीणा र सितारहरू बनाइदिए। त्यस्तो चन्दनको काठ फेरि कहिल्यै आएन, र आजको दिनसम्म फेरि कहिल्यै देखिएन। 13 अनि राजा सुलेमानले आफ्नो राजकीय उदारताले शबाकी रानीलाई दिएका कुराहरूबाहेक सुलेमानले तिनले इच्छा गरेर मागेका सबै कुराहरू पनि दिए। तब तिनी फर्किन्, र आफ्नो देश गइन् – तिनी र तिनका नोकरचाकरहरू।
सुलेमानको धनसम्पत्ति
14 अनि एक-एक वर्षमा सुलेमानकहाँ आउने सुनको वजन छ सय छयसट्ठी किक्‍कर हुन्थ्यो – 15 व्यापारीहरूबाट, व्यवसाय गर्नेहरूको व्यापारधन्दाबाट, अरबका सबै राजाहरूबाट र देशका राज्यपालहरूबाट पाएको बाहेक। 16 अनि राजा सुलेमानले पिटेको सुनका दुई सय ठूला-ठूला ढालहरू बनाए। एउटा ढालमा छ सय शेकेल सुन लागेको थियो। 17 अनि उनले पिटेको सुनका तीन सय साना-साना ढालहरू बनाए। एउटा ढालमा तीन मीनो सुन लागेको थियो। अनि राजाले ती ढाल लबानोन वनको भवनमा राखे। 18 अनि राजाले हात्ती दाँतको एउटा ठूलो सिंहासन बनाए, र त्यसलाई निखुर सुनले मोहोरे। 19 त्यस सिंहासनका छवटा खुड़्किला थिए, र सिंहासनको माथिल्‍लो भागचाहिँ पछिल्तिर गोलाकार थियो; अनि त्यस आसनका दुवैतिर हात राख्‍ने टेकाहरू थिए, र ती टेकाहरूको छेउमा दुईवटा सिंह उभिरहेका थिए। 20 अनि ती छवटा खुड़्किलाहरूका दुवैपट्टि बाह्रवटा सिंहहरू त्यहाँ उभिएका थिए। त्योजस्तो कुनै राज्यमा पनि बनिएको थिएन। 21 अनि राजा सुलेमानका सबै पिउने पात्रहरू सुनका थिए, र लबानोन वनको भवनका सबै पात्रहरू निखुर सुनका थिए। कुनै चीज पनि चाँदीको थिएन; सुलेमानको समयमा चाँदी केही मूल्यको थिएन। 22 किनकि समुद्रमा हिरामका जहाजहरूको बेड़ासँग राजाले टार्शिशका जहाजहरूको बेड़ा राखेका थिए। तीन वर्षमा एकपल्ट टार्शिशको बेड़ा सुन, चाँदी, हात्ती दाँत, बाँदरहरू र मयूरहरू लिएर आउँथ्यो। 23 यसरी राजा सुलेमानले धन र बुद्धिमा पृथ्वीका सबै राजाहरूलाई उछिने।
24 अनि परमेश्‍वरले सुलेमानको हृदयमा हालिदिनुभएको उनको बुद्धि सुन्‍नलाई सारा पृथ्वीले उनको चेहराको खोजी गर्थ्यो। 25 अनि तिनीहरू हरेकले आ-आफ्नो सौगात: चाँदीका पात्रहरू, सुनका पात्रहरू, वस्त्रहरू, हातहतियारहरू, मसलाहरू, घोड़ाहरू र खच्‍चरहरू वार्षिक दरअनुसार ल्याउँथे।
26 अनि सुलेमानले रथहरू र घोड़चढ़ीहरू जम्मा गरे। उनीसित एक हजार चार सय रथहरू र बाह्र हजार घोड़चढ़ीहरू थिए। अनि तिनीहरूलाई उनले रथका शहरहरूमा र यरूशलेममा राजासित राख्थे। 27 अनि प्रशस्त भएकोले राजाले यरूशलेममा चाँदीलाई ढुङ्गाहरूसरह र देवदारका रूखहरूलाई चाहिँ तराईमा भएका किम्बूका रूखहरूसरह तुल्याइदिए। 28 अनि सुलेमानसित मिस्र र कुएबाट झिकाएर ल्याइएका घोड़ाहरू थिए। राजाका व्यापारीहरूले तिनलाई कुएबाट चल्ती दाममा पाउँथे। 29 अनि मिस्रबाट एउटा रथ झिकाएर ल्याउँदा चाँदीको छ सय शेकेलमा, र एउटा घोड़ा डेढ़ सय शेकेलमा पाइन्थ्यो; अनि यसरी यिनीहरूले तिनीहरूको सहायताद्वारा हित्तीहरूका सबै राजाहरू र अरामका राजाहरूका निम्ति पनि घोड़ाहरू झिकाउँथे।