सुलेमानको मूर्तिपूजा र पतन
11
तर राजा सुलेमानले फाराओकी छोरीको साथमा अरू धेरै विदेशी स्त्रीहरू अर्थात् मोआबी, अम्मोनी, एदोमी, सिडोनी र हित्ती स्त्रीहरूसँग प्रेम गरे – 2 ती जातिहरूबाट, जसको विषयमा परमप्रभुले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: ‘तिमीहरू तिनीहरूको बीचमा नजानू, न ता तिनीहरू तिमीहरूको बीचमा आऊन्; किनकि निश्‍चय तिनीहरूले तिमीहरूको हृदय तिनीहरूका देवताहरूको पछि लाग्‍ने तुल्याउनेछन्।’ यिनीहरूसित सुलेमान प्रेममा टाँसिए। 3 अनि उनका सात सय राजकीय पत्‍नीहरू र तीन सय उपपत्‍नीहरू थिए; अनि उनका पत्‍नीहरूले उनको हृदय बहकाइदिए। 4 अनि यस्तो भयो: जब सुलेमान वृद्ध भए, तब उनका पत्‍नीहरूले उनको हृदय अन्य देवताहरूको पछि लाग्‍ने तुल्याइदिए; अनि उनको हृदय परमप्रभु आफ्ना परमेश्‍वरसित सिद्ध थिएन, जसरी उनका बुबा दाऊदको हृदय सिद्ध थियो। 5 किनकि सुलेमान सिडोनीहरूकी देवी अश्तारोत र अम्मोनीहरूको घृणित वस्तु मिल्कोमको पछि लागे। 6 अनि सुलेमानले परमप्रभुको दृष्‍टिमा खराबी गरे, र उनी पूर्ण रूपले परमप्रभुको पछि लागेनन्, जसरी उनका बुबा दाऊद लागेका थिए। 7 तब सुलेमानले यरूशलेमको पूर्वपट्टिको पहाड़मा मोआबको घृणित वस्तु कमोशका निम्ति र अम्मोनीहरूको घृणित वस्तु मोलेकका निम्ति एउटा उच्‍च स्थान बनाइदिए। 8 अनि यसरी उनले आफ्ना सबै विदेशी पत्‍नीहरूका निम्ति पनि गरिदिए, जसले आ-आफ्ना देवताहरूलाई धूप बाल्थे र बलि चढ़ाउँथे।
9 अनि परमप्रभु सुलेमानसित क्रोधित हुनुभयो; किनभने उनको हृदय परमप्रभु इस्राएलका परमेश्‍वरबाट बहकिएर गएको थियो, जो दुईपल्ट उनीकहाँ देखा पर्नुभयो, 10 र यही कुराको विषयमा ‘तिमी अन्य देवताहरूको पछि नलाग्‍नू’ भनेर उनलाई आज्ञा गर्नुभएको थियो; तर परमप्रभुले आज्ञा गर्नुभएको यो कुरा उनले पालन गरेनन्। 11 यसैकारण परमप्रभुले सुलेमानलाई भन्‍नुभयो: “तिमीबाट यस्तो भएकाले, अनि मैले तिमीलाई आज्ञा गरेको मेरो वाचा र मेरा नियमहरू तिमीले पालन नगरेको हुनाले निश्‍चय म तिमीबाट यो राज्य चुँड़ाएर यो तिम्रो दासलाई दिनेछु। 12 तैपनि तिम्रा बुबा दाऊदको खातिर म तिम्रो पालोमा यसो गर्नेछैनँ; तर म तिम्रा छोराको हातबाट यो चुँड़ाउनेछु। 13 तर सम्पूर्ण राज्य त म चुँड़ाउनेछैनँ; मेरो दास दाऊदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म एक कुलचाहिँ तिम्रो छोरालाई दिनेछु।”
14 अनि परमप्रभुले एदोमी हददलाई सुलेमानको विरोधीको रूपमा उठाउनुभयो; तिनी एदोमका राजाको वंशका थिए। 15 किनकि यस्तो भयो: जब दाऊद एदोममा हुँदाखेरि सेनापति योआबले एदोममा हरेक पुरुषलाई मारेपछि ती मारिएकाहरूलाई गाड़्‍न तिनी माथि गए; 16 (किनकि एदोमको हरेक पुरुषलाई नष्‍ट नगरेसम्म योआब सारा इस्राएलसित छ महिनासम्म त्यहीं बसेका थिए); 17 तब हदद र तिनको साथमा तिनका बुबाका नोकरचाकरहरूमध्ये कति एदोमीहरू मिस्रमा पस्‍नलाई भागे; त्यस बेला हदद अझ सानै केटा थिए। 18 अनि तिनीहरू मिद्यानबाट उठेर पारानमा आए; अनि पारानबाट केही मानिसहरू साथमा लिएर तिनीहरू मिस्रमा, मिस्रका राजा फाराओकहाँ पुगे, जसले तिनलाई एउटा घर दिए, तिनको खानेकुराको व्यवस्था गरिदिए र तिनलाई जमिन पनि दिए। 19 अनि हददले फाराओको दृष्‍टिमा ठूलो कृपा पाए; यसैले फाराओले तिनीसित आफ्नी पत्‍नी, रानी तहपनेसकी बहिनीलाई विवाह गरिदिए। 20 अनि तहपनेसकी बहिनीले तिनका निम्ति तिनको छोरा गनुबतलाई जन्माइन्, जसलाई तहपनेसले फाराओको घरमा दूध छुड़ाइन्; अनि गनुबत फाराओको घरानामा फाराओका छोराहरूको बीचमा थियो। 21 अनि जब हददले दाऊद आफ्ना पितापुर्खाहरूसँग सुतिगए, र सेनापति योआब पनि मरे भन्‍ने कुरा मिस्रमा सुने, तब हददले फाराओलाई भने: “मलाई बिदा गरिदिनुहोस्, र म आफ्नो देश जान पाऊँ!” 22 तब फाराओले तिनलाई भने: “मकहाँ तिमीलाई केको घटी भयो, र हेर, तिमी आफ्नो देश जान खोज्दैछौ?” अनि तिनले जवाफ दिए: “कुनै कुराको छैन; तैपनि मलाई जसरी पनि बिदा गरिदिनुहोस्!”
23 अनि परमेश्‍वरले उनको विरोधमा अर्को शत्रुलाई अर्थात् एल्यादाका छोरा रसोनलाई उठाउनुभयो, जो आफ्ना मालिक जोबाहका राजा हदद-एजेरदेखि भागेका थिए। 24 अनि जब दाऊदले जो बाहकाहरूलाई मारे, तब रसोनले आफूकहाँ मानिसहरू बटुले, र दलका नेता बने। अनि तिनीहरू दमस्कस गए, त्यसमा बसोबास गरे र दमस्‍कसमा राज्य गरे। 25 अनि हददले गरेको खराबीबाहेक रसोन सुलेमानको जीवनभरि नै इस्राएलका विरोधी भइरहे; अनि तिनले इस्राएललाई घृणा गरे, र अराममाथि राज्य गरे।
यारोबामको उत्थान
26 अनि जरेदाको एकजना एफ्राती नबातका छोरा यारोबाम, सुलेमानका कर्मचारी थिए; तिनकी आमाको नाम सरूआ थियो, जो एउटी विधवा स्त्री थिइन्। तिनले पनि राजाको विरोधमा आफ्नो हात उठाए। 27 अनि तिनले राजाको विरोधमा आफ्नो हात उठाएको कारण यही थियो: सुलेमानले मिल्लो बनाए र आफ्ना पिता दाऊदको शहरको पर्खालको धाँदो बन्द गरे। 28 ती मानिस यारोबाम एक शूरवीर योद्धा थिए; अनि सुलेमानले ती जवान मानिस परिश्रमी रहेछन् भनी देखेर तिनलाई यूसुफको घरानाको सारा अभिभारामाथि शासकको रूपमा नियुक्त गरे।
29 अनि त्यस बेला यस्तो भयो: जब यारोबाम यरूशलेमबाट निस्किरहेका थिए, तब शिलोवासी भविष्यवक्ता अहियाहले तिनलाई बाटोमा भेट्टाए। अनि अहियाहले एउटा नयाँ वस्त्र पहिरेका थिए; अनि खुला जमिनमा ती दुईजना मात्र थिए। 30 तब अहियाहले आफ्नो जीउमा भएको त्यो नयाँ वस्त्र पक्रे, र त्यसलाई च्यातेर बाह्र टुक्रा पारे। 31 अनि तिनले यारोबामलाई भने: “आफ्ना निम्ति दस टुक्रा लेऊ; किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘हेर, म सुलेमानको हातबाट राज्य चुँड़ाउनेछु, र तिमीलाई दसवटा कुल दिनेछु; 32 (तर मेरो दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको शहर यरूशलेमको खातिर एउटा कुल उसको हुनेछ); 33 किनभने तिनीहरूले मलाई त्यागेर सिडोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश, अम्मोनीहरूको देवता मिल्कोमलाई दण्‍डवत्‌ गरेका छन्, अनि उसका बुबा दाऊदले झैं मेरो दृष्‍टिमा जे ठीक छ, त्यही गर्न अनि मेरा नियमहरू र मेरा न्याय-वचनहरू पालन गर्नलाई मेरा मार्गहरूमा हिँड़ेका छैनन्। 34 तर म उसको हातबाट जम्मै राज्य लैजानेछैनँ; तर मैले चुनेको मेरो दास दाऊदको खातिर म सुलेमानलाई उसको जीवनभरि नै शासक बनाइराख्‍नेछु; किनकि दाऊदले मेरा आज्ञाहरू र मेरा विधिहरू पालन गरेका थिए। 35 तर म उनको छोराको हातबाट राज्य लिनेछु, र त्यो अर्थात् दस कुल तिमीलाई दिनेछु। 36 अनि म उनको छोरालाई एउटा कुल दिनेछु, यस हेतुले कि मेरो नाम त्यहाँ राख्‍न भनी मैले चुनेको शहर यरूशलेममा मेरो दास दाऊदका निम्ति एउटा बत्ती मेरो सामु सधैंभरि रहिरहोस्। 37 अनि म तिमीलाई लिनेछु, र तिम्रो मनले चाहना गरेका सबै कुराअनुसार तिमीले राज्य गर्नेछौ; अनि तिमी इस्राएलमाथि राजा हुनेछौ। 38 अनि यस्तो हुनेछ: तिमीले मेरो दास दाऊदले झैं मेरा नियमहरू र मेरा आज्ञाहरू पालन गर्नलाई मैले तिमीलाई आज्ञा गरेका सबै कुराहरू मान्यौ, मेरा मार्गहरूमा हिँड्यौ र मेरो दृष्‍टिमा जे ठीक छ, त्यही गर्‍यौ भने म तिम्रो साथमा हुनेछु, र दाऊदका निम्ति बनाएझैं तिम्रा निम्ति पनि एउटा अटल घर बनाउनेछु, र इस्राएल तिमीलाई दिनेछु। 39 अनि यसका निम्ति म दाऊदको वंशलाई कष्‍ट दिनेछु, तर सधैंभरिका निम्ति होइन।”
40 यसकारण सुलेमानले यारोबामलाई मार्न खोजे। अनि यारोबाम उठे र मिस्रमा मिस्रका राजा शिशककहाँ भागेर गए, अनि सुलेमानको मृत्यु नहोउन्जेल मिस्रमा रहे।
41 अनि सुलेमानका अरू बाँकी कामकुराहरू, उनले गरेका सबै कामहरू र उनको बुद्धि – के यी कुराहरू सुलेमानको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 42 अनि सुलेमानले यरूशलेममा सारा इस्राएलमाथि राज्य गरेको समय चालीस वर्ष थियो। 43 त्यसपछि सुलेमान आफ्ना पितापुर्खाहरूसित सुते, र उनका बुबा दाऊदको शहरमा गाड़िए; अनि उनको सट्टामा उनका छोरा रहबामले राज्य गर्न लागे।