इस्राएल दुई राज्यमा विभाजन भएको
12
अनि रहबाम शेकेममा गए; किनकि सारा इस्राएल उनलाई राजा बनाउन शेकेममा आएका थिए। 2 अनि यस्तो भयो: जब नबातका छोरा यारोबामले अझ मिस्रमै हुँदा यो कुरा सुने; (किनकि यारोबाम राजा सुलेमानको सामुदेखि भागेर मिस्रमा बसेका थिए); 3 तब तिनीहरूले पठाए र तिनलाई बोलाए। अनि यारोबाम र इस्राएलको सारा समुदाय आएर रहबामलाई यसो भने: 4 “तपाईंका पिताले हाम्रो जुवा कष्‍टपूर्ण पारिदिएका थिए; यसकारण तपाईंले अब तपाईंका पिताको त्यो कष्‍टपूर्ण सेवा र उनले हामीमाथि बोकाइदिएको उनको त्यो गह्रौं जुवा हलुङ्गो पारिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।” 5 अनि उनले तिनीहरूलाई भने: “तीन दिनका निम्ति जाओ, र मकहाँ फर्केर आओ!” तब मानिसहरू गइहाले।
6 अनि राजा रहबामले आफ्ना बुबा सुलेमान जीवित हुँदा उनको सामु खड़ा रहेका बूढ़ा मानिसहरूसित यसो भन्दै सल्‍लाह मागे: “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले के सल्‍लाह दिनुहुन्छ?” 7 अनि उनीहरूले उनलाई यसो भने: “आज तपाईं यी मानिसहरूको दास बन्‍नुभयो, तिनीहरूको सेवा गर्नुभयो, तिनीहरूलाई दयालु जवाफ दिनुभयो र तिनीहरूसित असल-असल शब्दहरू बोल्नुभयो भने तिनीहरू सधैंभरि नै तपाईंका दासहरू हुनेछन्।” 8 तर उनले ती बूढ़ा मानिसहरूले उनलाई दिएको उनीहरूको सल्‍लाह त्यागेर आफूसित हुर्केबढ़ेका, आफ्नो सामु खड़ा रहने जवान मानिसहरूसित सल्‍लाह लिए। 9 अनि उनले तिनीहरूलाई भने: “जुन मानिसहरूले मलाई ‘तपाईंका पिताले हामीमाथि बोकाइदिएको जुवा हलुङ्गो पारिदिनुहोस्!’ भनी भनेका छन्, तिनीहरूलाई म के जवाफ दिऊँ? तिमीहरूले के सल्‍लाह दिन्छौ?” 10 अनि उनीसित हुर्केबढ़ेका ती जवान मानिसहरूले उनलाई यसो भने: “जुन मानिसहरूले तपाईंलाई ‘तपाईंका पिताले हाम्रो जुवा गह्रौं पारिदिनुभएको थियो; तर तपाईंले चाहिँ यसलाई हाम्रा निम्ति हलुङ्गो पारिदिनुहोस्!’ भनेका छन्, तिनीहरूलाई यसो भन्‍नुहोस्:‘मेरो कान्छी औंला मेरा पिताको कम्मरभन्दा मोटो हुनेछ। 11 अनि मेरा पिताले तिमीहरूमाथि गह्रौं जुवा हाल्नुभयो, तर अब म तिमीहरूको जुवामाथि जुवा थपिदिनेछु; मेरा पिताले तिमीहरूलाई कोर्राहरूले ताड़ना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले ताड़ना दिनेछु।’ ”
12 तब ‘तेस्रो दिनमा फेरि मकहाँ आओ’ भन्दै राजाले ठहराएअनुसार यारोबाम र सबै मानिसहरू तेस्रो दिनमा रहबामकहाँ आए। 13 अनि राजाले ती मानिसहरूलाई कठोर जवाफ दिए, र बूढ़ा प्रधानहरूले उनलाई दिएको उनीहरूको सल्‍लाह त्यागे; 14 अनि ती जवान मानिसहरूको सल्‍लाहअनुसार उनले तिनीहरूलाई भने: “मेरा पिताले तिमीहरूको जुवा गह्रौं पारिदिनुभयो; तर मचाहिँ तिमीहरूको जुवामाथि जुवा थपिदिनेछु; मेरा पिताले तिमीहरूलाई कोर्राहरूले ताड़ना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले ताड़ना दिनेछु।” 15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्; किनभने योचाहिँ परमप्रभुले शिलोवासी अहियाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको आफ्नो वचन पूरा गर्नलाई परमप्रभुबाट भएको मोड़ थियो।
16 अनि जब सारा इस्राएलले, राजाले तिनीहरूको कुरा नमान्‍ने रहेछन् भनी थाहा पाए, तब ती मानिसहरूले राजालाई यसो भन्दै जवाफ दिए: “दाऊदमा हाम्रो के हिस्‍सा छ र? अँ, यिशाईका छोरामा हाम्रो कुनै अधिकारको भाग छैन। हे इस्राएलहो, आ-आफ्ना पालतिर लाग! हे दाऊद, अब आफ्नै घर सम्हाल!” तब इस्राएल आ-आफ्ना पालतिर लागे। 17 तर यहूदाका शहरहरूमा बस्‍ने इस्राएलीहरू – तिनीहरूमाथि चाहिँ रहबामले राज्य गरे। 18 तब राजा रहबामले बेगारीमाथिका अधिकारी अदोरामलाई पठाए; अनि सारा इस्राएलले तिनलाई ढुङ्गाहरूले हाने, र तिनी मरे। अनि राजा रहबाम यरूशलेमतिर भाग्‍नलाई हतार-हतार आफ्नो रथमा चढ़े। 19 यसरी इस्राएलले आजको दिनसम्म दाऊदको घरानाको विरोधमा विद्रोह गर्‍यो।
यारोबाम इस्राएलमाथि राजा भए
20 अनि यस्तो भयो: जब सारा इस्राएलले यारोबाम फर्केर आएको कुरा सुने, तब तिनीहरूले पठाए र तिनलाई तिनलाई समुदायकहाँ बोलाए अनि तिनलाई सारा इस्राएलमाथि राजा तुल्याए; अनि यहूदा कुलबाहेक अरू कोही पनि दाऊदको घरानाको पछि लागेन।
21 अनि जब रहबाम यरूशलेममा आइपुगे, तब राज्य सुलेमानका छोरा रहबामकहाँ फर्काएर ल्याउने उद्देश्यले उनले इस्राएलको घरानासित लड़ाइँ गर्नलाई बिन्यामिन कुलको साथमा यहूदाको सारा घरानालाई – एक लाख अस्सी हजार चुनिएका योद्धाहरूलाई भेला पारे। 22 तर परमेश्‍वरको जन शमायाहकहाँ परमेश्‍वरको वचन आयो: 23 “यहूदाका राजा, सुलेमानका छोरा रहबामलाई, यहूदाको सारा घराना र बिन्यामिनलाई, साथै बाँकी मानिसहरूलाई यसो भन: 24 ‘परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरू माथि नजाओ, र आफ्ना इस्राएली दाजुभाइहरूसित लड़ाइँ नगर! तिमीहरू हरेक आ-आफ्नो घर फर्क; किनकि यो कुरा मबाट भएको हो।’ ” तब तिनीहरूले परमप्रभुको वचन माने, र परमप्रभुको वचनअनुसार बिदा हुनलाई तिनीहरू फर्के।
यारोबामको पाप
25 तब यारोबामले एप्रैमको पहाड़ी देशमा शेकेम निर्माण गरे, र त्यसमा बसे; अनि त्यहाँबाट निस्केर तिनले पनूएल निर्माण गरे। 26 अनि यारोबामले आफ्नो मनमा भने: ‘अब राज्य दाऊदको घरानाकहाँ नै फर्किजान्छ। 27 यदि यी मानिसहरू माथि यरूशलेममा भएको परमप्रभुको भवनमा बलिहरू चढ़ाउन गए भने यी मानिसहरूको हृदय आफ्ना प्रभु, यहूदाका राजा रहबामतर्फ फर्कनेछ; अनि तिनीहरूले मलाई मार्नेछन् र यहूदाका राजा रहबामकहाँ फर्केर जानेछन्।’ 28 तब राजाले सरसल्‍लाह लिएर सुनका दुईवटा बाछा बनाए, र मानिसहरूलाई भने: “माथि यरूशलेम जानु तिमीहरूलाई साह्रै पर्छ। हे इस्राएल, हेर, तिमीलाई मिस्र देशबाट निकालेर ल्याउने तिम्रा देवताहरू!” 29 अनि तिनले एउटालाई बेतएलमा खड़ा गरे, र अर्कोलाई दानमा राखे। 30 अनि यही कुरा पाप ठहरियो; किनकि एउटाको सामु दण्‍डवत्‌ गर्नलाई मानिसहरू दानसम्म जान्थे। 31 अनि तिनले डाँड़ाका थानहरूको भवन बनाए, र सबभन्दा तल्‍ला दर्जाका मानिसहरूबाट पूजाहारी तुल्याए, जो लेवीका सन्तानहरूबाटका थिएनन्। 32 अनि यारोबामले आठौं महिनामा, त्यस महिनाको पन्ध्रौं दिनमा यहूदामा हुने चाड़जस्तै एउटा चाड़ ठहराए, र वेदीमाथि होमबलि चढ़ाए। त्यस्तै तिनले बेतएलमा पनि आफूले बनाएका बाछाहरूका निम्ति बलि चढ़ाए, अनि आफूले बनाएका ती डाँड़ाका थानहरूका पूजाहारीहरूलाई बेतएलमा राखे।
33 अनि तिनले आफ्नै मनले चिताएको महिनामा अर्थात् आठौं महिनाको पन्ध्रौं दिनमा बेतएलमा आफूले बनाएको त्यस वेदीमाथि होमबलि चढ़ाए, र इस्राएलीहरूका निम्ति एउटा चाड़ ठहराए; अनि तिनले त्यस वेदीमाथि होमबलि चढ़ाए र धूप बाले।