यहूदाबाट आएको परमप्रभुको भविष्यवक्ता बेतएलमा
13
अनि हेर, परमप्रभुको वचन अनुसार यहूदाबाट परमेश्‍वरको एक जन बेतएलमा आए। अनि यारोबाम धूप बाल्नलाई वेदीनिर उभिरहेका थिए। 2 अनि परमप्रभुको वचनमा त्यस वेदीको विरोधमा कराएर उनले यसो भने: “वेदी, ए वेदी! परमप्रभु यसो भन्‍नुहुन्छ, ‘हेर्, दाऊदको घरानामा योशियाह नाम भएका बालक जन्मनेछन्; अनि तिनले तँमाथि धूप बाल्ने डाँड़ाका थानहरूका पूजाहारीहरूलाई नै तँमाथि बलि चढ़ाउनेछन्, र तँमाथि मानिसहरूका हड्डी जलाइनेछन्।’ ” 3 अनि त्यही दिन उनले यसो भन्दै एउटा चिन्ह दिए: “परमप्रभुले भन्‍नुभएको चिन्ह यही हो: हेर, यो वेदी फाट्नेछ, र त्यसमाथि भएको खरानी पोखिनेछ।” 4 अनि यस्तो भयो: जब राजा यारोबामले बेतएलमा भएको वेदीको विरोधमा कराएर भनेको परमेश्‍वरको जनको कुरा सुने, तब तिनले ‘तिमीहरू त्यसलाई पक्र!’ भन्दै त्यस वेदीबाट आफ्नो हात पसारे। तब उनको विरोधमा पसारिएको तिनको हात सुक्यो, र तिनले त्यो फेरि आफूतिर खिँच्‍न सकेनन्। 5 परमेश्‍वरको जनले परमप्रभुको वचनद्वारा दिएको चिन्हअनुसार त्यो वेदी फाट्यो, र खरानी त्यस वेदीबाट पोखियो। 6 अनि राजाले जवाफ दिएर ती परमेश्‍वरको जनलाई भने: “अब परमप्रभु तपाईंका परमेश्‍वरको निगाह पाउनका निम्ति विन्‍ती चढ़ाएर मेरा निम्ति प्रार्थना गरिदेऊ, र मेरो हात मलाई फिर्ता दिइयोस्!” अनि परमेश्‍वरको जनले परमप्रभुसित विन्‍ती गरे, तब राजाको हात तिनलाई फिर्ता दिइयो, र पहिले जस्तो थियो, त्यस्तै भइगयो। 7 अनि राजाले ती परमेश्‍वरको जनलाई भने: “मसँग घर आऊ, र आफूलाई ताजा तुल्याऊ! अनि म तिमीलाई इनाम दिनेछु।” 8 अनि परमेश्‍वरको जनले राजालाई भने: “तपाईंले आफ्नो आधा घर मलाई दिनुभए तापनि म तपाईंसित जानेछैनँ, र यस ठाउँमा न रोटी खानेछु, न पानी नै पिउनेछु; 9 किनकि परमप्रभुको वचनद्वारा मलाई यसो भन्‍ने आज्ञा भएको छ, ‘तिमीले रोटी नखानू, पानी पनि नपिउनू, अनि जुन बाटो आएका थियौ, त्यो बाटो भएर नफर्कनू!’ ” 10 तब उनी अर्को बाटो भएर गए, र जुन बाटो भएर उनी बेतएल आएका थिए, त्यो बाटो भएर फर्केनन्।
11 अनि बेतएलमा एकजना वृद्ध भविष्यवक्ता बस्थे; अनि तिनका छोराहरूले आएर परमेश्‍वरको जनले त्यस दिन बेतएलमा गरेका सबै कामहरूको विषयमा तिनलाई सुनाइदिए। उनले राजालाई भनेका शब्दहरू पनि तिनीहरूले आफ्ना बुबालाई सुनाइदिए। 12 अनि तिनीहरूका बुबाले तिनीहरूलाई सोधे: “उनी कुन बाटो गए?” किनकि यहूदाबाट आएका ती परमेश्‍वरको जन कुन बाटो भएर गए, सो तिनका छोराहरूले देखेका थिए। 13 अनि तिनले आफ्ना छोराहरूलाई भने: “मेरो निम्ति गधामा काठी कसिदेओ!” तब तिनीहरूले तिनका निम्ति त्‍यस गधामा काठी कसिदिए; अनि तिनी त्यसमाथि चढ़े, 14 अनि ती परमेश्‍वरको जनको पछि-पछि गए र उनलाई एउटा बज्राँठको रूखमुनि बसिरहेका भेट्टाए। अनि तिनले उनलाई भने: “के तपाईं नै यहूदाबाट आउनुभएको परमेश्‍वरको जन हुनुहुन्छ?” अनि उनले भने: “म नै हुँ।” 15 तब तिनले उनलाई भने: “मसँग घर आउनुहोस्, र रोटी खानुहोस्!” 16 अनि उनले भने: “म तपाईंसँग फर्कन सक्दिनँ, न ता तपाईंको साथमा जान नै सक्दछु; अनि म तपाईंसँग यस ठाउँमा न रोटी खानेछु, न पानी नै पिउनेछु; 17 किनकि परमप्रभुको वचनद्वारा मलाई यसो भनिएको छ, ‘त्यहाँ तिमीले रोटी नखानू, पानी पनि नपिउनू, अनि जुन बाटो भएर तिमी आएका थियौ, त्यो बाटो भएर नफर्कनू!’ ” 18 अनि तिनले उनलाई भने: “म पनि तपाईंजस्तै एक भविष्यवक्ता हुँ; अनि परमप्रभुको वचनद्वारा एकजना स्वर्गदूतले मलाई यसो भनेका छन्, ‘उनलाई आफ्नो साथमा आफ्नो घरमा फर्काएर ल्याऊ, र उनले रोटी खाऊन्, र पानी पिऊन्!’ ” तर तिनले उनीसित झूट बोलेका थिए। 19 तब उनी तिनीसँग फर्केर गए, अनि उनले तिनको घरमा रोटी खाए, र पानी पिए।
20 अनि यस्तो भयो: उनीहरू टेबलमा बसेको बेलामा उनलाई फर्काएर ल्याउने ती भविष्यवक्ताकहाँ परमप्रभुको वचन आयो, 21 अनि तिनले यहूदाबाट आएका ती परमेश्‍वरको जनलाई यसो भन्दै कराए: “परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीले परमप्रभुको मुखको वचन उल्‍लङ्घन गर्‍यौ, र परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञा पालन गरेनौ, 22 तर जुन ठाउँको विषयमा परमप्रभुले तिमीलाई ‘तिमीले रोटी नखानू, पानी पनि नपिउनू्’ भन्‍नुभएको थियो, त्यस ठाउँमा तिमी फर्केर आयौ, अनि तिमीले रोटी खायौ, र पानी पियौ; यसैले तिम्रो लास तिम्रा पितापुर्खाहरूको चिहानमा पुग्‍नेछैन।” 23 अनि यस्तो भयो: उनले रोटी खाइसकेपछि, र पानी पिइसकेपछि तिनले उनका निम्ति अर्थात् तिनले फर्काएर ल्याएका ती भविष्यवक्ताका निम्ति गधामा काठी कसिदिए। 24 अनि जब उनी गइरहेका थिए, तब बाटोमा एउटा सिंहले उनलाई फेला पार्‍यो, र उनलाई मार्‍यो; अनि उनको लास बाटोमा फ्याँकियो; अनि त्यो गधा त्यसको छेउमा उभियो, र सिंह पनि त्यस लासको छेउमा उभिरह्‍यो। 25 अनि हेर, मानिसहरू त्यहाँबाट भएर हिँड़े, र त्यो लास बाटोमा पड़िरहेको, र त्यस सिंहलाई त्यस लासको छेउमा उभिरहेको देखे; अनि तिनीहरू आएर ती वृद्ध भविष्यवक्ता बसेको शहरमा त्यो कुरा सुनाए। 26 अनि जब उनलाई बाटोबाट फर्काएर ल्याउने ती भविष्यवक्ताले यो कुरा सुने, तब तिनले भने: “तिनी ती परमेश्‍वरको जन हुन्, जसले परमप्रभुको वचन उल्‍लङ्घन गरे; यसकारण परमप्रभुले तिनलाई सिंहकहाँ सुम्पिदिनुभएको हो, र परमप्रभुले तिनलाई भन्‍नुभएको उहाँको वचनअनुसार नै त्यसले तिनलाई च्यातचुत पार्‍यो, र तिनलाई मार्‍यो।” 27 अनि तिनले आफ्ना छोराहरूलाई भने: “मेरा निम्ति त्‍यस गधामा काठी कसिदेओ!” अनि तिनीहरूले एउटा गधामा काठी कसिदिए। 28 अनि तिनी गए, र उनको लास बाटोमा पड़िरहेको, र त्यस लासको छेउमा त्यो गधा र त्यो सिंह उभिरहेका भेट्टाए। त्यस सिंहले न ता त्यस लासलाई खायो, न त्यस गधालाई नै च्यातचुत पार्‍यो। 29 अनि ती भविष्यवक्ताले परमेश्‍वरको जनको लास उठाएर त्यस गधामाथि राखे, र त्यसलाई फर्काएर ल्याए; अनि उनका निम्ति शोक मनाउन र उनलाई गाड़्‍न ती वृद्ध भविष्यवक्ता शहरमा आए। 30 अनि तिनले उनको लास आफ्नै चिहानमा राखे; अनि उनीहरूले यसो भन्दै उनका निम्ति विलाप गरे: “हाय, मेरो भाइ!” 31 अनि यस्तो भयो: उनलाई गाड़िसकेपछि तिनले आफ्ना छोराहरूलाई यसो भने: “म मरेपछि मलाई यी परमेश्‍वरको जनलाई गाड़ेको चिहानमा गाड़िदेओ! मेरा हड्डीहरू यिनका हड्डीहरूको छेउमा राखिदेओ! 32 किनकि परमप्रभुको वचनद्वारा बेतएलमा भएको यस वेदीको विरोधमा र सामरियाका शहरहरूमा भएका यी डाँड़ाका थानहरूका सबै देवालयहरूको विरोधमा यिनले कराएर भनेको कुरा अवश्यै पूरा हुनेछ।”
33 यस घटनापछि पनि यारोबाम आफ्नो दुष्‍ट चालबाट फर्केनन्, तर फेरि सबभन्दा तल्‍ला दर्जाका मानिसहरूबाट डाँड़ाका थानहरूका पूजाहारीहरू तुल्याए। जो इच्छुक हुन्थ्यो, त्यसैलाई तिनले अर्पण गर्थे, र त्यो पनि डाँड़ाका थानहरूका पूजाहारीहरूमध्ये एक भइहाल्थ्यो। 34 अनि यही कुरा यारोबामको घरानाका निम्ति पाप ठहरियो, अनि त्यस घरानाको नामनिशान मेटाइदिने र त्यसलाई पृथ्वीको सतहबाट नाश गर्ने कारण बन्यो।