अहियाहको भविष्यवाणी
14
त्यस बेला यारोबामका छोरा अबियाह बिरामी भए। 2 अनि यारोबामले आफ्नी पत्‍नीलाई भने: “म तिमीसित विन्‍ती गर्छु, उठ, र यसरी आफ्नो भेष बदली गर, कि तिमीलाई यारोबामकी पत्‍नी भनेर कसैले नचिनोस्! अनि शिलोमा जाऊ! हेर, त्यहाँ भविष्यवक्ता अहियाह छन्, जसले मलाई ‘तिमी यी मानिसहरूमाथि राजा हुनेछौ’ भनी भनेका थिए। 3 अनि साथमा दसवटा रोटी, केही केकहरू, र एक बोतल मह लिएर तिनीकहाँ जाऊ! तिनले यस बालकको विषयमा के हुने हो, सो तिमीलाई बताइदिनेछन्।” 4 अनि यारोबामकी पत्‍नीले त्यस्तै गरिन्, अनि उठेर शिलोमा गइन् र अहियाहको घरमा पुगिन्। तर अहियाहले देख्‍न सक्दैनथिए; किनकि तिनका आँखाहरू तिनको उमेरले गर्दा धमिला भएका थिए। 5 अनि परमप्रभुले अहियाहलाई भन्‍नुभयो: “हेर, यारोबामकी पत्‍नी आफ्नो छोराको विषयमा तिमीलाई एउटा कुरा सोध्‍न आइरहेकी छे; किनकि त्यो बिरामी छ। तिमीले उसलाई यसो-यसो भन्‍नू; किनकि यस्तो हुनेछ: ऊ भित्र आउँदा अरू कुनै स्त्रीको बहाना गर्नेछे।” 6 अनि यस्तो भयो: तिनी ढोकानिर आइपुग्दा जब अहियाहले तिनका खुट्टाहरूको आवाज सुने, तब उनले भने: “हे यारोबामकी पत्‍नी, भित्र आऊ! किन तिमी अरू कुनै स्त्री हुँ भन्‍ने बहाना गर्दैछ्यौ? किनकि म कड़ा खबरसहित तिमीकहाँ पठाइएको हुँ। 7 जाऊ! यारोबामलाई भनिदेऊ: ‘परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, मैले तिमीलाई मानिसहरूको बीचबाट उच्‍च पारेर तिमीलाई मेरो प्रजा इस्राएलमाथि शासक तुल्याएँ, 8 र दाऊदको घरानाबाट राज्य चुँड़ाएर तिमीलाई दिएँ; र पनि तिमी मेरो दास दाऊदजस्तो भएनौ, जसले मेरा आज्ञाहरू पालन गर्‍यो, र जसले मेरो दृष्‍टिमा जे ठीक थियो, त्यही मात्र गर्नलाई आफ्नो सम्पूर्ण हृदयले मलाई पछ्यायो। 9 तर तिमीले तिमीभन्दा अघिका सबैजनाले भन्दा बेसी खराबी गर्‍यौ; किनकि तिमी गयौ, र मलाई रिस उठाउन आफ्ना निम्ति अन्य देवताहरू र ढालेर बनाएका मूर्तिहरू बनायौ, अनि मलाई चाहिँ आफ्नो पिठ्यूँपछाड़ि फ्याँक्यौ। 10 यसकारण हेर, म यारोबामको घरानामाथि विपत्ति ल्याउनेछु, र यारोबामको हरेक पुरुषलाई नष्‍ट पार्नेछु – चाहे त्यो इस्राएलमा कैदी होस् वा स्वतन्‍त्र होस्; अनि यारोबामको घरानाको बाँकी भाग पनि म, जसरी मानिसले गोबर, त्यो शेष नभएसम्म सोरेर फ्याँक्छ, त्यसरी नै सोरेर फ्याँक्नेछु। 11 यारोबामको जोसुकै होस् – शहरमा मर्नेलाई कुकुरहरूले खानेछन्, र मैदानमा मर्नेलाई आकाशका चराहरूले खानेछन्; किनकि परमप्रभुले यसो भन्‍नुभएको हो।’ 12 यसकारण तिमीचाहिँ उठ! आफ्नो घर जाऊ! अनि तिम्रा खुट्टाहरू त्यस शहरमा पस्‍नासाथ त्यो बालक मर्नेछ। 13 अनि सारा इस्राएलले उसका निम्ति विलाप गर्नेछ, र उसलाई गाड़्‍नेछ; किनभने यारोबामको घरानामा उसमा चाहिँ परमप्रभु इस्राएलका परमेश्‍वरप्रति केही असल कुरा पाइएको हुनाले यारोबामको सन्तानमा उसले मात्र एउटा चिहान पाउनेछ 14 अनि परमप्रभुले आफ्ना निम्ति इस्राएलमाथि एकजना राजा खड़ा गर्नुहुनेछ, जसले त्यस दिन यारोबामको घरानालाई नष्‍ट पार्नेछन्। तर के? अहिले नै। 15 किनकि पानीमा नर्कट हल्‍लिएझैं हल्लिने गरी परमप्रभुले इस्राएललाई हिर्काउनुहुनेछ, र उहाँले तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको यस उत्तम देशबाट इस्राएललाई उखाल्नुहुनेछ, अनि तिनीहरूलाई यूफ्रेटिस नदीपारि तितरबितर पार्नुहुनेछ; किनभने तिनीहरूले आफ्ना अशेराका मूर्तिहरू बनाएर परमप्रभुलाई रिस उठाए। 16 अनि आफूले पनि पाप गर्ने र इस्राएललाई पनि पाप गर्न लाउने त्यस यारोबामका पापहरूको कारणले गर्दा उहाँले इस्राएललाई त्याग्‍नुहुनेछ।”
17 अनि यारोबामकी पत्‍नी उठेर बाटो लागिन् र तिर्सामा आइन्; अनि तिनी ढोकाको सँघारमा आइपुग्‍नसाथ त्यो बालक मर्‍यो। 18 अनि परमप्रभुले आफ्नो दास, भविष्यवक्ता अहियाहद्वारा बोल्नुभएको उहाँको वचनअनुसार तिनीहरूले उसलाई गाड़े, र सारा इस्राएलले उसका निम्ति विलाप गर्‍यो।
19 अनि यारोबामका अरू बाँकी कामकुराहरू अर्थात् तिनले कसरी लड़ाइँ गरे र कसरी राज्य गरे, हेर, ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 20 अनि यारोबामले राज्य गरेको समय बाइस वर्ष थियो; अनि तिनी आफ्ना पितापुर्खाहरूसित सुते, अनि तिनको सट्टामा तिनका छोरा नादाबले राज्य गरे।
यहूदामा रहबामको शासन
21 अनि यहूदामा सुलेमानका छोरा रहबामले राज्य गरे। रहबामले राज्य गर्न शुरु गर्दा तिनी एकचालीस वर्षका थिए; अनि तिनले सत्र वर्ष यरूशलेममा अर्थात् त्यस शहरमा राज्य गरे, जुन शहर परमप्रभुले आफ्नो नाम त्यस ठाउँमा राख्‍न भनी इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको थियो। अनि तिनकी आमाको नाम नामा थियो, जो अम्मोनी थिइन्। 22 अनि यहूदाले परमप्रभुको दृष्‍टिमा खराबी गर्‍यो, र तिनीहरूका पितापुर्खाहरूले गरेका सबै पापहरूभन्दा बढ़ी पाप गरेर तिनीहरूले आफ्ना यी पापहरूद्वारा उहाँमा जलन पैदा गरिदिए। 23 किनकि तिनीहरूले पनि हरेक अग्लो डाँड़ामाथि र हरेक हरियो रूखमुनि आफ्ना निम्ति उच्‍च स्थानहरू, मूर्तिहरू र अशेराका मूर्तिहरू बनाए। 24 अनि देशमा पुरुषगामीहरू पनि थिए; अनि परमप्रभुले जुन जातिहरूलाई इस्राएलीहरूको सामुबाट निकालिदिनुभएको थियो, ती जातिहरूका सबै घृणित कामहरू यिनीहरूले गरे।
25 अनि यस्तो भयो: राजा रहबामले राज्य गरेको पाँचौं वर्षमा मिस्रका राजा शिशकले यरूशलेममाथि चढ़ाइ गरे, 26 अनि तिनले परमप्रभुको भवनका धनसम्पत्ति र राजभवनका धनसम्पत्तिहरू लगे, अँ, तिनले सबै थोकहरू लगे; अनि तिनले सुलेमानले बनाएका सबै सुनका ढालहरू पनि लगे। 27 अनि ती ढालहरूको सट्टामा राजा रहबामले पित्तलका ढालहरू बनाए, र तिनलाई ती पहरेदारहरूका प्रधानहरूको हातमा सुम्पे, जसले राजभवनको मूलढोकाको रखवाली गर्थे 28 अनि यस्तो हुन्थ्यो – जब राजा परमप्रभुको भवनभित्र जान्थे, तब पहरेदारहरूले ती ढालहरू बोक्ने गर्थे र तिनलाई फेरि पहरेदारहरूको कोठामा फर्काउँथे।
29 अनि रहबामका अरू बाँकी कामकुराहरू, अँ, तिनले जे गरे, के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 30 अनि रहबाम र यारोबामको बीचमा उनीहरूका जीवनभरि नै लड़ाइँ भइरह्‍यो। 31 अनि रहबाम आफ्ना पितापुर्खाहरूसित सुते, र तिनका पितापुर्खाहरूसित दाऊदको शहरमा गाड़िए। अनि तिनकी आमाको नाम नामा थियो, जो अम्मोनी थिइन्। अनि तिनको सट्टामा तिनका छोरा अबियामले राज्य गरे।