यहूदामा अबियामको शासन
15
अनि नबातका छोरा राजा यारोबामको अठारौं वर्षमा अबियामले यहूदामाथि राज्य गर्न लागे। 2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो अबिशालोमकी छोरी थिइन्। 3 अनि तिनी तिनका पिताले तिनको अघि गरेका उनका सबै पापहरूमा हिँड़े; अनि तिनको हृदय तिनका बुबा दाऊदको हृदयजस्तो परमप्रभु आफ्ना परमेश्‍वरसित सिद्ध थिएन। 4 तर दाऊदको खातिर परमप्रभु तिनका परमेश्‍वरले तिनको पछि तिनका छोरालाई खड़ा गर्न र यरूशलेम स्थापित गर्न भनी तिनलाई यरूशलेममा एउटा बत्ती दिनुभयो, 5 किनभने दाऊदले परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गरेका थिए, र हित्ती उरियाहको कुरामा बाहेक उनी आफ्नो जीवनभरि नै परमप्रभुले उनलाई आज्ञा गर्नुभएको कुनै कुराबाट भड़्किएर गएनन्। 6 अनि रहबामको जीवनभरि नै तिनको र यारोबामको बीचमा लड़ाइँ भइरह्‍यो। 7 अब अबियामका अरू बाँकी कामकुराहरू, अँ, तिनले जे गरे, के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? अनि अबियाम र यारोबामको बीचमा लड़ाइँ भइरह्‍यो। 8 अनि अबियाम आफ्ना पितापुर्खाहरूसित सुते; अनि तिनीहरूले तिनलाई दाऊदको शहरमा गाड़िदिए; अनि तिनको सट्टामा तिनका छोरा आसाले राज्य गरे।
यहूदामा आसाको शासन
9 अनि इस्राएलका राजा यारोबामको बीसौं वर्षमा आसाले यहूदामाथि राज्य गरे। 10 अनि उनले यरूशलेममा एकचालीस वर्ष राज्य गरे। अनि उनकी आमाको नाम माका थियो, जो अबिशालोमकी छोरी थिइन्। 11 अनि आसाले आफ्ना पिता दाऊदले झैं परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गरे। 12 अनि तिनले पुरुषगामीहरूलाई देशबाट निकालिदिए र उनका पितापुर्खाहरूले बनाएका सबै मूर्तिहरू हटाइदिए। 13 अनि उनले आफ्नी आमा माकालाई पनि रानी हुनदेखि हटाइदिए; किनकि तिनले अशेराका निम्ति एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्; अनि आसाले तिनको त्यो घिनलाग्दो मूर्ति काटेर ढालिदिए, र किद्रोन खोलानिर त्यसलाई जलाइदिए। 14 तर ती उच्‍च स्थानहरूचाहिँ हटाइएनन्; तैपनि परमप्रभुसित आसाको हृदय उनको जीवनभरि नै सिद्ध रहिरह्‍यो। 15 अनि तिनले आफ्ना बुबाले अर्पण गरेका थोकहरू र आफैले अर्पण गरेका थोकहरू अर्थात् चाँदी, सुन र भाँड़ाकुँड़ाहरू परमप्रभुको भवनभित्र ल्याए।
16 अनि आसा र इस्राएलका राजा बाशाको बीचमा उनीहरूका जीवनभरि नै लड़ाइँ भइरह्‍यो। 17 अनि इस्राएलका राजा बाशाले यहूदामाथि चढ़ाइ गरे, र यहूदाका राजा आसाकहाँ कसैले पनि आउजाउ गर्न नपाओस् भन्‍ने हेतुले रामा निर्माण गरे। 18 तब आसाले परमप्रभुको भवनका भण्डारहरू र राजभवनका भण्डारहरूमा बाँकी रहेको सबै चाँदी र सुन लगेर तिनलाई आफ्ना सेवकहरूको हातमा सुम्पिदिए। अनि राजा आसाले यसो भन्दै तिनीहरूलाई दमस्‍कसथा बस्‍ने अरामका राजा बेन-हददकहाँ पठाए, जो हेज्योनका नाति, तब्रिम्मोनका छोरा थिए: 19 “मेरा पिता र तपाईंका पिताको बीचमा एउटा वाचा थियो; त्यस्तै तपाईं र मेरो बीचमा पनि होस्! हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुनको एउटा सौगात पठाएको छु; आउनुहोस्, र इस्राएलका राजा बाशासितको तपाईंको वाचा तोड़िदिनुहोस्, र त्यो मबाट हटेर गइहालोस्!” 20 तब बेन-हददले राजा आसाको कुरा माने, र आफ्ना फौजहरूका कप्‍तानहरूलाई इस्राएलका शहरहरूको विरोधमा पठाए, अनि इयोन, दान, आबेल-बेत-माका र सारा किन्‍नेरेत, साथै समस्त नप्‍तालीको देशलाई प्रहार गरे। 21 अनि यस्तो भयो: जब बाशाले यो कुरा सुने, तब तिनले रामालाई निर्माण गर्न छोड़िदिए, र तिर्सामा बसे। 22 तब राजा आसाले सारा यहूदाभरि एउटा घोषणा गरे; कसैलाई पनि त्यसबाट छुट थिएन। अनि उनीहरूले रामाका ढुङ्गाहरू र त्यसको काठ लिएर गए, जुन थोकहरूले बाशाले रामा बनाइरहेका थिए; अनि राजा आसाले ती थोकहरूले बिन्यामिनको गेबा र मिस्पा निर्माण गरे।
23 आसाका बाँकी सबै कामकुराहरू, उनको सारा वीरता, र उनले जे गरे, अनि उनले कुन-कुन शहरहरू निर्माण गरे, के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तरै पनि उनको बूढ़ेसकालमा उनका खुट्टाहरूमा उनलाई रोग लाग्यो। 24 अनि आसा आफ्ना पितापुर्खाहरूसित सुते, र उनका बुबा दाऊदको शहरमा उनका पितापुर्खाहरूसित गाड़िए। अनि उनको सट्टामा उनका छोरा यहोशापातले राज्य गरे।
इस्राएलमा नादाबको शासन
25 अनि यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि राज्य गर्न लागे; अनि उनले दुई वर्ष इस्राएलमाथि राज्य गरे। 26 अनि उनले परमप्रभुको दृष्‍टिमा खराबी गरे, र आफ्ना बुबाको चालमा र तिनको त्यस पापमा हिँड़े, जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। 27 अनि इस्साकारको घरानाका अहियाहका छोरा बाशाले उनको विरोधमा एउटा षड़्यन्‍त्र रचे; अनि पलिस्तीहरूको गिब्बतोनमा बाशाले उनलाई घात गरे, जब नादाब र सारा इस्राएलले गिब्बतोनलाई घेरा हालिरहेका थिए। 28 अँ, यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले उनलाई मारे, र उनको सट्टामा राज्य गरे। 29 अनि यस्तो भयो: राजा भएपछि तिनले यारोबामको सारा घरानालाई घात गरे; परमप्रभुको वचनअनुसार, जुन वचन उहाँले आफ्ना दास शिलोवासी अहियाहद्वारा भन्‍नुभएको थियो, तिनले यारोबामलाई सखाप नपारेसम्म उनका निम्ति सास फेर्ने एउटैलाई पनि बाँकी राखेनन्। 30 यारोबाम आफैले गरेका र उनले इस्राएललाई पाप गर्न लगाएका पापहरू नै यसको कारण थियो, उनको त्यस रिस उठाउने कामद्वारा, जसद्वारा उनले परमप्रभु इस्राएलका परमेश्‍वरलाई रिस उठाएका थिए।
31 अनि नादाबका अरू बाँकी कामकुराहरू, अँ, तिनले जे गरे, के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 32 अनि आसा र इस्राएलका राजा बाशाको बीचमा उनीहरूको जीवनभरि नै लड़ाइँ भइरह्‍यो।
इस्राएलमा बाशाको शासन
33 यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशाले तिर्सामा सारा इस्राएलमाथि राज्य गर्न थाले; अनि तिनले चौबीस वर्ष राज्य गरे। 34 अनि तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे, अनि यारोबामको चालमा र उनको त्यस पापमा हिँड़े, जुन पापद्वारा उनले इस्राएललाई पाप गर्न लगाएका थिए।