अहाबको मृत्यु
22
अनि अराम र इस्राएलको बीचमा कुनै लड़ाइँ नभई तीन वर्ष बिते। 2 अनि तेस्रो वर्षमा यस्तो भयो: यहूदाका राजा यहोशापात तल इस्राएलका राजाकहाँ आए। 3 अनि इस्राएलका राजाले आफ्ना सेवकहरूलाई भने: “के यो कुरा तिमीहरूलाई थाहा छैन? गिलादमा भएको रामोत त हाम्रो हो; अनि हामीचाहिँ चुपचाप छौं, र त्यो अरामका राजाको हातबाट खोस्दैनौं।” 4 अनि उनले यहोशापातलाई भने: “के तपाईं मसित रामोत-गिलादमा लड़ाइँ गर्न गइदिनुहुन्छ?” अनि यहोशापातले इस्राएलका राजालाई भने: “जस्तो तपाईं म त्यस्तै; मेरो प्रजा तपाईंको प्रजाजस्तै, र मेरा घोड़ाहरू तपाईंका घोड़ाहरूजस्तै।”5 अनि यहोशापातले इस्राएलका राजालाई भने: “म तपाईंलाई विन्ती गर्छु, आज परमप्रभुको वचनद्वारा सोधखोज गर्नुहोस्!” 6 तब इस्राएलका राजाले प्राय: चार सय भविष्यवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधेक: “के म रामोत-गिलादको विरुद्ध लड़ाइँ गर्न जाऊँ, कि म छोड़ूँ?” अनि तिनीहरूले भने: “चढ़ाइ गर्नुहोस्; किनकि प्रभुले त्यसलाई राजाको हातमा सुम्पिदिनुहुनेछ।” 7 तब यहोशापातले भने: “के यिनीहरूबाहेक परमप्रभुका अरू कुनै भविष्यवक्ता छैनन्, जसद्वारा हामी सोधखोज गर्न सक्छौं?” 8 अनि इस्राएलका राजाले यहोशापातलाई भने: “अझै एकजना मानिस छ – इम्लाको छोरा मिकायाह, जसद्वारा हामी परमप्रभुबाट सोधखोज गर्न सक्छौं। तर म उसलाई घृणा गर्दछु; किनकि मेरो विषयमा उसले भलो होइन, तर कुभलो मात्र भविष्यवाणी गर्दछ।” अनि यहोशापातले भने: “राजाले यस्तो नभनून्!” 9 तब इस्राएलका राजाले एकजना अधिकारीलाई बोलाएर भने: “झट्टै इम्लाको छोरा मिकायाहलाई यहाँ ल्याऊ!”
10 अनि इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको पस्ने ठाउँमा एउटा खलामा राजकीय पोशाक पहिरेर आ-आफ्नो सिंहासनमाथि बसिरहेका थिए; अनि सबै भविष्यवक्ताहरूले उनीहरूको अगाड़ि भविष्यवाणी गरिरहेका थिए। 11 अनि केनानाका छोरा सिद्कियाहले आफ्ना निम्ति फलामका सिङहरू बनाए; अनि तिनले भने: “परमप्रभु यसो भन्नुहुन्छ, अरामीहरूलाई खतम नपारुन्जेल तिमीले यी सिङहरूले नै तिनीहरूलाई घचेट्नेछौ।” 12 अनि सबै भविष्यवक्ताहरूले यस्तै भविष्यवाणी गर्दै भने: “रामोत-गिलादमाथि चढ़ाइ गर्नुहोस्, र सफल हुनुहोस्; किनकि परमप्रभुले त्यसलाई राजाको हातमा सुम्पिदिनुहुनेछ।”
13 अनि मिकायाहलाई बोलाउन गएका दूतले तिनलाई भने: “विन्ती छ, हेर्नुहोस्, सबै भविष्यवक्ताहरूका वचनहरूले एक मुख भएर राजालाई भलो बताइरहेका छन्। म तपाईंलाई विन्ती गर्छु, तपाईंको वचन पनि उनीहरूमध्येका एकजनाको वचनजस्तो होस्, र भलो नै बोलिदिनुहोस्!” 14 अनि मिकायाहले भने: “परमप्रभुको जीवनको शपथ! परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही मात्र बोल्नेछु।”
15 तब तिनी राजाकहाँ आए। अनि राजाले तिनलाई यसो भने: “मिकायाह, लड़ाइँ गर्न के हामी रामोत-गिलादमा जाऔं, कि छोड़ौं?” अनि तिनले जवाफ दिए: “जानुहोस्, र सफल हुनुहोस्; किनकि परमप्रभुले त्यसलाई राजाको हातमा सुम्पिदिनुहुनेछ।” 16 तब राजाले तिनलाई भने: “परमप्रभुको नाममा जे कुरा सत्य छ, त्यही मात्र मलाई भन भनी म तिमीलाई कतिपल्ट शपथ खान लाऊँ?” 17 तब तिनले भने: “मैले सारा इस्राएललाई गोठालो नभएका भेड़ाहरूझैं पहाड़हरूहुँदो तितरबितर भएको देखें। अनि परमप्रभुले भन्नुभयो: यिनीहरूका मालिकहरू छैनन्; यिनीहरू हरेक शान्तिसितख आ-आफ्नो घर फर्केर जाऊन्!” 18 अनि इस्राएलका राजाले यहोशापातलाई भने: “मेरो विषयमा यसले भलो होइन, तर कुभलो मात्र भविष्यवाणी गर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
19 अनि मिकायाहलेग भने: “यसकारण परमप्रभुको वचन सुन्नुहोस्! मैले परमप्रभुलाई आफ्नो सिंहासनमाथि बस्नुभएको र सारा स्वर्गीय सेनालाई उहाँको छेउमा उहाँको दाहिनेपट्टि र उहाँको देब्रेपट्टि उभिरहेको देखें। 20 अनि परमप्रभुले भन्नुभयो: ‘अहाब माथि जाओस्, र रामोत-गिलादमा गिरोस् भनी कसले त्यसलाई फुस्ल्याउँछ?’ तब कसैले एउटा कुरा भने, कसैले अर्को कुरा भने। 21 तब एउटा आत्मा निस्केर परमप्रभुको सामु उभियो; अनि उसले भन्यो: ‘म त्यसलाई फुस्ल्याउनेछु।’ 22 अनि परमप्रभुले उसलाई भन्नुभयो: ‘के गरेर?’ अनि उसले भन्यो: ‘म गएर त्यसका सबै भविष्यवक्ताहरूको मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ अनि उहाँले भन्नुभयो: ‘तैंले फुस्ल्याउनेछस्, र सक्षम हुनेछस्; निस्केर जा, र त्यसै गर्!’ 23 यसकारण अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै भविष्यवक्ताहरूको मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको विषयमा कुभलो बोल्नुभएको छ।”
24 तर केनानाका छोरा सिद्कियाह नजिक आए, र मिकायाहलाई तिनको गालामा थप्पड़ लगाएर भने: “परमप्रभुका आत्मा तँसँग बोल्नलाई मबाट कुन बाटो भएर जानुभयो त?” 25 अनि मिकायाहले भने: “हेर, जुन दिन तिमी भित्री कोठामा लुक्न जानेछौ, त्यसै दिन तिमीले थाहा पाउनेछौघ।” 26 तब इस्राएलका राजाले भने: “मिकायाहलाई लैजाऊ, र उसलाई शहरका राज्यपाल आमोन र राजकुमार योआशकहाँ फर्काऊ, 27 र भन: ‘राजाले यसो भन्नुहुन्छ, यस मानिसलाई झ्यालखानामा हालिदेओ, र म कुशलतासाथ नफर्कुन्जेल यसलाई कष्टको रोटी र कष्टको पानी खुवाओ!” 28 अनि मिकायाहले भने: “तपाईं कुनै रीतिले कुशलतासाथ फर्कनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको हुँदै होइन।” तब तिनले भने: “हे मानिसहरूहो, तिमीहरू सबैले सुनिराख!”
29 तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात माथि रामोत-गिलादमा गए। 30 अनि इस्राएलका राजाले यहोशापातलाई भने: “मचाहिँ मेरो भेष बदलेर लड़ाइँमा पस्नेछु; तर तपाईंले चाहिँ आफ्नै वस्त्रहरू पहिरनुहोस्!” अनि इस्राएलका राजा आफ्नो भेष बदलेर लड़ाइँमा पसे। 31 तर अरामका राजाले आफ्ना रथहरूका बत्तीस कप्तानहरूलाई यसो भन्दै आज्ञा गरेका थिए: ‘इस्राएलको राजासित बाहेक तिमीहरूले ठूलो-सानो अरू कसैसित लड़ाइँ नगर्नू!’ 32 अनि यस्तो भयो: जब रथहरूका कप्तानहरूले यहोशापातलाई देखे, तब तिनीहरूले भने: “निश्चय इस्राएलको राजा यही हो।” अनि तिनीहरू तिनीसँग लड़ाइँ गर्न भनी त्यतातिर लागे; तब यहोशापात चिच्च्याए। 33 अनि यस्तो भयो: जब रथहरूका कप्तानहरूले यिनी ता इस्राएलका राजा होइन रहेछन् भनी थाहा पाए, तब तिनीहरू तिनको पिछा गर्नबाट फर्के।
34 अनि कुनै मानिसले धनुको ताँदो खिचेर जथाभावी हानिपठायो, र इस्राएलका राजालाई कवचका जोर्नीहरूको बीचमै लाग्यो। यसकारण उनले आफ्नो सारथिलाई भने: “रथ घुमाऊ, र मलाई सेनाबाट बाहिर लैजाऊ; किनकि म घाइते भएँ।” 35 त्यस दिन लड़ाइँ चर्किंदै गयो; अनि राजालाई आफ्नो रथमा अरामीहरूको सामु ठाड़ो राखियो, र बेलुकीपख उनी मरे; अनि उनको त्यस चोटबाट रगत रथभित्र बगिरहेको थियो। 36 अनि घाम अस्ताउन लाग्दा सेनाभरि नै यसो भन्ने घोषणा गुञ्जियो: “हरेक मानिस आ-आफ्नो शहर, र हरेक आ-आफ्नो देशमाङ फर्कोस्!” 37 यसरी राजा मरे, र सामरियामा ल्याइए; अनि तिनीहरूले राजालाई सामरियामा गाड़िदिए। 38 अनि कसैले त्यो रथ सामरियाको दहमा धोयो; अनि परमप्रभुले भन्नुभएको उहाँको वचनअनुसार कुकुरहरूले उनको रगत चाटे, जहाँ वेश्याहरूले नुहाउँथे।
39 अनि अहाबका अरू बाँकी कामकुराहरू, अँ, तिनले गरेका सबै काम, तिनले बनाएको हात्ती-दाँतको भवन र तिनले निर्माण गरेका सबै शहरहरू – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासकोच पुस्तकमा लेखिएका छैनन् र? 40 तब अहाब आफ्ना पितापुर्खाहरूसित सुते; अनि उनको सट्टामा उनका छोरा अहज्याहले राज्य गरे।
यहूदामा यहोशापातको शासन
41 अनि इस्राएलका राजा अहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि राज्य गर्न लागे। 42 यहोशापातले राज्य गर्न शुरु गर्दा तिनी पैंतीस वर्षका थिए; अनि तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम अजूबा थियो, जो शिल्हीकी छोरी थिइन्। 43 अनि तिनी आफ्ना पिता आसाको सम्पूर्ण चालमा हिँड़िरहे, र त्यसबाट नहटी परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरिरहे। तर ती उच्च स्थानहरूछ हटाइएनन्; किनकि अझ पनि मानिसहरूले ती उच्च स्थानहरूमा बलि चढ़ाइरहेका र धूप बालिरहेका थिए। 44 अनि यहोशापातले इस्राएलका राजासित मेलमिलाप राखे। 45 अब यहोशापातका अरू बाँकी कामकुराहरू, अँ, तिनले देखाएका वीरता, र तिनले कसरी लड़ाइँ गरे – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासकोज पुस्तकमा लेखिएका छैनन् र?
46 अनि तिनका बुबा आसाका दिनहरूमा बाँकी रहेका पुरुषगामीहरूलाई तिनले देशबाट हटाइदिए। 47 त्यस बेला एदोममा कुनै राजा थिएनन्; एक अफिसर नै राजा थिए। 48 ओपीरमा गएर सुन ल्याउनलाई यहोशापातले टार्शिशका जहाजहरू बनाए; तर ती जहाजहरू कहिल्यै यात्रामा गएनन्; किनकि एस्योन-गेबेरमा ती टुटफुट भए। 49 तब अहाबका छोरा अहज्याहले यहोशापातलाई भने: “मेरा सेवकहरू तपाईंका सेवकहरूसित जहाजहरूमा जाऊन्!” तर यहोशापात राजी भएनन्। 50 अनि यहोशापात आफ्ना पितापुर्खाहरूसित सुते, अनि तिनका पितापुर्खाहरूसित तिनका बुबा दाऊदको शहरमा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा यहोरामले राज्य गरे।
इस्राएलमा अहज्याहको शासन
51 यहूदाका राजा यहोशापातको सत्रौं वर्षमा अहाबका छोरा अहज्याहले सामरियामा इस्राएलमाथि राज्य गर्न थाले; अनि तिनले दुई वर्ष इस्राएलमाथि राज्य गरे। 52 अनि तिनले परमप्रभुको दृष्टिमा खराबी गरे, र आफ्ना बुबाको चालमा, आफ्नी आमाको चालमा र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको चालमा हिँड़े; 53 किनकि तिनका बुबाले गरेका सबै कामअनुसार तिनले बाल देवताको पूजाझ गर्थे, त्यसलाई दण्डवत् गर्थे र परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठाउँथे।