एलियाको स्वर्गारोहण
2
अनि यस्तो भयो: जब परमप्रभुले एलियालाई आँधीबेह्रीद्वारा स्वर्गमा उठाइलैजान लाग्नुभएको थियो, तब एलिया एलीशासित गिल्गालबाट हिँड़े। 2 अनि एलियाले एलीशालाई भने: “म तिमीलाई विन्ती गर्छु, यहाँ बस; किनकि परमप्रभुले मलाई बेतएलमा पठाउनुभएको छ।” अनि एलीशाले भने: “परमप्रभुको जीवनको शपथ र तपाईंको प्राणको शपथ! म तपाईंलाई छोड़्नेछैनँ।” तब उनीहरू बेतएलतिर झरे। 3 अनि बेतएलमा भएका भविष्यवक्ताहरूका शिष्यहरूक एलीशाकहाँ निस्केर आए, र तिनलाई भने: “के तपाईंलाई थाहा छ, आज परमप्रभुले तपाईंका मालिकलाई तपाईंबाटख उठाइलैजानुहुनेछ?” अनि तिनले भने: “हो, मलाई थाहा छ; तिमीहरू चुप लाग!” 4 तब एलियाले तिनलाई भने: “एलीशा, म तिमीलाई विन्ती गर्छु, यहीं बस; किनकि परमप्रभुले मलाई यरिहोमा पठाउनुभएको छ।” तब तिनले भने: “परमप्रभुको जीवनको शपथ र तपाईंको प्राणको शपथ! म तपाईंलाई छोड़्नेछैनँ।” अनि उनीहरू यरिहोमा आए। 5 अनि यरिहोमा भएका भविष्यवक्ताहरूका शिष्यहरूक एलीशाकहाँ नजिक आए, र तिनलाई भने: “के तपाईंलाई थाहा छ, आज परमप्रभुले तपाईंका मालिकलाई तपाईंबाटख उठाइलैजानुहुनेछ?” अनि तिनले जवाफ दिए: “हो, मलाई थाहा छ; तिमीहरू चुप लाग!” 6 तब एलियाले तिनलाई भने: “म तिमीलाई विन्ती गर्छु, यहीं बस; किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ।” तब तिनले भने: “परमप्रभुको जीवनको शपथ र तपाईंको प्राणको शपथ! म तपाईंलाई छोड़्नेछैनँ।” अनि ती दुईजना हिँड़े। 7 अनि भविष्यवक्ताहरूका पचास शिष्यहरूग गए, र टाढ़ाबाटघ हेर्न उभिए; अनि ती दुईजनाचाहिँ यर्दनको किनारमा खड़ा भए। 8 अनि एलियाले आफ्नो खास्टो लिए, त्यसलाई बेह्रे, र पानीलाई हिर्काए, अनि त्यो यता र उता छुट्टिएर दुई भाग भयो, र ती दुईजना सुक्खा जमिन भएर पार गए।9 अनि यस्तो भयो: उनीहरू पार भइसकेपछि एलियाले एलीशालाई भने: “म तिमीबाट लगिनुभन्दा अघि तिम्रा निम्ति म के गरिदिऊँ, माग!” तब एलीशाले भने: “म तपाईंलाई विन्ती गर्छु, तपाईंको आत्माको दोबर भाग ममाथि आओस्!” 10 अनि उनले भने: “तिमीले त गाह्रो कुरा माग्यौ। तैपनि तिमीले मलाई तिमीबाट लगिएको देख्यौ भने तिम्रा निम्ति सो हुनेछ; तर देखेनौ भने सो हुनेछैन।” 11 अनि यस्तो भयो: उनीहरू अघि बढ़्दै गइरहेको र कुरा गरिरहेको बेलामा हेर, एउटा आगोको रथ र आगोका घोड़ाहरू देखा परे, जसले ती दुईजनालाई अलग पारे! अनि एलिया आँधीबेह्रीमा भई माथि स्वर्गतिर गए। 12 अनि जब एलीशाले त्यो देखे, तब तिनी कराए: “हे मेरा पिता, हे मेरा पिता, इस्राएलको रथ र त्यसका घोड़चढ़ीहरू!” त्यसपछि तिनले उनलाई फेरि देखेनन्; अनि तिनले आफ्ना लुगाहरू समाते, र तिनलाई दुई भाग हुने गरी च्याते। 13 अनि तिनले एलियाको जीउबाट झरेको उनको खास्टो उठाए; अनि तिनी फर्केर गए र यर्दनको किनारमा उभिए। 14 अनि तिनले एलियाको जीउबाट झरेको उनको त्यो खास्टो लिए, पानीलाई हिर्काए र भने: “परमप्रभु, एलियाका परमेश्वर कहाँ हुनुहुन्छ?” अनि जब तिनले पनि पानीलाई हिर्काए, तब त्यो यता र उता छुट्टिएर दुई भाग भयो; अनि एलीशा पार गए।
15 अनि जब यरिहोमा टाढ़ाबाटघ हेरिरहेका ती भविष्यवक्ताहरूका शिष्यहरूलेग तिनलाई देखे, तब उनीहरूले भने: “एलियाको आत्मा एलीशामाथि बसेको छ।” तब उनीहरू तिनलाई भेट्न आए, र तिनको सामु भुइँसम्म घोप्टो परे। 16 अनि उनीहरूले तिनलाई भने: “अब हेर्नुहोस्, तपाईंका दासहरूसित पचासजना बलिया मानिसहरू छन्। हामी तपाईंलाई विन्ती गर्छौं, यिनीहरू जाऊन्, र तपाईंका मालिकलाई खोजून्! कतै परमप्रभुका आत्माले उनलाई उठाएर लैजानुभयो, र उनलाई कुनै पहाड़माथि वा कुनै बेंसीमा पो झारिदिनुभएको छ कि?” अनि तिनले भने: “नपठाओ!” 17 अनि उनीहरूले तिनलाई लज्जित होउन्जेल कर गरिरहँदा तिनले भने: “पठाओ त!” तब उनीहरूले पचासजना मानिसलाई पठाए; अनि तिनीहरूले तीन दिनसम्म खोजे, तर उनलाई भेट्टाएनन्। 18 अनि जब तिनीहरू तिनीकहाँ फर्केर आए, (किनकि तिनी यरिहोमै बसिरहेका थिए), तब तिनले तिनीहरूलाई भने: “के मैले तिमीहरूलाई ‘नजाओ’ भनेको थिइनँ र?”
एलीशाको सेवकाइ
एलीशा र यरिहोको बाँझो तुल्याउने दूषित पानी
19 अनि त्यस शहरका मानिसहरूले एलीशालाई भने: “हामी तपाईंलाई विन्ती गर्छौं, हेर्नुहोस्, यो शहर कति मनोहर ठाउँमा बसेको छ, जस्तो मेरा प्रभुले देख्दै हुनुहुन्छ; तर पानीचाहिँ खराब छ, र जमिन बाँझो तुल्याउनेङ छ।” 20 अनि तिनले भने: “मकहाँ एउटा नयाँ बटुको ल्याओ, र त्यसमा नुन हाल!” अनि तिनीहरूले त्यो तिनीकहाँ ल्याइदिए। 21 अनि तिनी निस्केर पानीको मूलमा गए, त्यसमा नुन हाले र भने: “परमप्रभु यसो भन्नुहुन्छ, मैले यो पानी निको पारेको छु; यहाँबाट फेरि कहिल्यै मृत्यु वा बाँझोपनाङ हुनेछैन।” 22 यसरी एलीशाले बोलेको तिनको वचनअनुसार त्यो पानी आजको दिनसम्म स्वस्थ छ।
एलीशा र बेतएलका ससाना केटाहरू
23 अनि त्यहाँबाट तिनी माथि बेतएलमा गए। अनि बाटोमा उक्लेर जाँदै गर्दा त्यस शहरबाट ससाना केटाहरू निस्के, र तिनलाई खिसी गरेर तिनलाई भने: “ए तालुखुइले, माथि जा! ए तालुखुइले, माथि जा!” 24 तब तिनी पछिल्तिर फर्के, र तिनीहरूलाई हेरे, अनि तिनीहरूलाई परमप्रभुको नाममा सरापे। तब बनबाट दुईवटा माउ भालु निस्के, र ती केटाहरूमध्ये बयालीसजनालाई च्यातच्युत पारे। 25 अनि त्यहाँबाट तिनी कर्मेल पर्वतमा गए, र त्यहाँबाट सामरिया फर्के।