एलीशा र इस्राएलका राजा यहोराम
3
अनि यहूदाका राजा यहोशापातको अठारौं वर्षमा अहाबका छोरा यहोरामले सामरियामा इस्राएलमाथि राज्य गर्न थाले; अनि तिनले बाह्र वर्ष राज्य गरे। 2 अनि तिनले परमप्रभुको दृष्टिमा खराबी गरे, तर तिनका बुबा र तिनकी आमाले जस्तोचाहिँ होइन; किनकि तिनले आफ्ना बुबाले बनाएको बालको मूर्ति हटाइदिए। 3 तर पनि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा टाँसिरहे; तीबाट तिनी हटेनन्।4 अनि मोआबका राजा मेशाले भेड़ाहरू पाल्थे, अनि इस्राएलका राजालाई एक लाख भेड़ाका पाठाहरू र ऊनसितै एक लाख साँढ़भेड़ाहरू दिने गर्थे। 5 तर यस्तो भयो: जब अहाब मरे, तब मोआबका राजाले इस्राएलका राजाको विरोधमा विद्रोह गरे। 6 त्यही दिन राजा यहोराम सामरियाबाट निस्के, र सारा इस्राएललाई गन्ती गरे। 7 अनि तिनी गए, र यहूदाका राजा यहोशापातकहाँ यसो भनिपठाए: “मोआबका राजाले मेरो विरोधमा विद्रोह गरेका छन्। के तपाईं मसित मोआबको विरोधमा लड़ाइँ गर्न गइदिनुहुन्छ कि?” तब उनले भने: “म माथि जानेछु। जस्तो तपाईं म त्यस्तै; मेरो प्रजा तपाईंको प्रजाजस्तै, र मेरा घोड़ाहरू तपाईंका घोड़ाहरूजस्तै।” 8 अनि यहोशापातलेक भने: “कुन बाटो भएर हामी माथि जाऔं?” अनि यहोरामल्लेख जवाफ दिए: “एदोमको उजाड़स्थानको बाटो भएर।” 9 तब इस्राएलका राजा, यहूदाका राजा र एदोमका राजा हिँड़े; अनि उनीहरूले चक्कर लगाएर सात दिनसम्म यात्रा गरे। अनि सेनाका निम्ति, र उनीहरूको पछि-पछि आउने पशुहरूका निम्ति पानी थिएन। 10 अनि इस्राएलका राजाले भने: “हाय! किनकि यिनीहरूलाई मोआबको हातमा सुम्पिदिन परमप्रभुले यी तीनजना राजाहरूलाई बोलाउनुभएको रहेछ।” 11 तर यहोशापातले भने: “के यहाँ परमप्रभुका कुनै भविष्यवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुबाट सोधखोज गर्न सक्छौं?” अनि इस्राएलका राजाका सेवकहरूमध्ये एकजनाले जवाफ दिएर भने: “यहाँ शापातका छोरा एलीशा छन्, जसले एलियाका हातमा पानी खन्याइदिने गर्थे।” 12 अनि यहोशापातले भने: “उनीसित परमप्रभुको वचन छ।” तब इस्राएलका राजा, यहोशापात र एदोमका राजा तल उनीकहाँ गए।
13 अनि एलीशाले इस्राएलका राजालाई भने: “तपाईंसित मेरो के काम छ र? तपाईंका पिताका भविष्यवक्ताहरू र तपाईंकी माताका भविष्यवक्ताहरूकहाँ जानुहोस्!” अनि इस्राएलका राजाले उनलाई भने: “होइन; किनकि यिनीहरूलाई मोआबको हातमा सुम्पिदिन परमप्रभुले यी तीनजना राजाहरूलाई बोलाउनुभएको रहेछ।” 14 अनि एलीशाले भने: “सेनाहरूका परमप्रभुको जीवनको शपथ, जसको सामु म खड़ा रहन्छु! निश्चय मैले यहूदाका राजा यहोशापातको उपस्थिति ख्याल नगर्दो हुँ त म तपाईंमाथि दृष्टि लगाउने नै थिइनँ, न ता तपाईंलाई देख्ने नै थिएँ। 15 तर अब एउटा तारवाला बाजा बजाउनेलाई मकहाँ ल्याओ!” अनि यस्तो भयो: त्यो बाजा बजाइरहेको बेलामा परमप्रभुको हात उनीमाथि आयो। 16 अनि उनले भने: “परमप्रभु यसो भन्नुहुन्छ, यस बेंसीभरि खाड़लै-खाड़ल बनाइदेओ! 17 किनकि परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूले हावा चलेको देख्नेछैनौ, न ता पानी परेको नै देख्नेछौ, तापनि त्यो बेंसी पानीले भरिनेछ, र तिमीहरूले पानी पिउनेछौ – तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका पशुहरूले।’ 18 अनि यो त परमप्रभुको दृष्टिमा एउटा सानो कुरा हो; उहाँले मोआबीहरूलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। 19 अनि तिमीहरूले पर्खालले घेरिएको हरेक शहर र हरेक उत्तम शहर प्रहार गर्नू, हरेक असल रूख ढालिदिनू, पानीका सबै मूलहरू थुनिदिनू र हरेक असल टुक्रा जमिन ढुङ्गाहरूले बिगारिदिनू!” 20 अनि बिहान, बलि चढ़ाइएको बेलामा यस्तो भयो: हेर, एदोमको बाटो भएर पानी आयो, र त्यो देश पानीले भरियो।
21 अनि जब सबै मोआबीहरूले ती राजाहरू तिनीहरूको विरोधमा लड़ाइँ गर्नलाई माथि आएका छन् भनी सुने, तब तिनीहरूले हतियार भिर्नग सक्ने र माथिकाहरू सबैलाई भेला गरे; अनि तिनीहरू सिमानामा खड़ा भए। 22 अनि तिनीहरू बिहान सबेरै उठे, र घाम त्यस पानीमाथि टल्क्यो; अनि मोआबीहरूले पारिबाट पानीलाई रगतजस्तै रातो देखे। 23 अनि तिनीहरूले भने: “यो त रगत हो। पक्कै पनि ती राजाहरूले आपसमा लड़ाइँ गरे, र तिनीहरूले एक-अर्कालाई मारे। यसकारण अब हे मोआब, लुटको मालमाथि जाइलाग!” 24 अनि जब तिनीहरू इस्राएलको छाउनीमा आइपुगे, तब इस्राएलीहरूले उठेर मोआबीहरूलाई प्रहार गरे, र तिनीहरू उनीहरूको सामुबाट भागे; तर पनि उनीहरू मोआबीहरूलाई प्रहार गर्दै तिनीहरूको देशभित्र पनि पसेर अघि बढ़े। 25 अनि उनीहरूले ती शहरहरू भत्काइदिए, र हरेक असल टुक्रा जमिनमा हरेकले आ-आफ्नो ढुङ्गा फ्याँकेर त्यसलाई भरिदिए; अनि पानीका सबै मूलहरू उनीहरूले थुनिदिए, र सबै असल-असल रूखहरू ढालिदिए। कीर-हरेशेतमा मात्र उनीहरूले त्यसका ढुङ्गाहरू छोड़े; तर घुँयेत्रो हान्नेहरूले घेरा हालेर त्यसलाई प्रहार गरे। 26 अनि जब मोआबका राजाले लड़ाइँ तिनका निम्ति साह्रै चर्को परेको देखे, तब छिरेर एदोमका राजाकहाँसम्म पुग्नलाई तिनले आफ्नो साथमा सात सय तरवारधारी मानिसहरूलाई लिए, तर तिनीहरूले सकेनन्। 27 तब तिनले आफ्नो सट्टामा राज्य गर्ने आफ्ना जेठा छोरालाई लगेर उसलाई पर्खालमाथि होमबलि चढ़ाए। तब इस्राएलको विरुद्ध ठूलो क्रोध आइपर्यो; अनि उनीहरूले तिनलाई छोड़िदिए, र आफ्नो देश फर्के।