एलीशा र विधवाको तेल
4
अनि भविष्यवक्ताहरूका शिष्यहरूका पत्‍नीहरूमध्ये एउटी स्त्रीले यसो भन्दै एलीशालाई पुकारिन्: “तपाईंका दास मेरा पति मरे। अनि तपाईंलाई थाहा छ, तपाईंका दासले परमप्रभुको डर मान्थे। अनि मेरा दुई छोराहरूलाई कमाराको रूपमा आफूकहाँ लैजानलाई ती महाजन आएका छन्।” 2 अनि एलीशाले तिनलाई भने: “म तिम्रा निम्ति के गरूँ? तिम्रो घरमा के छ? मलाई भन!” अनि तिनले भनिन्: “तपाईंकी दासीको घरमा एक भाँड़ा तेलबाहेक अरू केही पनि छैन।” 3 तब उनले भने: “जाऊ, बाहिरबाट, तिम्रा सबै छिमेकीहरूबाट आफ्ना निम्ति भाँड़ाहरू, अँ, खाली भाँड़ाहरू माग; थोरै नमाग! 4 अनि भित्र पस, अनि तिमी र तिम्रा छोराहरूको पछि ढोका थुन; अनि ती सबै भाँड़ाहरूमा तेल खन्याऊ, र भरिएकोचाहिँ अलग राख!” 5 तब तिनी उनीबाट गइन्, अनि आफू र आफ्ना छोराहरूको पछि ढोका थुनिन्; अनि तिनीहरूले ती भाँड़ाहरू तिनीकहाँ ल्याए, र तिनले तेल खन्याइन्। 6 अनि यस्तो भयो: जब ती भाँड़ाहरू भरिए, तब तिनले आफ्नो छोरालाई भनिन्: “मकहाँ अझै एउटा भाँड़ा ल्याऊ!” अनि उसले तिनलाई भन्यो: “अब अरू कुनै भाँड़ा छैन।” तब तेल बन्द भयो। 7 त्यसपछि तिनले आएर परमेश्‍वरको जनलाई त्यो बताइन्। अनि उनले भने: “जाऊ, त्यो तेल बेचेर तिम्रो ऋण तिर, अनि उब्रेकोबाट तिमी आफ्ना छोराहरूसित बाँच!”
एलीशा र शूनेमी स्त्रीको छोरा
8 अनि एक दिन यस्तो भयो: एलीशा शूनेम गए, जहाँ एउटी प्रतिष्‍ठित स्त्री बस्थिन्। तिनले उनलाई खाना खान कर लगाइन्। अनि यस्तो भयो: जब-जब उनी त्यहाँबाट भएर जान्थे, तब-तब उनी खाना खान त्यतातिर लाग्थे। 9 अनि तिनले आफ्ना पतिलाई भनिन्: “म तपाईंलाई विन्‍ती गर्छु, हेर्नुहोस्, म जान्दछु, लगातार हामीबाट भएर जाने यी व्यक्ति त परमेश्‍वरका पवित्र जन नै हुन्। 10 म तपाईंलाई विन्‍ती गर्छु, हामी भित्ता गाँसेर एउटा सानो कौसीको कोठा बनाइदिऔं, र त्यहाँ उनका निम्ति एउटा पलङ, एउटा टेबल, एउटा कुर्सी र एउटा सामदान राखिदिऔं! अनि यस्तो हुनेछ: जब उनी हामीकहाँ आउँछन्, तब उनी त्यहीं बस्‍ने गरून्।” 11 अनि एक दिन यस्तो भयो: उनी त्यहाँ आए, त्यस कौसीको कोठामा पसे र त्यहीं ढल्के। 12 अनि उनले आफ्नो सेवक गेहजीलाई भने: “ती शूनेमी स्त्रीलाई बोलाऊ!” अनि उसले तिनलाई बोलायो, र तिनी उनको सामु खड़ा भइन्। 13 अनि उनले उसलाई भने: “अब यिनलाई यसो भन, हेर, तिमीले यी सबै वास्ता राखेर हाम्रो फिक्री गरेकी छ्यौ। तिम्रा निम्ति चाहिँ के गर्न सकिन्छ? के तिम्रो विषयमा राजासित वा सेनापतिसित कुरा गरौं?” अनि तिनले जवाफ दिइन्: “म त आफ्नै मानिसहरूको बीचमा बसिरहेको छु।” 14 अनि उनले भने: “तब तिनका निम्ति के गर्न सकिन्छ त?” तब गेहजीले जवाफ दियो: “वास्तवमा तिनको छोरा छैन, र तिनका पति वृद्ध छन्।” 15 अनि उनले भने: “तिनलाई बोलाऊ!” अनि उसले तिनलाई बोलायो, र तिनी ढोकामा उभिइन्। 16 अनि उनले भने: “जीवनको समयअनुसार तिमीले तोकिएको समयमा एउटा छोरालाई अँगाल्नेछौ।” तब तिनले भनिन्: “होइन, मेरा प्रभु, हे परमेश्‍वरको जन, आफ्नी दासीसित झूट नबोल्नुहोस्!” 17 अनि ती स्त्री गर्भवती भइन्, अनि एलीशाले तिनलाई भनेको जीवनको समयअनुसार तिनले त्यही तोकिएको समयमा एउटा छोरा जन्माइन्।
18 अनि त्यो बालक बढ्यो; अनि एक दिन यस्तो भयो: ऊ आफ्ना बुबाकहाँ, कटनी गर्नेहरूकहाँ निस्केर गयो। 19 अनि उसले आफ्ना बुबालाई भन्यो: “मेरो टाउको! मेरो टाउको!!” अनि तिनले एउटा जवान मानिसलाई भने: “यसलाई यसकी आमाकहाँ बोकेर लगिदेऊ!” 20 अनि जब त्यसले उसलाई बोकेर लग्यो, र उसलाई उसकी आमाकहाँ पुर्‍याइदियो, तब मध्यदिनसम्म ऊ आमाका घुँड़ाहरूमा बसिरह्‍यो, त्यसपछि ऊ मर्‍यो। 21 तब ती स्त्री माथि गइन्, र उसलाई परमेश्‍वरको जनको पलङमाथि राखिदिइन्, अनि उसको पछि ढोका थुनिराखेर तिनी निस्किन्। 22 अनि तिनले आफ्ना पतिलाई बोलाएर भनिन्: “कृपया मकहाँ एकजना जवान मानिसलाई, र एउटा गधा पठाइदिनुहोला, र म परमेश्‍वरको जनकहाँ दगुरेर जान र फर्केर आउन सकूँ!” 23 अनि यिनले भने: “आज तिमी उनीकहाँ किन जान्छ्यौ? आज न औंसी, न विश्रामदिन हो।” तब तिनले भनिन्: “शलोम!” 24 तब तिनले त्यस गधामा काठी कसिन्, र आफ्नो नोकरलाई भनिन्: “हाँक र अघि बढ़; मैले तिमीलाई नभनेसम्म मेरा निम्ति आफ्नो हँकाइ कम नगर!” 25 यसरी तिनी गइन्, र कर्मेल पर्वतमा परमेश्‍वरको जनकहाँ आइपुगिन्। अनि यस्तो भयो: परमेश्‍वरको जनले तिनलाई टाढ़ैमा आउँदै गरेकी देखेर आफ्नो सेवक गेहजीलाई भने: “हेर, ती शूनेमी स्त्री! 26 तिनलाई भेट्न अब दगुरेर जाऊ, र तिनलाई यसो भन: के तिमी कुशलै छौ? के तिम्रा पति कुशलै छन्? के तिम्रो बालक कुशलै छ?” तब तिनले जवाफ दिइन्: “कुशलै छ।” 27 अनि जब तिनी त्यस पहाड़मा परमेश्‍वरको जनकहाँ आइपुगिन्, तब तिनले उनलाई उनका पाउमा पक्रिन्, तर गेहजी तिनलाई घचेटेर हटाउन नजिक आयो। तब परमेश्‍वरको जनले भने: “यिनलाई छोड़िदेऊ; किनकि यिनीभित्र यिनको मन व्याकुल भएको छ; अनि परमप्रभुले यो कुरा मबाट लुकाउनुभएको छ, र मलाई बताउनुभएको छैन।” 28 तब तिनले भनिन्: “के मैले मेरा प्रभुबाट एउटा छोरा मागेकी थिएँ र? ‘मलाई धोका नदिनुहोस्’ भनी के मैले भनेकी थिइनँ र?” 29 तब उनले गेहजीलाई भने: “आफ्नो कम्मर कस, र आफ्नो हातमा मेरो लट्ठी लिएर जाऊ! यदि तिमीले कसैलाई भेट्यौ भने उसलाई अभिवादन नगर; अनि कसैले तिमीलाई अभिवादन गर्‍यो भने उसलाई जवाफ नदेऊ; अनि मेरो लट्ठी त्यस बालकको मुखमाथि राखिदेऊ!” 30 अनि त्यस बालककी आमाले भनिन्: “परमप्रभुको जीवनको शपथ र तपाईंको प्राणको शपथ! म तपाईंलाई छोड़्‍नेछैनँ।” तब उनी उठे र तिनको पछि लागे। 31 अनि गेहजीचाहिँ उनीहरूभन्दा अघि गएर त्यो लट्ठी त्यस बालकको मुखमाथि राखिदियो; तर कुनै आवाज आएन, न कुनै प्रतिक्रिया भयो। यसकारण ऊ उनलाई भेट्न फर्क्यो, र उनलाई बतायो: “त्यो बालक बिउँझेन।” 32 अनि एलीशा त्यस घरभित्र पसे; अनि हेर, त्यो बालक मरेको रहेछ, र उनको पलङमा सुताइएको रहेछ!
33 यसैले उनी भित्र पसे, अनि यी दुईजनालाई बाहिर छोड़ेर ढोका थुने, र परमप्रभुलाई प्रार्थना गरे। 34 अनि माथि चढ़ेर उनी बालकमाथि पस्रिए, र आफ्नो मुख उसको मुखमाथि, आफ्ना आँखाहरू उसका आँखाहरूमाथि र आफ्ना हातहरू उसका हातहरूमाथि राखे; अनि उसमाथि उनी लम्पसार परे; तब त्यस बालकको शरीर तातिन थाल्यो। 35 तब उनी ओर्ले, र घरभित्र यताउता हिँड़े; अनि उनी फेरि माथि चढ़े, र उसमाथि लम्पसार परे। अनि त्यस बालकले सातपल्‍ट हाच्छिउँ काढ़्यो; तब त्यस बालकले आफ्ना आँखाहरू खोल्यो। 36 अनि उनले गेहजीलाई बोलाएर भने: “ती शूनेमी स्त्रीलाई बोलाऊ!” तब उसले तिनलाई बोलायो। अनि जब तिनी उनीकहाँ भित्र आइन्, तब उनले भने: “आफ्नो छोरालाई उठाएर लैजाऊ!” 37 तब तिनी भित्र गइन्, र उनका पाउमा परेर भुइँसम्म घोप्‍टो परिन्, र आफ्नो छोरालाई उठाएर निस्किन्।
एलीशा र विषालु सुरुवा
38 अनि एलीशा फेरि गिल्गालमा आए। अनि देशमा अनिकाल परिरहेको थियो। अनि भविष्यवक्ताहरूका शिष्यहरू उनको सामु बसिरहेका थिए। अनि उनले आफ्नो सेवकलाई भने: “ठूलो भाँड़ा बसाल, र भविष्यवक्ताहरूका शिष्यहरूका निम्ति सुरुवा उमाल!” 39 अनि एकजनाचाहिँ सागपात बटुल्न मैदानमा निस्केर गए; अनि एउटा जङ्गली दाख भेट्टाएर तिनले त्यसबाट अँगालोभरि चिन्डाहरू बटुले, अनि आएर तिनलाई सुरुवा पकाउने भाँड़ाभित्र मसिनो काटेर हाले; किनकि उनीहरूले ती के थिए, चिनेका थिएनन्। 40 तब ती मानिसहरूले खाऊन् भनी उनीहरूले त्यो खन्याए। अनि यस्तो भयो: त्यस सुरुवाबाट खाँदै गर्दा तिनीहरूले चिच्च्याएर भने: “हे परमेश्‍वरको जन, भाँड़ामा मृत्यु रहेछ!” अनि तिनीहरूले त्यो खान सकेनन्। 41 तर उनले भने: “त्यसो भए पीठो ल्याओ!” तब उनले त्यो त्यस भाँड़ाभित्र हाले, र भने: “यी मानिसहरूका निम्ति खन्याइदेओ, र उनीहरूले खाऊन्!” अनि त्यस भाँड़ामा कुनै खराब कुरा रहेन।
एलीशा र पहिलो फलका रोटीहरू
42 अनि बाल-शालीशाबाट एकजना मानिस आए, र परमेश्‍वरको जनका निम्ति पहिलोफलका रोटीहरू – जौका बीसवटा रोटी र आफ्नो झोलामा पूरा पाकेका बालाहरू ल्याए। अनि एलीशाले भने: “यी मानिसहरूलाई देऊ, र उनीहरूले खाऊन्!” 43 तब उनको सेवकले भन्यो: “के म यो कुरा सयजना मानिसको अगाड़ि राखिदिऊँ?” उनले फेरि भने: “मानिसहरूलाई देऊ, र उनीहरूले खाऊन्; किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, उनीहरूले खानेछन्, र त्यसबाट उबार्ने पनि छन्।” 44 तब उसले त्यो उनीहरूको अगाड़ि राखिदियो, अनि परमप्रभुको वचनअनुसार उनीहरूले खाए, र उबारे।