एलीशा र कोरी नामान
5
अनि अरामका राजाका सेनापति नामान तिनका मालिकको दृष्‍टिमा महान् र माननीय मानिस थिए; किनभने तिनीद्वारा परमप्रभुले अरामलाई छुटकारा दिनुभएको थियो। अनि तिनी एक शूरवीर योद्धा थिए, तर तिनी कोरी थिए। 2 अनि अरामीहरू दल-दल बाँधेर निस्के थिए, र इस्राएल देशबाट एउटी सानी केटीलाई कैद गरेर ल्याएका थिए; अनि त्यसले नामानकी पत्‍नीको सेवाटहल गर्थी। 3 अनि त्यसले आफ्नी मालिक्नीलाई भनी: “मेरा मालिक सामरियामा भएका भविष्यवक्ताको सामु हुनुभएको भए कति असल हुनेथ्यो! किनकि उनले उहाँलाई उहाँको कोरबाट निको पारिदिनेथिए।” 4 अनि नामान भित्र गए, र आफ्ना मालिकलाई यसो भन्दै बताए: “इस्राएल देशबाट आएकी त्यस ठिटीले यसो-यसो भनी।” 5 अनि अरामका राजाले भने: “आफ्नो बाटो लाग, जाऊ! अनि म इस्राएलका राजालाई एउटा पत्र पठाउनेछु।” तब नामान हिँड़े, र आफ्नो साथमा दस किक्‍कर चाँदी, छ हजार शेकेल सुन र दस जोड़ा लुगा लिएर गए। 6 अनि तिनले इस्राएलका राजाकहाँ त्यो पत्र ल्याइदिए, जसमा यस्तो लेखिएको थियो: ‘अनि अब, जब यो पत्र तपाईंकहाँ आइपुग्छ, तब हेर्नुहोस्, मैले यसको साथमा मेरा कर्मचारी नामानलाई, तपाईंले उनलाई उनको कोरबाट निको पारिदिनुहोस् भनेर तपाईंकहाँ पठाएको छु।’ 7 अनि यस्तो भयो: जब इस्राएलका राजाले त्यो पत्र पढ़े, तब तिनले आफ्ना वस्त्रहरू च्याते, र भने: “के म मार्ने र जीवित पार्ने ईश्‍वर हुँ, र ती मानिसले यी मानिसलाई मैले यिनलाई यिनको कोरबाट निको पारूँ भनेर मकहाँ पठाउँदैछन्? यसकारण म तिमीहरूलाई विन्‍ती गर्छु, विचार गर, र हेर! निश्‍चय तिनले मसित झगड़ा गर्नलाई निहुँ खोज्दैछन्।”
8 अनि यस्तो भयो: जब परमेश्‍वरको जन एलीशाले इस्राएलका राजाले आफ्ना वस्त्रहरू च्यातेको कुरा सुने, तब उनले राजाकहाँ यसो भन्दै पठाए: “किन तपाईंले आफ्ना वस्त्रहरू च्यात्नुभयो? म तपाईंलाई विन्‍ती गर्छु, तिनी मकहाँ आऊन्, र इस्राएलमा भविष्यवक्ता रहेछ भनी तिनले जान्‍नेछन्।” 9 तब नामान आफ्ना घोड़ाहरू र आफ्नो रथको साथमा आए, र एलीशाको घरको ढोकामा उभिए। 10 अनि एलीशाले यसो भन्दै तिनीकहाँ एकजना दूत पठाए: “जाऊ, र यर्दनमा सातपल्‍ट नुहाऊ, र तिम्रा निम्ति तिम्रो शरीर ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।” 11 तर नामान रिसाए, र गइहाले, अनि भने: “हेर, मैले त, निश्‍चय तिनी बाहिर मकहाँ आउनेछन्, खड़ा हुनेछन् र परमप्रभु आफ्ना परमेश्‍वरको नाम पुकार्नेछन्, अनि त्यस ठाउँमाथि आफ्नो हात डोलाएर कोरीलाई निको पारिदिनेछन् भनी मनमनै सोचेको थिएँ। 12 के दमस्कसका नदीहरू अबाना र फर्पर इस्राएलका सबै पानीहरूभन्दा उत्तम छैनन् र? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र?” यसरी तिनी फर्के, र क्रोधित भएर गए। 13 अनि तिनका नोकरहरू नजिक आएर तिनीसँग कुरा गरेर तिनलाई भने: “मेरा पिताज्यू, ती भविष्यवक्ताले तपाईंलाई कुनै ठूलो काम अह्राएका भए के तपाईंले त्यो गर्नुहुनेथिएन र? तब, जब उनले तपाईंलाई ‘नुहाऊ र शुद्ध होऊ!’ भन्छन् भने, झन् बढ़्‍ता गरी किन नगर्नु त?” 14 तब तिनी तल झरे, र परमेश्‍वरको जनको भनाइअनुसार यर्दनमा सातपल्‍ट डुबुल्की मारे; अनि तिनको शरीरको मासु सानो बालकको मासुजस्तै भयो, र तिनी शुद्ध भए।
15 अनि तिनी परमेश्‍वरको जनकहाँ फर्केर आए – तिनी र तिनको सारा दल; अनि आएर तिनी उनको सामु उभिए। अनि तिनले भने: “हेर्नुहोस्, इस्राएलमा बाहेक सारा पृथ्वीभरि अरू कुनै ईश्‍वर हुनुहुन्‍न रहेछ भन्‍ने कुरा अब म जान्दछु; यसकारण अब म तपाईंलाई विन्‍ती गर्छु, आफ्नो दासबाट एउटा धन्यवादको सौगात ग्रहण गर्नुहोस्!” 16 तर उनले भने: “परमप्रभुको जीवनको शपथ, जसको सामु म खड़ा रहन्छु! म केही पनि ग्रहण गर्नेछैनँ।” अनि तिनले त्यो लिन उनलाई कर गरे; तर उनले इन्कार गरे। 17 अनि नामानले भने: “तपाईंले लिनुहुन्‍न भने, म तपाईंलाई विन्‍ती गर्छु, तपाईंको दासलाई दुईवटा खच्‍चरले बोक्न सक्ने माटो दिइयोस्! किनकि अबदेखि उसो तपाईंको दासले परमप्रभुलाई बाहेक अरू कुनै देवताहरूलाई न होमबलि न बलिदान चढ़ाउनेछ। 18 यस कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्! जब मेरा मालिक रिम्मोनको भवनमा, त्यहाँ दण्‍डवत्‌ गर्न जान्छन्, अनि उनले मेरो हातको सहारा लिन्छन्, र म रिम्मोनको भवनमा निहुरन्छु; जब म रिम्मोनको भवनमा निहुरन्छु, तब यस कुरामा, म विन्‍ती गर्छु, परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्!” 19 अनि उनले तिनलाई भने: “शान्तिसित जाऊ!” अनि तिनी उनीबाट गएर अलिक पर पुगे।
एलीशाको सेवक गेहजीको लोभलालच
20 तर परमेश्‍वरको जन एलीशाको सेवक गेहजीले भन्यो: “हेर, मेरा मालिकले त ती अरामी नामानले ल्याइदिएको थोक तिनको हातबाट नलिएर तिनलाई छोड़िदिए। तर परमप्रभुको जीवनको शपथ! निश्‍चय म तिनको पछि-पछि दगुरेर तिनीबाट केही न केही लिने नै छु।” 21 तब गेहजीले नामानलाई पछ्यायो। अनि जब नामानले उसलाई आफ्नो पछि-पछि दगुर्दै आएको देखे, तब तिनी उसलाई भेट्न रथबाट ओर्ले, र भने: “के सबै कुशलै छ?” 22 अनि उसले भन्यो: “सबै कुशलै छ। मेरा मालिकले यसो भन्दै मलाई पठाउनुभएको छ: हेर्नुहोस्, भर्खरै एप्रैमको पहाड़ी देशबाट भविष्यवक्ताहरूका शिष्यहरूबाट दुईजना जवान मानिसहरू मकहाँ आइपुगेका छन्। म विन्‍ती गर्छु, उनीहरूलाई एक किक्‍कर चाँदी र दुई जोड़ा लुगा दिनुहोला।” 23 अनि नामानले भने: “राजी होऊ! दुई किक्‍कर लैजाऊ!” अनि नामानले उसलाई कर गरे, र दुईवटा थैलामा दुई किक्‍कर चाँदी र दुई जोड़ा लुगा बाँधिदिए, अनि आफ्ना नोकरहरूमध्ये दुईजनालाई ती बोकाए, जो उसको अघि-अघि बोकेर हिँड़े। 24 अनि जब ऊ ओपेलमा आइपुग्यो, तब उसले तिनीहरूको हातबाट ती चीजहरू लियो, र घरभित्र राख्यो, अनि ती मानिसहरूलाई पठाइदियो, र तिनीहरू गए। 25 तर ऊचाहिँ भित्र गएर आफ्ना मालिकको सामु उभियो। तब एलीशाले उसलाई भने: “गेहजी, तिमी कहाँबाट आउँदैछौ?” अनि उसले भन्यो: “तपाईंको दास त कहीं गएको छैन।” 26 अनि उनले उसलाई भने: “ती मानिस तिमीलाई भेट्न आफ्नो रथबाट फर्केको बेलामा के मेरो हृदय तिमीसित गएको थिएन र? के यो रूपैयाँपैसा लिने, साथै लुगाफाटा, जैतूनबारीहरू, दाखबारीहरू, भेड़ाबाख्राहरू, गाईबस्तुहरू, कमाराहरू र कमारीहरू लिने समय हो र? 27 यसकारण नामानको कोरचाहिँ सधैंभरि तिमी र तिम्रा सन्तानमा टाँसिरहनेछ।” तब ऊ हिउँजस्तै सेतो कोरी भएर उनको सामुबाट निस्केर गयो।