परमप्रभुको सन्दुक यरूशलेममा ल्याउने दाऊदको दोस्रो प्रयास
15
अनि दाऊदले दाऊदको शहरमा आफ्ना निम्ति घरहरू बनाए, अनि परमेश्‍वरको सन्दुकका निम्ति एउटा ठाउँ तयार गरे, र त्यसका निम्ति एउटा पाल टाँगे। 2 तब दाऊदले भने: “लेवीहरूले बाहेक अरू कसैले पनि परमेश्‍वरको सन्दुक बोक्नुहुँदैन; किनकि परमप्रभुले परमेश्‍वरको सन्दुक बोक्न र सधैंभरि उहाँको सेवा गर्न उनीहरूलाई नै चुन्‍नुभएको छ।” 3 अनि परमप्रभुको सन्दुक आफूले त्यसका निम्ति तयार पारेको त्यसको ठाउँमा माथि ल्याउन भनी दाऊदले सबै इस्राएलीहरूलाई यरूशलेममा भेला गरे। 4 अनि दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई भेला गराए; 5 अर्थात् कहातका सन्तानबाट प्रधान ऊरिएल, र तिनका दाजुभाइहरू – एक सय बीसजना; 6 मरारीका सन्तानबाट प्रधान असायाह, र तिनका दाजुभाइहरू – दुई सय बीसजना; 7 गेर्शोमका सन्तानबाट प्रधान योएल, र तिनका दाजुभाइहरू – एक सय तीसजना; 8 एलिसापानका सन्तानबाट प्रधान शमायाह, र तिनका दाजुभाइहरू – दुई सयजना; 9 हेब्रोनका सन्तानबाट प्रधान एलिएल, र तिनका दाजुभाइहरू – अस्सीजना; 10 र उज्जिएलका सन्तानबाट प्रधान अम्मिनादाब, र तिनका दाजुभाइहरू – एक सय बाह्रजना। 11 अनि दाऊदले पूजाहारीहरू सादोक र अबियातार र लेवीहरूलाई अर्थात् ऊरिएल, असायाह, योएल, शमायाह, एलिएल र अम्मिनादाबलाई पनि बोलाइपठाए; 12 अनि उनले उनीहरूलाई भने: “तिमीहरू लेवीहरूका पितापुर्खाहरूका प्रधानहरू हौ; परमप्रभु इस्राएलका परमेश्‍वरको सन्दुक माथि मैले त्यसका निम्ति तयार पारेको ठाउँमा ल्याउनका निम्ति तिमीहरू र तिमीहरूका दाजुभाइहरूले आफू-आफूलाई पवित्र पार! 13 किनकि पहिलोपल्ट तिमीहरूले यसो नगरेकाले नै परमप्रभु हाम्रा परमेश्‍वरले हामीमाथि आघात ल्याउनुभयो; किनभने हामीले सठीक ढङ्गले उहाँको खोजी गरेनौं।”
14 तब परमप्रभु इस्राएलका परमेश्‍वरको सन्दुक माथि ल्याउनलाई पूजाहारीहरू र लेवीहरूले आफू-आफूलाई पवित्र पारे। 15 अनि परमप्रभुको वचनअनुसार मोशाले आज्ञा गरेझैं लेवीहरूका सन्तानले परमेश्‍वरको सन्दुक, त्यसका डण्डाहरूले, आफ्ना काँधमाथि राखेर बोके।
16 अनि दाऊदले लेवीहरूका प्रधानहरूलाई, उनीहरूका दाजुभाइहरूलाई बाजाहरूसित अर्थात् सितार, वीणा र झ्यालीहरू बजाउँदै हर्षसाथ सोर उचाल्नलाई गायकहरूको रूपमा नियुक्त गर्नू भनी आज्ञा गरे। 17 तब लेवीहरूले योएलका छोरा हेमानलाई, तिनका दाजुभाइहरूबाट बेरेक्याहका छोरा आसाफलाई, उनीहरूका दाजुभाइहरू अर्थात् मरारीका सन्तानबाट कुशायाहका छोरा एतानलाई; 18 अनि उनीहरूको साथमा उनीहरूका दोस्रो दर्जाका दाजुभाइहरूलाई अर्थात् जकर्याह, बेन, याजिएल, शमिरामोत, यहिएल, उन्‍नी, एलिआब, बनायाह, मासेयाह, मत्तित्याह, एलिपले, मिक्नेयाहलाई र ओबेद-एदोम र यइएललाई नियुक्त गरे, जो द्वारपालहरू थिए। 19 यसरी गायकहरू हेमान, आसाफ र एतान पित्तलका झ्यालीहरू बजाउने काममा नियुक्त भए, 20 अनि जकर्याह, अजिएल, शमिरामोत, यहिएल, उन्‍नी, एलिआब, मासेयाह र बनायाहचाहिँ अलामोत-रागमा सितारहरू बजाउन, 21 र मत्तित्याह, एलिपले, मिक्नेयाह, ओबेद-एदोम, यइएल र अजज्याहचाहिँ शेमिनिथ-रागमा वीणाहरू बजाएर अगुवाइ गर्नलाई नियुक्त भए। 22 अनि लेवीहरूका प्रधान कनन्याहचाहिँ संगीतमा अगुवा थिए; संगीतको विषयमा तिनले शिक्षा दिन्थे, किनकि तिनी निपुण थिए। 23 अनि बेरेक्याह र एल्काना सन्दुकका निम्ति द्वारपालहरू थिए, 24 अनि पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह र एलिएजेर परमेश्‍वरको सन्दुकको अगाड़ि तुरहीहरू फुक्थे; अनि ओबेद-एदोम र यहियाह सन्दुकका निम्ति द्वारपालहरू थिए।
25 तब दाऊद, इस्राएलका बूढ़ा प्रधानहरू र हजारौं-हजारौंमाथिका कप्‍तानहरू ओबेद-एदोमको घरबाट आनन्दसाथ परमप्रभुको वाचाको सन्दुक माथि ल्याउन गए। 26 अनि यस्तो भयो: जब परमेश्‍वरले परमप्रभुको वाचाको सन्दुक बोक्ने लेवीहरूलाई सहायता गर्नुभयो, तब उनीहरूले सातवटा बहर र सातवटा भेड़ा बलि चढ़ाए। 27 अनि दाऊदले, साथै सन्दुक बोक्ने सबै लेवीहरूले, गायकहरूले र गायकहरूको साथमा संगीतका प्रधान कनन्याहले मिहिन मलमलका अलखा पहिरेका थिए। अनि दाऊदले आफ्नो जीउमाथि एउटा मलमलको एपोद लाएका थिए। 28 यसरी सारा इस्राएलले जयजयकारको साथ, नरसिङ्गाको ध्वनि, तुरहीहरू र झ्यालीहरूको साथ अनि सितारहरू र वीणाहरू बजाउँदै परमप्रभुको वाचाको सन्दुक माथि ल्याए। 29 अनि यस्तो भयो: जब परमप्रभुको वाचाको सन्दुक दाऊदको शहरमा आइपुग्यो, तब शाऊलकी छोरी मिकलले झ्यालबाट बाहिर हेर्दाखेरि राजा दाऊदलाई नाच्दै र खेल्दै गरेका देखिन्; र तिनले उनलाई आफ्नो मनमनै तुच्छ ठानिन्।