राजा दाऊद यरूशलेममा स्थापित
14
अनि टायरका राजा हिरामले दाऊदकहाँ दूतहरू, र उनका निम्ति घर बनाउनलाई देवदारका काठहरू, साथै डकर्मीहरू र सिकर्मीहरू पठाए। 2 अनि परमप्रभुले उनलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको रहेछ भन्‍ने कुरा दाऊदले थाहा गरे; किनकि उहाँको प्रजा इस्राएलको कारणले उनको राज्य उच्‍च पारिएको थियो।
3 अनि दाऊदले यरूशलेममा अझै पत्‍नीहरू लिए; अनि दाऊदले अझै छोरा र छोरीहरू जन्माए। 4 अनि यरूशलेममा भएका उनका सन्तानका नामहरू यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सुलेमान, 5 इब्हार, एलिशूअ, एल्पेलेत, 6 नोगह, नेपेग, यापिअ, 7 एलिशामा, बेएलियादा र एलिपालेत।
पलिस्तीहरूले दाऊदलाई दुई पल्ट आक्रमण गर्छन्
8 तर जब दाऊद सारा इस्राएलमाथि राजाको रूपमा अभिषेक भएको कुरा पलिस्तीहरूले सुने, तब सबै पलिस्तीहरू दाऊदलाई खोज्‍न माथि आए। अनि यो सुनेर दाऊद तिनीहरूलाई सामना गर्न निस्के। 9 अनि पलिस्तीहरू आएर रपाईहरूको बेंसीमा फैलिए। 10 अनि दाऊदले यसो भन्दै परमेश्‍वरबाट सोधखोज गरे: “के म पलिस्तीहरूमाथि चढ़ाइ गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” अनि परमप्रभुले उनलाई भन्‍नुभयो: “चढ़ाइ गर; किनकि म तिनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।” 11 तब उनीहरू माथि बाल-पेराजिममा आए, र त्यहीं दाऊदले तिनीहरूलाई प्रहार गरे। तब दाऊदले भने: “बाँध फुटेर ओइरिएको पानीझैं परमेश्‍वर मद्वारा मेरा शत्रुहरूमाथि ओइरिनुभयो।” यसैले उनीहरूले त्यस ठाउँको नाम बाल-पेराजिम राखे। 12 अनि त्यहाँ तिनीहरूले आफ्ना देवताहरू छोड़िराखे; तब दाऊदले आज्ञा गरे; अनि ती आगोमा जलाइए।
13 अनि पलिस्तीहरू फेरि पनि आएर त्यस बेंसीमा फैलिए। 14 यसकारण दाऊदले फेरि परमेश्‍वरबाट सल्‍लाह लिए; अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो: “तिनीहरूको पछि लाग्‍न माथि नजाऊ! तिनीहरूलाई फन्को मार, र किम्बूका रूखहरूको सामुबाट तिनीहरूमाथि जाइलाग! 15 अनि यस्तो होस्: जब तिमीले ती किम्बूका रूखहरूका टुप्पामा सेना जाँदै गरेको आवाज सुन्छौ, तब तिमी लड़ाइँमा निस्क; किनकि पलिस्तीहरूको सेनालाई प्रहार गर्न परमेश्‍वर तिम्रो अघि निस्केर जानुहुनेछ।” 16 यसकारण दाऊदले परमेश्‍वरले उनलाई आज्ञा गर्नुभएअनुसार गरे; अनि उनीहरूले पलिस्तीहरूको सेनालाई गिबोनदेखि गेजेरसम्म प्रहार गरे। 17 तब सबै देशहरूतिर दाऊदको कीर्ति फैलियो; र परमप्रभुले सबै जातिहरूमाथि उनको डर हालिदिनुभयो।