वाचाको सन्दुक यरूशलेममा ल्याउने दाऊदको पहिलो प्रयास
13
अनि दाऊदले हजारौंमाथिका र सयौंमाथिका कप्तानहरूसँग र हरेक अगुवासँग सल्लाह लिए। 2 अनि दाऊदले इस्राएलको सारा समुदायलाई भने: “तपाईंहरूलाई असल लाग्यो, र यो परमप्रभु हाम्रा परमेश्वरको तर्फबाट हो भने हामी चारैतिर इस्राएलका सबै इलाकाहरूभरि बसेका हाम्रा दाजुभाइहरूकहाँ पठाऔं, र तिनीहरूको साथमा तिनीहरूका शहरहरू र खुला जमिनहरूमा बसोबास गर्ने पूजाहारीहरू र लेवीहरूकहाँ पनि पठाऔं, र उनीहरू यहाँ हामीकहाँ भेला होऊन्! 3 अनि हामी हाम्रा परमेश्वरको सन्दुक हामीकहाँ फर्काएर ल्याऔं; किनकि शाऊलका दिनहरूमा हामीले त्यसको खोजी गरेनौं।” 4 तब सारा समुदायले ‘हामी यसै गरौं’ भने; किनकि त्यो कुरा सबै मानिसहरूको दृष्टिमा सठीक थियो। 5 यसैले किर्यत-यारीमबाट परमेश्वरको सन्दुक ल्याउनलाई दाऊदले मिस्रको शिहोरदेखि लिएर हमातको पस्ने ठाउँसम्म सारा इस्राएललाई भेला गरे। 6 अनि करूबहरूमाथि वास गर्नुहुने परमप्रभु परमेश्वरको सन्दुक, जो उहाँको नामले कहलाइन्छ, त्यहाँबाट माथि ल्याउनलाई दाऊद र सारा इस्राएल बाला अर्थात् यहूदाको किर्यत-यारीमतर्फ उक्लेर गए। 7 अनि तिनीहरूले परमेश्वरको सन्दुक अविनादाबको घरबाट एउटा नयाँ गाड़ामा चढ़ाएर ल्याए; अनि त्यो गाड़ा हाँक्नेहरू उज्जा र अहियो थिए। 8 अनि दाऊद र सारा इस्राएलले परमेश्वरको अगाड़ि गीत गाउँदै वीणा, सितार, खैंजड़ी, झ्याली र तुरहीहरू बजाउँदै सारा बलले उत्सव मनाए।9 अनि तिनीहरू किदोनकोक खलामा आइपुग्दाखेरि उज्जाले सन्दुक समात्न आफ्नो हात बढ़ाए; किनकि गोरुहरूले ठेस खाए। 10 तब उज्जामाथि परमेश्वरको क्रोध दन्कियो, र उहाँले तिनलाई प्रहार गर्नुभयो; किनकि तिनले त्यस सन्दुकमाथि आफ्नो हात बढ़ाएका थिए; अनि तिनी त्यहीं परमेश्वरको सामु मरे। 11 तब दाऊद दुःखित भए;ख किनकि परमप्रभुले उज्जामाथि आघात ल्याउनुभएको थियो; यसकारण उनले त्यस ठाउँको नाम पेरेस-उज्जाख राखे, जसको नाम आजको दिनसम्म यही हो। 12 अनि दाऊद त्यस दिन परमेश्वरदेखि भयभीत भए, र भने: “परमेश्वरको सन्दुक म कसरी मकहाँ ल्याऊँ?” 13 तब दाऊदले त्यो सन्दुक दाऊदको शहरमा आफूकहाँ लगेनन्, तर त्यो गित्ती ओबेद-एदोमको घरमा लगे। 14 अनि परमेश्वरको सन्दुक तीन महिनासम्म ओबेद-एदोमको घरमा तिनको परिवारसँग रह्यो। अनि परमप्रभुले ओबेद-एदोमको घर र तिनीसित भएका सबैलाई आशिष् दिनुभयो।