सिक्लगमा दाऊदकहाँ आउने सहायकहरू
12
अनि किशका छोरा शाऊलको सामुबाट दाऊद लुकिरहेकोक बेलामा सिक्लगमा उनीकहाँ आउने यिनीहरू थिए। अनि यिनीहरू शूरवीरहरूमध्येका थिए, लड़ाइँमा सहायता गर्नेहरू थिए। 2 उनीहरू धनुर्धारी थिए, जसले दाहिने र देब्रे हातले ढुङ्गाहरू हान्न र धनुले काँड़हरू हान्न सक्थे। उनीहरू बिन्यामिनी थिए, शाऊलका दाजुभाइहरू थिए। 3 अहिएजेर प्रधान थिए, त्यसपछि गिबाका शमाआहका छोराहरू योआश; अनि अज्मावेतका छोराहरू यजिएल र पेलेत, अनि बेराका र अनातोती येहू; 4 अनि गिबोनी इश्मायाह, जो तीसजनामध्ये एक शूरवीर थिए, र तीसजनामाथि थिए; अनि यर्मियाह, यहजिएल, योहानान, गदेराती योजाबाद, 5 एलुजै, यरिमोत, बाअल्याह, शमर्याह, हरूपी शपत्याह, 6 एल्काना, यिशियाह, अजरेल, योएजेर र याशोबाम, जो कोरहीहरू थिए; 7 अनि गदोरबाट यरोहामका छोराहरू योएला र जबद्याह थिए। 8 अनि गादीहरूबाट कतिजना आ-आफ्ना घर त्यागेर उजाड़स्थानमा भएको गढ़ीमा दाऊदकहाँ आए, जो शूरवीर योद्धा र लड़ाइँ गर्ने सिपाहीहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहार सिंहका अनुहारहरूजस्ता थिए, र जो पहाड़हरूमाथि कुद्ने मृगहरूझैं फुर्तिला थिए; 9 एजेर पहिला थिए; दोस्रो ओबद्याह, तेस्रो एलिआब, 10 चौथो मिश्मन्ना, पाँचौं यर्मियाह, 11 छैटौं अत्तै, सातौं एलिएल, 12 आठौं योहानान, नवौं एल्जाबाद, 13 दसौं यर्मियाह र एघारौं मक्बन्नै। 14 यिनीहरू गादका छोराहरूबाटका थिए, सेनाका कप्तानहरू थिए; सबैभन्दा सानामध्ये एकजनाले सयजनालाई सामना गर्न सक्थे भने सबैभन्दा ठूलाले चाहिँ हजारजनालाई सामना गर्न सक्थेख। 15 यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा, त्यसका जम्मै किनार ढाकेर पानी बगिरहेको बेलामा यर्दन नदी तरे; अनि तिनीहरूले बेंसीकाहरू सबैलाई पूर्वतिर र पश्चिमतिर भगाइदिए। 16 अनि बिन्यामिनीहरूबाट र यहूदाबाट मानिसहरू गढ़ीमा दाऊदकहाँ आए।17 अनि दाऊद उनीहरूलाई भेट गर्न निस्के, र जवाफ दिएर उनीहरूलाई भने: “तिमीहरू शान्तिको साथ मलाई सहायता गर्न मकहाँ आएका हौ भने मेरो हृदय तिमीहरूसँग एकसाथ बाँधिनेछ; तर मेरा हातहरूमा कुनै खराबीग नभएको देख्दा-देख्दै पनि तिमीहरू मलाई विश्वासघात गरेर मेरा शत्रुहरूको हातमा सुम्पन आएका हौ भने हाम्रा पितापुर्खाहरूका परमेश्वरले यसमाथि नजर लगाएर न्याय गरून्घ!” 18 तब ती कप्तानहरूकाङ प्रधान अमासैमाथि आत्मा आउनुभयो; अनि तिनले यसो भने: “हे दाऊद, हामी तपाईंकै हौं; हे यिशाईका पुत्र, हामी तपाईंकै साथमा छौं। तपाईंलाई शान्ति, शान्ति! र तपाईंका सहायकहरूलाई शान्ति! किनकि तपाईंका परमेश्वरले तपाईंलाई सहायता गर्नुहुन्छ।” तब दाऊदले उनीहरूलाई ग्रहण गरे, र उनीहरूलाई फौजका कप्तानहरू बनाएच। 19 अनि दाऊदछ पलिस्तीहरूको साथमा शाऊलको विरोधमा लड़ाइँ गर्न गएको बेलामा मनस्सेका कतिपय मानिसहरू दाऊदकहाँ भागेर आए, (तर उनीहरूले तिनीहरूलाई सहायता गरेनन्; किनकि पलिस्तीहरूका शासकहरूले आपसमा सरसल्लाह गरे, र उनलाई यसो भन्दै फर्काइपठाए: “त्यसले हाम्रा टाउकाहरूलाई जोखिममा पारेर आफ्ना मालिक शाऊलपट्टि लाग्नेछ।”)
20 उनी सिक्लगतर्फ जाँदै गर्दा मनस्सेबाट उनीकहाँ भागेर आउनेहरू यिनीहरू थिए: अद्नाह, योजाबाद, यदिअएल, मिकाएल, योजाबाद, एलिहू र सिल्ल्तै। उनीहरू मनस्सेका हजारौं-हजारौंका कप्तानहरू थिए। 21 अनि उनीहरूले त्यस लुटपिट गर्ने दलको विरोधमा लड़ेर दाऊदलाई सहायता गरे; किनकि उनीहरू सबै शूरवीर योद्धा र सेनाका कप्तानहरू थिए। 22 किनकि त्यस समयमा परमेश्वरको सेनाझैं एउटा ठूलो सेना तयार नहोउन्जेल दाऊदलाई सहायता गर्न मानिसहरू दिनहुँ उनीकहाँ आइरहे।
दाऊदलाई राजा तुल्याउन हेब्रोनमा आउने योद्धाहरू
23 अनि लड़ाइँका निम्ति हतियार भिर्नेहरूका दलहरूकाज संख्याहरू यी हुन्; उनीहरू परमप्रभुको वचनअनुसार शाऊलको राज्य दाऊदकहाँ सार्नलाई हेब्रोनमा दाऊदकहाँ आए। 24 यहूदाका सन्तानबाट ढाल र भाला बोकेर लड़ाइँका निम्ति हतियार भिर्नेहरू छ हजार आठ सय थिए, 25 शिमोनका सन्तानबाट लड़ाइँ गर्ने शूरवीर योद्धाहरू सात हजार एक सय थिए। 26 लेवीका सन्तानबाट चार हजार छ सय थिए। 27 अनि हारूनकाहरूका अगुवा यहोयादा थिए, र तिनीसित तीन हजार सात सय थिए। 28 अनि एक जवान शूरवीर योद्धा सादोक थिए, र तिनका बुबाको घरानाबाट बाइसजना कप्तानहरू थिए। 29 अनि शाऊलका दाजुभाइहरू अर्थात् बिन्यामिनका सन्तानबाट तीन हजार थिए; किनकि अहिलेसम्म उनीहरूमध्ये धेरैजसो मानिसहरूले शाऊलको घरानाकै भक्ति गरिरहेका थिए। 30 अनि एप्रैमका सन्तानबाट बीस हजार आठ सय शूरवीर योद्धाहरू थिए, जो आ-आफ्ना पितापुर्खाहरूको घरानामा नाम चलेका मानिसहरू थिए। 31 अनि मनस्सेको आधा कुलबाट अठार हजार थिए; त्यहाँ गएर दाऊदलाई राजा बनाउनलाई उनीहरूका नामहरू तोकिएका थिए। 32 अनि इस्साकारका सन्तानबाट यस्ता मानिसहरू थिए, जससँग समयहरू चिन्ने समझ थियो, र जसले इस्राएलले के गर्नुपर्छ, सो जान्दथिए; उनीहरूका प्रधानहरू दुई सय थिए, र उनीहरूका सबै दाजुभाइहरू उनीहरूको आज्ञाअनुसार चल्थे; 33 जबूलूनबाट पचास हजार लड़ाइँका सबै किसिमका हातहतियारहरू भिरेका यस्ता मानिसहरू थिए, जो लड़ाइँमा जान्थे र जो युद्ध गर्नमा निपुण थिए; जसले आफ्नो युद्ध-पङ्क्तिलाई छोड़्दैनथिए र जो दोधारे मनका थिएनन्; 34 अनि नप्तालीबाट एक हजार कप्तानहरू थिए, र उनीहरूको साथमा सैंतीस हजार थिए, जससित ढाल र भाला थिए। 35 अनि दानका सन्तानबाट लड़ाइँ गर्नमा निपुण अट्ठाइस हजार छ सय थिए। 36 अनि आशेरबाट चालीस हजार थिए, जो लड़ाइँमा जान्थे र जो युद्ध गर्नमा निपुण थिए। 37 अनि यर्दनपारिपट्टिका रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुलबाट एक लाख बीस हजार थिए, जससित युद्धका निम्ति लड़ाइँका सबै किसिमका हातहतियारहरू थिए। 38 यी सबै आफ्नो युद्ध-पङ्क्तिलाई नछोड़्ने योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउन भनी सिद्ध हृदयले हेब्रोनमा आए; अनि इस्राएलका बाँकी सबैजना पनि दाऊदलाई राजा बनाउनमा एउटै मनका थिए।
39 अनि त्यहाँ उनीहरू खाँदै-पिउँदै दाऊदसित तीन दिन बसे; किनकि उनीहरूका दाजुभाइहरूले उनीहरूका निम्ति तयार पारेका थिए। 40 अनि इस्साकार, जबूलून र नप्तालीसम्मका उनीहरूका छिमेकीहरूले पनि गधाहरू, ऊँटहरू, खच्चरहरू र गोरुहरूमाथि प्रशस्त मात्रामा खानेकुराहरू, मैदाका भोजन-वस्तुहरू, नेभाराका केकहरू, किसमिसका झुप्पाहरू, दाखमद्य र तेल, अनि गोरुहरू र भेड़ाबाख्राहरू ल्याए; किनकि इस्राएलमा हर्ष भइरहेको थियो।