दाऊद सारा इस्राएलमाथि राजा भए
11
तब सारा इस्राएल यसो भन्दै हेब्रोनमा दाऊदकहाँ भेला भए: “हेर्नुहोस्, हामी त तपाईंको हाड़ र तपाईंको मासु हौं! 2 अनि बितेको समयमा पनि शाऊल राजा हुनुहुँदा इस्राएललाई बाहिर डोर्याएर लैजानुहुने र भित्र ल्याउनुहुने तपाईं नै हुनुहुन्थ्यो; अनि परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई भन्नुभएको थियो: ‘तिमीले मेरो प्रजा इस्राएललाई गोठाला गर्नेछौ, र तिमी नै मेरो प्रजा इस्राएलमाथि शासक हुनेछौ।’” 3 तब इस्राएलका सबै बूढ़ा प्रधानहरू हेब्रोनमा राजाकहाँ आए; अनि दाऊदले हेब्रोनमा परमप्रभुको सामु उनीहरूसँग एउटा वाचा बाँधे। अनि शमूएलद्वारा भन्नुभएको परमप्रभुको वचनअनुसार उनीहरूले दाऊदलाई इस्राएलमाथि राजाको रूपमा अभिषेक गरे।4 अनि दाऊद र सारा इस्राएल यरूशलेममा अर्थात् यबूसमा गए, जहाँ त्यस देशका बासिन्दा यबूसीहरू थिए। 5 अनि यबूसका बासिन्दाहरूले दाऊदलाई भने: “तपाईं यसभित्र पस्न सक्नुहुनेछैन।” तर पनि दाऊदले सियोनको गढ़ी कब्जा गरे – त्यही दाऊदको शहर हो। 6 अनि दाऊदले भने: “जसकसैले पहिले यबूसीहरूलाई प्रहार गर्छ, त्यो प्रधान र कप्तान हुनेछ।” तब सरूयाका छोरा योआबले पहिले चढ़ाइ गरे, र प्रधान भए। 7 अनि दाऊद त्यस गढ़ीमा बसे; यसकारण तिनीहरूले त्यसको नाम दाऊदको शहर राखे। 8 अनि उनले मिल्लोदेखि त्यसको वरिपरि चारैतिर त्यो शहर निर्माण गरे; अनि बाँकी शहर योआबले मर्मत गरे। 9 यसरी दाऊद बढ़्दै गए र महान् बने; किनकि सेनाहरूका परमप्रभु उनको साथमा हुनुहुन्थ्यो।
दाऊदका शूरवीरहरू
10 अनि दाऊदका शूरवीर मानिसहरूका प्रधानहरू यिनीहरू थिए, जसले इस्राएलको विषयमा भनिएको परमप्रभुको वचनअनुसार दाऊदलाई राजा बनाउनलाई सारा इस्राएलसँग उनको राज्यमा उनको साथमा आफूलाई बलिया तुल्याए। 11 अनि दाऊदका शूरवीर मानिसहरूको संख्या यो हो; कप्तानहरूकाक प्रधान हक्मोनी याशोबामख थिए, जसले तीन सयको विरोधमा आफ्नो भाला उठाएर तिनीहरूलाई एकै समयमा मारेका थिए।
12 अनि उनको पछि अहोही दोदोका छोरा एलाजार थिए, जो तीनजना शूरवीर मानिसहरूमध्ये एक थिए। 13 तिनी दाऊदसँग पस-दम्मीममा थिए; अनि लड़ाइँ गर्नलाई पलिस्तीहरू त्यहाँ भेला भएका थिए, जहाँ जौले भरिएको एक टुक्रा जमिन थियो; अनि मानिसहरू पलिस्तीहरूको सामुबाट भागे। 14 तर त्यस जमिनको बीचमा खड़ा भएर उनीहरूले त्यो जमिन बचाए, र पलिस्तीहरूलाई मारे; अनि परमप्रभुले उनीहरूलाई ठूलो छुटकारा दिएर बचाउनुभयो।
15 अनि तीसजना कप्तानहरूमध्ये तीनजना तल चट्टानमा, दाऊदकहाँ अदुल्लामको गुफामा गए; अनि पलिस्तीहरूको सेनाले रेपाईहरूको बेंसीमा छाउनी हाल्यो। 16 अनि त्यस बेला दाऊद एउटा गढ़ीमा थिए, र त्यस बेला पलिस्तीहरूको सेना-चौकी बेतलेहेममा थियो। 17 अनि दाऊदले चाहना गरेर भने: “अहो, कसैले मलाई बेतलेहेमको इनारको पानी पिउन दिए त, जो मूलढोकानिर छ!” 18 तब ती तीनजना पलिस्तीहरूको सेनाको बीचबाट छिरेर गए, मूलढोकानिर भएको बेतलेहेमको इनारबाट पानी उघाए र त्यो लिएर दाऊदकहाँ ल्याए; तर दाऊदले त्यसबाट पिउन मानेनन्, तर त्यो परमप्रभुलाई चढ़ाएग; 19 अनि उनले भने: “के म यस्तो काम गरूँ? मेरा परमेश्वरबाट मेरा निम्ति यो कदापि नहोस्! के म आफ्नो ज्यान खतरामा हालिदिने यी मानिसहरूको रगत पिऊँ? किनकि आफ्ना ज्यान खतरामा हालेर यिनीहरूले यो पानी ल्याएका हुन्।” यसैले उनले त्यो पिउन मानेनन्। यस्ता-यस्ता कामहरू ती तीन शूरवीरहरूले गरे।
20 अनि योआबका भाइ अबिशैचाहिँ ती तीनजनाका प्रधान थिए; किनकि तिनले आफ्नो भाला तीन सयको विरोधमा उठाए, र तिनीहरूलाई मारे; यसरी तिनले ती तीनजनाको बीचमा नाम कमाए। 21 ती तीनजनामा तिनीचाहिँ अरू दुईजनाभन्दा बढ़ी आदरणीय थिए; यसैले तिनी उनीहरूका कप्तान भए। तर पनि तिनी पहिलेका तीनजनाको स्तरमा आइपुगेनन्।
22 यहोयादाका छोरा बनायाह कब्सेलका एकजना वीर मानिसका छोरा थिए, जसले ठूला-ठूला कामहरू गरेका थिए; तिनले मोआबका दुईजना सिंहजस्ता मानिसहरूलाई मारे। अनि हिउँ परेको दिनमा तिनी तल गए, र खाड़लको बीचमा एउटा सिंह मारे। 23 अनि तिनले पाँच हात उचाइ भएको एकजना ठूलो कदको मिस्रीलाई मारे। अनि त्यस मिस्रीको हातमा तानको डण्डाजत्रो भाला थियो। अनि बनायाह एउटा लौरो लिएर तल त्यसकहाँ गए, त्यस मिस्रीको हातबाट त्यो भाला खोसे र त्यसलाई त्यसकै भालाले मारिदिए। 24 यस्ता-यस्ता कामहरू यहोयादाका छोरा बनायाहले गरे, र तीनजना शूरवीरहरूको बीचमा तिनको नाम चल्यो। 25 हेर, तिनी तीसजनाभन्दा बढ़ी आदरणीय थिए, तर तिनी पहिलेका तीनजनाको स्तरमा पुगेनन्। अनि दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि अधिकारीको रूपमा नियुक्त गरे।
26 अनि सेनाहरूका शूरवीरहरू यिनीहरू थिए: योआबका भाइ असाहेल, बेतलेहेमका दोदोका छोरा एल-हानान, 27 हरोरी शम्मोतघ, पलोनी हेलेस, 28 टेकोई इक्केशका छोरा इरा, अनातोती एबिएजेर, 29 हुशाती सिब्बकै, अहोही इलै, 30 नतोपाती महरै, नतोपाती बानाका छोरा हेलेदङ, 31 बिन्यामिनीहरूको गिबाका रिबैका छोरा इत्तै, पिरातोनी बनायाह, 32 गाशका खोलाहरूका हुरैच, अराबातीछ अबिएल, 33 बहुरिमी अज्मावेत, शाल्बोनी एल्यहबा, 34 गिजोनी हाशेमका छोराहरू: हरारी शागेका छोरा योनातान, 35 हरारी साकारकाज छोरा अहिआम, ऊरका छोरा एलिपाल, 36 मकेराती हेपेर, पलोनी अहियाह, 37 कर्मेली हेस्रो, एज्बैका छोरा नारै, 38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार, 39 अम्मोनी सेलेक, सरूयाका छोरा योआबका हतियार बोक्ने बेरोती नहरै, 40 येतेरी इरा, येतेरी गारेब, 41 हित्ती ऊरियाह, अहलैका छोरा जाबाद, 42 रूबेनीहरूका कप्तान रूबेनी शिजाका छोरा अदिना र तिनीसित तीसजना, 43 माकाका छोरा हानान र मित्नी योशापात, 44 अश्तराती उज्जियाह, अरोएरी होतामका छोराहरू शामा र यइएल, 45 शिम्रीका छोरा यदिअएल, तिनका भाइ तिजी योहा, 46 महावी एलिएल, एल्नामका छोराहरू यरिबै र योशब्याह, अनि मोआबी यित्मा, 47 एलिएल, ओबेद र मसोबायाही यासिएल।