राजा शाऊलको मृत्यु
10
अनि पलिस्तीहरूले इस्राएलको विरोधमा लड़ाइँ गरे; अनि इस्राएलका मानिसहरू पलिस्तीहरूको सामुबाट भागे र गिल्बोअ पहाड़मा मारिएर लड़े। 2 अनि पलिस्तीहरूले शाऊल र तिनका छोराहरूलाई खूबै पिछा गरे; अनि पलिस्तीहरूले शाऊलका छोराहरू योनातान, अविनादाब र मल्किशूअलाई मारे। 3 अनि शाऊलको विरोधमा घमासान लड़ाइँ चल्यो। धनुर्धारीहरूले तिनलाई हिर्काए; अनि तिनी ती धनुर्धारीहरूद्वारा घाइते भए। 4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने: “तिम्रो तरवार थुत, र त्यसैले मलाई वारपार हुनेगरी घोचिदेऊ, नत्र ता यी खतना नभएकाहरू आएर मेरो अपकार गर्लान्!” तर तिनको हतियार बोक्नेले मानेन; किनकि ऊ साह्रै डराएका थियो। यसैले शाऊलले त्यो तरवार लिए, र त्यसैमाथि ढले। 5 अनि जब तिनको हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब ऊ पनि त्यसरी नै आफ्नो तरवारमाथि ढलेर मर्यो। 6 यसरी शाऊल र तिनका तीनजना छोराहरू मरे, अँ, तिनको सारा घराना एकसाथ मरे। 7 अनि जब बेंसीमा भएका सबै इस्राएलका मानिसहरूले मानिसहरूक भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्ना शहरहरू छोड़े, र भागे; अनि पलिस्तीहरू आए, र तिनमा बसोबास गरे।8 अनि भोलिपल्ट यस्तो भयो: जब पलिस्तीहरू मारिएकाहरूलाई खोलखाल पारेर फुकाल्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बोअ पहाड़मा ढलेका भेट्टाए। 9 अनि जब तिनीहरूले तिनलाई खोलखाल पारे, तब तिनीहरूले तिनको टाउको र तिनका हतियारहरू लगे, अनि पलिस्तीहरूको देशमा चारैतिर आफ्ना मूर्तिहरू र मानिसहरूलाई त्यो खबर सुनाउन पठाए। 10 अनि तिनीहरूले तिनका हतियारहरू आफ्ना देवताहरूको भवनमा राखे, र तिनको टाउको दागोनको मन्दिरमा ठोकिदिए। 11 अनि जब सारा याबेश-गिलादले पलिस्तीहरूले शाऊललाई जे गरेका थिए, त्यो सबै सुन्यो, 12 तब सबै साहसी मानिसहरू उठे, अनि शाऊलको शरीर र तिनका छोराहरूका शरीरहरू उठाएर तिनीहरूलाई याबेशमा ल्याए, अनि उनीहरूका हड्डीहरू याबेशमा त्यस फलाँटको रूखमुनि गाड़े, र सात दिन उपवास बसे।
13 यसरी शाऊलले पालन नगरेको परमप्रभुको वचनको सम्बन्धमा परमप्रभुको विरोधमा गरेको आफ्नो अपराधले गर्दा, साथै भूतप्रेत खेलाउनेबाट सोधखोज गर्नलाई तिनले त्यससित सल्लाह मागेको हुनाले पनि तिनी मरे। 14 अनि तिनले परमप्रभुबाट सोधखोज गरेनन्; यसकारण उहाँले तिनलाई मार्नुभयो, र राज्यचाहिँ यिशाईका छोरा दाऊदकहाँ सार्नुभयो।