ख्रीष्ट येशू विश्रामदिनका प्रभु हुनुहुन्छ
मर्कूस २:२३-२८; लूका ६:१-५
12
त्यस बेला येशू विश्रामदिनमा अन्नका बारीहरूबाट भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाएका थिए, र उनीहरूले अन्नका बाला टिप्न र खान लागे। 2 तर यो देखेर फरिसीहरूले उहाँलाई भने: “हेर्नुहोस्, विश्रामदिनमा जुन कुरा गर्नु उचित छैन, त्यही कुरा तपाईंका चेलाहरूले गरिरहेका छन्।” 3 तर उहाँले तिनीहरूलाई भन्नुभयो: “जब दाऊद आफै र उनीसित भएकाहरू भोकाए, तब उनले के गरे, के तिमीहरूले पढ़ेका छैनौ? 4 कसरी परमेश्वरको भवनभित्र पसेर उनले भेटीका रोटीहरू खाए, जुनचाहिँ खानु न ता उनलाई, न उनीसँग भएकाहरूलाई, तर पूजाहारीहरूलाई मात्र उचित थियो? 5 अथवा विश्रामदिनहरूमा कसरी पूजाहारीहरूले मन्दिरमा विश्रामदिन अपवित्र तुल्याउँछन्, र पनि निर्दोष ठहरिन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढ़ेका छैनौ? 6 तर म तिमीहरूलाई भन्दछु, यहाँ एकजना छन्, जो मन्दिरभन्दा महान् छन्। 7 तर ‘म दया चाहन्छु, बलिदान होइन’ भन्ने कुराको अर्थ तिमीहरूले जानेका भए तिमीहरूले यी निर्दोषीहरूलाई दोषी ठहराउनेथिएनौ। 8 किनकि मानिसका पुत्र विश्रामदिनका पनि प्रभु हुन्!”विश्रामदिनमा प्रभु येशूले निको पार्नुभयो
मर्कूस ३:१-५; लूका ६:६-११
9 अनि त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरभित्र पस्नुभयो। 10 अनि हेर, त्यहाँ सुकेको हात भएको एकजना मानिस थियो। अनि उहाँलाई दोष लाउन पाऔं भनेर तिनीहरूले यसो भन्दै उहाँलाई सोधे: “के विश्रामदिनहरूमा निको पार्नु उचित छ?” 11 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको बीचमा को यस्तो मानिस होला, जससँग एउटै भेड़ा होला, र विश्रामदिनमा त्यो खाड़लभित्र खस्यो भने त्यसलाई समातेर बाहिर ननिकाल्ला? 12 त्यसो त, मानिस भेड़ाभन्दा कति धेरै उत्तम हुन्छ; यसकारण विश्रामदिनहरूमा भलाइ गर्नु उचित छ।” 13 तब उहाँले त्यस मानिसलाई भन्नुभयो: “तिम्रो हात पसार!” अनि त्यसले पसार्यो, र त्यो अर्कोजस्तै स्वस्थ पारियो। 14 तब फरिसीहरू बाहिर निस्के, र यिनलाई हामी कसरी नाश पारौं भनी उहाँको विरोधमा मतो गरे। 15 तर यो कुरा थाहा पाएर येशू त्यहाँबाट निस्कनुभयो; अनि ठूला-ठूला भीड़हरू उहाँको पछि लागे; अनि उहाँले ती सबैलाई निको पार्नुभयो। 16 अनि तिनीहरूले उहाँलाई प्रकट नगरून् भनेर उहाँले तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, 17 भविष्यवक्ता यशैयाद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर:
18 ‘हेर, मेरा सेवक, जसलाई मैले चुनेको छु! मेरा प्रिय, जससँग मेरो प्राण अत्यन्त प्रसन्न छ! म उनीमाथि आफ्नो आत्मा राख्नेछु, अनि उनले अन्यजातिहरूलाई न्यायको प्रचार गर्नेछन्। 19 न उनले झगड़ा गर्नेछन् न चिच्च्याउनेछन्, न ता उनको सोर कसैले सड़कहरूहुँदो सुन्नेछ। 20 किच्याइएको निगालो उनले भाँच्नेछैनन्, र धूवाँ निस्किरहेको सलेदो उनले निभाउनेछैनन्, जबसम्म उनले न्यायलाई विजयमा ल्याइपुर्याउँदैनन्। 21 अनि उनकै नाममा अन्यजातिहरूले आशा राख्नेछन्।’क
22 तब एकजना दुष्ट आत्मा लागेको, अन्धा र गुँगा मानिस उहाँकहाँ ल्याइयो; अनि उहाँले त्यसलाई निको पार्नुभयो, यहाँसम्म कि त्यस अन्धा र गुँगा मानिसले बोल्यो र देख्यो पनि। 23 अनि सबै मानिसहरू छक्क परे, र भने: “के यहाँ नै दाऊदका पुत्र हुनुहुन्न र?”
पवित्र आत्माको निन्दा
मर्कूस ३:२२-३०; लूका ११:१४-२३
24 तर फरिसीहरूले यो सुनेर भने: “यस मानिसले दुष्ट आत्माहरूको शासक बेल्जेबुलद्वारा विना दुष्ट आत्माहरू निकाल्दैन।” 25 अनि तिनीहरूको विचारहरू थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो: “आपसमा फाटो भएको हरेक राज्य उजाड़ हुन्छ, र आपसमा फाटो भएको हरेक शहर वा घर पनि टिक्नेछैन। 26 अनि शैतानले शैतानलाई निकाल्छ भने त्यसको आपसमा फाटो भएको छ; तब त्यसको राज्य कसरी टिक्ला त? 27 अनि म बेल्जेबुलद्वारा दुष्ट आत्माहरू निकाल्छु भने तिमीहरूका छोराहरूले चाहिँ कोद्वारा निकाल्छन्? यसकारण तिनीहरू तिमीहरूका न्यायकर्ता हुनेछन्। 28 तर परमेश्वरका आत्माद्वारा म दुष्ट आत्माहरू निकाल्छु भने त परमेश्वरको राज्य तिमीहरूकहाँ आइपुगेको छ। 29 अथवा कसैले बलियो मानिसलाई पहिले बाँधेन भने यसले त्यसको घरभित्र पसेर त्यसका मालसामान कसरी लुट्न सक्छ र? अनि त्यसपछि यसले त्यसको घर लुट्नेछ। 30 जो मसँग छैन, त्यो मेरो विरोधमा छ; अनि जसले मसँग बटुल्दैन, त्यसले छरपुस्ट पार्दछ। 31 यसकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूलाई हर किसिमको पाप र ईश्वरनिन्दा क्षमा गरिनेछ, तर पवित्र आत्माको विरोधमा गरिएको निन्दाचाहिँ मानिसहरूलाई क्षमा गरिनेछैन। 32 अनि जसले मानिसका पुत्रको विरोधमा वचन बोल्दछ, त्यसलाई त्यो क्षमा गरिनेछ; तर जसले पवित्र आत्माको विरोधमा बोल्दछ, त्यसलाई त्यो क्षमा गरिनेछैन, न यस संसारमाख, न आउनेवाला संसारमाख। 33 कि त रूखलाई असल र त्यसको फललाई पनि असल पार, कि त रूखलाई खराब र त्यसको फललाई पनि खराब पार; किनभने फलबाट रूखलाई चिनिन्छ।
34 हे विषालु साँपका सन्तानहो, तिमीहरू खराब भएर कसरी असल कुराहरू बोल्न सक्छौ? किनकि हृदयको भरपूरीबाट नै मुखले बोल्दछ। 35 असल मानिसले हृदयको असल ढुकुटीबाट असल कुराहरू निकाल्छ र दुष्ट मानिसले दुष्ट ढुकुटीबाट दुष्ट कुराहरू निकाल्छ। 36 तर म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा, जुनचाहिँ मानिसहरूले बोल्लान्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनेछन्। 37 किनभने तिमी आफ्नै वचनहरूद्वारा धर्मी ठहरिनेछौ र आफ्नै वचनहरूद्वारा दोषी ठहरिनेछौ।”
भविष्यवक्ता योनाको चिन्ह
लूका ११:२९-३२; योना १:१७
38 तब शास्त्री र फरिसीहरूमध्ये कतिले यसो भन्दै जवाफ दिए: “गुरुज्यू, हामी तपाईंबाट कुनै चिन्ह देख्न चाहन्छौं।” 39 तर उहाँले तिनीहरूलाई जवाफ दिई भन्नुभयो: “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ; तर भविष्यवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह यसलाई दिइनेछैन। 40 किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, त्यसरी नै मानिसका पुत्र पनि पृथ्वीको पेटभित्रग तीन दिन र तीन रात हुनेछन्। 41 न्याय हुँदा निनवेका मानिसहरू यस पुस्तासँग उभिनेछन्, र तिनीहरूले यसलाई दोषी ठहराउनेछन्; किनकि योनाको प्रचारमा तिनीहरूले पश्चात्ताप गरे; अनि हेर, योनाभन्दा महान् यहाँ छन्। 42 न्याय हुँदा दक्षिणकी रानी यस पुस्तासँग उभिनेछिन्, र तिनीले यसलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सुलेमानको बुद्धि सुन्नलाई पृथ्वीका छेउहरूबाट आइन्; अनि हेर, सुलेमानभन्दा महान् यहाँ छन्।
43 अशुद्ध आत्मा मानिसबाट निस्केपछि, त्यो विश्राम खोज्दै सुक्खा ठाउँहरूहुँदो हिँड़्छ, र केही पाउँदैन। 44 तब त्यसले भन्छ: ‘म आफ्नै घरमा फर्कनेछु, जहाँबाट म निस्केर आएँ’; अनि जब त्यो आउँछ, तब त्यसले यसलाई रित्तो, बढ़ारिएको र सजाइएको भेट्टाउँछ। 45 तब त्यो गएर आफूभन्दा बढ़ी दुष्ट अरू सातवटा आत्माहरू साथमा ल्याउँछ, र तिनीहरू भित्र पसेर त्यहाँ वास गर्छन्; अनि त्यस मानिसको पछिल्लो दशाचाहिँ अघिल्लोभन्दा खराब हुनेछ। यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”
एउटा नयाँ सम्बन्ध
मर्कूस ३:३१-३५; लूका ८:१९-२१
46 उहाँले अझै पनि भीड़हरूसँग कुरा गरिरहनुभएकै थियो, त हेर, उहाँकी आमा र उहाँका भाइहरू उहाँसँग कुरा गर्ने इच्छा गर्दै बाहिर उभिरहेका थिए। 47 तब एकजनाले उहाँलाई भन्यो: “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग कुरा गर्ने इच्छा गर्दै बाहिर उभिरहेका छन्।” 48 तर उहाँले जवाफ दिँदै उहाँसँग बोल्नेलाई भन्नुभयो: “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?” 49 अनि उहाँले आफ्नो हात आफ्ना चेलाहरूतिर फैलाएर भन्नुभयो: “हेर, मेरी आमा र मेरा भाइहरू! 50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ, उही मेरो भाइ, बहिनी र आमा हुन्।”