मर्कूसको सुसमाचार
बप्‍तिस्‍मा दिने यूहन्‍नाको सेवा
मत्ती ३:१-१२; लूका ३:१-२०; यूहन्‍ना १:६-८; यूहन्‍ना १:१५-३७
1
परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टको सुसमाचारको शुरु, 2 जस्तो भविष्यवक्ताहरूमा लेखिएको छ:
‘हेर, म आफ्ना दूतलाई तिम्रो सम्मुख पठाउँछु, जसले तिम्रो अघि तिम्रो बाटो तयार पार्नेछन्।’ 3 ‘उजाड़स्थानमा कराइरहनेको आवाज: “परमप्रभुको* बाटो तयार पार, उहाँका गोरेटाहरू सीधा बनाओ!” ’
4 यूहन्‍ना उजाड़स्थानमा बप्‍तिस्‍मा दिँदै र पापहरूको क्षमाका निम्ति पश्‍चात्तापको बप्‍तिस्‍माको प्रचार गर्दै आए। 5 अनि सारा यहूदिया देश र यरूशलेमकाहरू तिनीकहाँ गए, र आ-आफ्ना पाप स्वीकार गर्दै सबैजनाले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्‍मा लिए। 6 अनि यूहन्‍नाले ऊँटको रौंको वस्त्र र आफ्नो कम्मरमा छालाको पेटी लगाएका थिए; अनि तिनले सलह र वनमह खान्थे, 7 र यसो भन्दै प्रचार गर्थे: “मपछि मभन्दा शक्तिशाली एकजना आउनुहुन्छ, जसका जुत्ताको फिता निहुरेर फुकाउने लायकको म छैनँ। 8 साँच्‍चै मैले त तिमीहरूलाई पानीमा बप्‍तिस्‍मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्‍मा दिनुहुनेछ।”
प्रभु येशूको बप्‍तिस्‍मा
मत्ती ३:१३-१७; लूका ३:२१-२२
9 अनि ती दिनहरूमा यस्तो भयो: येशू गालीलको नासरतबाट आउनुभयो, र उहाँले यूहन्‍नाद्वारा यर्दनमा बप्‍तिस्‍मा लिनुभयो। 10 अनि पानीबाट माथि निस्कनसाथ उहाँले स्वर्ग खोलिएको र आत्मालाई ढुकुरझैं आफूमाथि ओर्लंदै गर्नुभएको देख्‍नुभयो। 11 अनि स्वर्गबाट एउटा वाणी आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जससँग म अत्यन्तै प्रसन्‍न छु।”
12 अनि तुरुन्तै आत्माले उहाँलाई उजाड़स्थानमा लैजानुभयो। 13 अनि उहाँ त्यहाँ, उजाड़स्थानमा शैतानद्वारा परीक्षा गरिँदै चालीस दिन रहनुभयो, र उहाँ वनपशुहरूसित रहनुभयो, अनि स्वर्गदूतहरूले उहाँको सेवा गरे। 14 अब यूहन्‍नाको पक्राउ भएपछि येशू परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै गालीलमा आउनुभयो, 15 र उहाँले भन्‍नुभयो: “समय पूरा भएको छ, अनि परमेश्‍वरको राज्य नजिकै आएको छ; पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर!”
प्रभु येशूका प्रथम चेलाहरू
मत्ती ४:१८-२२; लूका ५:१-११
16 अब उहाँ गालीलको समुद्रको किनारमा हिँड़्‍दै गर्नुहुँदा उहाँले शिमोन र उनका दाजु अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो; किनकि उनीहरू मछुवा थिए। 17 अनि येशूले उनीहरूलाई भन्‍नुभयो: “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा हुने तुल्याउनेछु।” 18 अनि तुरुन्तै उनीहरूले आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे। 19 अनि त्यहाँबाट अलि पर गएपछि उहाँले जब्दीका छोरा याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो, जसले डुङ्गामा जालहरू तुनिरहेका थिए। 20 अनि तुरुन्तै उहाँले उनीहरूलाई बोलाउनुभयो; अनि आफ्ना बुबा जब्दीलाई डुङ्गामा मजदुरहरूको साथमा छोड़ेर उनीहरू उहाँको पछि हिँड़े।
कपर्नहुममा प्रभु येशूले अशुद्ध आत्मा निकाल्‍नुभयो
लूका ४:३१-३७
21 अनि उहाँहरू कपर्नहुममा जानुभयो, अनि तुरुन्तै विश्रामदिनमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। 22 अनि उहाँको शिक्षामा तिनीहरू छक्‍कै परे; किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन, तर अधिकार हुनेले जस्तै तिनीहरूलाई शिक्षा दिनुहुन्थ्यो। 23 अनि तिनीहरूको सभाघरमा अशुद्ध आत्मा लागेको एकजना मानिस थियो; र त्यो यसो भन्दै करायो: 24 “हे नासरतका येशू, हामीलाई छोड़िदिनुहोस्! तपाईंसँग हाम्रो के काम छ र? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ, म तपाईंलाई चिन्दछु, हे परमेश्‍वरका पवित्र जन!” 25 अनि येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो: “चुप लाग्, र त्यसबाट निस्की!” 26 अनि त्यसलाई मड़ारमुडुर पारेर र ठूलो सोरले चिच्‍च्याएर त्यो अशुद्ध आत्मा त्यसबाट निस्क्यो। 27 अनि तिनीहरू सबै छक्‍कै परे, यहाँसम्म कि तिनीहरूले यसो भन्दै आपसमा सोधासोध गरे: “यो के हो? यो कुन नयाँ शिक्षा हो? किनकि अधिकारसहित उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा पालन गर्छन्।” 28 अनि तुरुन्तै उहाँको कीर्ति गालीलको चारैतिर सारा मुलुकभरि फैलियो।
पत्रुसकी सासू र अरू धेरै मानिसहरू निको पारिए
मत्ती ८:१४-१७; लूका ४:३८-४४
29 अनि सभाघरबाट निस्कनसाथ उहाँहरू याकूब र यूहन्‍नासित शिमोन र अन्द्रियासको घरमा पस्‍नुभयो। 30 तर शिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, अनि तुरुन्तै तिनीहरूले उहाँलाई तिनको विषयमा सुनाए। 31 अनि उहाँ तिनीकहाँ आउनुभयो र तिनको हात समातेर तिनलाई उठाउनुभयो, अनि तुरुन्तै ज्वरोले तिनलाई छोड़िहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्।
32 अनि बेलुका, घाम अस्ताएपछि तिनीहरूले सबै बिरामीहरूलाई र दुष्‍ट आत्मा लागेकाहरूलाई उहाँकहाँ ल्याए। 33 अनि सारा शहर नै ढोकामा भेला भएको थियो। 34 अनि उहाँले विभिन्‍न प्रकारका रोगहरूद्वारा बिरामी भएका धेरैजनालाई निको पार्नुभयो र अनेकौं दुष्‍ट आत्माहरू निकाल्नुभयो; तर उहाँले दुष्‍ट आत्माहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे।
35 अनि बिहान, उज्यालो हुनुभन्दा धेरै पहिले नै उठेर उहाँ बाहिर निस्कनुभयो र एउटा एकान्त स्थानमा जानुभयो, र त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। 36 अनि शिमोन र उनको साथमा भएकाहरू उहाँको पछि लागे। 37 अनि उहाँलाई भेट्टाएपछि तिनीहरूले उहाँलाई भने: “सबैले तपाईंलाई खोजिरहेका छन्।” 38 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “लौ, हामी अरू-अरू गाउँहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गरूँ; किनकि यसैका लागि म निस्की आएको हुँ।” 39 अनि सारा गालीलभरि उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो र दुष्‍ट आत्माहरू निकाल्नुभयो।
एकजना कोरी शुद्ध पारियो
मत्ती ८:२-४, लूका ५:१२-१४
40 अनि एकजना कोरी उहाँलाई विन्‍ती गर्दै र उहाँको सामु घुँड़ा टेक्दै र उहाँलाई यसो भन्दै उहाँकहाँ आयो: “तपाईंले इच्छा गर्नुभयो भने तपाईंले मलाई शुद्ध पार्न सक्नुहुन्छ।” 41 अनि येशूले टिठ्याएर हात बढ़ाई त्यसलाई छुनुभयो र त्यसलाई भन्‍नुभयो: “म इच्छा गर्दछु, तिमी शुद्ध होऊ!” 42 अनि उहाँले भन्‍नुभएपछि तुरुन्तै कोर त्यसबाट हटिहाल्यो, र त्यो शुद्ध भयो। 43 अनि त्यसलाई कड़ा आज्ञा दिएर उहाँले त्यसलाई तुरुन्तै पठाइहाल्नुभयो, 44 र त्यसलाई भन्‍नुभयो: “हेर, कसैलाई केही कुरा नभन्‍नू; तर जाऊ, आफूलाई पूजाहारीकहाँ देखाऊ, र तिनीहरूका निम्ति साक्षी हुनलाई मोशाले आज्ञा गरेका थोकहरू तिम्रो शुद्धिका निम्ति चढ़ाऊ!” 45 तर गएर त्यसले खूबै प्रचार गर्न र त्यो कुरा चारैतिर फैलाउन थाल्यो; यहाँसम्म कि उहाँ फेरि शहरभित्र खुल्‍लमखुल्‍ला पस्‍न सक्नुभएन, तर उहाँ बाहिर एकान्त ठाउँहरूमा रहनुभयो, अनि चारैतिरबाट तिनीहरू उहाँकहाँ आए।