लूकाको सुसमाचार
1
हामीहरूको बीचमा पूरा निश्‍चयतासित विश्‍वास गरिएका कुराहरूको विषयमा क्रमैसँग बयान दिने काममा धेरैजनाले हात हालेका हुनाले 2 – जसरी शुरुदेखि नै आफ्नै आँखाले देख्‍नेहरूले र वचनका सेवकहरूले ती कुराहरू हामीलाई सुम्पिदिए – 3 मलाई पनि, हे माननीय थियोफिलस, पहिलेदेखिकै सबै कुराहरूको पक्‍का ज्ञान प्राप्‍त भएको हुनाले तपाईंका लागि क्रमैसँग लेखिदिन असल लाग्यो, 4 यस उद्देश्यले कि जुन कुराहरूको विषयमा तपाईंले शिक्षा पाइसक्नुभएको छ, ती पक्‍का रहेछन् भनी तपाईंलाई थाहा होस्।
बप्‍तिस्‍मा दिने यूहन्‍नाको जन्मको विषयमा भविष्यवाणी
5 यहूदियाका राजा हेरोदको समयमा जकरिया नाम भएका एकजना पूजाहारी थिए, जो अबियाको दलका थिए; अनि तिनकी पत्‍नी हारूनको वंशकी थिइन्, र उनको नाम इलीशिबा थियो। 6 अनि ती दुवैजना परमेश्‍वरको दृष्‍टिमा धर्मी थिए, अनि प्रभुका* सबै आज्ञा र विधिहरूमा निर्दोष भई हिँड़्थे। 7 अनि तिनीहरूको कुनै सन्तान थिएन; किनकि इलीशिबा बाँझी थिइन्, र ती दुवैजनाको उमेर ढल्किसकेको थियो।
8 अनि यस्तो भयो: जब तिनले आफ्नो दलको पालोमा परमेश्‍वरको सामु पूजाहारीको सेवा गरिरहेका थिए, 9 तब पूजाहारीको सेवाको रीतिअनुसार गोला हाल्दा प्रभुको* मन्दिरभित्र पसेर धूप बाल्ने काम तिनलाई पर्‍यो। 10 अनि धूप चढ़ाइएको समयमा मानिसहरूको सारा भीड़ले बाहिर प्रार्थना गरिरहेको थियो। 11 अनि तिनीकहाँ प्रभुका* एकजना दूत धूपवेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। 12 अनि यिनलाई देखेर जकरिया आत्तिए र भयभीत भए। 13 तर यी स्वर्गदूतले तिनलाई भने: “हे जकरिया, नडराऊ; किनकि तिम्रो प्रार्थना सुनिएको छ। अनि तिम्री पत्‍नी इलीशिबाले तिम्रा निम्ति एउटा छोरा जन्माउनेछिन्, र तिमीले उनको नाम यूहन्‍ना राख्‍नू। 14 अनि तिमीलाई हर्ष र आनन्द हुनेछ, र उनको जन्ममा धेरैजना रमाउनेछन्। 15 किनभने उनी प्रभुको* दृष्‍टिमा महान् हुनेछन्, अनि उनले न ता दाखमद्य, न मदिरा पिउनेछन्। अनि उनी आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिएका हुनेछन्। 16 अनि उनले इस्राएलका सन्तानमध्ये धेरैलाई परमप्रभु* तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्। 17 अनि बुबाहरूका हृदयहरू छोराछोरीहरूकहाँ फिराउनलाई र आज्ञापालन नगर्नेहरूलाई धर्मी जनहरूको बुद्धितिर फर्काउनलाई, साथै परमप्रभुका* निम्ति तयार भएको एउटा निज जाति तयार पार्नलाई एलियाका आत्मा र शक्तिमा उनी उहाँको अघि-अघि जानेछन्।” 18 अनि जकरियाले यी स्वर्गदूतलाई भने: “केद्वारा म यो जानूँ? किनभने म त एउटा बूढ़ो मानिस हुँ, र मेरी पत्‍नीको उमेर ढल्किसकेको छ।” 19 अनि यी स्वर्गदूतले जवाफ दिँदै तिनलाई भने: “म परमेश्‍वरको सामु खड़ा रहने गब्रिएल हुँ, अनि तिमीसँग कुरा गर्न र तिमीलाई यो शुभ समाचार सुनाउन म पठाइएको हुँ। 20 अनि हेर, यी कुराहरू पूरा हुने दिनसम्म तिमी गुँगा रहनेछौ, र बोल्न सक्नेछैनौ; किनभने तिमीले मेरा कुराहरू विश्‍वास गरेनौ, जुन कुराहरू आफ्नै समयमा पूरा हुनेछन्।” 21 अनि मानिसहरूले जकरियालाई पर्खिरहेका थिए, र तिनले मन्दिरभित्र ढिलो गरिरहेकोमा तिनीहरू छक्‍कै परे। 22 अनि बाहिर निस्केपछि तिनले तिनीहरूसँग बोल्न सकेनन्; र तिनले मन्दिरभित्र दर्शन देखेछन् भनी तिनीहरूले थाहा गरे; किनकि तिनले तिनीहरूलाई इशारा गरे, र गुँगा भइरहे।
23 अनि यस्तो भयो: आफ्नो सेवाका दिनहरू पूरा हुनसाथ तिनी आफ्नो घर गए। 24 अनि ती दिनहरूपछि तिनकी पत्‍नी इलीशिबाले गर्भधारण गरिन्, र यसो भन्दै आफूलाई पाँच महिनासम्म लुकाइन्: 25 “मानिसहरूको बीचबाट मेरो निन्दा हटाउनलाई प्रभुले* ममाथि दृष्‍टि लगाउनुभएका दिनहरूमा मसित यस प्रकारले व्यवहार गर्नुभएको छ।”
प्रभु येशूको जन्मको विषय भविष्यवाणी
26 अनि छैटौं महिनामा गब्रिएल स्वर्गदूत परमेश्‍वरपट्टिबाट गालीलको नासरत भनिने शहरमा एउटी कन्याकहाँ पठाइए, 27 जसको मगनी दाऊदको घरानाका यूसुफ नाम भएका मानिससँग भएको थियो; अनि ती कन्याको नाम मरियम थियो। 28 अनि यी स्वर्गदूत भित्र उनीकहाँ आए, र भने: “हे कृपाको पात्र, सलाम! प्रभु* तिमीसँग हुनुहुन्छ; स्त्रीहरूमा तिमी धन्य हौ!” 29 अनि यिनलाई देखेर यिनको कुराले उनी आत्तिइन्, र यो कस्तो किसिमको अभिवादन होला भनी उनले मनमनै गम्‍न लागिन्। 30 अनि यी स्वर्गदूतले उनलाई भने: “नडराऊ, मरियम; किनकि तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ। 31 अनि हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्‍नू। 32 उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ; अनि परमप्रभु* परमेश्‍वरले उहाँलाई उहाँका पिता दाऊदको सिंहासन दिनुहुनेछ। 33 अनि उहाँले याकूबको घरानामाथि सदा-सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।” 34 तब मरियमले यी स्वर्गदूतलाई भनिन्: “यो कसरी हुनेछ होला? किनकि म कुनै पुरुषलाई जान्दिनँ नै।” 35 अनि यी स्वर्गदूतले जवाफ दिएर उनलाई भने: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको सामर्थ्यले तिमीमाथि छाया पार्नेछ; यसैकारण तिमीबाट जन्मिनुहुने पवित्र जनचाहिँ ‘परमेश्‍वरका पुत्र’ कहलाइनुहुनेछ। 36 अनि हेर, तिम्री नातादार इलीशिबाले पनि तिनको बूढ़ेसकालमा एउटा छोरा गर्भधारण गरेकी छिन्; अनि यो तिनको, जो बाँझी कहलाइएकी थिइन्, छैटौं महिना हो। 37 किनभने परमेश्‍वरका निम्ति कुनै कुरा पनि असम्भव हुनेछैन।” 38 अनि मरियमले भनिन्: “हेर्नुहोस्, म प्रभुकी* दासी! तपाईंको वचनअनुसार नै मलाई होस्!” अनि स्वर्गदूत उनीकहाँबाट गए।
39 अनि ती दिनहरूमा मरियम उठेर हतार-हतार पहाड़ी मुलुकमा, यहूदाको एउटा शहरमा गइन्; 40 अनि जकरियाको घरभित्र पसेर उनले इलीशिबालाई अभिवादन गरिन्। 41 अनि यस्तो भयो: जब इलीशिबाले मरियमको अभिवादन सुनिन्, तब तिनको गर्भमा बालक उफ्र्‍यो, र इलीशिबा पवित्र आत्माले भरिइन्। 42 अनि तिनले ठूलो सोरले कराएर भनिन्: “तिमी स्त्रीहरूमा धन्य हौ, र तिम्रो गर्भको फल धन्य हुनुहुन्छ! 43 अनि यो मलाई कहाँबाट भयो, कि मेरा प्रभुकी आमा मकहाँ आइन्! 44 किनकि हेर, तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नसाथ बालक मेरो गर्भमा आनन्दले उफ्र्‍यो। 45 अनि जसले विश्‍वास गरिन्, तिनी धन्य हुन्; किनभने प्रभुबाट* तिनलाई भनिएका कुराहरू पूरा हुनेछन्।”
मरियमको स्तुतिगान
46 अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको* बढ़ाइ गर्दछ, 47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्‍वरमा आनन्दित भएको छ। 48 किनभने उहाँले आफ्नी दासीको नीच दशामाथि दृष्‍टि लगाउनुभएको छ; किनकि हेर, अबदेखि उसो सबै पुस्ताहरूले मलाई धन्य भन्‍नेछन्। 49 किनकि उहाँ जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरा निम्ति ठूला कुराहरू गर्नुभएको छ; अनि उहाँको नाम पवित्र छ। 50 अनि उहाँको डर मान्‍नेहरूमाथि उहाँको दया पुस्तौंपुस्तासम्म रहिरहन्छ। 51 उहाँले आफ्नो पाखुराले सामर्थ्य देखाउनुभएको छ; जसको हृदयको कल्पनामा घमण्ड हुन्छ, तिनीहरूलाई उहाँले तितरबितर पार्नुभएको छ। 52 उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट झार्नुभएको छ र नम्रहरूलाई उचाल्नुभएको छ। 53 उहाँले भोकाएकाहरूलाई असल कुराहरूले तृप्‍त पार्नुभएको छ र धनवान्‌हरूलाई रित्तै पठाउनुभएको छ। 54 आफ्नो दयाको सम्झनामा उहाँले आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; 55 जसरी उहाँले हाम्रा पितापुर्खाहरूलाई, अब्राहामलाई र उनको वंशलाई सदा-सर्वदा भन्‍नुभयो।” 56 अनि मरियम तिनीसित प्राय: तीन महिना बसिन्, र आफ्नो घर फर्किन्।
बप्‍तिस्‍मा दिने यूहन्‍नाको जन्म
57 अब इलीशिबाको जन्माउने समय पूरा भयो, र तिनले एउटा छोरा जन्माइन्। 58 अनि तिनीप्रति प्रभुले* कति ठूलो दया देखाउनुभयो, सो तिनका छिमेकीहरू र नातादारहरूले सुने; अनि तिनीहरू तिनीसित रमाए। 59 अनि यस्तो भयो: आठौं दिनमा तिनीहरू बालकको खतना गर्न आए; र तिनीहरूले उनका बुबाको नामअनुसार उनको नाम जकरिया राखे। 60 अनि उनकी आमाले जवाफ दिएर भनिन्: “होइन, तर उसको नाम यूहन्‍ना राखिनेछ।” 61 अनि तिनीहरूले तिनलाई भने: “तिम्रा नातादारहरूमा यस्तो नाम भएको कोही पनि छैन।” 62 अनि तिनीहरूले उनका बुबालाई ‘तिमी उसको के नाम राखिएको चाहन्छौ’ भनी इशारा गरे। 63 अनि तिनले एउटा लेख्‍ने पाटी मागे र ‘उसको नाम यूहन्‍ना हो’ भनी लेखिदिए; र तिनीहरू सबै छक्‍क परे। 64 अनि तुरुन्तै तिनको मुख खोलियो, र तिनको जिब्रो पनि, अनि परमेश्‍वरको प्रशंसा गर्दै तिनी बोले। 65 अनि उनीहरूको वरिपरि बस्‍नेहरू सबै डराए; र यहूदियाको सारा पहाड़ी मुलुकभरि नै यी सबै कुराहरूको चर्चा भयो। 66 अनि यी कुरा सुन्‍नेहरू सबैले ‘यो कस्तो किसिमको बालक हुन्छ होला!’ भन्दै ती कुराहरू आ-आफ्नो हृदयमा राखे। अनि प्रभुको* हात उनीसित थियो।
जकरियाको स्तुतिगान
67 अनि उनका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसो भन्दै भविष्यवाणी गरे: 68 “इस्राएलका परमप्रभु* परमेश्‍वर धन्य होऊन्; किनकि उहाँले आफ्ना निज जातिलाई भेट गर्नुभएको छ र छुटकारा दिनुभएको छ। 69 अनि आफ्ना सेवक दाऊदको घरानामा उहाँले हाम्रा निम्ति एउटा मुक्तिको सिङ खड़ा गर्नुभएको छ – 70 जसरी उहाँले संसारको शुरुदेखि हुँदै आएका आफ्ना पवित्र भविष्यवक्ताहरूका मुखद्वारा भन्‍नुभएको थियो – 71 हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैको हातबाट हामीलाई बचाउनलाई, 72 हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको दया देखाउनलाई र आफ्नो पवित्र वाचाको सम्झना गर्नलाई, 73 अर्थात्‌ त्यो शपथ, जुन शपथचाहिँ उहाँले हाम्रा पिता अब्राहामसँग खानुभयो, 74 हामीलाई त्यो दान दिनलाई, जसले गर्दा हाम्रा शत्रुहरूको हातबाट छुटकारा पाएर 75 हामीले आफ्नो सारा जीवनभरि उहाँको सामु पवित्रता र धार्मिकतामा विनाडर उहाँको सेवा गर्न सक्दछौं। 76 अनि हे बालक, तिमी परमप्रधानका भविष्यवक्ता भनिनेछौ; किनकि उहाँका बाटाहरू तयार पार्न तिमी परमप्रभुको* अघि-अघि जानेछौ; 77 उहाँको निज प्रजालाई उनीहरूका पापहरूको क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई, 78 जुन क्षमा हाम्रै परमेश्‍वरको कोमल कृपाद्वारा हुन्छ, जसद्वारा माथिबाटको बिहानको ज्योति हामीमाथि उदय भएको छ – 79 अन्धकार र मृत्युको छायामा बस्‍नेहरूलाई ज्योति दिनलाई, हाम्रा पाउहरू शान्तिको बाटोमा डोर्‍याउनलाई।”
80 अनि ती बालक बढ़्दै र आत्मामा बलिया हुँदै गए; र इस्राएलकहाँ देखा पर्ने दिनसम्म उनी उजाड़स्थानहरूमा रहिरहे।