यूहन्‍नाको सुसमाचार
1
शुरुमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्‍वर हुनुहुन्थ्यो। 2 उहाँचाहिँ शुरुमा परमेश्‍वरसँग हुनुहुन्थ्यो। 3 सबै कुराहरू उहाँद्वारा हुन आए, अनि हुन आएका कुराहरूमध्ये कुनै पनि उहाँविना हुन आएन। 4 उहाँमा जीवन थियो, अनि त्यो जीवन मानिसहरूको ज्योति थियो। 5 अनि त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकारले त्यसलाई बुझ्न सकेन। 6 परमेश्‍वरबाट पठाइएका एकजना मानिस थिए, जसको नाम यूहन्‍ना थियो। 7 सबैले उनीद्वारा विश्‍वास गरून् भनेर ज्योतिको विषयमा गवाही दिनलाई उनी साक्षीका निम्‍ति आए। 8 उनीचाहिँ त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको विषयमा गवाही दिन भनी उनी पठाइए। 9 साँचो ज्योति उहाँ हुनुहुन्थ्यो, जसले यस संसारमा आउने हरेक मानिसलाई उज्यालो पार्नुहुन्छ। 10 उहाँ संसारमा हुनुहुन्थ्यो, अनि उहाँद्वारा संसार हुन आयो, अनि संसारले उहाँलाई चिनेन। 11 उहाँ आफ्नैकहाँ आउनुभयो, र उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेनन्। 12 तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात्‌ तिनीहरूलाई, जसले उहाँको नाममाथि विश्‍वास गर्दछन्, 13 जो न ता रगतबाट, न ता शरीरको इच्छाबाट, न ता मानिसको इच्छाबाट, तर परमेश्‍वरबाट जन्मेका हुन्।
14 अनि वचन शरीर हुनुभयो, अनि हाम्रो माझमा अनुग्रह र सत्यताले पूर्ण भएर वास गर्नुभयो, अनि हामीले पिताका एक मात्र जन्माइएका पुत्रको महिमाजस्तो उहाँको महिमा देख्यौं। 15 यूहन्‍नाले उहाँकै विषयमा गवाही दिए, र यसो भन्दै कराए: “यहाँ उहाँ हुनुहुन्छ, जसको विषयमा मैले भनें, ‘जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा पहिलो हुनुभएको छ; किनभने उहाँ मभन्दा अघि हुनुहुन्थ्यो।’ ” 16 अनि उहाँकै परिपूर्णताबाट हामी सबैले पाएका छौं, अनि अनुग्रहमाथि अनुग्रह; 17 किनभने मोशाद्वारा व्यवस्था दिइएको थियो, तर अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए। 18 परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन; एक मात्र जन्माइएका पुत्र जो पिताको छातीमा हुनुहुन्छ, उहाँले नै पिताको विषयमा बताउनुभएको छ।
बप्‍तिस्‍मा दिने यूहन्‍नाको सेवा
मत्ती ३:१-१२, मर्कूस १:१-८, लूका ३:१-२०
19 अनि जब यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई ‘तिमी को हौ?’ भनी उनलाई सोध्‍न पठाए, तब यूहन्‍नाको साक्षी यही थियो, 20 अनि उनले स्वीकार गरे, अनि इन्कार गरेनन्, तर ‘मचाहिँ ख्रीष्‍ट होइनँ’ भनी स्वीकार गरे। 21 अनि तिनीहरूले उनलाई सोधे: “तब के? के तिमी एलिया हौ?” अनि उनले भने: “म होइनँ।” “के तिमी तिनै भविष्यवक्ता हौ त?” अनि उनले जवाफ दिए: “होइनँ।” 22 तब तिनीहरूले उनलाई भने: “तिमी को हौ त? र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्नो विषयमा के भन्छौ?” 23 उनले भने: “मचाहिँ भविष्यवक्ता यशैयाले भनेझैं ‘परमप्रभुको* बाटो सोझो पार’ भन्दै उजाड़स्थानमा कराउनेको आवाज हुँ।” 24 अनि ती पठाइएकाहरूचाहिँ फरिसीहरूमध्येका थिए। 25 अनि तिनीहरूले उनलाई सोधे, र उनलाई भने: “तिमी ख्रीष्‍ट होइनौ, एलिया वा तिनै भविष्यवक्ता पनि होइनौ भने तिमी किन बप्‍तिस्‍मा दिन्छौ त?” 26 यूहन्‍नाले तिनीहरूलाई यसो भन्दै जवाफ दिए: “म पानीमा बप्‍तिस्‍मा दिन्छु, तर तिमीहरूको माझमा एकजना खड़ा हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। 27 यहाँ उहाँ हुनुहुन्छ, जो मपछि आएर मभन्दा पहिलो हुनुभएको छ, जसको जुत्ताको फिता खोल्ने योग्यको म छैनँ।” 28 यी कुराहरू यर्दनपारि बेथबारामा घटेका हुन्, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए।
29 भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूकहाँ आइरहनुभएको देखे, र भने: “हेर, परमेश्‍वरको थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ। 30 यहाँ उहाँ हुनुहुन्छ, जसको विषयमा मैले भनें: ‘मपछि एकजना मानिस आउनुहुन्छ, जो मभन्दा पहिलो हुनुभएको छ; किनकि उहाँ मभन्दा अघि हुनुहुन्थ्यो।’ 31 अनि म उहाँलाई चिन्दिनथिएँ; तर उहाँचाहिँ इस्राएलकहाँ प्रकट होऊन् भनेर नै म पानीमा बप्‍तिस्‍मा दिँदै आएँ।” 32 अनि यूहन्‍नाले यसो भन्दै गवाही दिए: “मैले आत्मालाई ढुकुरझैं स्वर्गबाट ओर्लंदै आउनुभएको देखें, अनि उहाँ उहाँमाथि बस्‍नुभयो। 33 अनि म उहाँलाई चिन्दिनथिएँ, तर जसले मलाई पानीमा बप्‍तिस्‍मा दिन पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जसमाथि आत्मालाई ओर्लंदै गर्नुभएको र उहाँमाथि बस्दै गर्नुभएको देख्‍नेछौ, उहाँ नै पवित्र आत्माले बप्‍तिस्‍मा दिनुहुने हुनुहुन्छ।’ 34 अनि मैले देखें, र ‘यहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ’ भनी गवाही दिएको हुँ।”
35 फेरि भोलिपल्ट यूहन्‍ना र उनका चेलाहरूमध्ये दुईजना उभिरहेका थिए; 36 अनि येशूलाई हिँड़्‍दै गर्नुभएको देखेर उनले भने: “हेर, परमेश्‍वरका थुमालाई!” 37 अनि ती दुई चेलाहरूले उनले बोलेको सुने, र तिनीहरू येशूको पछि-पछि लागे। 38 तब येशू पछिल्तिर फर्किनुभयो र तिनीहरूलाई पछि-पछि आउँदै गरेका देखेर तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू के खोज्दछौ?” अनि तिनीहरूले उहाँलाई भने: “हे रब्बी, (जसको अर्थ ‘गुरुज्यू’ हो) तपाईं कहाँ बस्‍नुहुन्छ?” 39 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आओ, र हेर!” तिनीहरू आए, अनि उहाँ बस्‍नुभएको ठाउँ देखे, र त्यो दिन उहाँसँगै रहे; किनकि समय दस बजे भएको थियो। 40 यूहन्‍नाको कुरा सुन्‍ने र उहाँलाई पछ्याउने दुईजनामा एकजनाचाहिँ शिमोन पत्रुसका दाजु अन्द्रियास थिए। 41 तिनले पहिले आफ्नै भाइ शिमोनलाई भेटे र उनलाई भने: “हामीले मसीहलाई (जसको अर्थ ‘ख्रीष्‍ट’ हो) भेट्टाएका छौं।” 42 अनि तिनले उनलाई येशूकहाँ ल्याए। अनि येशूले उनलाई हेरेर भन्‍नुभयो: “तिमी योनाका छोरा शिमोन हौ। तिमी केफास (जसको अर्थ ‘पत्रुस’ हो) भनिनेछौ।”
43 भोलिपल्ट येशूले गालील जाने इच्छा गर्नुभयो, र फिलिपलाई भेट्टाउनुभयो, र तिनलाई भन्‍नुभयो: “मलाई पछ्याऊ!” 44 अब फिलिपचाहिँ अन्द्रियास र पत्रुसको शहर बेथसैदाका थिए। 45 फिलिपले नथनएललाई भेट्टाए र तिनलाई भने: “हामीले उहाँलाई भेट्टाएका छौं, जसको विषयमा मोशाले व्यवस्थामा लेखे, र भविष्यवक्ताहरूले लेखे, अर्थात्‌ यूसुफका पुत्र, नासरतका येशूलाई।” 46 अनि नथनएलले उनलाई भने: “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई भने: “आऊ, र हेर!” 47 येशूले नथनएललाई आफूकहाँ आइरहेका देख्‍नुभयो, र तिनको विषयमा भन्‍नुभयो: “हेर, साँच्‍चै एकजना इस्राएली, जसमा छल छैन।” 48 नथनएलले उहाँलाई भने: “तपाईंले मलाई कहाँबाट चिन्‍नुभयो?” येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो: “फिलिपले तिमीलाई बोलाउनुभन्दा पहिले, तिमी नेभाराको रूखमुनि हुँदा नै मैले तिमीलाई देखें।” 49 नथनएलले जवाफ दिएर उहाँलाई भने: “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ! तपाईं इस्राएलका राजा हुनुहुन्छ!” 50 येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो: “मैले तिमीलाई नेभाराको रूखमुनि देखें भनी तिमीलाई भनेकैमा तिमी विश्‍वास गर्छौ? तिमीले यीभन्दा ठूला कुराहरू देख्‍नेछौ।” 51 अनि उहाँले तिनलाई भन्‍नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु: अबदेखि उसो तिमीहरूले स्वर्ग खोलिएको र परमेश्‍वरका दूतहरूलाई मानिसका पुत्रमाथि उक्लँदै र ओर्लंदै गरेका देख्‍नेछौ।”