प्रेरितहरूका कामहरू
प्रभु येशूका प्रेरितहरूलाई दिइएको आज्ञा र उहाँको स्वर्गारोहण
1
हे थियोफिलस, येशूले जे गर्न र सिकाउन थाल्नुभयो, ती सबै कुराहरूको विषयमा मैले पहिलो बयान गरेको छु अर्थात् 2 उहाँ आफूले चुन्‍नुभएका ती प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा गर्नुभएपछि उहाँ माथि उठाइनुभएको दिनसम्मका कुराहरू। 3 उहाँले दुःख भोगिसक्नुभएपछि चालीस दिनसम्म तिनीहरूद्वारा देखिनुहुँदै र परमेश्‍वरको राज्यको विषयमा कुराहरू बताउनुहुँदै उहाँले अनेकौं अचूक प्रमाणहरूद्वारा उहाँले आफूलाई तिनीहरूकहाँ जीवित देखाउनुभयो। 4 अनि तिनीहरूसँग भेला भएर उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो: “यरूशलेम छोड़ेर नजानू, तर पिताको प्रतिज्ञालाई पर्खनू, जसको विषयमा तिमीहरूले मबाट सुनेका छौ; 5 किनभने यूहन्‍नाले साँच्‍चै पानीमा बप्‍तिस्‍मा दिए; तर अब केही दिनपछि तिमीहरूचाहिँ पवित्र आत्माले बप्‍तिस्‍मा गरिनेछौ।” 6 यसकारण जब तिनीहरू भेला भए, तब तिनीहरूले उहाँलाई यसो भन्दै सोधे: “हे प्रभु, के तपाईंले यही समयमा इस्राएललाई राज्य फिर्ता गराइदिनुहुन्छ?” 7 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “पिताले आफ्नै अधिकारमा राख्‍नुभएका समयहरू वा बेलाबखतहरूको विषयमा जान्‍ने काम तिमीहरूको होइन। 8 तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ, र यरूशलेममा, सारा यहूदिया र सामरियामा, अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरा निम्ति साक्षी हुनेछौ।” 9 अनि उहाँले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले हेर्दा-हेर्दै उहाँ माथि उठाइनुभयो, र एउटा बादलले उहाँलाई तिनीहरूको दृष्‍टिबाट ढाकिदियो। 10 अनि उहाँ माथि जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए; तब हेर, दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको छेउमा खड़ा भए; 11 अनि उनीहरूले भने: “हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुभएको यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको देख्यौ।”
मत्थियास प्रेरितको रूपमा चुनिन्छन्
12 तब तिनीहरू जैतुन-डाँड़ा भनिने पहाड़बाट यरूशलेममा फर्के, जुन पहाड़ यरूशलेमको नजिकै, एक विश्रामदिनको बाटोमा थियो। 13 अनि जब तिनीहरू भित्र आए, तब तिनीहरू माथिल्‍लो कोठामा गए, जहाँ पत्रुस, याकूब, यूहन्‍ना, अन्द्रियास, फिलिप, थोमा, बार्थोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, जेलोतेस भनिने शिमोन र याकूबका भाइ यहूदा बस्थे। 14 यी सबैजना एकै मनका भएर स्त्रीहरू, येशूकी आमा मरियम र उहाँका भाइहरूसित प्रार्थना र विन्‍ती चढ़ाउनमा निरन्‍तर लागिरहे।
15 अनि ती दिनहरूमा पत्रुसले चेलाहरूको बीचमा उभिएर भने: (जम्मा-जम्मी मानिसहरूको संख्या प्राय: एक सय बीस थियो) 16 “हे मानिसहरू र भाइहरूहो, येशूलाई पक्रनेहरूको अगुवा हुने यहूदाको विषयमा पवित्र आत्माले दाऊदको मुखद्वारा पहिल्यै जे भन्‍नुभएको थियो, पवित्रशास्त्रको सो वचन पूरा हुनैपरेको थियो; 17 किनकि त्यो हामीसँग गनियो, र त्यसले यस सेवामा हिस्‍सा पाएको थियो। 18 अब त्‍यस मान्छेले अधर्मको कमाइले एउटा जमिन किन्यो, अनि उँधोमुन्टो भई खसेर त्‍यो बीचैमा फुट्यो, र त्यसका सबै आन्द्राभुँड़ी बाहिर निस्के। 19 अनि यो कुरा यरूशलेममा बस्‍नेहरू सबैलाई थाहा भयो, यहाँसम्म कि उनीहरूको आफ्नो भाषामा त्यस जमिनलाई ‘हकल्दामा’ अर्थात्‌ ‘रगतको जमिन’ भनियो। 20 किनभने भजनहरूको पुस्तकमा यो लेखिएको छ:
‘त्यसको वासस्थान उजाड़ होस्, र त्यसभित्र कोही नबसोस्;’ अनि ‘त्यसको पद अर्कोले लेओस्।’
21 यसकारण प्रभु येशू जति दिनहरूसम्म हाम्रो बीचमा भित्र-बाहिर गर्नुभयो, त्यति दिनसम्म 22 अर्थात्‌ यूहन्‍नाको बप्‍तिस्‍मादेखि शुरु गरेर उहाँ हामीबाट उठाइनुभएको दिनसम्म हामीसँग रहने यी मानिसहरूमध्ये एकजनाचाहिँ हाम्रो साथमा उहाँको बौरिउठाइको साक्षी हुनुपर्छ।” 23 अनि तिनीहरूले दुईजनालाई खड़ा गरे: जस्टस उपनाम भएका बर्साबास भनिने यूसुफ र मत्थियासलाई। 24 अनि तिनीहरूले प्रार्थना गरेर भने: “हे प्रभु, सबै मानिसहरूको हृदय जान्‍नुहुने तपाईं हुनुहुन्छ; तपाईंले यी दुईमध्ये कसलाई चुन्‍नुभएको छ, देखाइदिनुहोस्, 25 र तिनले यस सेवा र प्रेरितको पदमा भाग लिऊन्, जसबाट यहूदाचाहिँ अपराधले गर्दा त्यसको आफ्नै ठाउँमा जानका निम्ति पतित भयो।” 26 अनि तिनीहरूले आफ्ना गोलाहरू हाले, र गोला मत्थियासको नाममा पर्‍यो। अनि तिनी ती एघारजना प्रेरितहरूसँग गनिए।