तिबेरियसको समुद्रमा प्रभु येशू देखा पर्नुभयो
21
यी कुराहरूपछि तिबेरियसको समुद्रमा येशूले आफूलाई फेरि चेलाहरूकहाँ प्रकट गर्नुभयो; अनि यस प्रकारले उहाँले आफूलाई प्रकट गर्नुभयो: 2 त्यहाँ शिमोन पत्रुस, दिदिमस भनिने थोमा, गालीलको कानाका नथनएल, जब्दीका छोराहरू र उहाँका चेलाहरूमध्ये अरू दुईजना सँगै थिए। 3 शिमोन पत्रुसले तिनीहरूलाई भने: “म त माछा मार्न जान्छु।” तिनीहरूले उनलाई भने: “हामी पनि तिमीसँगै जान्छौं।” तिनीहरू गए र तुरुन्तै एउटा डुङ्गामा चढ़े; अनि त्यो रात तिनीहरूले एउटै पनि पक्रेनन्। 4 तर बिहान हुँदाखेरि येशू किनारमा उभिनुभयो; तर उहाँ येशू हुनुहुन्छ भनी चेलाहरूले चिनेनन्। 5 तब येशूले तिनीहरूलाई भन्‍नुभयो: “हे नानीहरूहो, के तिमीहरूसँग केही खानेकुरा छ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “छैन।” 6 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले भेट्टाउनेछौ।” यसकारण तिनीहरूले जाल हाने, र अब माछाहरूको थुप्रोले गर्दा तिनीहरूले त्यो तान्‍न सकेनन्। 7 यसकारण ती चेलाले, जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो, पत्रुसलाई भने: “उहाँ प्रभु हुनुहुन्छ!” जब शिमोन पत्रुसले ‘उहाँ प्रभु हुनुहुन्छ’ भन्‍ने सुने, तब उनले बाहिरपट्टि लाउने लुगा कम्मरमा बेरे; किनकि उनी नाङ्गा थिए, अनि उनी समुद्रमा हाम फाले। 8 अनि अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाहरू भएको जाल तान्दै-तान्दै आए, (किनकि तिनीहरू जमिनदेखि टाढ़ामा थिएनन्, तर प्राय: तीन सय फीटजतिमा थिए)।
9 तब तिनीहरू जमिनमा उत्रिनसाथ तिनीहरूले त्यहाँ कोइलाको आगो र त्यसमाथि माछा राखिएको, अनि रोटी देखे। 10 येशूले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले भर्खरै पक्रेका माछाहरूबाट केही ल्याओ!” 11 शिमोन पत्रुस डुङ्गामा चढ़े, र एक सय त्रिपन्‍नवटा ठूला-ठूला माछाहरूले भरिएको जाल तानेर जमिनमा ल्याए; अनि यति धेरै भए तापनि जाल फाटेको थिएन। 12 येशूले तिनीहरूलाई भन्‍नुभयो: “आओ र खाना खाओ!” अनि उहाँ प्रभु हुनुहुन्छ भनी जानेर चेलाहरूमध्ये कसैले पनि ‘तपाईं को हुनुहुन्छ?’ भनी उहाँलाई सोध्‍ने साहस गरेनन्। 13 तब येशू आउनुभयो, रोटी लिनुभयो र तिनीहरूलाई दिनुभयो, अनि त्यसै गरी माछा पनि। 14 अब मरेकाहरूबाट बौरेर उठ्नुभएपछि येशूले आफूलाई आफ्ना चेलाहरूकहाँ प्रकट गर्नुभएको योचाहिँ तेस्रो पटक भएको थियो।
15 यसकारण तिनीहरूले भोजन खाइसकेपछि येशूले शिमोन पत्रुसलाई भन्‍नुभयो: “हे शिमोन, योनाका छोरा, के तिमी मलाई यिनीहरूले भन्दा बेसी प्रेम गर्छौ?” उनले उहाँलाई भने: “हजुर प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई माया गर्छु।” उहाँले उनलाई भन्‍नुभयो: “मेरा पाठाहरू चराऊ!” 16 उहाँले उनलाई फेरि दोस्रो पल्ट भन्‍नुभयो: “हे शिमोन, योनाका छोरा, के तिमी मलाई प्रेम गर्छौ?” उनले उहाँलाई भने: “हजुर प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई माया गर्छु।” उहाँले उनलाई भन्‍नुभयो: “मेरा भेड़ाहरूको हेरचाह गर!” 17 उहाँले उनलाई तेस्रो पल्ट भन्‍नुभयो: “हे शिमोन, योनाका छोरा, के तिमी मलाई माया गर्छौ?” उहाँले उनलाई तेस्रो पल्ट ‘के तिमी मलाई माया गर्छौ?’ भनी भन्‍नुभएकोले पत्रुस दुःखित भए। अनि उनले उहाँलाई भने: “प्रभु, तपाईं सबै कुराहरू जान्‍नुहुन्‍छ; म तपाईंलाई माया गर्छु भनी तपाईं जान्‍नुहुन्‍छ।” येशूले उनलाई भन्‍नुभयो: “मेरा भेड़ाहरू चराऊ! 18 साँचो-साँचो म तिमीलाई भन्दछु: जब तिमी जवान थियौ, तब तिमी आफैले कम्मर कस्थ्यौ, र जहाँ जान चाहन्थ्यौ, त्यहीं घुम्थ्यौ, तर जब तिमी बूढ़ा हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, अनि अर्कोले तिम्रो कम्मर कस्‍नेछ र जहाँ तिमी चाहँदैनौ, त्यहाँ तिमीलाई लैजानेछ।” 19 तर कस्तो प्रकारको मृत्युद्वारा उनले परमेश्‍वरको महिमा गर्नेछन्, त्यसलाई सङ्केत गर्दै उहाँले यो भन्‍नुभयो। अनि यसो भन्‍नुभएपछि उहाँले उनलाई भन्‍नुभयो: “मेरो पछि लाग!”
20 तब पत्रुसले पछिल्तिर फर्केर येशूले प्रेम गर्नुभएको ती चेलालाई पछि-पछि आइरहेका देखे, जसले बेलुकाको भोजनको समयमा उहाँको छातीमा अड़ेसिएर भनेका थिए: ‘प्रभु, तपाईंलाई पक्राइदिने को हो?’ 21 तिनलाई देखेर पत्रुसले येशूलाई भने: “प्रभु, यिनको चाहिँ के होला?” 22 येशूले उनलाई भन्‍नुभयो: “म नआउन्जेल यिनी रहिरहून् भन्‍ने इच्छा मैले गरें भने पनि तिमीलाई यसको के चासो? तिमीचाहिँ मेरो पछि लाग!” 23 यसकारण ‘यी चेलाचाहिँ मर्दैनन्’ भन्‍ने कुरा भाइहरूको बीचमा फैलियो। तरै पनि येशूले त यिनी मर्दैनन् भनी उनलाई भन्‍नुभएको थिएन, तर ‘म नआउन्जेल यिनी रहिरहून् भन्‍ने इच्छा मैले गरें भने पनि तिमीलाई यसको के चासो?’ पो भन्‍नुभएको हो।
24 यी कुराहरूको विषयमा गवाही दिने चेला यिनी नै हुन्, अनि यी कुराहरू यिनले लेखे; अनि हामी जान्दछौं, यिनको गवाही सत्य हो। 25 अनि येशूले गर्नुभएका अरू पनि धेरै कुराहरू छन्, ती एक-एक गरी लेखिएका भए मलाई लाग्छ, लेखिएका पुस्तकहरू संसारमा पनि अटाउनेथिएनन्। आमेन!!