रित्तो चिहान
मत्ती २८:१-८; मर्कूस १६:१-८; लूका २४:१-१२
20
तर हप्‍ताको पहिलो दिनमा बिहानै, अँध्यारो छँदै मरियम मग्दलिनी त्यस चिहानमा आइन्, र त्यस चिहानबाट ढुङ्गा हटाइएको देखिन्। 2 तब तिनी दगुरिन्, अनि शिमोन पत्रुस र ती अर्को चेलाकहाँ आइन्, जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो, र उनीहरूलाई भनिन्: “तिनीहरूले प्रभुलाई चिहानबाट लगेछन्; तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, हामी जान्दैनौं।” 3 यसकारण पत्रुस र ती अर्को चेला बाहिर निस्के र त्यस चिहानमा आए। 4 अनि ती दुवै सँग-सँगै दगुरे; अनि अर्को चेलाले चाहिँ पत्रुसलाई उछिने र त्यस चिहानमा पहिले आइपुगे। 5 अनि उनले निहुरेर हेर्दा सुती कपड़ाहरू पड़िरहेका देखे, तर पनि उनी भित्र पसेनन्। 6 तब उनलाई पछ्याउँदै शिमोन पत्रुस आइपुगेर त्यस चिहानभित्र पसिहाले, अनि तिनले सुती कपड़ाहरू पड़िरहेका देखे, 7 र उहाँको शिरमा बाँधिएको रुमालचाहिँ सुती कपड़ाहरूसँग पड़िरहेको होइन, तर अलग्गै एक ठाँउमा लपेटिएको देखे। 8 तब त्यस चिहानमा पहिले आइपुग्‍ने ती अर्को चेला पनि भित्र पसे, अनि उनले देखे र विश्‍वास गरे। 9 किनभने अहिलेसम्म पनि ‘उहाँचाहिँ मरेकाहरूबाट बौरेर उठ्नैपर्छ’ भन्‍ने पवित्रशास्त्रको वचन तिनीहरूले जानेका थिएनन्। 10 तब ती चेलाहरू फेरि आ-आफ्ना घर गए।
प्रभु येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ
मत्ती २८:९-१०; मर्कूस १६:९-११
11 तर मरियमचाहिँ त्यस चिहानमा बाहिरपट्टि रुँदै उभिरहिन्, अनि रुँदै-रुँदै तिनले निहुरेर त्यस चिहानभित्र हेरिन्। 12 अनि जहाँ येशूको शरीर राखिएको थियो, त्यहाँ तिनले सेतो वस्त्र पहिरेका दुई स्वर्गदूतहरूलाई, एकजनालाई शिरपट्टि, अर्कोलाई पाउपट्टि बसिरहेका देखिन्। 13 अनि उनीहरूले तिनलाई भने: “हे नारी, तिमी किन रुन्छ्यौ?” तिनले उनीहरूलाई भनिन्: “किनकि तिनीहरूले मेरा प्रभुलाई लगेका छन्; र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।” 14 अनि यसो भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, अनि उहाँ येशू हुनुहुन्छ भनी थाहा पाइनन्। 15 येशूले तिनलाई भन्‍नुभयो: “हे नारी, तिमी किन रुन्छ्यौ? तिमी कसलाई खोज्छ्यौ?” तिनले उहाँलाई माली होलान् भन्ठानेर उहाँलाई भनिन्: “हजुर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।” 16 येशूले तिनलाई भन्‍नुभयो: “मरियम!” तिनले पछिल्तिर फर्केर उहाँलाई भनिन्: “रब्बोनी!” अर्थात्‌ ‘गुरुज्यू!’ 17 येशूले तिनलाई भन्‍नुभयो: “मलाई नछोऊ, किनभने म अझै माथि मेरा पिताकहाँ गएको छैनँ; तर मेरा भाइहरूकहाँ जाऊ, र उनीहरूलाई भनिदेऊ, मचाहिँ माथि मेरा पिता र तिमीहरूका पिता, अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जान्छु।” 18 मरियम मग्दलिनी आएर ‘मैले प्रभुलाई देखें, र उहाँले मलाई यी कुराहरू भन्‍नुभयो’ भनी चेलाहरूलाई बताइन्।
19 तब त्यही दिन अर्थात्‌ हप्‍ताको पहिलो दिन, साँझमा यहूदीहरूको डरले गर्दा चेलाहरू भेला भएको ठाउँमा ढोकाहरू जब बन्द थिए, तब येशू आउनुभयो र बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्!” 20 अनि यसो भनेर उहाँले तिनीहरूलाई आफ्ना हातहरू र आफ्नो कोखा देखाउनुभयो। तब चेलाहरू प्रभुलाई देखेर खुशी भए। 21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्! जसरी मेरा पिताले मलाई पठाउनुभएको छ, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँछु।” 22 अनि यसो भनेर उहाँले तिनीहरूमाथि सास फुकिदिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो: “पवित्र आत्मा लेओ! 23 जस-जसका पापहरू तिमीहरू क्षमा गर्दछौ, ती तिनीहरूलाई क्षमा हुन्छन् अनि जस-जसका पापहरू तिमीहरू राख्दछौ, ती राखिन्छन्।”
प्रभु येशू थोमाकहाँ देखा पर्नुहुन्छ
24 तर दिदिमस भनिने थोमाचाहिँ, जो बाह्रजनामा एक थिए, येशू आउनुहुँदा उनीहरूसँग थिएनन्। 25 यसकारण अरू चेलाहरूले तिनलाई भने: “हामीले प्रभुलाई देखेका छौं।” तर तिनले उनीहरूलाई भने: “जबसम्म म उहाँका हातहरूमा काँटीहरूका डोब देख्दिनँ, अनि आफ्नो औंला ती काँटीहरूका डोबमा हाल्दिनँ र आफ्नो हात उहाँको कोखामा हाल्दिनँ, तबसम्म म विश्‍वास गर्नेछैनँ।”
26 अनि आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए; अनि उनीहरूसँग थोमा पनि थिए; तब ढोकाहरू बन्द भएकैमा येशू आउनुभयो र बीचमा उभिनुभयो, र भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्!” 27 तब उहाँले थोमालाई भन्‍नुभयो: “तिम्रो औंला यहाँ ल्याऊ, र मेरा हातहरू हेर; अनि तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखाभित्र हाल; अनि विश्‍वास नगर्ने होइन, तर विश्‍वास गर्ने होऊ!” 28 अनि थोमाले जवाफ दिएर उहाँलाई भने: “हे मेरा प्रभु, र हे मेरा परमेश्‍वर!” 29 येशूले तिनलाई भन्‍नुभयो: “थोमा, तिमीले मलाई देखेका हुनाले तिमीले विश्‍वास गरेका छौ; उनीहरू धन्य हुन्, जसले देखेका छैनन्, तापनि विश्‍वास गरेका छन्।”
30 अनि साँच्‍चै येशूले आफ्ना चेलाहरूको सामु अरू धेरै चिन्हहरू देखाउनुभयो, जुन चिन्हहरू यस पुस्तकमा लेखिएका छैनन्; 31 तर येशू नै परमेश्‍वरका पुत्र ‘ख्रीष्‍ट’ हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर तिमीहरूले उहाँको नामद्वारा जीवन पाओ भनी यीचाहिँ लेखिएका हुन्।