प्रभु येशूको न्याय
मत्ती २७:१५-३१; मर्कूस १५:६-१५; लूका २३:१३-२५
19
तब पिलातसले येशूलाई लगे र कोर्रा लगाए। 2 अनि सिपाहीहरूले काँड़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए, 3 र भने: “सलाम, यहूदीहरूको राजा!” अनि तिनीहरूले उहाँलाई थप्पड़ लगाए। 4 यसकारण पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने: “हेर, मचाहिँ उसमा केही पनि दोष पाउँदिनँ भन्ने कुरा तिमीहरूलाई थाहा होस् भनेर म उसलाई बाहिर तिमीहरूकहाँ ल्याउँछु।” 5 तब येशू काँड़ाहरूको मुकुट र बैजनी वस्त्र पहिरेर बाहिर निस्कनुभयो। अनि पिलातसले तिनीहरूलाई भने: “हेर, यो मानिस!” 6 यसकारण जब मुख्य पूजाहारीहरू र अफिसरहरूले उहाँलाई देखे, तब तिनीहरू यसो भन्दै कराए: “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!!” पिलातासले तिनीहरूलाई भने: “तिमीहरूले नै उसलाई लगेर क्रूसमा टाँग, किनकि मचाहिँ उसमा केही दोष पाउँदिनँ।” 7 यहूदीहरूले उनलाई जवाफ दिए: “हामीसँग व्यवस्था छ, र हाम्रो व्यवस्थाअनुसार त्यो मर्नैपर्छ; किनभने त्यसले आफैलाई परमेश्वरका पुत्र तुल्यायो।”8 यसकारण जब पिलातसले यो कुरा सुने, तब उनी झन् डराए; 9 अनि उनी फेरि राजभवनभित्र पसे, र येशूलाई भने: “तिमी कहाँका हौ?” तर येशूले उनलाई कुनै जवाफ दिनुभएन। 10 तब पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई क्रूसमा टँगाउने अधिकार मसित छ, र तिमीलाई छोड़िदिने अधिकार पनि मसित छ भन्ने कुरा के तिमीलाई थाहा छैन?” 11 येशूले जवाफ दिनुभयो: “तपाईंलाई माथिबाट नदिइएको भए मेरो विरोधमा तपाईंसित कुनै पनि अधिकार हुनेथिएन; यसैकारण जसले मलाई तपाईंकहाँ सुम्पिदियो, त्यसैलाई झन् ठूलो पाप लाग्छ।” 12 अनि त्यस बेलादेखि पिलातसले उहाँलाई छोड़िदिन खोजे; तर यहूदीहरू यसो भन्दै कराए: “ यस मानिसलाई तपाईंले छोड़िदिनुभयो भने तपाईं सिजरका साथी हुनुहुन्न; जसले आफूलाई राजा तुल्याउँछ, त्यो सिजरको विरोधमा बोल्छ।”
13 यसकारण जब पिलातसले यो कुरा सुने, तब उनले येशूलाई बाहिर ल्याए र ‘चौतारा’क भनिने ठाउँमा, (तर हिब्रूमा ‘गब्बथा’ भनिन्छ) न्यायआसनमाथि बसे। 14 अनि योचाहिँ निस्तारचाड़को तयारीको दिन थियो, अनि समय प्राय: छ बजेख भएको थियो; अनि उनले यहूदीहरूलाई भने: “हेर, तिमीहरूका राजा!” 15 तर तिनीहरू चिच्च्याए: “हटाउनुहोस्, हटाउनुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!!” पिलातसले तिनीहरूलाई भने: “के तिमीहरूका राजालाई म क्रूसमा टाँगूँ?” मुख्य पूजाहारीहरूले जवाफ दिए: “सिजरबाहेक हाम्रो अरू कुनै राजा नै छैन।”
प्रभु येशू क्रूसमा
मत्ती २७:३२-४४; मर्कूस १५:२१-३२; लूका २३:२६-४३
16 तब क्रूसमा टँगाइनका निम्ति उनले उहाँलाई तिनीहरूको हातमा सुम्पिदिए। अनि तिनीहरूले येशूलाई पक्रे, र उहाँलाई लिएर गए। 17 अनि उहाँ आफ्नो क्रूस बोकेर ‘खोपड़ी’ भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा ‘गलगथा’ भनिन्छ, 18 जहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र उहाँको साथमा अरू दुईजनालाई पनि – एकजनालाई यतापट्टि, अर्कालाई उतापट्टि र माझमा येशूलाई।
19 अनि पिलातसले एउटा दोषपत्र लेखे, र यो क्रूसमा टाँसिदिए। अनि यस्तो लेखिएको थियो: ‘नासरतका येशू, यहूदीहरूका राजा।’ 20 तब धेरै यहूदीहरूले यो दोषपत्र पढ़े; किनभने येशू क्रूसमा टँगाइनुभएको ठाउँ शहरको नजिकमा थियो; अनि यो हिब्रू, ग्रीक र ल्याटिन भाषामा लेखिएको थियो। 21 तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने: “‘यहूदीहरूका राजा’ होइन, तर ‘त्यसले “म यहूदीहरूका राजा हुँ” भन्थ्यो’ भनी लेखिदिनुहोस्!” 22 पिलातसले जवाफ दिए: “मैले जे लेखें, लेखें।”
23 तब येशूलाई क्रूसमा टाँगेपछि ती सिपाहीहरूले उहाँका वस्त्रहरू लिएर हरेक सिपाहीका लागि एक-एक भाग हुने गरी चार भाग लगाए; अनि अलखा पनि। तर अलखाचाहिँ सिउनीविनाको, माथिदेखि तलसम्म बुनिएको थियो। 24 यसकारण तिनीहरूले आपसमा भने: “हामी यो नच्यातौं, तर यसका लागि चिट्ठा हालौं, यो कसको हुने रहेछ।” पवित्रशास्त्र पूरा होस् भनेर यो भएको हो, जसले भन्दछ:
‘तिनीहरूले मेरा वस्त्रहरू आपसमा बाँड़े र मेरा पोसाकका निम्ति चिट्ठा लगाए।’ग
यसैकारण सिपाहीहरूले यी कुराहरू गरे। 25 अनि येशूको क्रूसको छेवैमा उहाँकी आमा, अनि उहाँकी आमाकी बहिनी, क्लिओफसकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। 26 यसकारण जब येशूले आफ्नी आमा र ती चेलालाई, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो, छेवैमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो: “हे नारी, हेर्नुहोस्, तपाईंको छोरा!” 27 तब येशूले ती चेलालाई भन्नुभयो: “हेर, तिम्री आमा!” अनि त्यस घड़ीदेखि नै ती चेलाले उनलाई आफ्नै घरमा लगे।
28 त्यसपछि, अब सबै कुराहरू पूरा भइसके भनी जानेर पवित्रशास्त्र पूरा होस् भनी येशूले भन्नुभयो: “मलाई तिर्खा लाग्यो!”घ 29 अनि सिर्काले भरिएको एउटा भाँड़ा त्यहीं राखिएको थियो; अनि तिनीहरूले एउटा स्पन्जङ सिर्काले भरे र त्यो एउटा हिसपमाच राखेर उहाँको मुखमा पुर्याए। 30 यसकारण जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयो: “पूरा भयो!” अनि उहाँले आफ्नो शिर झुकाएर आफ्नो आत्मा सुम्पिदिनुभयो।
31 यसकारण त्यो दिन तयारीको दिन भएको हुनाले विश्रामदिनमा, (किनकि त्यो विश्रामदिन एउटा ठूलो दिन थियो), ती शरीरहरू क्रूसमा नरहून् भनेर यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टाहरू भाँचिऊन् र तिनीहरू लगिऊन् भनी विन्ती चढ़ाए। 32 तब ती सिपाहीहरू आए, अनि पहिलोचाहिँका खुट्टाहरू भाँचिदिए र अर्कोचाहिँका पनि, जो उहाँसँगै क्रूसमा टँगाइएको थियो। 33 तर जब तिनीहरू येशूकहाँ आए, र उहाँलाई पहिल्यै मरिसक्नुभएको देखे, तब तिनीहरूले उहाँका खुट्टाहरू भाँचेनन्। 34 तर ती सिपाहीहरूमध्ये एकजनाले उहाँको कोखामा भालाले घोच्यो, अनि तुरुन्तै रगत र पानी निस्के। 35 अनि तिमीहरूले विश्वास गर्न सक भनेर जसले यो देख्यो, उसैले गवाही दिएको हो, र उसको गवाही सत्य हो; अनि सत्य बोल्छु भनी उसले जान्दछ। 36 किनकि ‘उहाँको एउटै पनि हड्डी भाँचिनेछैन’छ भन्ने पवित्रशास्त्रको वचन पूरा होस् भनेर नै यी कुराहरू भएका हुन्। 37 अनि फेरि अर्को ठाउँमा पवित्रशास्त्रले भन्दछ: ‘जसलाई तिनीहरूले घोचेका थिए, उहाँलाई तिनीहरूले हेर्नेछन्।’झ
38 अनि त्यसपछि अरिमथियाका यूसुफले, जो येशूका चेला थिए, तर जो यहूदीहरूको डरले गर्दा गुप्त थिए, ‘येशूको शरीर लैजान पाऊँ, भनी पिलातसलाई विन्ती गरे; अनि पिलातसले अनुमति दिए। यसकारण तिनले आएर येशूको शरीर लगे। 39 अनि निकोदेमस पनि, जो पहिले येशूकहाँ राती आएका थिए, पचास सेरजति मिसाएर बनाएको गन्धरसट र अगरुठ लिई आए। 40 तब तिनीहरूले येशूको शरीर लगे र यहूदीहरूको लाश गाड़्ने रीतिअनुसार यसलाई सुगन्धित मसलाहरूसित सुती कपड़ाहरूमा लपेटे। 41 अनि उहाँ क्रूसमा टँगाइनुभएको ठाउँमा एउटा बगैंचा थियो; अनि त्यस बगैंचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कुनै मानिस राखिएको थिएन। 42 यसकारण यहूदीहरूको तयारीको दिनको कारणले गर्दा तिनीहरूले येशूलाई त्यहीं राखे, किनकि त्यो चिहान नजिकै थियो।