प्रभु येशू पक्राउ पर्नुहुन्छ
मत्ती २६:४७-५६; मर्कूस १४:४२-५०; लूका २२:४७-५३
18
यी कुराहरू भन्नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन खोल्सापारि जानुभयो, जहाँ एउटा बगैंचा थियो; त्यसभित्र उहाँ र उहाँका चेलाहरू पस्नुभयो। 2 अनि उहाँलाई पक्राइदिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित त्यहाँ घरीघरी भेला हुनुहुन्थ्यो। 3 तब सिपाहीहरूको एक टोली, साथै मुख्य पूजाहारी र फरिसीहरूपट्टिबाट अफिसरहरू पाएर यहूदाचाहिँ बत्तीहरू, राँकाहरू र हतियारहरू लिई त्यहाँ आयो।4 यसकारण आफूमाथि आइपर्ने सबै कुराहरू जानेर येेेशू अघि बढ़्नुभयो, र तिनीहरूलाई भन्नुभयो: “तिमीहरू कसलाई खोज्छौ?” 5 तिनीहरूले उहाँलाई जवाफ दिए: “नासरतको येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो: “म उही हुँ।” अनि उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँग उभिएको थियो। 6 तब, उहाँले तिनीहरूलाई ‘म उही हुँ’ भन्नसाथ तिनीहरू पछि हटेर भुइँमा पछारिए। 7 तब उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तिमीहरू कसलाई खोज्छौ?” अनि तिनीहरूले भने: “नासरतको येशूलाई।” 8 येशूले जवाफ दिनुभयो: “म उही हुँ भनी मैले तिमीहरूलाई भनेको छु। यसकारण तिमीहरू मलाई खोज्छौ भने यिनीहरूलाई चाहिँ जान देओ!” 9 ‘तपाईंले मलाई जतिजना दिनुभयो, तिनीहरूमध्ये कसैलाई पनि मैले गुमाइनँ’ भनी उहाँले भन्नुभएको वचन पूरा होस् भनेर नै यस्तो भएको हो। 10 तब शिमोन पत्रुसले, तिनीसँग तरवार भएको हुनाले त्यो निकालेर महापूजाहारीको दासलाई हिर्काए र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस दासको नाम माल्कस थियो। 11 तब येशूले पत्रुसलाई भन्नुभयो: “आफ्नो तरवार म्यानभित्र हाल! के मेरा पिताले मलाई दिनुभएको यो कचौरा म नपिऊँ?”
12 तब सिपाहीहरूको त्यस टोलीले अनि ती कप्तान र यहूदीहरूका ती अफिसरहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे। 13 अनि तिनीहरूले उहाँलाई पहिले हन्नासकहाँ लगे, किनकि उनी त्यस वर्षका महापूजाहारी कायफाका ससुरा थिए। 14 अनि ‘यस जनताका निम्ति एकजना मानिस मर्नु नै फाइदा छ’ भनी यहूदीहरूलाई सल्लाह दिने यिनै कायफा थिए। 15 अनि शिमोन पत्रुस येशूको पछि-पछि लागे, अनि अर्को एकजना चेलाले पनि त्यसै गरे। अब ती चेलाचाहिँ महापूजाहारीका चिनारु थिए, र तिनी येशूसँगै महापूजाहारीको चोकभित्र पसे।
पत्रुसले प्रभु येशूलाई इन्कार गर्छन्
16 तर पत्रुसचाहिँ बाहिर ढोकामा उभिए। तब ती अर्को चेलाचाहिँ, जो महापूजाहारीका चिनारु थिए, बाहिर गए र ढोकामा पहरा बस्ने स्त्रीसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए। 17 तब ढोकामा पहरा बस्ने नोकरनीले पत्रुसलाई भनी: “के तिमी पनि यस मानिसका चेलाहरूमध्ये एकजना होइनौ र?” उनले भने: “म त होइनँ।” 18 अनि दासहरू र अफिसरहरू कोइलाको आगो सल्काएर उभिरहेका थिए; किनकि जाड़ो थियो, र तिनीहरूले आगो तापिरहेका थिए; अनि पत्रुस पनि तिनीहरूसँगै उभिरहेका र आगो तापिरहेका थिए।
19 तब महापूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको विषयमा सोधे। 20 येशूले उनलाई जवाफ दिनुभयो: “मैले संसारलाई खुल्लमखुल्ला बताएँ; मैले सधैं सभाघरमा र मन्दिरमा शिक्षा दिएँ, जहाँ यहूदीहरू सधैं भेला हुन्छन्; अनि गुप्तमा मैले केही पनि भनेको छैनँ। 21 तपाईं मलाई किन सोध्नुहुन्छ? तिनीहरूलाई सोध्नुहोस्, जसले, मैले तिनीहरूलाई जे-जे भनेको थिएँ, सो सुनेका छन्। हेर्नुहोस्, मैले के-के भनें, तिनीहरूलाई थाहै छ।” 22 तर उहाँले यी कुराहरू भन्नुहुँदा नजिकमा उभिरहेका अफिसरहरूमध्ये एकजनाले येशूलाई यसो भन्दै थप्पड़ लगाए: “के तँ महापूजाहारीलाई यसरी नै जवाफ दिन्छस्?” 23 येशूले तिनलाई जवाफ दिनुभयो: “मैले खराब बोलेको छु भने त्यस खराब कुराको विषयमा गवाही देऊ; तर मैले सठीक बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?” 24 अनि हन्नासले उहाँलाई महापूजाहारी कायफाकहाँ बाँधिएकै अवस्थामा पठाएका थिए।
25 अनि शिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। यसकारण तिनीहरूले उनलाई भने: “के तिमी पनि उसका चेलाहरूमध्ये एकजना होइनौ र?” उनले इन्कार गरे, र भने: “म त होइनँ।” 26 महापूजाहारीका दासहरूमध्ये एकजनाले, जोचाहिँ पत्रुसद्वारा कान काटिएको मानिसको आफन्त थियो, भन्यो: “के मैले तिमीलाई बगैंचामा उसैको साथमा देखिनँ र?” 27 तब पत्रुसले फेरि इन्कार गरे; अनि तुरुन्तै भाले बास्यो।
प्रभु येशू पिलातसको सामु
मत्ती २७:१-२, ११-१४; मर्कूस १५:१-५; लूका २३:१-५
28 त्यसपछि तिनीहरूले येशूलाई कायफाकहाँबाट राजभवनमाक लगे, अनि बिहानीपख थियो। अनि अशुद्ध नहोऔं, तर निस्तारचाड़को भोज खान सकौं भनेर तिनीहरू आफैचाहिँ राजभवनभित्र पसेनन्। 29 यसकारण पिलातस बाहिर तिनीहरूकहाँ गए, र भने: “यस मानिसको विरोधमा तिमीहरू के आरोप लाउँछौ?” 30 तिनीहरूले जवाफ दिएर उनलाई भने: “ऊ कुकर्मी नहुँदो हो ता हामीले उसलाई तपाईंकहाँ सुम्पिनेथिएनौं।” 31 तब पिलातसले तिनीहरूलाई भने: “तिमीहरू उसलाई लैजाओ, र आफ्नै व्यवस्थाअनुसार उसको न्याय गर!” यसकारण यहूदीहरूले उनलाई भने: “कसैको प्राण लिनु हामीलाई अधिकार छैन;” 32 कस्तो मृत्युले उहाँ मर्न लाग्नुभएको थियो, त्यसलाई सङ्केत गर्दै येशूले भन्नुभएको वचन पूरा होस् भनेर यस्तो भइरहेको थियो।
33 तब पिलातस फेरि राजभवनभित्र पसे, अनि येशूलाई बोलाए, र उहाँलाई भने: “के तिमी यहूदीहरूका राजा हौ?” 34 येशूले उनलाई जवाफ दिनुभयो: “के तपाईंले आफ्नैपट्टिबाट यो कुरा भन्दै हुनुहुन्छ, कि अरूले मेरो विषयमा तपाईंलाई यो कुरा भने?” 35 पिलातसले जवाफ दिए: “के म यहूदी हुँ र? तिम्रो आफ्नै जातिले र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पेका छन्। तिमीले के गरेका छौ?” 36 येशूले जवाफ दिनुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूकहाँ नसुम्पिइऊँ भनी मेरा सेवकहरूले लड़ाइँ गर्नेथिए; तर अब मेरो राज्य यहाँबाटको होइन।” 37 यसकारण पिलातसले उहाँलाई भने: “तब के तिमी राजा हौ त?” येशूले जवाफ दिनुभयो: “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ। सत्यताको विषयमा गवाही दिऊँ भनेर, यसैका निम्ति म जन्मिएँ र यसैका निम्ति नै म संसारमा आएँ। हरेक जो सत्यताबाटको हो, उसले मेरो सोर सुन्छ।” 38 पिलातसले उहाँलाई भने: “सत्यता के हो?” अनि यसो भनेपछि उनी फेरि बाहिर यहूदीहरूकहाँ गए, र तिनीहरूलाई भने: “म उसमा एउटै पनि दोष पाउँदिनँ। 39 तर निस्तारचाड़मा तिमीहरूका निम्ति एकजनालाई मैले छोड़िदिनुपर्ने तिमीहरूको दस्तुर छ। यसकारण के तिमीहरूका निम्ति मैले यहूदीहरूका राजालाई छोड़िदिएको तिमीहरू चाहन्छौ?” 40 तब तिनीहरू सबै फेरि यसो भन्दै कराए: “यस मान्छेलाई होइन, तर बरब्बालाई!” अनि बरब्बाचाहिँ एउटा डाँकू थियो।