प्रभु येशूको अन्तर्विन्ती
17
येशूले यी कुराहरू बोल्नुभयो, आफ्ना आँखाहरू स्वर्गतिर उठाउनुभयो र भन्नुभयो: “हे पिता, त्यो घड़ी आइपुगेको छ; तपाईंको पुत्रको महिमा गर्नुहोस्, र तपाईंको पुत्रले पनि तपाईंको महिमा गरून्; 2 किनकि तपाईंले उनलाई जतिजना दिनुभएको छ, ती सबैलाई उनले अनन्त जीवन दिऊन् भनी तपाईंले उनलाई सबै प्राणीमाथिक अधिकार दिनुभएको छ। 3 अनि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून् – अनन्त जीवन यही हो। 4 मैले पृथ्वीमा तपाईंको महिमा गरेको छु; जुन काम तपाईंले मलाई पूरा गर्न दिनुभएको थियो, त्यो मैले गरी सिद्ध्याएको छु। 5 अनि हे पिता, संसार हुनुभन्दा पहिले तपाईंसित जुन मेरो महिमा थियो, त्यही महिमाले अब आफूसितै मेरो महिमा गर्नुहोस्!6 मैले ती मानिसहरूकहाँ तपाईंको नाम प्रकट गरिदिएको छु, जसलाई तपाईंले यस संसारबाट मलाई दिनुभयो; तिनीहरू तपाईंका थिए, अनि तिनीहरूलाई तपाईंले मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। 7 जुन-जुन कुराहरू तपाईंले मलाई दिनुभएको छ, ती सबै कुराहरू तपाईंबाटकै हुन् भनी तिनीहरूले अब जानेका छन्। 8 किनभने जुन वचनहरू तपाईंले मलाई दिनुभयो, ती वचनहरू मैले तिनीहरूलाई दिएको छु; अनि तिनीहरूले ती ग्रहण गरेका छन्; अनि मचाहिँ तपाईंबाट निस्की आएँ भनी तिनीहरूले पक्का गरी जानेका छन्; अनि तपाईंले मलाई पठाउनुभयो भनी तिनीहरूले विश्वास गरेका छन्। 9 म तिनीहरूका निम्ति प्रार्थना गर्दछु; म यस संसारका निम्ति प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ; किनकि तिनीहरू तपाईंकै हुन्। 10 अनि जतिजना मेरा छन्, ती सबैजना तपाईंकै हुन्, र तपाईंकाचाहिँ मेरा हुन्; अनि म तिनीहरूमा महिमित भएको छु। 11 अनि अबदेखि उसो म संसारमा हुँदिनँ, तर तिनीहरूचाहिँ संसारमा हुन्छन्, र म तपाईंकहाँ आउँछु। पवित्र पिता, तपाईंले मलाई जतिजना दिनुभएको छ, तिनीहरूलाई तपाईंको नामद्वारा रक्षा गर्नुहोस्, र तिनीहरू पनि हामीजस्ता एक होऊन्। 12 जब म तिनीहरूसँग यस संसारमा थिएँ, तब मैले तिनीहरूलाई तपाईंकै नाममा रक्षा गरें; तपाईंले मलाई जतिजना दिनुभयो, तिनीहरूलाई मैले रक्षा गरें, अनि पवित्रशास्त्र पूरा होस् भनेर तिनीहरूमध्ये विनाशको पुत्रबाहेक अरू कोही पनि नष्ट भएन। 13 अनि अब म तपाईंकहाँ आउँछु; अनि मेरो आनन्द तिनीहरूमा पूरा होस् भनेर म संसारमा यी कुराहरू भन्दछु। 14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु; अनि संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, त्यसरी नै तिनीहरू पनि संसारका होइनन्। 15 तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट रक्षा गर्नुहोस् भनी गर्दछु। 16 जसरी म यस संसारको होइनँ, त्यसरी नै तिनीहरू पनि यस संसारका होइनन्। 17 तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्रख पार्नुहोस्; तपाईंको वचन सत्य हो। 18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभएको छ, त्यसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। 19 अनि तिनीहरू पनि सत्यताद्वारा पवित्रख होऊन् भनी म आफूलाई तिनीहरूका निम्ति पवित्रख गर्दछु।
20 म तिनीहरूका लागि मात्र प्रार्थना गर्दिनँ, तर उनीहरूका लागि पनि गर्दछु, जसले तिनीहरूको वचनद्वारा ममाथि विश्वास गर्नेछन्; 21 र तिनीहरू सबै एक होऊन्; जसरी हे पिता, तपाईं ममा हुनुहुन्छ र म तपाईंमा, त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्; र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। 22 अनि जसरी हामी एक छौं, त्यसरी नै तिनीहरू पनि एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु। 23 म तिनीहरूमा र तपाईं ममा, कि तिनीहरू सिद्ध बनाइएर एक होऊन्; अनि तपाईंले मलाई पठाउनुभएको हो, र जसरी तपाईंले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै तिनीहरूलाई पनि प्रेम गर्नुभएको छ भनी संसारले जानोस्। 24 हे पिता, तपाईंले मलाई जतिजना दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, त्यहीं मसँगै रहून् भन्ने इच्छा म गर्दछु, र तपाईंले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखून्; किनकि तपाईंले मलाई संसारको उत्पत्तिभन्दा पहिल्यै प्रेम गर्नुभयो।
25 हे धार्मिक पिता, संसारले तपाईंलाई चिनेको छैन; तर मैले तपाईंलाई चिनेको छु; अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जानेका छन्। 26 अनि मैले तिनीहरूलाई तपाईंको नाम जनाइदिएको छु र जनाइदिनेछु, यस हेतुले कि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभएको छ, त्यही प्रेम तिनीहरूमा रहोस् र म तिनीहरूमा रहूँ।”