16
“तिमीहरूलाई ठेस नलागोस् भनी मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। 2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्; अँ, यस्तो समय आउँछ: जसले तिमीहरूलाई मार्दछ, त्यसले परमेश्‍वरको सेवा गरें भनी ठान्‍नेछ। 3 अनि तिनीहरूले यी कुराहरू तिमीहरूसँग गर्नेछन्; किनकि तिनीहरूले न ता पितालाई चिनेका छन्, न मलाई। 4 तर जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई तिनीहरूको विषयमा भनेको थिएँ भनी तिमीहरूलाई तिनको सम्झना होस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनिराखेको हुँ। अनि शुरुमा मैले यी कुराहरू तिमीहरूलाई भनिनँ, किनभने म तिमीहरूकै साथमा थिएँ।”
पवित्र आत्माको खास काम
5 “तर अब म मलाई पठाउनुहुनेकहाँ जान्छु; अनि ‘तपाईं कहाँ जानुहुन्छ?’ भनी तिमीहरूमध्ये कसैले पनि मलाई सोध्दैन। 6 तर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुनाले तिमीहरूको हृदय शोकले भरिएको छ। 7 तापनि म तिमीहरूलाई सत्य भन्दछु: म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। 8 अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पापको विषयमा, धार्मिकताको विषयमा र न्यायको विषयमा कायल पार्नुहुनेछ। 9 पापको विषयमा – किनभने तिनीहरूले ममाथि विश्‍वास गर्दैनन्। 10 धार्मिकताको विषयमा – किनभने म मेरा पिताकहाँ जान्छु, र तिमीहरूले मलाई फेरि देख्दैनौ। 11 न्यायको विषयमा – किनभने यस संसारको शासकको न्याय गरिएको छ। 12 मसँग अझै तिमीहरूलाई भन्‍नुपर्ने धेरै कुराहरू छन्, तर तिमीहरू तिनलाई अहिले सहन सक्दैनौ। 13 तापनि जब उहाँ अर्थात्‌ सत्यको आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डोर्‍याउनुहुनेछ; किनभने उहाँले आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले जे सुन्‍नुहुनेछ, उहाँ त्यही बोल्नुहुनेछ; अनि उहाँले तिमीहरूलाई आउने कुराहरू बताउनुहुनेछ। 14 उहाँले मेरो महिमा गर्नुहुनेछ; किनभने जे मेरो छ, त्यहीबाट उहाँले प्राप्‍त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ। 15 पितासँग भएका सबै थोकहरू मेरा हुन्; यही कारणले मैले भनें: ‘जे मेरो छ, त्यहीबाट उहाँले प्राप्‍त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ।’ 16 एकै क्षण, र तिमीहरूले मलाई देख्‍नेछैनौ; अनि फेरि एक क्षण, र तिमीहरूले मलाई देख्‍नेछौ; किनकि म पिताकहाँ जान्छु।”
17 तब उहाँका केही चेलाहरूले आपसमा कुरा गरे: “यो के हो, जो उहाँले हामीलाई भन्‍नुहुन्‍छ, ‘एकै क्षण, र तिमीहरूले मलाई देख्‍नेछैनौ; अनि फेरि एक क्षण, र तिमीहरूले मलाई देख्‍नेछौ’ र ‘किनकि म पिताकहाँ जान्छु?’ ” 18 यसकारण तिनीहरूले भने: “उहाँ भन्‍नुहुन्‍छ, ‘एकै क्षण’, यो के हो? उहाँ के भन्‍नुहुन्‍छ, हामी बुझ्न सक्दैनौं।” 19 अब तिनीहरूले उहाँलाई सोध्‍ने इच्छा गरेका छन् भन्‍ने थाहा पाएर येशूले तिनीहरूलाई भन्‍नुभयो: “एकै क्षण, र तिमीहरूले मलाई देख्‍नेछैनौ, अनि फेरि एक क्षण, र तिमीहरूले मलाई देख्‍नेछौ भनी मैले भनेको विषयमा के तिमीहरू आपसमा सोधासोध गर्छौ? 20 साँचो-साँचो म तिमीहरूलाई भन्दछु: तिमीहरू रुनेछौ, र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ; अनि तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्दमा बदली हुनेछ। 21 प्रसूति-वेदना हुँदा स्त्री शोकित हुन्छे, किनकि उसको घड़ी आइपुगेको हुन्छ; तर बालक जन्मनसाथ संसारमा एकजना मानिसको जन्म भयो भन्‍ने आनन्दको कारणले गर्दा उसले त्यो व्यथा फेरि सम्झना गर्दिन। 22 अनि यसैकारण अहिले तिमीहरूलाई शोक त हुन्छ; तर म तिमीहरूलाई फेरि भेट्नेछु, र तिमीहरूको हृदय आनन्दित हुनेछ, अनि तिमीहरूको आनन्द कसैले तिमीहरूबाट खोसेर लैजाँदैन। 23 अनि त्यस दिनमा तिमीहरूले मलाई केही पनि सोध्‍नेछैनौ। साँचो-साँचो म तिमीहरूलाई भन्दछु: तिमीहरूले पितालाई मेरो नाममा जे पनि माग्‍नेछौ, त्यो उहाँले तिमीहरूलाई दिनुहुनेछ। 24 अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग, र तिमीहरूको आनन्द पूरा होस् भनेर तिमीहरूले पाउनेछौ। 25 यी कुराहरू मैले तिमीहरूलाई दृष्‍टान्‍तहरूमा भनेको छु। तर समय आउँछ, तब म तिमीहरूसित दृष्‍टान्‍तहरूमा फेरि बोल्नेछैनँ, तर म तिमीहरूलाई पिताको विषयमा सफासँग बताउनेछु। 26 त्यस दिन तिमीहरूले मेरो नाममा माग्‍नेछौ, अनि तिमीहरूका निम्ति म पितालाई प्रार्थना गर्नेछु भनी म तिमीहरूलाई भन्दिनँ। 27 किनकि पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र मचाहिँ परमेश्‍वरबाट निस्की आएको हुँ भनी विश्‍वास गरेका छौ। 28 म पिताबाट निस्कें, र संसारमा आएको छु; फेरि म संसारलाई छोड़्छु, र पिताकहाँ जान्छु।”
29 उहाँका चेलाहरूले उहाँलाई भने: ‘हेर्नुहोस्, अब तपाईं सफासँग बोल्नुहुन्छ र केही पनि दृष्‍टान्‍त भन्‍नुहुन्‍न। 30 अब तपाईं सबै कुराहरू जान्‍नुहुन्‍छ, अनि कसैले तपाईंलाई सोध्‍ने खाँचो छैन भनी हामी जान्दछौं; यही कुराद्वारा तपाईंचाहिँ परमेश्‍वरबाट निस्की आउनुभयो भनी हामी विश्‍वास गर्दछौं।” 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो: “के अब तिमीहरू विश्‍वास गर्दछौ? 32 हेर, त्यो घड़ी आउँछ, अँ, त्यो अहिले आइपुगेको छ: तिमीहरू हरेक आ-आफ्नो ठाउँतिर तितरबितर हुनेछौ, र मलाई एकलै छोड़्‍नेछौ। तरै पनि म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्छ। 33 ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुँ। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ; तर साहस गर! मैले संसारलाई जितेको छु।”