दाखको बोट र त्‍यसका हाँगाहरू
15
“साँचो दाखको बोट म नै हुँ, र मेरा पिता किसान हुनुहुन्छ। 2 उहाँले ममा भएको फल नफल्ने हरेक हाँगा हटाउनुहुन्छ र फल फलाउने हरेक हाँगा, त्यसले अझ धेरै फल फलोस् भनेर छाँट्नुहुन्छ 3 मैले तिमीहरूलाई भनेको वचनद्वारा तिमीहरू शुद्ध भइसकेका छौ। 4 ममा रहो, र म तिमीहरूमा। जसरी हाँगा दाखको बोटमा रहिरहेन भने त्यसले आफैआफ फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहिरहेनौ भने तिमीहरूले पनि सक्दैनौ। 5 दाखको बोट म नै हुँ; तिमीहरूचाहिँ हाँगा हौ। जो ममा रहन्छ र म उसमा, उसैले धेरै फल फलाउँछ; किनभने मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ। 6 कोही मानिस ममा रहेन भने त्यो हाँगाजस्तो बाहिर मिल्काइन्छ, र सुक्छ; अनि तिनीहरूले तिनलाई जम्मा पार्छन् र आगोभित्र फालिदिन्छन्, र ती जलाइन्छन्। 7 तिमीहरू ममा रह्‍यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने तिमीहरू जे चाहन्छौ, सो माग्‍नेछौ, र त्यो तिमीहरूका निम्ति गरिनेछ। 8 तिमीहरूले धेरै फल फलायौ भने, यसैमा मेरा पिताको महिमा हुनेछ; र तिमीहरू मेरा चेला हुनेछौ। 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; तिमीहरू मेरो प्रेममा रहिरहो! 10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले पनि मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँको प्रेममा रहन्छु। 11 मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण होस् भनेर नै मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ। 12 जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै एक-अर्कालाई प्रेम गर! यो मेरो आज्ञा हो। 13 आफ्ना साथीहरूका निम्ति आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। 14 म तिमीहरूलाई जे-जे आज्ञा गर्दछु, तिमीहरूले ती पालन गर्‍यौ भने तिमीहरू मेरा साथी हौ। 15 अबदेखि उसो म तिमीहरूलाई दास भन्दिनँ; किनकि त्यसका मालिकले के गर्दछन्, सो दासले जान्दैन; तर मैले तिमीहरूलाई साथी भनेको छु; किनकि जे-जे कुराहरू मैले मेरा पिताबाट सुनेको छु, ती सबै कुराहरू मैले तिमीहरूलाई थाहा गराएको छु। 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, अनि तिमीहरू जाओ र फल फलाओ, र तिमीहरूको फल रहिरहोस् भनी तिमीहरूलाई नियुक्त गरें; र तिमीहरूले पितालाई मेरो नाममा जे मागौला, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ। 17 म तिमीहरूलाई यी कुराहरूको आज्ञा गर्दछु: एक-अर्कालाई प्रेम गर!”
संसारले प्रभु येशूका चेलाहरूलाई घृणा गर्दछ
18 “संसारले तिमीहरूलाई घृणा गर्दछ भने त्यसले तिमीहरूलाई भन्दा पहिले मलाई घृणा गर्‍यो भनी तिमीहरू जान्दछौ। 19 तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्नेथियो; तर तिमीहरू यस संसारका होइनौ; तर मैले तिमीहरूलाई संसारबाट चुनें; यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। 20 दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन भनी मैले तिमीहरूलाई भनेको वचन याद गर! तिनीहरूले मलाई सताएका छन् भने तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरेका छन् भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन्। 21 तर यी सबै कुराहरू तिनीहरूले मेरो नामको कारणले तिमीहरूसँग गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन्। 22 म नआएको भए र मैले तिनीहरूलाई नभनेको भएदेखि तिनीहरूसँग पाप हुनेथिएन; तर अब त आफ्नो पापका लागि तिनीहरूसँग कुनै बहाना छैन। 23 जसले मलाई घृणा गर्दछ, त्यसले मेरा पितालाई पनि घृणा गर्दछ। 24 जुन कामहरू अरू कसैले गरेको छैन, ती कामहरू मैले तिनीहरूको बीचमा नगरेको भएदेखि तिनीहरूसँग पाप हुनेथिएन; तर अब तिनीहरूले देखेका छन्, अनि मलाई र मेरा पिता दुवैलाई घृणा गरेका छन्। 25 तर तिनीहरूकै व्यवस्थामा लेखिएको ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे’ भन्‍ने वचन पूरा होस् भनेर यो भएको हो। 26 तर जब शान्तिदाता आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाउनेछु अर्थात्‌ सत्यको आत्मा, जो पिताबाट निस्कनुहुन्छ, तब उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ। 27 अनि तिमीहरूले पनि गवाही दिनेछौ, किनभने तिमीहरू शुरुदेखि मसँग रहेका छौ।”