प्रभु येशू एकमात्र स्वर्ग जाने बाटो हुनुहुन्छ
14
“तिमीहरूको हृदय विचलित नहोस्; तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्दछौ, ममा पनि विश्‍वास गर! 2 मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्; त्यस्तो नहुँदो हो ता मैले तिमीहरूलाई भन्‍नेथिएँ। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। 3 अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ छु, त्यहाँ तिमीहरू पनि होओ भनेर म तिमीहरूलाई आफूकहाँ लिनेछु। 4 अनि म जहाँ जान्छु, त्यो तिमीहरू जान्दछौ, र त्यो बाटो चिन्छौ।” 5 थोमाले उहाँलाई भने: “प्रभु, तपाईं कहाँ जानुहुन्छ, हामी जान्दैनौं; तब कसरी हामी त्यो बाटो चिन्‍न सक्छौं र?” 6 येशूले तिनलाई भन्‍नुभयो: “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन।”
प्रभु येशू र पिता एक हुनुहुन्छ
7 “तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिनेका हुनेथियौ; अनि अबदेखि उसो तिमीहरू उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।” 8 फिलिपले उहाँलाई भने: “प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, र यही हाम्रा निम्ति पर्याप्‍त हुन्छ।” 9 येशूले तिनलाई भन्‍नुभयो: “यति समयसम्म म तिमीहरूसँग रहें, र अझै पनि तिमीले मलाई चिनेका छैनौ, फिलिप? जसले मलाई देखेको छ, उसले पितालाई देखेको छ; तब ‘हामीलाई पिता देखाइदिनुहोस्, भनी तिमी कसरी भन्छौ? 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमी विश्‍वास गर्दैनौ? जुन वचनहरू म तिमीहरूलाई भन्दछु, ती वचनहरू म आफ्‍नैपट्टिबाट भन्‍दिनँ; तर जुन पिता मभित्र रहनुहुन्छ, उहाँले नै यी कामहरू गर्नुहुन्छ। 11 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी मलाई विश्‍वास गर; तर होइन भने यी कामहरूकै कारणले मलाई विश्‍वास गर! 12 साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ, उसले पनि जुन कामहरू म गर्दछु, सो गर्नेछ र यीभन्दा ठूला कामहरू गर्नेछ; किनभने म मेरा पिताकहाँ जान्छु। 13 अनि जेसुकै तिमीहरू मेरो नाममा मागौला, पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। 14 तिमीहरूले कुनै कुरा मेरो नाममा माग्यौ भने म त्यो गर्नेछु।”
पवित्र आत्मारूपी शान्तिदाता पठाउने सम्‍बधमा प्रभु येशूको प्रतिज्ञा
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर! 16 अनि म पितालाई प्रार्थना गर्नेछु, र उहाँले अर्को शान्तिदाता, उहाँ सधैंभरि तिमीहरूसँगै रहून् भनेर तिमीहरूलाई दिनुहुनेछ; 17 अर्थात्‌ सत्यको आत्मा, जसलाई संसारले ग्रहण गर्न सक्दैन; किनभने त्यसले न ता उहाँलाई देख्छ, न उहाँलाई चिन्छ; तर तिमीहरूले उहाँलाई चिन्छौ, किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरूभित्र हुनुहुनेछ। 18 म तिमीहरूलाई टुहुरा छोड़्‍नेछैनँ, म तिमीहरूकहाँ आउनेछु। 19 अझै केही समय छ, अनि संसारले मलाई फेरि देख्दैन, तर तिमीहरूले मलाई देख्छौ। म जिउँछु, यसकारण तिमीहरू पनि जिउनेछौ। 20 त्यस दिनमा म मेरा पितामा छु, अनि तिमीहरू ममा, र म तिमीहरूमा छु भनी तिमीहरूले जान्‍नेछौ। 21 जससँग मेरा आज्ञाहरू छन् र जसले तिनलाई पालन गर्दछ, उही मलाई प्रेम गर्ने हो। अनि जसले मलाई प्रेम गर्दछ, ऊ मेरा पिताद्वारा प्रेम गरिनेछ, अनि म उसलाई प्रेम गर्नेछु र आफैलाई उसकहाँ प्रकट गर्नेछु।” 22 यहूदाले, जो इस्करयोती होइनन्, उहाँलाई भने: “प्रभु, के भएको छ, र तपाईंले आफैलाई हामीकहाँ प्रकट गर्नुहुनेछ, तर संसारकहाँ होइन?” 23 येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो: “कसैले मलाई प्रेम गर्छ भने उसले मेरा वचनहरू पालन गर्नेछ; अनि मेरा पिताले उसलाई प्रेम गर्नुहुनेछ, अनि हामी उसकहाँ आउनेछौं र ऊसँग हाम्रो वासस्थान बनाउनेछौं। 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरा वचनहरू पालन गर्दैन; अनि जुन वचन तिमीहरू सुन्छौ, त्यो मेरो होइन, तर पिताको हो, जसले मलाई पठाउनुभयो। 25 तिमीहरूको साथमा रहँदैखेरि मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। 26 तर शान्तिदाता, जो पवित्र आत्मा हुनुहुन्छ, जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ र जे-जे मैले तिमीहरूलाई भनेको छु, तिमीहरूलाई यी सबै कुराहरूको सम्झना गराउनुहुनेछ।
27 शान्ति म तिमीहरूको साथमा छोड़्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तोचाहिँ म तिमीहरूलाई दिन्‍नँ। तिमीहरूको हृदय विचलित नहोस्, न ता भयभीत होस्। 28 म जान्छु र फेरि तिमीहरूकहाँ आउँछु भनी मैले तिमीहरूलाई भनेको तिमीहरूले सुनेका छौ। तिमीहरूले मलाई प्रेम गरेका भए तिमीहरू रमाउनेथियौ, किनकि मैले ‘म पिताकहाँ जान्छु’ भनी भनें; किनभने मेरा पिता मभन्दा महान् हुनुहुन्छ। 29 अनि जब यो कुरा हुन आउँछ, तब तिमीहरूले विश्‍वास गर्न सक भनेर नै यो कुरा हुन आउनुभन्दा पहिल्यै मैले अहिले तिमीहरूलाई भनेको छु। 30 म तिमीहरूसँग अबदेखि उसो धेरै कुरा गर्नेछैनँ; किनकि यस संसारको शासक आउँदैछ, र ममा त्यसको केही पनि छैन। 31 तर म पितालाई प्रेम गर्छु र पिताले मलाई जस्तो आज्ञा गर्नुभयो, त्यस्तै गर्छु भनी संसारले जानोस्! उठ, हामी यहाँबाट जाऔं!”