प्रभु येशूले आफ्ना चेलाहरूका पाउहरू धुनुभयो
13
अब निस्तारचाड़को अघि येशूले यस संसारबाट पिताकहाँ जाने आफ्नो घड़ी आइपुगेको जानेर संसारमा भएका आफ्नाहरूलाई प्रेम गरेर तिनीहरूलाई अन्तसम्म प्रेम गर्नुभयो। 2 अनि बेलुकाको भोजन हुँदै गर्दा शैतानले शिमोनको छोरा यहूदा इस्करयोतीको हृदयमा उहाँलाई पक्राइदिने कुरा हालिसकेको थियो। 3 पिताले सबै थोकहरू उहाँकै हातमा दिनुभएको छ, अनि उहाँ परमेश्वरबाट आउनुभएको हो र परमेश्वरकहाँ जानुहुन्छ भन्ने कुरा जानेर 4 येशू भोजनबाट उठ्नुभयो, अनि आफ्ना लुगा एकातिर राखेर उहाँले तौलिया लिनुभयो र आफ्नो कम्मरमा बाँध्नुभयो। 5 त्यसपछि उहाँले चुठुवामा पानी हाल्नुभयो, अनि चेलाहरूका पाउहरू धुन र जुन तौलिया उहाँको कम्मरमा बाँधिएको थियो, त्यसैले पुछ्न थाल्नुभयो।6 तब उहाँ शिमोन पत्रुसकहाँ आउनुभयो; अनि उनले उहाँलाई भने: “हे प्रभु, के तपाईं मेरा पाउ धुनुहुन्छ?” 7 येशूले जवाफ दिएर उनलाई भन्नुभयो: “म के गर्दछु, तिमी अहिले बुझ्दैनौ, तर पछि तिमीले बुझ्नेछौ।” 8 पत्रुसले उहाँलाई भने: “तपाईंले मेरा पाउ कहिल्यै धुन पाउनुहुनेछैन।” येशूले उनलाई जवाफ दिनुभयो: “मैले तिमीलाई धोइनँ भने मसित तिम्रो केही भाग छैन।” 9 शिमोन पत्रुसले उहाँलाई भने: “प्रभु, मेरा पाउ मात्र होइन, तर मेरा हात र मेरो शिर पनि।” 10 येशूले उनलाई भन्नुभयो: “जो नुहाएको छ, उसलाई पाउहरू धुनुबाहेक अरू केही खाँचो छैन, तर ऊ पूरा शुद्ध छ; अनि तिमीहरू शुद्ध हौ, तर सबैचाहिँ होइनौ।” 11 किनकि आफूलाई पक्राउनेलाई उहाँले चिन्नुभएको थियो; यसैकारण उहाँले ‘तिमीहरू सबैचाहिँ शुद्ध होइनौ’ भन्नुभयो।
12 यसकारण जब उहाँले तिनीहरूका पाउहरू धुनुभयो र आफ्ना लुगा पहिरनुभयो, तब फेरि बसेर उहाँले तिनीहरूलाई भन्नुभयो: “मैले तिमीहरूलाई के गरेको छु, के तिमीहरू जान्दछौ? 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्दछौ, अनि तिमीहरूले सठीक भन्दछौ; किनभने म उही हुँ। 14 यसैकारण तिमीहरूको प्रभु र गुरु भएर मैले तिमीहरूका पाउहरू धोएँ भने तिमीहरूले पनि एक-अर्काका पाउहरू धुनैपर्छ। 15 किनकि जस्तो मैले तिमीहरूलाई गरेको छु, त्यस्तै तिमीहरूले पनि गर्नुपर्छ भनेर मैले तिमीहरूलाई एउटा उदाहरण दिएकै हुँ। 16 साँचो-साँचो म तिमीहरूलाई भन्दछु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन, न ता पठाइएको व्यक्ति आफूलाई पठाउनेभन्दा ठूलो हुन्छ। 17 तिमीहरू यी कुराहरू जान्दछौ भने र यी कुराहरू गर्दछौ भने तिमीहरू धन्यका हौ।”
आफ्नो पक्राउको विषयमा प्रभु येशूको भविष्यवाणी र यहूदा इस्करयोती
18 “तिमीहरू सबैको विषयमा चाहिँ म भन्दिनँ। ज-जसलाई मैले चुनेको छु, उनीहरूलाई म चिन्छु; तर पवित्रशास्त्र पूरा होस् भनेर – ‘जसले मसँग रोटी खान्छ, उसैले मेरो विरोधमा आफ्नो लात्ती उठाएको छ।’क 19 – अब यो हुनुभन्दा पहिल्यै म तिमीहरूलाई भन्दछु, र जब यो हुन आउँछ, तब म उही रहेछु भनी तिमीहरूले विश्वास गर्न सक। 20 साँचो-साँचो म तिमीहरूलाई भन्दछु: म पठाउने जोसुकै होस्, उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।”
21 जब येशूले यी कुराहरू भन्नुभयो, तब उहाँ आत्मामा विचलित हुनुभयो, र गवाही दिँदै भन्नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एकजनाले मलाई पक्राउनेछ।” 22 तब उहाँले कसको विषयमा भन्नुभएको होला भनी शङ्का गर्दै चेलाहरूले एक-अर्कालाई हेरे। 23 अब उहाँका चेलाहरूमध्ये एकजना, जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो, येशूको छातीमा अड़ेसिएर बसेका थिए। 24 यसैकारण शिमोन पत्रुसले ‘जसको विषयमा उहाँले भन्नुभयो, त्यो को हो? सोध’ भनेर उनलाई इशारा गरे। 25 तब येशूको छातीमा अड़ेसिँदै उनले उहाँलाई भने: “प्रभु, त्यो को हो?” 26 येशूले जवाफ दिनुभयो: “जसलाई म यो रोटीको टुक्रा चोपेर दिनेछु, उही त्यो हो।” अनि रोटीको टुक्रा चोपेर उहाँले त्यो शिमोनको छोरा यहूदा इस्करयोतीलाई दिनुभयो। 27 अनि यस रोटीको टुक्रापछि शैतान त्यसभित्र पस्यो। तब येशूले भन्नुभयो: “तिमी जे गर्दछौ, चाँड़ै गरिहाल!” 28 तर कुन मनसायले उहाँले त्यसलाई यसो भन्नुभयो, सो कुरा खानका निम्ति बस्नेहरूमध्ये कसैले पनि बुझेन। 29 किनकि यहूदासित थैली भएको हुनाले येशूले त्यसलाई ‘चाड़का लागि हामीलाई जे खाँचो छ, ती चीजहरू किन’ अथवा त्यसले गरिबहरूलाई केही देओस् भनी भन्नुभयो भनी कतिले सोचे। 30 तब यस रोटीको टुक्रा लिएपछि त्यो तुरुन्तै बाहिर निस्किहाल्यो। अनि रातको समय थियो।
प्रभु येशूको नयाँ आज्ञा प्रेम हो
31 यसकारण जब त्यो बाहिर निस्क्यो, तब येशूले भन्नुभयो: “अब मानिसका पुत्रको महिमा भएको छ, र उनमा परमेश्वर महिमित हुनुभएको छ। 32 यदि परमेश्वर उनमा महिमित हुनुहुन्छ भने परमेश्वरले पनि उनलाई आफैमा महिमित गराउनुहुनेछ र तुरुन्तै उनलाई महिमित गराउनुहुनेछ। 33 हे साना बालकहरूहो, म तिमीहरूसँग अझै केही बेरसम्म हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि जसरी मैले यहूदीहरूलाई ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनें, त्यसरी नै म अब तिमीहरूलाई पनि भन्छु। 34 एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु: तिमीहरूले एक-अर्कालाई प्रेम गर! जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एक-अर्कालाई प्रेम गर! 35 आपसमा तिमीहरूको प्रेम छ भने यसैबाट सबैले तिमीहरू मेरा चेला रहेछौ भनी थाहा पाउनेछन्।” 36 शिमोन पत्रुसले उहाँलाई भने: “प्रभु, तपाईं कहाँ जानुहुन्छ?” येशूले उनलाई जवाफ दिनुभयो: “जहाँ म जान्छु, त्यहाँ अहिले तिमी मलाई पछ्याउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।” 37 पत्रुसले उहाँलाई भने: “प्रभु, अहिले म तपाईंलाई किन पछ्याउन सक्दिनँ? तपाईंका लागि त म आफ्नो प्राण अर्पण गर्नेछु।” 38 येशूले उनलाई जवाफ दिनुभयो: “के तिमीले मेरा निम्ति आफ्नो प्राण अर्पण गर्नेछौ? साँचो-साँचो म तिमीलाई भन्दछु: तिमीले मलाई तीनपल्ट इन्कार नगरेसम्म भाले बास्नेछैन।”