मरियमले प्रभु येशूका पाउहरूमा तेल लगाइन्
12
तब निस्तारचाड़को छ दिनअघि येशू बेथानीमा आउनुभयो, जहाँ लाजरस थिए, जो मरेका थिए, जसलाई उहाँले मरेकाहरूबाट बौराएर उठाउनुभएको थियो। 2 त्यहाँ तिनीहरूले उहाँका निम्ति बेलुकाको भोजन तयार पारे; अनि मार्थाले सेवा गरिन्, तर लाजरसचाहिँ उहाँसँग खानका निम्ति बस्‍नेहरूमध्ये एक थिए। 3 तब मरियमले एक माना साह्रै किम्मती जटामसीको सुगन्धित तेल लिएर येशूका पाउहरूमा घसिदिइन् र उहाँका पाउहरू आफ्नै केशले पुछिन्; अनि त्यस तेलको सुगन्धले घर भरियो। 4 तब उहाँका चेलाहरूमध्ये एकजनाले अर्थात्‌ शिमोनको छोरा यहूदा इस्करयोतीले, जसले उहाँलाई पक्राउन आँटेको थियो, भन्यो: 5 “किन यो सुगन्धित तेल तीन सय दीनारमा बेचिएन र गरिबहरूलाई दिइएन?” 6 गरिबहरूका लागि त्यसको वास्ता भएकोले त्यसले यसो भनेको होइन, तर यसैले कि त्यो चोर थियो, र त्योसँग थैली रहन्थ्यो र त्यसमा जे हालिन्थ्यो, त्यो त्यसले लैजाने गर्थ्यो। 7 तब येशूले भन्‍नुभयो: “तिनलाई छोड़िदेऊ; तिनले मेरो गाड़िने दिनका निम्ति यो राखिछोड़ेकी छिन्। 8 किनकि गरिबहरू सधैं तिमीहरूसँग हुन्छन्, तर मचाहिँ तिमीहरूको साथमा सधैं हुन्‍नँ।”
9 यसकारण यहूदीहरूमध्ये धेरैले उहाँ त्यहाँ हुनुहुन्छ भनी थाहा पाए, अनि तिनीहरू येशूकै कारणले मात्र होइन, तर लाजरसलाई पनि हेर्न आए, जसलाई उहाँले मरेकाहरूबाट बौराउनुभएको थियो। 10 तर मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे। 11 किनभने उनकै कारणले गर्दा यहूदीहरूमध्ये धेरैजना गए, र येशूमाथि विश्‍वास गरे।
यरूशलेमभित्र प्रभु येशूको प्रवेश
मत्ती २१:१-११; मर्कूस ११:१-१०; लूका १९:२९-३८
12 भोलिपल्ट यस चाड़मा आएको ठूलो भीड़, येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने सुनेर 13 खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न निस्क्यो र “होसन्‍ना! धन्य इस्राएलका राजा, जो परमप्रभुको* नाममा आउनुहुन्छ!” भन्दै करायो। 14 अनि एउटा गधाको बच्‍चा पाएर येशू त्यसमाथि बस्‍नुभयो, जसरी लेखिएको छ:
15 ‘नडराऊ, सियोनकी छोरी; हेर, तिम्रा राजा गधाको बच्‍चामाथि बसेर आउनुहुन्छ।’
16 उहाँका चेलाहरूले पहिले यी कुराहरू बुझेनन्, तर येशूको महिमा भएपछि, यी कुराहरू त उहाँको विषयमा पो लेखिएका रहेछन् र यी कुराहरू तिनीहरूले उहाँलाई गरेका रहेछन् भनी तिनीहरूले सम्झे। 17 यसकारण उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र उनलाई मरेकाहरूबाट बौराउनुहुँदा जुन मानिसहरू उहाँको साथमा थिए, उनीहरूले गवाही दिए। 18 यही कारणले गर्दा मानिसहरूले उहाँसित भेट गरे, किनकि उहाँले यो चिन्ह देखाउनुभएको थियो भनी तिनीहरूले सुने। 19 यसैकारण फरिसीहरूले आपसमा कुरा गरे: “तिमीहरूले केही पनि गर्न सक्दैनौ भन्‍ने कुरा देख्छौ त? हेर, संसाराई त्यसको पछि लागेको छ।”
20 अनि उपासना गर्नका निम्ति माथि यस चाड़मा आउनेहरूको बीचमा केही ग्रीकहरू पनि थिए; 21 यसकारण तिनीहरू गालीलको बेथसैदाका फिलिपकहाँ आए, र उनलाई यसो भन्दै विन्‍ती गरे: “हजुर, हामी येशूलाई हेर्न चाहन्छौं।” 22 फिलिपले आएर अन्द्रियासलाई भने, अनि फेरि अन्द्रियास र फिलिपले येशूलाई भने। 23 तर येशूले तिनीहरूलाई यसो भन्दै जवाफ दिनुभयो: “मानिसका पुत्रको महिमा हुने घड़ी आइपुगेको छ। 24 साँचो-साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा खसेर मरेन भने त्यो एकलै रहन्छ; तर त्यो मर्‍यो भने त्यसले धेरै फल फलाउँछ। 25 जसले आफ्नो प्राणलाई माया गर्छ, त्यसले त्यो गुमाउनेछ; अनि जसले यस संसारमा आफ्नो प्राणलाई घृणा गर्छ, उसले त्यसलाई अनन्त जीवनसम्म जोगाइराख्‍नेछ। 26 कसैले मेरो सेवा गर्छ भने उसले मलाई पछ्याओस्; अनि म जहाँ छु, त्यहाँ मेरो सेवक पनि हुनेछ। अनि कसैले मेरो सेवा गर्छ भने उसैलाई मेरा पिताले आदर गर्नुहुनेछ। 27 अहिले मेरो प्राण विचलित भएको छ, र म के भनूँ? के म ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्’ भनूँ? तर यही कारणका निम्ति म यस घड़ीसम्म आइपुगें। 28 हे पिता, तपाईंको नामको महिमा गर्नुहोस्!” तब स्वर्गबाट यसो भन्‍ने एउटा वाणी आयो: “मैले महिमा गरेको छु, र फेरि पनि महिमा गर्नेछु।” 29 यसकारण त्यहाँ उभिएका मानिसहरूले यो सुनेर भने: “मेघ गर्जियो।” अरूले भने: “उहाँसँग स्वर्गदूत बोलेका हुन्।” 30 येशूले जवाफ दिएर भन्‍नुभयो: “यो वाणी मेरा लागि होइन, तर तिमीहरूका लागि आएको हो। 31 अब यस संसारको न्याय हुन्छ; अब यस संसारको शासक निकालिनेछ। 32 अनि म पृथ्वीदेखि माथि उचालिएँ भने म सबै मानिसहरूलाई आफूकहाँ खिँच्‍नेछु।” 33 तर कुन मृत्युले उहाँ मर्न लाग्‍नुभएको थियो, त्यसलाई सङ्केत गर्दै उहाँले यसो भन्‍नुभयो। 34 मानिसहरूले उहाँलाई जवाफ दिए: “ख्रीष्‍ट सधैंभरि रहनुहुन्छ भनी हामीले व्यवस्थाबाट सुनेका छौं; अनि ‘मानिसका पुत्र माथि उचालिनुपर्छ’ भनी तपाईं कसरी भन्‍नुहुन्‍छ त? यी मानिसका पुत्र को हुन्?” 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो: “अझै केही समयसम्म ज्योति तिमीहरूसँग रहन्छ। ज्योति तिमीहरूसँग रहुन्‍जेल हिँड़, नत्र अन्धकारले तिमीहरूलाई छोप्ला; किनकि अन्धकारमा हिँड़्‍नेले आफू कहाँ जान्छ, सो जान्दैन। 36 तिमीहरूसँग ज्योति हुँदा-हुँदै ज्योतिमाथि विश्‍वास गर, र तिमीहरू ज्योतिका सन्तान हुनेछौ।” यी कुराहरू येशूले भन्‍नुभयो, अनि त्यहाँबाट हिँड़ेर उहाँ तिनीहरूबाट लुक्नुभयो।
37 तर तिनीहरूको सामु उहाँले अनेकौं चिन्हहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि विश्‍वास गरेनन्। 38 जुन वचन भविष्यवक्ता यशैयाले भने, उनको यो वचन पूरा होस् भनेर नै यसो भएको हो:
‘हे प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ र? अनि परमप्रभुको* बाहुबल कसकहाँ प्रकट भएको छ र?’
39 यसैकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनभने यशैयाले फेरि भनेका छन्:
40 ‘तिनीहरूले आफ्ना आँखाले नदेखून्, र आफ्ना हृदयले नबुझून्, नत्र तिनीहरू फर्कलान्, र मैले तिनीहरूलाई निको पार्नुपर्ला भनेर उहाँले तिनीहरूका आँखाहरू अन्धा तुल्याउनुभएको छ र तिनीहरूको हृदय कठोर पार्नुभएको छ।’
41 उहाँको महिमा देखेर उहाँको विषयमा बोल्दाखेरि यशैयाले यी कुराहरू भने। 42 तरै पनि मुख्य शासकहरूमध्ये पनि धेरैले उहाँमाथि विश्‍वास गरे, तर फरिसीहरूको कारणले कहीं सभाघरबाट निकालिनुपर्ला कि भनेर तिनीहरूले उहाँलाई स्वीकार गरेनन्; 43 किनकि तिनीहरूले परमेश्‍वरको प्रशंसाभन्दा मानिसहरूकै प्रशंसा बेसी प्रेम गरे।
44 येशूले कराएर भन्‍नुभयो: “जसले ममाथि विश्‍वास गर्छ, उसले ममाथि होइन, तर मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ। 45 अनि जसले मलाई देख्छ, उसले मलाई पठाउनुहुनेलाई देख्छ। 46 ममाथि विश्‍वास गर्ने हरेकले अन्धकारमा रहनु नपरोस् भनेर म यस संसारमा ज्योति भएर आएको हुँ। 47 अनि कसैले मेरा वचनहरू सुन्छ र विश्‍वास गर्दैन भने म उसको न्याय गर्दिनँ; किनभने म संसारको न्याय गर्नलाई होइन, तर संसारलाई बचाउन आएँ। 48 जसले मलाई रद्द गर्छ र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसलाई न्याय गर्ने छ: अन्तिम दिनमा मैले बोलेको वचनले नै त्यसको न्याय गर्नेछ। 49 किनभने म आफ्नैपट्टिबाट बोलेको होइनँ, तर मलाई पठाउनुहुने पिताले, मैले के भन्‍नुपर्थ्यो र मैले के बोल्नुपर्थ्यो, सो मलाई आज्ञा दिनुभयो। 50 अनि म जान्दछु, उहाँको आज्ञाचाहिँ अनन्त जीवन हो; यसकारण जे म बोल्दछु, पिताले मलाई जस्तो भन्‍नुभयो, त्यस्तै म बोल्दछु।”